बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
युवा आइडिया

प्रविधि र प्रकृतिको कनेक्सन : उपभोक्तासम्म स्थानीय उत्पादन

शनिबार, २७ साउन २०८०, १७ : ५५
शनिबार, २७ साउन २०८०

बानेश्वरकी रेशु अर्यालले मंगलबार (२३ साउनमा) ‘ग्रिनग्रोथ’बाट आफ्ना आगि आवश्यक चामल, हरियो तरकारी, मकैको च्याँख्ला, फलफूल लगायत सामान अर्डर गरिन् । यी सामान उनले बुधबार दिउँसो प्राप्त गरिसकेकी छन् । 

‘उहाँहरूको वेबसाइट छ, जसमा सामान रोज्न मिल्छ । ग्रिनग्रोथकै फेसबुक पेजमा पनि कुनै नयाँ प्रोडक्टको बारेमा अपडेट भइरहेको हुन्छ,’ बुधबार दिउँसो रेशुले टेलिफोनमार्फत भनिन्, ‘म रेगुलर क्लाइन्ट भएकाले त्यहाँबाट कुन कुन सामग्री अर्डर गर्न सकिन्छ भन्ने सामान्यतः मलाई जानकारी छ । मैले कहिले एपबाट, कहिले टेक्स्ट (म्यासेज)बाट अर्डर गर्छु ।’ 

शिक्षाविद् रेशु पछिल्लो पाँच वर्षदेखि ‘ग्रिनग्रोथ’की ग्राहक छन् । शिक्षासँग सम्बन्धित काम–पेसा गर्दै आएकी उनी पहिलेदेखि नै अर्गानिक नेपाली उत्पादन खानुपर्छ भन्नेमा सचेत थिइन् । ऐनमौकामा त्यस्ता सामान पाउँदा ल्याउने वा मगाउने समेत गरिरहन्थिन् । ‘पहिले हामी उपभोक्ताले चाहेको वा खोजेको सामान घरमै ल्याइदिने सिस्टम थिएन । कालीमाटी वा खुद्रा पसलबाट किन्थ्यौँ, काठमाडौं भित्रिने तरकारी तथा फलफूलमा विषादी प्रयोग बढी हुन थाल्यो भनेर समाचार आउन थाले,’ उनी भन्छिन्, ‘अर्गानिक खाना कसरी खान पाइएला भन्ने भइरहन्थ्यो । यहीबीचमा ग्रिनग्रोथ आयो र सजिलो भयो ।’

ग्रिनग्रोथबाट रेशुले कहिले दाङको, कहिले जुम्लाको चामल मगाउँछिन् । यहाँबाट किनेका सामानमाथि उनलाई विश्वास छ । ‘मगाएका सामान फ्रेस हुन्छन् । तरकारी वा फलफूलमा किरा लागेको छ भने मैले त्यसमा त्यति मतलब गर्दिनँ, किनभने त्यसमा विषादीको प्रयोग गरिएको हुँदैन र किरा लागेको भन्ने बुझ्छु,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ क्वालिटी भएन, सामान सड्ने नै अवस्थामा पुगेको छ भने कम्प्लेन गर्छु । उहाँहरूले त्यसको सट्टा अर्को पठाउनुहुन्छ ।’

6Z4A3330

ग्रिनग्रोथ के हो ? 

ग्रिनग्रोथ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने कम्पनी हो । यसले स्थानीय उत्पादक र कृषकलाई सिधै जोड्छ अर्थात् देशका स्थानीय उत्पादनलाई काठमाडौंका उपभोक्तासम्म पुर्‍याउने काम गर्छ ।   

यसको वेबसाइट (‘ग्रिनग्रोथ डट लाइफ’) छ, ग्राहकले अनलाइन वा सामाजिक सञ्जालबाट आवश्यक सामान अर्डर गर्छन्, ग्राहकको अर्डरलाई ग्रिनग्रोथले घरघरमा पुर्‍याउँछ । 

C

सौरभ ढकाल लगायत केही युवाले सन् २०१६ देखि ग्रिनग्रोथ सञ्चालनमा ल्याएका हुन् । ‘ग्रिनग्रोथ डट लाइफ’ अनलाइन प्ल्याटफर्मलाई सपोर्ट गर्न उनले ‘करेसा’ नाम दिएर मोबाइल एप समेत बनाएका छन् । यो एपले वस्तुको ‘ट्र्याकिङ’ गर्छ । 

यसमा एउटा क्युआर कोड बनाएर स्क्यानिङको सुविधा दिइएको छ । जसमा ग्राहकले आफूले किनेको सामान कहाँ, कसले र कहिले उत्पादन गर्‍यो, कहिले खेतबारीबाट टिपेको, काठमाडौंमा के कसरी आइपुग्यो आदि विवरण वा तथ्यांक हेर्न सक्छन् । यो सुविधा भने खासखास स्थानका उत्पादनमा मात्रै राखिन्छ । यसले उपभोक्ताको विश्वसनीयता बढाउने सौरभको भनाइ छ । 

‘हो, ग्रिनग्रोथका केही सामानमा क्युआर कोड टाँसिएको हुन्छ । मैले कहिलेकाहीँ क्युआर कोडलाई स्क्यानिङ गरेर हेर्छु,’ ग्रिनग्रोथकी नियमित ग्राहक रेशु भन्छिन्, ‘अस्ति भर्खर मात्रै लाहानको आँप मगाएकी थिएँ । त्यसमा भएको क्युआर कोडलाई स्क्यानिङ गरेर हेर्दा कहाँ फलेको, कहिले टिपेको लगायत उल्लेख थियो ।’

saurav dhakal

ग्रिनग्रोथले फार्महरूसँग पार्टनरसिप गर्छ । अर्थात् कसैको कृषि फार्म छ भने ऊसँग सम्झौता गरेर सामान ल्याउँछ र उपभोक्तासम्म पुर्‍याउँछ । ‘माथिल्लो मुस्ताङको धेबाट हामीले स्याउ ल्याउने गरेका छौँ । त्यहाँको गाउँसँग ग्रिनग्रोथले सम्झौता गरेको छ । यस्तै सिन्धुलीबाट जुनार, सिराहा र सप्तरीबाट आँप ल्याउँछौँ । सिन्धुली एग्रो फार्मबाट हरियो तरकारी, दाल–चामल आदि ल्याउँछौँ,’ सौरभ भन्छन्, ‘काभ्रेको पातले गाउँ अर्गानिक फार्मबाट हप्तामा दुई दिन बुधबार र शनिबार हरियो तरकारीका बास्केट (टोकरीहरू) ल्याउँछौँ । उपभोक्ताले अर्डर गरे अनुसारको सामानलाई एकैपटक ल्याइन्छ ।’ 

किसानको खेतबारीबाट सिधै टिपेर ल्याइने उत्पादन बुधबार पाउनका लागि मंगलबार दिनको १२ बजेभित्र अर्डर गरिसक्नुपर्छ । शनिबार सामान पाउनका लागि शुक्रबार दिनको १२ बजेभित्र अर्डर गर्नुपर्छ । 

Apples

ग्रिनग्रोथले कृषि वा हस्तकला उत्पादन गर्ने कम्पनी वा व्यक्तिहरूसँग बजारीकरणका लागि सहकार्य समेत गर्दै आएको छ । उनीहरूलाई प्रविधिका माध्यमबाट अगाडि बढ्न पनि सौरभहरूले विभिन्न प्ल्याटफर्मबाट सहयोग गरिरहेका हुन्छन् । ‘हामीले कुनै ठाउँ विशेषको उत्पादनलाई ब्रान्डिङ गर्ने ढंगले पनि काम गरिरहेका छौँ,’ सौरभ भन्छन्, ‘जस्तो ः धेको स्याउलाई हामीले ‘धेवा एप्पल’ भनेर ब्रान्डिङ गरेका छौँ ।’

आफ्नो सामानको बजारका लागि उनीहरूले हरेक मंगलबार ललितपुरको भनिमण्डलमा हाट लगाउँछन्, जसमा २४ विक्रेताको स्टल रहन्छ । सहरलाई आत्मनिर्भर बनाउन, स्थानीय उत्पादनको बजारका लागि हाट महत्त्वपूर्ण माध्यम भएको सौरभको बुझाइ छ । ‘जहाँ बजार छ, त्यसको नजिकै उत्पादन हुनुपर्ने र त्यो उत्पादनले त्यहीँ बजार पायो भने स्थानीय सबैलाई फाइदा हुन्छ,’ उनी भन्छन्, ‘कोभिडका बेला मानिसले घरघरमा उत्पादन गर्नुपर्नेसम्म महसुस गरे । घरमै उत्पादन नभए पनि घरनजिकै कसैले उत्पादन गरेको छ भने बाहिरबाट ल्याउने सामानको भर पर्नुपर्दैन । स्थानीय उत्पादनलाई स्थानीय स्तरमै बिक्री–वितरण गर्न हाटबजार महत्त्वपूर्ण माध्यम हुन सक्छ । हाट बजार पुरानै अभ्यास हो, पुरानै अभ्यास राम्रो थियो भने हामीले किन मासिरहेका छौँ ?’ 

02 KTM HaaT

प्रकृति र प्रविधिको कनेक्सन

यसअघि (सन् २०१० देखि) नै सौरभको समूहले ‘स्टोरी साइकल’ नामक सामाजिक संस्थाका माध्यमबाट काम गर्दै आएको हो, यस संस्थाको उद्देश्य हो — प्रविधिका माध्यमबाट स्थानीय उत्पादनको बजारीकरण वा प्रवर्द्धन गर्नु । सौरभ अझ स्पष्ट भन्छन्, ‘प्रविधिका माध्यमबाट प्रकृतितिर फर्कनू ।’

सिन्धुलीका सौरभले २००७ तिर ‘कन्टेन्ट फर इन्टरनेट’ विषयमा नेदरल्यान्डबाट डिप्लोमा कोर्स गरेका थिए । आफ्नो ज्ञानको सदुपयोग गर्ने क्रममा उनलाई ‘स्टोरी साइकल’को कन्सेप्ट आयो । यहीअन्तर्गत उनको समूहले सपनाको सहर (ड्रिम सिटी) अभियान गरिरहेका छन् । ‘स्टोरी साइकलअन्तर्गत ड्रिमसिटी कम्पनीले मूलतः विभिन्न ठाउँको डिजिटल नक्सांकन गर्दै आएको छ । यो भनेको कुनै ठाउँको समग्र जानकारी इन्टरनेटमा राख्ने काम हो । यसले सहर वा ठाउँ विशेषको विकास योजनालाई अगाडि बढाउन, पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्छ,’ सौरभ भन्छन्, ‘अनि व्यक्ति तथा संस्थाका उत्पादन वा कामलाई पनि प्रोफाइलका रूपमा देखाउन सकिन्छ ।’ 

6Z4A0809

तनहुँको ऋषिङ गाउँपालिका लगायत केही ठाउँलाई नक्सामा राख्ने काम उनले गरिसकेका छन् । ‘ऋषिङमा सबै वडा तहको नक्सांकन गरेका छौँ, अलि डिटेलमा । हाम्रो यो कामलाई ड्रिमसिटिज डट ओआरजीमा र गुगलको पब्लिक म्यापमा गएर पनि हेर्न सकिन्छ,’ उनी भन्छन्, ‘यो खालको कामबाट आफ्नो ठाउँको विकास र प्रवर्द्धन गर्न सकिन्छ । जस्तो : तपाईं आफ्नो गाउँमा कृषि फार्म छ, त्यो फार्मको बारेमा आधारभूत वा सम्पूर्ण जानकारी नक्सामा राख्न सकिन्छ । सबै जानकारी पब्लिक नगर्न पनि सकिन्छ, तर प्राइभेट रूपमा आफूले हेर्न मिल्ने गरी राख्न सकिन्छ । यसबाट बजारीकरण गर्नेदेखि थप योजना बनाउन पनि सकियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप