पक्राउ परेको भोलिपल्टै रिहा भए सांसद शर्मा, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति
आज मिति २०८० साल साउन महिनाको २६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटएको छ–
रिहा भए सांसद शर्मा
बिहीबार पक्राउ परेका कांग्रेस नेता तथा सांसद सुनील शर्मा शुक्रबार रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशले शर्मा प्रमाणपत्र किर्ते अभियोगमा मुछिएपनि रिहा भएका हुन् ।
शर्मालाई काठमाडौँ जिल्ला अदालतले रिहा गर्ने आदेश दिँदा मुख्यतः दुई वटा कारणलाई आधार बनाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले सुनील शर्मा भागी जाने सम्भावना नदेखिएको र निजले प्रमाण लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता समेत नरहेको कारण देखाएर उनलाई रिहा गर्ने आदेश दिएको हो ।
प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध आक्रामक
शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले यस्तो बताएका हुन् ।
सांसद शर्माले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताए । उनले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताए ।
सांसद शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री प्रचण्डले हतकडी लगाएर गुन तिरेको भन्दै कटाक्ष गरे। उनले कांग्रेसलै नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोड्नुपर्ने बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ सभापति देउवालाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका हुन् ।
अडुकिया पक्राउ
करिब एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अडुकियालाई केन्द्रीय अनुसन्धान ब्युरोले फिर्ता पठाएको छ । शुक्रबार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरीसहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए ।
गौर हत्याकाण्डबारे जसपा
जनता समाजवादी पार्टीले गौर हत्याकाण्ड र मधेश आन्दोलन लगायतबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी सो पार्टीले यस्तो माग गरेको हो ।
आन्दोलनबाट पछि हटे विद्यालय सञ्चालक
सरकार र आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुबीच सहमति भएको छ । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
संसदमा अवरोध जारी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने बताएका छन् । संसदको जारी गतिरोधबारे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग शुक्रबार शीतलनिवासमा छलफल गर्दै राष्ट्रपतिले दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न आग्रह गरे ।
विश्वव्यापी साइबर सुरक्षा सुचकांङक स्कोर ४४.९९ बाट आगामी पाँच वर्ष भित्र ६०, दशवर्ष भित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत र्पुयाउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको छ ।
कपनमा डोजर चल्यो
कपनमा डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँग काठमाडौँ महानगरपालिकाले कपनमा डोजर चलाएको हो ।
कांग्रेस संसदीय दल
नेपाली कांग्रेसका सांसदहरूले संसद्को गतिरोध अन्त्य गर्न पार्टीले पहल लिनुपर्ने बताएका छन् । शुक्रवार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले संसदमा गतिरोध उत्पन्न हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको भन्दै गतिरोध अन्त्यका लागि सभापति देउवालाई अग्रसरता लिन सुझाव दिएको प्रतिनिधिसभा सदस्य समेत रहेका नेता प्रदीप पौडेलले जानकारी दिए ।
यो पनि...
महानगरपालिकाले हनुमानढोका दरबार परिसरमा विभिन्न ९ वटा कार्य गर्न रोक लगाएको छ । महानगरपालिकाकाअनुसार दरबार क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न रोक लगाइएको छ ।
जनता समाजवादी पार्टी, नेपालको विधान कार्यान्वयनमा आएको छ । पार्टीको गत असार १० देखि १२ गतेसम्म काठमाडौँमा सम्पन्न विधान अधिवेशनबाट पारित विधान शुक्रबारदेखि लागू भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
कोशी प्रदेशमा जनता समाजवादीबाट एकमात्र सांसद रहेकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।
थप स्टोरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई