सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

म अझै जीवित रहेछु

शनिबार, २७ साउन २०८०, ०६ : ५६
शनिबार, २७ साउन २०८०

ओहो, यो विशाल मानव नगरी
चाहनाको कोलाहल
अन्यायको चिच्चाहट
सच्चाईको मौनता, र
निर्दोषहरुलाई वलि दिइएको रक्तकुन्डमा,
म अझै जीवित रहेछु ।

विज्ञानको विशाल प्रयोगशाला
अध्यात्मको सपनी तीर्थ
शक्तिशालीहरुको कोलाहल
गरिबको मौन चिता अनि
निर्दोषहरु पुरिने पापकुण्डमा,
म अझै जीवित रहेछु ।

न्यायालयको चीरहरण
अपराधीको क्रीडास्थल
निर्दोषहरुको आन्तरिक चीत्कार
अनि, पीडकहरुको अट्टहासबीच पनि
म अझै जीवित रहेछु ।

टुहुरो बालकको हृदयविदारक चित्कार
भोको पेटको अदृश्य कोलाहल
धनहीन अशक्तको अस्रुरहित रोदन
एकल जीवनको एकान्तको रुवाईबीच पनि
म अझै जीवित रहेछु ।

एकल नारीको जिम्मेवारीको चिच्चाहट
विशाक्त हृदयहरुले दिएको चोट
सम्बन्धहरुले दिएको तिरस्कार, अनि
अपरिचितहरुले दिएको आशाबीच पनि,
म अझै जीवित रहेछु ।

मृत्युलोक तर्फको अज्ञात यात्रा
देखावटी मानिसका भीड भित्रको सन्नाटा
आफ्नै आत्मसम्मानको आत्महत्या, अनि
आफ्नो खुशी र अस्तित्वको चीरहरण हुँदा पनि
म अझै जीवित रहेछु ।

दोलखा, हालः भक्तपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशिला शर्मा
सुशिला शर्मा
लेखकबाट थप