शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री सुदन किरातीलाई खुलापत्र

शुक्रबार, २६ साउन २०८०, १७ : ०५
शुक्रबार, २६ साउन २०८०

माननीयमन्त्रीज्यू, अभिवादन ! 

आराम रही आरामको कामना गर्दछु । जुन २७ तारिखमा तपाईंको एउटा फेसबुक पोस्ट देखेँ । अक्षरले भरिएका तीन पृष्ठ कागजको तस्बिर अपलोड भएका थिए । त्यसलगत्तै प्रायः मिडियामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक ई. प्रदीप अधिकारीलाई स्पष्टीकरण !’ भन्ने शीर्षकमा समाचार आए ।  

तपाईंलाई थाहा छ कि छैन, त्यो क्षण नागरिक उड्डयन प्राधिकरणमा एउटा उखान फैलिरहेको थियो, ‘अति भएपछि खती हुन्छ ।’ महानिर्देशकको ‘अति’ खाले व्यवहारबाट छुट्कारा पाइने भयो भन्ने अपेक्षाका साथ धेरैले तपाईंको कदमलाई स्वीकार गरिरहेका थिए । यत्तिकैमा अधिकारीले प्रस्टीकरण दिन्नँ भन्ने आशयको समाचार पनि केही मिडियामा पढ्न पाइयो । यसबाट इन्जिनियर अधिकारी र तपाईं विभागीय मन्त्रीबीचको टसल सामान्य थिएन भन्ने आकलन भयो । 

सात दिन बिते, अधिकारीले तयार पारेको आफ्नो ठाडो भाषा र प्रतिप्रश्नले भरिएको स्पष्टीकरणको जवाफ आफ्नै सचिवालयको कम्प्युटरमा सीमित राखे । तपाईं विभागीय मन्त्रीले सोधेका प्रश्नलाई गैरकानुनी र आफ्नो स्तर नमिल्ने भन्ने प्रतिक्रिया अधिकारीले दिइरहे । सात दिने म्याद गुज्रिएर गयो, अर्कोपटक तपाईंले नै तीनदिने स्पष्टीकरणपत्र मन्त्रालयबाट चलानी गरिदिनुभयो, जसको उत्तर चौबिस घन्टाभित्रै मन्त्रालयमा दर्ता भयो । त्यसपछि मामिला तैँ चुप मै चुपको अवस्थामा छ । शक्तिकेन्द्र वा अरु कुनै ‘सेटलमेन्ट’ले काम ग¥यो, त्यो यसै भन्न सकिएको छैन ।

महानिर्देशकको कार्ययोजना ‘थैली भरेजस्तो गर्ने’ अनि अर्को दशकलाई पनि ऋण भार पर्ने गरी बिजनेस योजनाबिना पूर्वाधारमा लगानी गर्ने रहेको छ । उनले यात्रुसेवा दस्तुरमा कैयौँ प्रतिशत वृद्धि गरी ढुकुटी भरिएजस्तो देखाउन सफल भइसकेका छन् । श्रमिक निर्यात गरेर रेमिट्यान्सले धानिएको देशमा यात्रुसेवा दस्तुरको नाममा लुटपाट चलेको कुरा देशभित्र कसैले चर्चा गर्दैन । दक्षिण एसियामै न्यून सेवा र अत्यधिक महँगो सेवा शुल्क लिने भनेर चिनिएको नेपालमा पुष्टि हुन नसक्ने गरी यात्रुसेवा शुल्कमा भारी वृद्धि गरियो । महानिर्देशकको ठेक्कापट्टा मोहलाई सहयोग पु¥याउन आफ्नो ढुकुटी भराउने एक मात्र उद्देश्य यसमा देखियो । नत्र खास सेवामा वृद्धि वा परिवर्तन नगरी शुल्क मात्रै वृद्धि गर्नु वैज्ञानिक हुन नसक्ने नागरिक उडड्यनकै पूर्वमहानिर्देशकहरू बताउँछन् । सेवा समयानुकूल बनाउनुनपर्ने तर शुल्क समयानुकूल बनाउनुपर्ने ! यो खालको शुल्क वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्का पारेको छ । जनयुद्धबाट आउनुभएको तपाईंले श्रमजीवीका मर्कालाई कसरी टुलुटुलु हेरेर बस्न सकिरहनुभएको छ ? 

मन्त्रीज्यू ! वर्तमान महानिर्देशकको कार्यकाललाई हेर्ने हो भने त्यति सुखद छैन । तारा एयरलाइन्सको २०७९ जेठ १५ पछिको दुर्घटनाबाट सुरु भएको दुर्घटनाको शृंखला अहिले मनाङ एयरको लामजुरा दुर्घटनासम्म आइपुग्दा एक ट्विन वटर, एक एटीआर र चार हेलिकप्टरमा सयौँ जनधनको क्षति राज्यले भोगिसकेको छ । यद्यपि यी दुर्घटनाबाट पाठ सिकेर न्यूनीकरण गर्नुभन्दा महानिर्देशकले मिडियाबाजी र एक्सनका नाममा सरोकारवालाप्रति पूरै गैरजिम्मेवार भएर निर्णय शृंखला अगाडि बढाइरहेका छन् । कहिले भीएफआर उडान प्रतिबन्धको परिपत्र गरिरहेका छन् त कहिले हेलिकप्टरलाई विमानस्थलबाट सेवा दिनुपर्ने बाध्यकारी प्रावधान ल्याएर एक्सन देखाइरहेका छन् । 

श्रमिक निर्यात गरेर रेमिट्यान्सले धानिएको देशमा यात्रुसेवा दस्तुरको नाममा लुटपाट चलेको कुरा देशभित्र कसैले चर्चा गर्दैन । दक्षिण एसियामै न्यून सेवा र अत्यधिक महँगो सेवा शुल्क लिने भनेर चिनिएको नेपालमा पुष्टि हुन नसक्ने गरी यात्रुसेवा शुल्कमा भारी वृद्धि गरियो ।

मनाङ एयरको ९एन–एएमभी हेलिकप्टर दुर्घटना भएसँगै उडान सुरक्षामा सुधार्ने भन्दै फन्डा गर्ने शृंखला आज पनि जारी छ । अफिसियल ट्विटरमा सार्वजनिक गरिएको निर्णयमा हेलिकप्टर व्यवसायलाई धराशायी बनाउने खालका नियम उल्लेख छन् । खुला आकाश नीति र दुर्गममा जनताको सेवा पाउने अधिकारको विरुद्धमा प्रतिबन्ध आउनु यो क्षेत्रको दुर्भाग्य नै हो । 

सरोकारवालासँग एकपटक पनि सल्लाह नगरी हवाई सुरक्षाजस्तो संवेदनशील विषय ल्याइनु उपयुक्त हो ? यस्ता किसिमका नियमका कारण यो क्षेत्रले उठ्नै नसक्ने गरी ऋणको भारी बोकिरहेको विज्ञको तर्क छ । जहाज उडान नै प्रतिबन्द गरी के कस्तो उडान सुरक्षाको खोजी गर्दै छन् महानिर्देशक ? नियमनमा सौदाबाजी गर्ने तर मिडियामा फन्डा गर्ने ?

मन्त्रीज्यू ! तपाईं स्वयंले समेत यो विशिष्ट सेवालाई किन यसरी बेवास्ता गरिदिनुभयो ? यसको उत्तर मसँग छैन । इन्जिनियर ब्याकग्राउन्डबाट आएका महानिर्देशकको उडान सुरक्षाप्रतिको गलत बुझाइ र उनको बेवास्तालाई नजरअन्दाज गर्ने तपाईंको कार्यशैली यो क्षेत्रले अपेक्षा गरेको थिएन । महानिर्देशकजस्तै तपाईं किन यति असंवेदनशील हुनुभयो ? यो क्षेत्रले उत्तर खोजेको छ । 

मन्त्रीज्यू ! तपाईंको देखाउने दाँतले यही देखायो कि तपाईं उडान सुरक्षाजस्तो संवेदनशील कुरा महानिर्देशकसँग लेनदेन वा त्यस्तै केहीमा शान्त हुनुहुन्छ । नत्र एकाउन्टेबल सेफ्टी म्यानेजरका हिसाबले क्यान महानिर्देशक जिम्मेवारीमा बस्नलायक व्यक्ति कसरी हुन् ? त्यो कुरा तपाईंले हामी सर्वसाधारणलाई बताइदिनैपर्र्छ । उनको कार्यशैली हेर्न महानिर्देशकले आफ्ना प्रमुख स्टेकहोल्डरसँग गरेको व्यवहार र यिनका निर्णय शृंखला हेरे पुग्छ, तर मन्त्रीज्यू तपाईं के कुराले कन्भिन्स नभएर हिजो प्रस्टीकरणको नौटंकी गर्नुभयो वा के कुराको बलमा अहिले शान्त हुनुहुन्छ ? उड्डयन क्षेत्रका जानकारले यसको जवाफ पाउन सकेका छैनन् । चिलझैँ जहाज खस्दा वा दादागिरी गरेर महानिर्देशक बसिरहँदा विभागीय मन्त्रीका हैसियतले तपाईं मौन बस्नु भनेको तपाईंले भन्ने गरेको आमाले सिकाएको इमान वा अध्यक्षको निर्देशनको हार हो सायद, तपाईंले यो कुरा बुझिसक्नुभएकै होला । 

१२ बजेपछि उडान प्रतिबन्ध लगाउने, हेलिकप्टर व्यवसायीलाई धराशायी बनाउने निर्णयले कार्यान्वयन पाउँदा समेत तपाईं मौन बस्नु यो क्षेत्रले इतिहासमै नपाउने त्रास र धम्की खेपेको छ, मानौँ प्राधिकरणसँग यी साझेदार वर्गीय दुश्मन थिए । अचेल त तपाईं चुइँक्क समेत बोल्नुहुन्न, मानौँ तपाईंको मुख र मगजमा कुनै अन्तर्राष्ट्रिय स्तरको धम्की आयो । तपाईंमा बडो आश्चर्यजनक मौनता कसरी सम्भव भयो ? आखिर कसैसँग उत्तर छैन । यी तमाम समस्याका बीच ठेकदार महानिर्देशक तपाईंको प्रिय हुन्छन् र यिनको संरक्षणमा तपाईं लाग्नुहुन्छ भने तपाईंका खोक्रा भाषण रद्दीको टोकरीमा विसर्जन किन नगर्ने ? जनताको एकबँुदे स्पष्टीकरणको तपाईंलाई राख्दै बिदा माग्छु ।

(टेक्सास अमेरिकामा रहेका सुनुवार एभिएसन म्यानेजमेन्टमा अध्ययनरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलेक्स सुनुवार
एलेक्स सुनुवार
लेखकबाट थप