सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निबन्ध–संस्मरण

जन्तेढुङ्गा

शनिबार, २७ साउन २०८०, ०६ : ३२
शनिबार, २७ साउन २०८०

‘जन्तेढुङ्गा ।’ एउटा पृथक् नाम । पृथक् पहिचान । पृथक् विगत बोकेको शिला–स्तम्भ । सत्ययुग देखिको किम्बदन्ती–कथामा भनिँदै, सुनिँदै आएको विम्ब । मेरो गाउँको अनौठो ‘शान’ । मेरो प्यारो जन्तेढुङ्गा ! अहिले गाउँपालिकाको नाउँ पनि ‘जन्तेढुङ्गा’ ! 

विशाल चट्टानमा आकृतिहरूको अचम्मकै बनौट । जन्तीहरूका लस्करमा आकारको पृथक् संरचना । अनौठो आश्चर्यको एउटा पाटो । रहस्यले भरिएको अनुसन्धानको पखाईमा रहेको ‘जन्तेढुङ्गा’ । नामै अनौठो, रहस्यमय र हेर्दा पनि अचम्मै लाग्ने ठाउँ यो ।

उहिल्यै द्वापर युगको कुरा । गुल्मा राजा, गुल्मा रानीको विवाह, जन्तीका ताँती । तर, विहेको जन्ती आउँदा आउँदै कलियुगको प्रवेशसँगै सबै जन्ती शिलामा परिणत भए । आज तिनै जन्तीका ताँती ठूलो ढुङ्गामा देख्न सकिन्छ । डोलीढुङ्गा, गुन्टाढुङ्गासमेत केही पर विशाल चट्टानमा अवस्थित छन् । 

बाल्यकालीन दृश्य र दर्शनका छायाँ–छवि मेरो मनमस्तिष्कमा आज पनि बेला बेला देखा पर्छन् । म तिनलाई मनको मझेरीबाट आँखाको परेलीमा ल्याएर हेर्छु । अनि सम्झनाका तरेलीमा डुब्दै विगत दिन झल्झली सम्झिन्छु । 

आहा, ती दिन कति रमाइला थिए । कति आनन्दीका हुन्थे । पानीको भेलबाढी बगे पनि वास्ता नहुने । घामको चर्को उल्कापात गर्मी भए पनि केही नहुने । मेलामा भेला भएका मानिसका भीडमा हराइँदा डरले कम्पित भएका क्षणहरू । अपरिचितहरूले क्वारक्र्वाती हेर्दा झन् डरले होस उडेका ती दिनहरू ।

वर्षहरू निकै बिते । समयले कोल्टे फेर्‍यो । निक्कै साल बितेपछि एक दशक अलिअघि जन्तेढुङ्गामा पाइला पर्दा दुःख लाग्यो । नरमाइलो महसुस भयो । बनमारा घारी, ऐँसेलुका काँडामा चिथोरिँदै त्यहाँ पुग्दा जन्तेढुङ्गा एक्लै रोइरहे झै लाग्यो । आज कति परिवर्तन भयो कुन्नि थाहा छैन । सडकमार्गले सायद केही सुधार भयो कि ! 

‘जन्तेढुङ्गा’ गाउँपालिकामा नामाङ्कित भएपछि यसले केही चर्चा पाएको हुनुपर्छ । यसप्रति केही चासो जागेको हुनुपर्छ । थाहा छैन, आज जन्तेढुङ्गाले सुरक्षा र संरक्षण पायो, पाएन कुन्नि ।

jantedhunga-1

पहाड उठेर थेचारिएको समथल थलो । फराकिलो चौर, पोखरी, चौतारा अनि माथि जन्तीका लस्करसँगै जन्तेढुङ्गा । उत्तिस, सल्ला, चिलाउने र सालका बडबडे बाक्ला रुखहरू । गुराँसका वृद्ध बोट पनि मुस्कान बाँड्दै फुलिरहेका देखिन्थे । कटुस, ओखर फलिरहेका हुन्थे । बाटै छेउ ऐँसेलु पहेँलपुर पाकेका तिनलाई टिप्दै, चाख्दै हिँडिन्थ्यो । जङ्गलभित्र कन्दमूलका लहरा उस्तै लहराइरहेका हुन्थे ।  माघे सङ्क्रान्ति आसपास तरुल खन्न जानेको लर्को लाग्थ्यो । बनभोज जाने, खाने रमाउनेको बेग्लै रौनक हुन्थ्यो । ग्रामीण हार्दिकता प्रशंसनीय थियो ।

टाढा–टाढाका डाँडाकाँडा आँखाले नभ्याइन्जेल क्षितिजसम्मै फैलिएको देखिन्थ्यो । मौसम खुलेको बेला हिमाली लस्करको दृश्य कति मनोरम लाग्थ्यो । तर, अधिकांश समय हुस्सुले ढाकेर पहाड, बनजङ्गल र गाउँघर सबैलाई लुकाएर राख्थ्यो । ‘जन्तेढुङ्गा’ पनि हुस्सुमै गुटुमुटु हुन बाध्य हुन्थ्यो । हेर्न पुग्नेहरू हैरान हुन्थे । देख्न नपाएर जन्तेढुङ्गा पनि सायद दुःखी बन्थ्यो होला ।

परन्तु हुस्सुभित्रको ‘जन्तेढुङ्गा’ अचम्मकै लाग्थ्यो, लागिरहन्थ्यो र लागिरहन्छ अझै पनि । थाहा छैन, पर्दाभित्रको रहस्य के होला ? कसले कहिले पहिल्याउला ? मान्छे कसरी ढुङ्गामा परिवर्तन भए होला ? जन्ती कसरी ढुुङ्गा भए होलान् भन्ने जिज्ञासा जागिरहन्थ्यो । पहाडको टाकुरामा बडेमानको ढुुङ्गा देख्दा छक्कै पर्नु स्वाभाविक थियो । अनि, नजिकै गहिरो पोखरी हुनु अर्को अचम्मको अवस्थिति लाग्थ्यो । 

घुर्मैलो वातावरणमा पश्चिमोत्तर पहाडी तरेलीको खोँचमा साखोला एक्लै बगिरहेको देखिन्थ्यो । पूर्वी क्षितिजको तल कतै नीलो रङमा कोशी नदीको अथाह भेल । उत्तरतिर हुमपोखरी र त्यसभन्दा माथि कुइभिरको डाँडा अग्लिँदै–अग्लिँदै चुलिएको । दक्षिणमा दिप्लुङ र भानुमतीको शिर चुपचाप ठडिएर रहेका थिए ।

गजबको लाग्थ्यो– ‘जन्तेढुङ्गा’ मा ढाकर बिसाउन बनाइएका ढुुङ्गाका बिसौनीको लाइन । यस्ता बिसौनी ठाउँ–ठाउँमा आफ्ना दिवङ्गतहरूको सम्झनामा बनाइएका हुन्थे । कतिपय खुल्ला आकाशमुनि ढुङ्गा र माटोले मेहनतसँग निर्माण गरिएका थिए । कति चाहिँ छानासहित घामपानीबाट बटुवाहरूलाई बच्न बनाइएका हुन्थे । अधिकांश चौतारीमा दिवङ्गतको विवरणसहित आफन्तको नाम, ठेगाना, मिति अङ्कित शिलापत्रसमेत राखिएको हुन्थ्यो । 

यिनै चौतारीहरूमा बटुवा सुस्ताइरहेका भेटिन्थे । ढाक्रेहरू मकै, भटमास चपाउँदै गुन्द्रुकको चटनी चाटिरहेका हुन्थे । मकै, भटमासको मगमग बास्ना र ढाक्रेले लेग्रो तान्दै गाएका गीति झङ्कार प्रेममय लाग्थ्यो । 

हिँडाइको धापमा विछट्टको रमाइलो र उत्पातको आनन्द महसुस हुन्थ्यो । सुँघिरहूँ, सुनिरहूँ जस्तो हुने । विरह भाकामा पनि गीतिलयको स्वच्छन्द, सुमधुर, सुन्दर आभास भइरहने । पेटीपर्खाल र चौतारीमा बिसाएर पसिना पुछ्नेहरू कत्ति पनि नथाक्ने ज्यान देखिने । थाकेर, पसिनाले भिजेर ‘जन्तेढुङ्गा’ पुग्दा शान्त, शीतल मन त्यसै–त्यसै हावामा उड्न खोज्ने । 

लाग्थ्यो– ‘कति आनन्दको स्थान हो यो । कति शीतल, शान्त र सुन्दर ठाउँ हो यो । सबै चिनजानका कोही अपरिचित छैनन् जस्तो । हाँसेर बोलिरहेका, बोलेर हाँसिरहेका पारिवारिक जमघट जस्तै ।’

कैयौँ हैरानीले पनि विचलित नहुने गाउँले मन । दुःखका आहालमा डुबेर पनि उन्मुक्त जीवनको उडानमा हिँडिरहेकाहरू । ढाकरले थिचिएर, ऋणले पिल्सिएर, अनिकालले भोकैप्यासै भएर पनि हाँसिरहेका ग्रामीण अनुहारहरू, भेटिन्थ्यो त्यही ‘जन्तेढुङ्गा’ थाप्लोमा । जम्काभेट हुन्थ्यो त्यही ‘जन्तेढुङ्गा’ मा । मितेरी साइनो गाँस्नेहरू । रुमाल साटेर मित लगाउनेहरू । चुरा फुटाएर मायाको लेखाजोखा गर्नेहरू । मन पराएर घरजम बसाल्नेहरू यही ठाउँमा भेटिन्थे । 

मन नपराएर घर छाडेर अर्कैसँग कुलेलम ठोक्नेहरूको अनुकूल समय पनि यही बेला हुन्थ्यो । अनि कतिको घर बन्थ्यो । कति घर बिग्रिन्थ्यो । कति सुनिथ्यो–सुनिन्थ्यो आँसुका कथाहरू, पीडाका चोटहरू ‘जन्तेढुङ्गा’ को चौतारीमा, मेलाको भेलामा ।

‘जन्तेढुङ्गा’ यही ठाउँ जहाँको बिसौनीमा खोला पारि र वारिका । माथि–माथि लेकका र तल–तल बेँसीका । टाढा—टाढाका गाउँलेहरूको भेट हुन्थ्यो । चिनारी गाँसिन्थ्यो र मित्रताको मीठो सिलसिला सुरु हुन्थ्यो । लामो सुस्केरा पछिको विश्राममा जीवनले थप ऊर्जा पाउँथ्यो । 

लयमा घोलेर जीवनका दुःखसुखहरू गीति भावमा अनुगुञ्जित हुन्थ्यो । लाहुरे लाहुरेनी जीवनका सुखमय स्वप्निल आभासहरू आवाजमा तरङ्गित बन्थ्यो । गोठाला, खेताला, मेलापात, पानीपँधेरीका सुस्केराहरू पनि गीति भावमै गुञ्जिन्थ्यो । 

कतिसम्म भने पुर्ख्यौली गौरवगाथा र सन्ततिहरूको स्वर्णिम भविष्यको परिकल्पनाको मीठो भाव गीतमै अभिव्यक्त हुन्थ्यो । जुन अझै पनि अभिलेखमा छैन । जुन अझै पनि लोकजीवनका ढुकढुकीहरूमा, लोकसुस्केरामा सुसेलिँदै आइरहेका छन् ।

हो, यो ‘जन्तेढुङ्गा’ यही ठाउँमा आज पनि मेला लाग्छ । मेलाका लागि महिनौँ अगाडि तयारी हुन्छ । मेलामा मित्रता र माया पोखिन्छ । मिलनका मिठासहरू छचल्किन्छन् । व्यापार–व्यवसायको किनमेल हुन्छ । घाटा नाफा आफ्नो ठाउँमा होला । तर मिलन, मित्रता, भाइचारा र भलाकुसारी गाउँले मनको विविध पाटो छ यहाँ ।

मेलामा ग्रामीण उब्जनीहरूका बिस्कुन लाग्थ्यो । बेच्ने र किन्नेहरू, नाफा कमाउने र घाटा खानेहरू मोलतोल गर्थे । खेल्ने र हेर्नेको खेलको तमासा उस्तै हुन्थ्यो । गीत र नाचको रमाइलो थपिन्थ्यो । अरू त अरू यही मेलामा स्थानीय लोकनाच ‘चण्डीनाच’ को सांस्कृतिक उत्सव प्रदर्शन हुन्थ्यो । बाजाको ताल, गीतको लय उहिलेदेखि अविच्छिन्न अद्यापि । एकप्रकारले परम्परागत मौलिकताको सुन्दर सिर्जना । 

एकाबिहानै आवाज सुनेर बूढाखाडाहरू पनि लौरो टेकेर स्वाँ स्वाँ गर्दै उकालोमा बिसाउँदै आउने । थकित ज्यान नाचको रौनक देखेपछि दुखाइ सबै त्यसै बिर्सिने । आफ्नो उमेरको ताउर माउर सम्झेर रमाउने बुढन्तीवय । थोते दाँतमा अनायसै मुस्कानको मुद्रा कति गजबको झल्किन्थ्यो । 

त्यसमाथि अलिकति पिए पछिको अवस्था झन् बेजोडको बन्थ्यो । बूढाबूढी नै आएका छन् भने त तन्नेरी उमेरको बैँस सम्झेर अँगालोमा बेह्रिँदै मायाप्रीतिको प्रदर्शन पेश गर्ने । हाँसोको फोहोरा झरना बनेर, हर्षका आँसु कोशी बनेर बग्थ्यो ।

पूर्वेली किराँत समुदायमा ‘चण्डीनाच’ को लोकप्रियता निकै छ । यसले गाउँदेखि सहर हुँदै राजधानी र विदेशमा समेत पहिचान जमाएको छ । परम्परागत पहिरन र पहिचानमा प्रस्तुत नाचले लोकनाचको संस्कृतिलाई जीवन्त राख्दै आएको छ । 

‘सोइ ढोले सोई अर्को ढोले खाई ?’ भन्दै नाच्नु र गाउनुको मिठास प्रेममय अभिनयमा रूपान्तरित भएर प्रकट हुन्छ । नाचमा युवायुवती मन उल्लासको सर्वोत्तम चुलीमा नृत्यमग्न । नाच्दै गाउँनेहरू, गाउँदै नाच्नेहरू अनेकौँ । नाच्नुको फुर्ती बेग्लै तामझामको । हेर्नुको आनन्द अर्कै किसिमको रमाइलो ।

एउटा पृथक् जीवन्त सांस्कृतिक अनुष्ठान–अध्यायको यो सिलसिला आजसम्म कायम छ । पूर्वेली भाषा, भाव, लय र तालमा एक अनुपम संस्कृतिको साकार रूप यसमै भेटिन्छ । जातीय सुगन्ध र सौन्दर्यको मिलन यसमै सम्मिलित भएको हुन्छ । जात, धर्म र कर्मभन्दा माथि उठेर सङ्लो साझा भावना त्यहाँ व्यक्त भएको हुन्छ ।

वास्तवमा यिनै हुन् हाम्रा सामाजिक सद्भावका सौन्दर्य । यिनै हुन् ग्रामीण जीवनका आत्मीय सम्बन्धहरू । मित्र–मिजास र आफन्तपनका अनुहारहरू । स्वस्थ मनोरञ्जनको एक अनुपम उदाहरण ‘चण्डीनाच’ । जुन सुन्दर सांस्कृतिक पर्यटनको गतिलो गन्तव्य ‘जन्तेढुङ्गा’ मा अद्यापि यसको सनातन मौलिकता विद्यमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप