शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
दृष्टिकोण

सरकारी कर्मचारीको गिर्दो साख

आइतबार, २८ साउन २०८०, ०८ : १३
आइतबार, २८ साउन २०८०

कुनै बेला यस्तो भनिन्थ्यो - सरकारी कर्मचारी सरकारको सिन्दुर पहिरिएको मान्छे हो । देशको सेवाका लागि खटिएको वर्ग हो । कुरा बुझेर काम गर्छन् । अरूलाई अन्याय हुन दिँदैनन्, न्याय  दिन्छन् । जनसमुदायमा उनीहरुको मान–मर्यादा थियो । 

अरूले दिएको इज्जतको साख कायम राख्न पनि कर्मचारी स्वयं नैतिकवान् हुनुपथ्र्याे । म आफू पनि आयुर्वेद डाक्टरको छोरी भएकाले बुवाको काम र नामको ठूलो इज्जत देखेकी थिएँ । जागिरका सिलसिलामा बुवा मेचीबाट महाकाली पुग्दा पनि मैले उहाँमा नैराश्यता देखिनँ । सायद राष्ट्र र जनसमुदायले दिएको इज्जतका कारण उहाँ उत्साहित हुनुहुँदो हो ।

त्यति मात्र होइन, सरकारी सेवामा आफ्नै बलबुताले नाम निकाल्न सकिन्थ्यो । त्यही भएर होला, मलाई पनि सरकारी जागिरले तान्यो । सेवामा प्रवेश गर्दा महिला भएका कारण केही बाधा–अप्ठेरा झेल्न नपरेको होइन । तैपनि सरकारी सेवामा नाम निकालेका कारण गर्व थियो मलाई । 

म बाबुआमाको जेठो सन्तान । सरकारी सेवामा प्रवेश गर्दा म जति खुसी थिएँ, त्योभन्दा बढी खुसी मैले मेरा बुवाआमालाई देख्थेँ । मेरा बाबुलाई लाग्थ्यो, मेरी छोरीले ठूलो इज्जत पावोस् र आफूभन्दा ठूलो पदमा पुगोस् । उसको भविष्य सुरक्षित र उज्ज्वल होस् । यस्ता कुरा मेरो मात्र होइन, हरेक बाबुआमालाई लाग्छ । यही हो सन्तानप्रतिको प्रेम । 

सरकारी सेवा प्रवेशको परीक्षाका लागि तयारी गर्दा सबैलाई थाहा हुन्छ, निजामती सेवा ऐन–नियमका कुराहरू । केही कुरा मनमा लागेको थियो । जस्तै: बिदा अधिकारको कुरा होइन । सहुलियत मात्र हो । जागिरमा प्रवेश गरेपछि बिदा पनि भनेको समयमा नपाइने रहेछ भन्ने बुझेँ । कर्मचारी चौबिसै घन्टा सरकारको अधीनमा हुन्छ भनेर लेखिएको थियो । कर्मचारी भएपछि देशैभरि जता खटाए पनि जानुपर्छ आदि–आदि । यी र यस्ता कुरा पढेर र बुवाको देखेर पनि मलाई छ्याङ्गै थियो सरकारी सेवाको बारेमा । 
पञ्चायतकालमा भन्दा राणाशासनमा कर्मचारीको बढी इज्जत थियो रे । कर्मचारीको इज्जतले मात्र भएन । जनताको इज्जत राणाहरुले गरेनन् र शासनसत्ता गयो । पञ्चायतकालमा कर्मचारीको नाम इज्जतका साथ नै लिइन्थ्यो । म पनि पञ्चायत शासनकालकै प्रवेशी हुँ । सरकारी सेवाको गर्व गर्न सकिने अवस्था नै थियो । 

पञ्चायत कालमा एकतन्त्रीय शासन भयो, जनताले अधिकार पाएनन् भनेर आन्दोलन भयो र पञ्चायती शासन ढल्यो । नेता–कार्यकर्ताले ठाउँ पाए । कर्मचारीलाई पनि कार्यकर्ता बनाइयो । जति नेताको टाउको माथि उठ्यो, त्योभन्दा बढी मात्रामा कर्मचारीको टाउको गिर्दै गयो वा गिराउँदै लगियो । गिरेको कुरा कर्मचारीलाई थाहै भएन वा क्षणिक लाभमा कोही फस्यो?  

अहिले कर्मचारीको इज्जत कति छ भन्ने स्वयं कर्मचारीले महसुस गर्न सक्नुपर्छ । नेताले कर्मचारीलाई कसरी हेर्छन् ? कर्मचारी स्वयंको परिवारले कर्मचारीलाई कसरी हेरेको छ ? छोराछोरीले अखबार पढेर, टीभी, रेडियो सुनेर आफ्ना अभिभावकको मुखमा क्वारक्वार्ती हेरे भन्ने पढेकी थिएँ मैले । किन हेरे होलान् त ? 

मैले माथि भनिसकेकी छु, सेवा प्रवेश गर्दाको मेरो मुख्य आकर्षणको कुरा थियो सेवाबाट निवृत्त भएपछि पाइने सुरक्षा अर्थात् निवृत्तिभरण । काम गर्न त जता गए पनि परिहाल्छ । अहिले जति कमाए पनि पछिलाई जोगाएर राख्न सकिँदैन । सेवामा रहिन्जेल दुईजनाको तलबले चल्दै जान्छ । पछि दुवैजनाको पेन्सन आउँदा  सामान्यतया आर्थिक पाटो सुरक्षित हुन्छ । 

अरूलाई के के कुराले आकर्षण गरेको थियो कुन्नि, मेरो खास यही थियो । को कोले, कहाँ कहाँ, कति मेहनत गरे वा बुध्दी लडाए, दिमाग खियाएर धनको व्यवस्था गरे, त्यो गर्नेलाई ज्ञान होला । मजस्तालाई यति मात्र थाहा छ, सेवा निवृत्त भएपछि खुत्रुखुत्रु आउने रकमले जीवन धान्न सकिन्छ । त्यो सोचाइले पनि अब ठाउँ छाडेको छ ।  त्यो सोच पनि अब परिवर्तन गर्नुपर्ने भएको छ ।

एकपटक स्थानीय चुनावका बेला मंसिरको पेन्सन पुसमा दिएको थियो । गत वर्ष (२०७९)को  असारमा पनि पेन्सन साउनमा दिएको थियो । यस वर्ष गएको जेठमा  १६–१७ तिर दिएको थियो । शिक्षकको पेन्सन असारमा मात्र दियो रे । निजामती कर्मचारीको असारको पेन्सन २५ गते दिएको थियो । यो साउनमा पनि २७ गते हुँदासम्म अत्तोपत्तो छैन । अझै बेलाबेला सुनिन्छ, सरकारसँग तलब, भत्ता, पेन्सन वितरण गर्न र ऋण लिएको रकमको ब्याज तिर्न पनि पैसा छैन रे ! 

राजनीतिक अवस्था देख्दा लाग्छ, खेतबारी जोड्नु छैन । बाबुबाजेको पालाको बारीको एक–एक पाटो लिएर एउटै घरको चारकुनामा चुलो बालेका छोराजस्ता भए पार्टीहरू । आठवटा मन्त्रीमण्डल, आठवटा संसद्, एक घर चार नेता भए । राजनीति पारिवारिक पेसा भयो । देशको विकास कसरी गर्ने ? 

अझ कर्मचारीले महिना सुरु हुँदा पेन्सन पाइएन भने रे भनेको सुन्दा के भन्लान् ? सायद उनीहरूको मन्तव्य आउला : कर्मचारीले पहिला खाए तलब, अहिले नेताले खाए भनेर नचिच्याऊ । हरे राम, हरे राम जप । उपवास बस । खानाबाट मुक्त होऊ । हामी यसको विधेयक बनाउँदै छौँ । 

कुन दिन टिभीमा देखिन्छ, पास पास भनेको । भोलिपल्ट पूर्णपाठ पढ्यो, एकादशी व्रत सुरु गर्यो !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप