शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

हरियाली साउन : तडकभडकभन्दा स्वास्थ्यलाई ध्यान दिऔँ

बिहीबार, २५ साउन २०८०, १५ : ४७
बिहीबार, २५ साउन २०८०

साउनको माहोल जता हेर्‍यो उतै हरियो भएको छ । खेतीबारी हेर्दा धानका बोट लहलह गर्दै हावामा बयली खेल्दै छन् सँगै मास र भटमासको बोट पनि काल्ना, आलीतिर लहलह भएका छन् । यस्तै सहरबजार चोकतिर पनि अहिले हरियोकै माहोल छ । धेरै महिला दिदीबहिनी हातमा हरिया चुरा, लुगा पनि हरिया लगाएर हिँडेको देखिन्छ । 

हाम्रो समाजमा धार्मिक आस्थाले पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । विशेषगरी साउनलाई शिव भगवान्सँग जोडेर हेरिन्छ । यो महिनामा शिवजीको विशेष पूजाआजा गरिन्छ । वास्तवमै धर्म–संस्कृतिले पनि मानव जीवनलाई सही दिशामा लगेको हुन्छ । हाम्रा पुर्खाले बनाएका नियम वैज्ञानिक भएका तथ्यहरू पनि उजागर हँुदै छन् । जस्तै ः व्रत बस्नु, पूजापाठ गर्नु, भजन गर्नु, दान दिनु इत्यादि यस्ता कार्यले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक भूमिका खेलेको हुन्छ । महिनामा १, २ दिन व्रत बस्नाले मानिसको पाचन प्रणाली राम्रो हुने, भजन–कीर्तन, पूजाआजाले मानिसलाई मानसिक सन्तुष्टि दिने गर्छ, जसले गर्दा पारिवारिक कलह कम हुन्छ, भावनात्मक सम्बन्ध बढ्छ । 

साउनमा हरियो चुरा वा लुगा लगाउने चलन बढ्दो छ । विशेषगरी साउनको सोमबार शिवालय, मन्दिरहरूमा भक्तजनहरू यस्तै स्वरूपमा देखिन्छन्, यस्तो गर्नु गलत हो भन्न खोजेको होइन । यस्ता कुरा त आफ्नो व्यक्तिगत हुन्, कसैलाई मनपर्छ त कसैलाई मनपर्दैन । हिन्दु समाजमा कतिपय दिदीबहिनी साउनभरि व्रत बस्दै हातमा हरिया चुरा, मेहेन्दी र हरिया लुगामा सजिन चाहन्छन् भने कतिपय दिदीबहिनीहरू अरु बेलाजस्तै सामान्य लुगामै व्रत–उपासना गर्छन्, कतिपयलाई यी सब कुरामा चासो नभएको पनि देखिन्छ । 

वास्तवमा हरियो लगाएरभन्दा पनि हरियो खाएमा हाम्रो जीवन स्वस्थ हुन्छ । कतिपय समयमा हामीले सोखका रूपमा लगाएको मेहन्दीले विभिन्न किसिमको इन्फेक्सन गरी छालाका रोग लागेका कुरा पनि सुन्नमा आएका छन्, त्यसैले क्षणिक खुसीभन्दा सरल र स्वस्थ जीवनबारे हामीले सोच्नुपर्छ । स्वास्थ्य नै सबै भन्दा ठूलो सम्पत्ति हो, बेलैमा विचार नगरे फुर्सदमा पछुताउनुपर्ने हुन्छ । 

अर्कोतिर, हाम्रा क्रियाकलापले कतिपय अवस्थामा हाम्रो परिवारलाई अनावश्यक आर्थिक भार परिरहेको हुन्छ, जसले गर्दा घरमा श्रीमान्–श्रीमतीको सम्बन्धमा दरार पर्छ । श्रीमान्ले १० धारा पसिना बगाई कमाएको सम्पत्ति श्रीमतीले फेसनको नाममा अरुको लहैलहैमा लागेर खर्च गरेका छन् । सबैजना यस्ता हुन्छन् भनेको होइन तर यस्तो क्रियाकलाप गर्नेको कमी छैन हाम्रो समाजमा । 

आर्थिक पक्ष जीवनको महत्त्वपूर्ण पाटो मानिन्छ, भन्नलाई त पैसा सबै थोक होइन भन्छौँ तर अन्तिममा त्यही पैसा नभई हाम्रो जीवन चल्दैन । धेरै कमाइ हँुदैमा धनी वा सम्पन्न बन्ने होइन । आफ्नो कमाइलाई सही रूपमा प्रयोग गरी बचत गर्ने बानी भएमा हामी सम्पन्न र सुखी हुन सक्छौँ । त्यसैले हाम्रो उखान छ, घाँटी हेरी हाड निल्नुपर्छ । 

खर्च कम गर्न हामीले अघिल्लो वर्षका सामानलाई समय सुहाउँदो किसिमले प्रयोग गर्न सक्छौँ । जस्तै ः गएको वर्षका हरिया चुरा, पोते, कपडा यो वर्ष पनि प्रयोग गरौँ । अनावश्यक फजुल खर्च कहिले नगरौँ । यसो गर्दा परिवारमा सुख शान्ति कायम गर्न मद्दत गर्दछ । हाल सामाजिक सञ्जाल टिकटकमा बुढाले हरियो चुरा, पोते आदि नकिनिदिएको गुनासोसहितका भिडियो प्रशस्त हेर्न पाइन्छ । 

कतिपयले रमाइलोका लागि त कतिपयले आफ्नो व्यथा पोख्दै यस्ता भिडियो बनाएका छन् । अरु बेला समानताका कुरा गर्ने महिलाले यस्ता कुरामा पनि थोरै विचार गर्ने हो कि ? यसो भन्दैमा संस्कृतिको विरोध गर्न खोजेको होइन, आफ्नो इच्छा अनुसार लगाउन, खान, रमाइलो गर्र्ने अधिकार सबैलाई छ, तर हुने–खाने केही सीमित वर्गले गर्ने यस्ता क्रियाकलापले धेरैमा असर पर्न गएको कुरा पत्तो नै हँुदैन । हरियो चुरा, मेहन्दी किन्नका लागि बर्सेनि लाखौँ रुपैया  बिदेसिएको तथ्यलाई पनि नकार्न सकिँदैन । यी कुराको चर्चा गरिरहँदा हालसालै कवि अर्जुन पराजुलीले लेखेको कविताको सम्झना भयो ः 

हरियो सारी लगाउँदैमा

शिवजी खुसी हुँदैनन् महासय

खुसी हुन्छन् त पसलका साहुजी शिव शर्मा । 

यसरी समाजमा देखापरेको देखासिकी गर्ने संस्कारलाई यस कविताले व्यंग्य गरेको छ । 

हामीले हाम्रो धार्मिक आस्था, परम्परा, चाडपर्व, संस्कृतिको जगेर्ना गर्नुपर्छ, तर त्यसमा हुने तडकभडकलाई कम गर्न आफैँ सचेत हुन जरुरी छ, यस्ता कुराका बारेमा चर्चा, विश्लेषण हुनु पनि जरुरी छ । राम्रा कुरालाई हामीले सदैव आत्मासात गर्नुपर्छ भने विकृति, फजुल र अनावश्यक खर्च र तडकभडकको खुलेर विरोध गर्नु सचेत नागरिको कर्तव्य हो । समृद्ध समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ ।

(लेखक गाइसी भक्तपुरको ख्वप कलेजमा समाजशास्त्र विषयको उपप्राध्यापक छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप