मन्त्री र सचिवलाई प्रधानमन्त्रीको चेतावनी : लक्ष्यअनुसार काम नगरे जिम्मेवारी फेरबदल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको लक्ष्य अनुसार काम नगरे अभिलेख राखेर जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिएका छन् । मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उनले विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने,‘कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ भन्ने कुरामा म सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’ उनले कार्यसम्पादन मूल्यांकनको आधार गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले आयोजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका रहने उल्लेख गर्दै कार्यान्वयनमा उत्पन्न हुने बाधा अड्चन फुकाउने र अन्तरनिकाय समन्वयको दायित्व पनि नेतृत्वकै हुने बताए । ‘म सबै मन्त्री, सचिव तथा विभागीय प्रमुखहरू र आयोजना प्रमुखलाई आफूमातहतका आयोजनाहरु निर्दिष्ट तोकिएको समयमै सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश गर्दछु,‘उनले भने,‘ तपाईंहरूको स्तरबाट फुकाउन नसकिएका समस्या फुकाउन र समस्याको हल पहिल्याउन म सदैव तयार छु।’
प्रधानमन्त्री प्रचण्डले टेबुलको शासनमा रमाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले भने,‘ पूर्व तयारीबिनाका आयोजनामा रकम विनियोजन गरिहाल्ने, निर्णय प्रक्रियामा जोखिम लिन नचाहने, कानुनी झन्झट देखाउने, टेबुल टेबुलको शासन गर्न रमाउने तथा अन्तर समन्वय गर्न नरुचाउने हाम्रो शासकीय प्रवृत्तिमा तत्काल सुधार गर्न जरुरी रहेको छ । यसका लागि म सबैलाई निर्देश गर्दछु ।’
जग्गा प्राप्ति, वनक्षेत्रको उपयोग तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको यथाशीघ्र स्वीकृति, पर्याप्त स्रोतको व्यवस्था, क्षमतायुक्त जनशक्तिको व्यवस्था समयमै नहुँदा तथा आयोजना प्रमुखहरूको निरन्तरता नहुनाले आयोजनाको समयमै कार्यान्वयन नहुने समस्या देखिएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले यस्ता समस्याहरू बारम्बार पुनरावृत्ति हुन नदिन वस्तुपरक विश्लेषण गर्न टड्कारो आवश्यकता रहेको औंल्याए । ‘विकासलाई बाधा पुर्याउने तत्वहरूको समयमै पहिचान गरी नीतिगत तथा संस्थागत सुधारका कार्यहरूलाई अघि बढाउन र आयोजनामा सिर्जना हुनसक्ने समस्याको तत्कालै समाधान गर्नेगरी प्रभावकारी व्यवस्था मिलाउन सबै माननीय मन्त्री, सचिव तथा आयोजना प्रमुखहरूलाई आग्रह गर्दछु,‘ उनले भने,‘ यस कार्यालयका सम्बन्धित विषय÷क्षेत्र हेर्ने सचिवलाई पनि अन्तर–निकाय समन्वय र सहजीकरण गरी आयोजनालाई निर्धारित लागत, गुणस्तर र समयमै सम्पन्न गरी अपेक्षित नतिजा हासिल गर्नसक्ने वातावरण सुनिश्चित गर्न र मलाई यस विषयमा नियमित रिपोर्टिङ गर्नका लागि थप क्रियाशील हुन म आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी