मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

जापान बाहिरिएपछि नयाँ टोलीले विश्वकपको उपाधि उचाल्ने पक्का

शुक्रबार, २६ साउन २०८०, १६ : ००
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २—१ गोलले पराजित गर्‍यो । 

जितसँगै स्विडेन नवौं महिला विश्वकपको सेमिफाइनलमा पुग्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २—१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको थियो । 

खेल सुरु भएको ३२ औं मिनेटमा स्विडेनका लागि अमान्डा लेस्टेडले पहिलो गोल गरेकी थिइन् । सोही गोलका कारण स्विडेन पहिलो हाफमा अगाडि रह्यो । खेलको ५१ औं मिनेटमा फिलिप्पा एन्जलडलले पेनाल्टीमार्फत गोल गर्दै स्विडेनको अग्रता दोब्बर बनाएकी थिइन् । 

यसैगरी ८७ औं मिनेटमा होनोका हायासीले जपानका लागि जवाफी गोल गरेकी थिइन् । तर, होनोकाको उक्त गोलले जापानको पराजयलाई भने टार्न सकेन । प्रतियोगिताको सेमिफाइनलमा स्विडेनले स्पेनको सामना गर्नेछ । 

जापान महिला विश्वकपको पूर्वविजेता राष्ट्र हो । सन् २०११ मा जर्मनीमा आयोजना भएको महिला विश्वकपको छैटौं संस्करणको उपाधि जापानले जितेको थियो । त्यतिबेला जापानले फाइनलमा अमेरिकालाई पेनाल्टी सुटआउटमा ३—१ गोलले हराएको थियो । 

जापान उपाधि होडबाट बाहिरिएपछि अब महिला विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । सेमिफाइनलमा पुगिसकेका स्पेन र स्विडेनले हालसम्म महिला विश्वकप जितेका छैनन् । क्वार्टरफाइनल खेल्न बाँकी रहेका अस्ट्रेलिया, फ्रान्स, इङ्ल्यान्ड र कोलम्बियाले पनि हालसम्म महिला विश्वकपको उपाधि जितेका छैनन् । 

हालसम्म चारवटा राष्ट्रले मात्र महिला विश्वकपको उपाधि चुमेका छन् । अमेरिकाले सर्वाधिक चार पटक उपाधि जितेको छ । यसैगरी जर्मनीले दुई पटक महिला विश्वकपको उपाधि जितेको छ । जापान र नर्वेले एक—एक पटक उपाधि जितेका छन् । 

प्रतियोगिताको अन्य क्वार्टरफाइनल खेलमा शनिबार अस्ट्रेलियाले फ्रान्स र इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछन् । महिला विश्वकप फुटबलको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप