आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ऐतिहासिक स्थल

पर्यटकीय सम्पदाको धनी सिराहा (फोटो फिचर)

शनिबार, २७ साउन २०८०, १२ : २८
शनिबार, २७ साउन २०८०

जनकपुरधाम । मधेस प्रदेशको सिराहा जिल्ला पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा रूपान्तरण हुन थालेको छ ।  सिराहा धार्मिक पर्यटकीय ऐतिहासिक स्थल पनि हो । यस जिल्लाभित्र विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा पौराणिक स्थलहरूको संरक्षणको ढोका बिस्तारै खुल्न थालेपछि पछिल्ला समय पर्यटकीय आकर्षण बढ्दै गएको छ ।

प्राकृतिक सम्पदाको धनी सिराहामा पछिल्लो समय बाह्य पर्यटकहरू पनि आकर्षित हुन थालेका छन् ।  जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित प्रकृतिको काखमा तीनतिरबाट चुरे पहाडले छेकेको “बाबा ताल”ले पर्यटकहरूलाई लोभ्याउने गरेको छ ।

Baba tal2

पहाडको बीचमा सङ्लो पानीको “बाबा ताल” मनमोहक देखिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको हरेक दिन घुइँचो नै लागेको हुन्छ । तालमा बोटिङ गर्नका लागि ४ वटा बोट पनि राखिएका छन् । बाबा ताल र त्यस वरिपरिको मनमोहक दृश्य अवलोकनका लागि अहिले दैनिक करिब सय देखि पाँच सयसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । 

Baba tal drone view

यस्तै, सोही कर्जन्हा नगरपालिका १ स्थित चुरेको काखमा पर्दछ “उत्तर वाहिनी” । धार्मिक तथा पौराणिक स्थल हो यो । हुन त यो कमला नदी नै हो । तर, यहाँको प्रमुख रोचक कुरा, उत्तर दिशातर्पm पानी बग्ने भएकाले यसक्षेत्रका भागलाई उत्तर वाहिनी भनिएको पाइन्छ । यहाँ बर्सेनि साउन महिनामा बोल बम कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

उत्तरवाहिनीस्थित कमला नदीमा कावरियाहरु स्नान गरी जल लिएर आफ्नो बोल बम यात्रा तय गर्छन् । साउन महिनामा नेपालका विभिन्न ठाउँबाट भक्तजन उत्तर वाहिनी आउने गरेका छन् । पछिल्लो समय विभिन्न ठाउँहरूबाट बोल बम यात्राका लागि उत्तर वाहिनी आउने क्रम वृद्धि भएको छ ।

त्यसैगरी, सिराहाकै मिर्चैया नगरपालिका ९ सुन्दरपुर, घुर्मी खोला र चुरे पहाडको काखमा अवस्थित “कमल दह” धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको दह (ताल) हो । पूर्वपश्चिम राजमार्गको घुर्मी बजारदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको यस दहको महत्त्व नै छुट्टै छ । अति लोपोन्मुख तथा महत्त्वपूर्ण कमल फूलको नामले परिचित यस कमल दहलाई नेपालकै धार्मिक स्थलहरू मध्ये एक प्रसिद्ध धार्मिक स्थलको रूपमा लिने गरिन्छ ।

Kamal dah

पौराणिक कथन अनुसार कमलदहको कञ्चनजल र पानीमाथि तैरिएका घना पुराणका पात र कमलका फुलहरूले मोहनी लगाउने भएकै कारण यस ताललाई कमलको दह अथात् “कमल दह” भनिएको पाइन्छ । झन्डै करिब १२ बिघा क्षेत्रफल ओगटेको कमलदहमा दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

यस दहमा प्रत्येक नयाँ वर्ष, चाडपर्व तथा बिदाको बेला घुमफिर तथा पिकनिक मनाउनेहरूको घुइँचो लाग्नुको साथै प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन भक्तजनको निकै ठुलो भीड र सो दिनदेखि तिन दिनसम्म ऐतिहासिक “ठुठिया” मेला लाग्ने गरिन्छ । हेर्न आउने प्रायजसो पर्यटकहरूले कमलको जरा र फलहरू लग्ने गर्दछन् । खासगरेर कमलको जरा र फलको सेवन गर्नाले जन्डिस तथा अन्य रोगहरू पनि निको हुने विश्वास छ ।

पर्यटकहरूलाई आकर्षित गर्नसक्ने धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण यस कमल दहलाई हाल नेपाली सेनाको सहयोगमा केही यताउता गरिए पनि आधुनिक तरिकाले स्तरोन्नति गरिनुपर्ने आवश्यकता देखिन्छ । भौतिक पूर्वाधारको निर्माण गरी कमल दह तथा वरिपरिको क्षेत्रको राम्ररी व्यवस्थापन र पहुँच हुने गरी निर्माण कार्य गर्न सकिए धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी लगायतका जिल्लामा धार्मिक र ऐतिहासिक महत्वका साथै उत्कृष्ट सौन्दर्य स्थलको रुपना स्थापित गर्न सकिन्छ ।

यस्तै, जिल्लाकै लहान बजारदेखि पश्चिम राजमार्ग अन्तर्गत भोटिया टोल चोकदेखि दक्षिणमा पर्ने “सलहेश फूलबारी” पनि पर्यटकीय स्थल मध्येको एक हो । यसको छुट्टै महत्त्व छ । 

salhesh fulbari

मधेसका महानायक राजा सलहेशसँग जोडिएको फूलबारी हो यो । ठिक वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने विशेषताले गर्दा यहाँ हरेक साल पौराणिक कालदेखि नै ठुलो मेला लाग्दै आइरहेको छ । फूलको बोटमा फूल फुल्नु कुनै अनौठो होइन, तर एउटै रुखमा सातोै शताब्दीदेखि वर्षको पहिलो दिन मात्र फुल्नु रोचक नै मानिन्छ ।

१२ विगहा क्षेत्रफलमा रहेको यस फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र प्रेमको भाव आफै उत्पन्न हुन्छ । यसमा वीरनायक सलहेशसँग जोडिएको सम्पदा मध्ये फूलबारीले मधेस क्षेत्रको विशेष प्रतिनिधित्व र महत्त्व राख्दछ । सलहेश मधेशको निकै प्रभावशाली देवताको रूपमा आदरपूर्वक पुजिने गरिन्छ ।

पौराणिककालमा राजा सलहेशले दैनिक रूपमा आफ्नो ईष्ट देवताको पूजा गर्न यस फूलबारीमा फूल टिप्ने गरिएकोले यसलाई सलहेश फुलबारी भनिन्छ । स्थानीय भाषामा यसलाई राजा फूलबारी, फूलबाईर समेत भन्ने गरिन्छ ।

फूलबारीबीचमा सलहेशको गहबर छ । गहबरमा राजा सलहेश हात्तीमा सवार देखिन्छ भने गहबर नजिकै एउटा ऐतिहासिक हारमको रुख रहेको छ । लोक विश्वास अनुसार प्रत्येक वर्ष वैशाख १ गतेका दिन हारमको रुखमा दिनामालिनी (सुनाखरी) फूलको रूपमा आफ्नो दर्शन दिन्छन् । यही फूललाई दर्शन गर्न लाखौँको सङ्ख्यामा धर्माबलम्बीहरु सो दिन फूलबारीमा पुग्ने गर्दछन् ।

इतिहास अनुसार वि.स. १३२५ मा सिराहा जिल्लाको महिसोथा राज्यको राजा सलहेश र उनकी पे्रयसी मालिनी बिचको प्रेम विवाहको लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेम विवाह गर्दा दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहिआएको छ । भनिन्छ यस फूलबारी भित्र रहेको हारम रुखलाई युवायुवतीहरूले लव प्वाईन्टको रूपमा लिएका छन् । युवा युवतीबीच हुने प्रेम कथालाई जीवन्तता प्रदान गर्न उक्त हारमको रुखलाई साक्षी मानेर विवाह गरे अमर हुने जनविश्वास रहिआएको छ ।

यसैगरी, लहान नगरपालिका १७ ढोढनामा अवस्थित धार्मिक तथा पौराणिक महत्त्व बोकेको ‘राजदेवी पञ्चावती’ मन्दिर पनि पर्यटकीय स्थल मध्येको एक हो । जहाँ बुद्ध जन्म जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ । मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बली चढाउन सिराहा, सप्तरी, उदयपुर, धनुषा, काठमाण्डौं विराटनगर लगायत भारतको विभिन्न ठाउँबाट समेत हजारौँ भक्तजनहरू आउँछन् । सोही दिन त्यहाँ हजारौँ पशुपक्षीको बली चढाइन्छ ।

rajdevi mandir

सन्तान प्राप्ति, रोग नाश, कार्य सफलताका लागि भक्तजनहरूले लहान बजारदेखि नौ किलो मिटर उत्तरमा ३ बिगाहा क्षेत्रफलमा फैलिएको जङ्गलमा अवस्थित राजदेवी मन्दिरमा बोका, हाँस, परेवा र कुखुरा बलि चढाउने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बली चढाउने चलन छ । स्थानीयवासिन्दाका अनुसार सो क्षेत्रमा जङ्गल परापूर्व कालदेखि नै थियो ।

गढीमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ । पूजा व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष पूर्णिमाका दिन मन्दिरमा बीस हजार बढीको सङ्ख्यामा बोका, पाठी र २५ हजार बढीको सङ्ख्यामा परेवा, हाँस र कुखुरा बली दिने गरिन्छ । पूर्णिमामा बली दिन नमिल्ने भए पनि राजदेवी मातालाई चण्डी ‘पूर्णिमा’ का दिन एक दिन मात्र ‘बली’ दिइने पौराणिक चलन भएको बताउँछन् ।

त्यसैगरी, राजा सलहेशको जीवन पद्धतिसँग जोडिएको अर्को स्थान हो पतारी पोखरी । यहाँ राजा कुलेश्वरका कान्छा भाई हरिसिंहदेवको निवास रहेको मानिन्छ । यहाँ हरिसिंहदेवको गहबर पनि छ । जहाँ सन्तान नहुनेले सन्तान माग्न आउने गर्छन् ।

जनविश्वास अनुसार सन्तान नहुने दम्पतीले राजा फूलबारीको दर्शन गरी पतारी पोखरीमा डुबुल्की मारेर तलको माटो खोत्लेर मुठीमा लिई भिजेकै लुगा सहित सिमाना नागेर लुगा फेरी घर जाने विधि गरेमा सन्तान सुख प्राप्त हुन्छ ।

यस्तै, सिराहा जिल्लाको लोकगाथासँग सम्बन्धित अर्को ऐतिहासिक स्थल ‘मानिक’ दह हो । यो ठाउँ ऐतिहासिक भए पनि यसलाई सांस्कृतिक थलोको रूपमा लिइन्छ । सिराहा जिल्लाको लहानदेखि १४ किलो मिटर उत्तरमा पर्दछ । यस दहको ऐतिहासिक विषयमा कसैले चौदण्डीको सेन राजा मनिक सेनले बनाएका भन्छन् भने कसैले साविक देखि नै रहेको यो दह जीर्णोद्धार गरेको कुरा बताउँछन् ।

manik dah

नेपाल एकिकरण भन्दा अघि यो क्षेत्र सेनबंशी राजाको इलाका थियो । चौदण्डीका सेनराजाहरु दिंग्दमा केहि महिना जाडो छल्नका लागि यस ठाउँमा समय बिताउँथे । हुनसक्छ मानिक दहको सुन्दरतावाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णोद्धार गरी त्यस ठाउँको नाम मानिक दह राखे ।

यसैगरी, राजा सलहेशको जन्म स्थलको रूपमा प्रसिद्ध स्थल हो ‘महिसोथागढ’ । सिराहा सदरमुकामको उत्तरपटि महिसोथा गाँउ रहेको छ । यहाँ सलहेशको मन्दिर रहेको छ । मन्दिर भित्र हात्तीमा सबार राजा सलहेशलाई देख्न सकिन्छ । मोतीराम तथा बुधेश्वर छेउमै घोडामा सवार रहेको छ । हात्तीको एकातिर दिनामालिनी फूलको डाली लिई उभिएकी छिन् । सलहेश मन्दिरको छेउमा अर्को पनि मन्दिर छ जस मध्ये एउटा राजमाता सलहेशकी आमाको पूजा हुन्छ भने अर्कोमा कमलाजीको पूजा हुन्छ ।

पर्यटकीय सम्पदाले भरिपूर्ण यस धार्मिक पर्यटकीय ऐतिहासिक स्थल सिराहालाई अब आवश्यकता छ भने राज्य पक्षबाट यसको थप अनुसन्धान र संरक्षणको । यसलाई संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकीय स्थलको रूपमा विकसित गर्न सके यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल हुन सक्छ । र, यसबाट आन्तरिक क्षेत्रको आर्थिक वृद्धि समेत बढ्न जानेछन् ।

mahisauthaBaba tal1Baba tal drone view1Baba tal drone view

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप