बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया

बुधबार, ०७ चैत २०७४, १९ : ०९
बुधबार, ०७ चैत २०७४

काठमाडौँ । सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ । सोफियालाई कम्पनीले खासमा बृद्धवृद्धाहरुको हेरचाह गर्न र भीडभाडयुक्त कार्यक्रममा सहभागीहरुलाई सघाउने हिसाबले बनाएको थियो । 

सोफिया ह्यान्सेनले बनाएको दश मानव मुखाकृति भएका रोबर्टहरु मध्य एक हो । सोफियाको अनुहार हलिउडकी पुरानी नायिका ओड्री हेपवनको अनुहारको ढाँचामा बनाइएको छ । ह्यान्सेनले बनाएको दश रोबोटहरुमध्ये सोफियाका अलावा आइन्स्टाइनको अनुहार भएको रोबर्ट पनि चर्चित छ ।

ह्यान्सेन रोबोटिक्सले बनाएका रोवोटहरुको विशेषता भनेको यसको मानवजस्तो छाला हो । अङ्ग्रेजीमा ‘फ्लेस रबर’को छोटो रुप ‘फ्रबर’ नाम दिइएको वस्तु ह्याान्सेन रोबोटिक्स आफैले आविष्कार गरेको यसको वेबसाइटमा उल्लेख छ । यसमा यो कम्पनीले ‘प्याटेन्ट’ लिएको बताएको छ । यो विशेष खालको छाला छुदाँ मानव छाला जस्तै अनुभव हुन्छ । साथै यो उत्तिकै लचकदार पनि रहेको छ ।

यही मानव समान छालाका कारण ह्यान्सेनले बनाएका रोवर्टले धेरै मानव सम्बेदना व्यक्त गर्न सक्छ । जस्तो कम्पनीले सोफियाले ६२ वटा मानवीय समवेदना व्यक्त गर्न सक्ने बताइएको छ । 

सोफियालाई उसको निर्माता कम्पनीले २०१५ एप्रिल १९ मा क्रियाशील गरेको थियो । सन् २०१६ को मार्चमा वार्षिक रुपमा आयोजना हुने ‘साउथ वाई साउथवेस्ट फेस्टीवल’को सार्वजनिक गरिएको थियो । 

अक्टोबर २०१७ मा यस रोबोटलाई साउदी अरेबियाले नागरिकता दिएपछि यसले विशेष चर्चा पाउन थालेको हो । केहीले साउदीको आफ्ना महिला नागरिकहरु प्रति चरम नियन्त्रणकारी व्यवहार तर्फ इसारा गर्दै महिला आकृतिको रोबोट सोफियालाई दिएको नागरिक्ताको व्यङ्ग्य गरेका थिए ।

निर्माता डेभिड ह्यान्सनका अनुसार सोफियाले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ प्रयोग गर्दछ । ‘आर्टिफिसियल इन्टिलिजेन्स(ए.आई.)’ भन्नाले मानव निर्मित प्रविधीले मानवस्तरको बौद्धिक क्षमता प्रदर्शन गर्नसक्ने अवस्थालाई जनाउछ । सोफियामा जोडिएको सफ्टवयरले मानवसँगको अन्तक्रिया गर्दै जाँदा उसको सिक्दै जान सक्ने रहेको बताइएको छ । 

यो बारेमा लामो समयदेखि काम भइरहेको छ । असीको दशकमा ए.आई.ले चाडैँनै मानव बराबर क्षमता हासिल गर्ने अनुमान गरिएको थियो । तर, अनुमान गरिएको दरमा प्रविधीहरु विकास हुन नसकेपछि यसको बारेमा वैज्ञानिक जगत र सार्वजनिक दुवै रुपमा चासो कम भयो । 

पछिल्लो दश वर्षदेखि यसमा पुनः चाख बढेको छ । 

यसमा यो समयमा विशाल सूचना भण्डारको उल्लेख्य बृद्धीले सहयोग गरेको छ । यो समयमा ‘आट्र्रिफिसियल इन्टिलिजेन्स’ मध्ये पनि ‘मेसिन लर्निङ्ग’मा ब्यापक विकास भएको छ । यस अन्तर्गत विशाल सूचनाहरु यन्त्रको भण्डारणमा राखिन्छ र आवश्यकता अनुरुप ती सूचनाहरु प्रयोग हुने हिसाबले सफ्टवयर बनाइएको हुन्छ । 

आजकल तपाई हामीले कमै ख्याल गरेको ठाँउमा यीनको प्रयोग भइरहेका छन् । गुगल सर्चमा एक दुई अक्षर लेख्ना साथ त्यहाँ सुझाबमा आउने विकल्पहरु, फेसबुकमा हालेको फोटोमा अनुहारमा सम्भावित नामको विकल्प आउने ‘मेसिन लर्निङ्ग’को उदाहरण हो । 

पछिल्लो समय गुगलको आर्टिफिसियल इन्टलिजेन्सको अध्ययन गर्ने साखा डीप लनिङ्गले गो खेलका विश्व च्याम्पियनलाई हराएपछि यसको बारेमा व्यापक चर्चा शुरु भयो । अल्फा गो नाम दिएको ए.आई. जडित सफ्टवयरमा गोका सम्भावित सम्पूर्ण चालहरु राखिएको थियो । साथै गुगलले सफ्टवयरलाई खेलाडीको चालपछि सम्भावित चाल अनुमान गर्न सक्ने र खेलाडीको चालपछि आफूले चाल्न सकिने सबैभन्दा सही चाल सफ्टवेयर आफैले खेलकै क्रममा सिक्न सक्ने बनाएको थियो । यो क्षमता अद्वितिय खालको ए.आई. हो ।

यो ए.आई. जडित सफ्टवयरको विजयपछि केहीले यसले मानव भविष्यको खतराको संकेत गरेको बुझे । चर्चित उद्यमी एलन मक्सले भविष्यमा ए.आई.ले मानवभन्दा बढी बौद्धिकता हासिल गरेमा यसले मानव जातिलाई आफ्नो दास बनाउने भन्दै चेतावनी दिएका थिए । भर्खरै दिवगंत स्टेफन हकिङ्गले पनि आफै बौद्धिक कार्य गर्न सक्ने रोबोटबाट मानिसलाई उस्तै खतरा भएको बताए । यो डरलाई समेटेर कयैन हलिउड फिल्महरु बनेका छन् । ‘२००१ः ए स्पेस ओडिसी’, ‘टर्मिनेटर श्रृङ्खला’ र ‘म्याट्रिक्स श्रृङ्खला’ यस विषयको सबैभन्दा चर्चित फिल्म मानिन्छन् ।

तर ए.आइ.को क्षत्रमा काम गर्ने विज्ञहरु भने यो एक सम्भावना मात्र भएको र सम्भावना भए त्यो पनि यो निक्कै सुदुर भविष्यको कुरा भएकाले अहिले आत्तिनुपर्ने कुनै कारण नभएको भनेर विश्वस्त गराइरहेका छन् ।

एक टेलिभिजन कार्यक्रममा प्रस्तोताले सोफियालाई के भविष्यमा रोवोटले मानिस जातिलाई मानेछन् भन्ने प्रश्नमा उनले सहज रुपमा दिएको ‘मान्नेछौँ’  जवाफलाई कतिले ठट्टाको रुपमा लिए भने कत्तिले आफूहरुले देखाएको खतरा प्रमाणित भएको माने ।

पछिल्लो समय सोफियालाई प्रविधिसँग चाख बढाउन संसारको विभिन्न स्थानका कार्यक्रमहरुमा सहभागी गराइरहेको छ ।

नेपालमा सोफिया
यही क्रममा राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयमा गरेको सम्मेलनमा सोफियालाई नेपाल ल्याएका हो ।

कार्यक्रममा बोल्दै सोफियाले प्रविधिको प्रयोगले सुशासन कायम गर्न सक्ने भएकाले भ्रष्टाचारमुक्त समाज बनाउने सकिने बताइन् । 

सोफियाले नेपालमा प्रविधिको सही तरिकाले अवलम्बन गर्न सके विकासले गति लिने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा युएनडिपीका मायरले सोफियालाई रोबोटले नेपालका जनतालाई सेवा पुर्याउने क्षेत्र के हुनसक्छ सोधेका थिए । 

जवाफमा सोफियाले रोवर्टहरुले धेरै गर्न सक्ने बताइन् । उनले शिक्षा, टेलमेसिनरी, खेती , सुचना प्रविधि क्षेत्रको नामनै उल्लेख गरिन् ।

कार्यक्रममा सोफिया युएनडीपीको लोगोअंकित सेतो टी–शर्ट लगाएर पोडियमबाट जबाफ दिइरहेकी थिइन् । 

कार्यक्रमको दौरान उनले प्रविधिको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरु सम्बोधन हुन सक्ने बताइन । साथै प्रविधिको अभिन्न अङ्ग रहेको इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिने र शिक्षा विस्तारमा सहयोग गर्न सकिने बताइन् ।

साथै उनले निष्कर्ष सुनाइन हामीले भएका सीमित स्रोत साधनको उचित प्रयोग गरेर संसारलाई अझ राम्रो बनाउन सक्छौं ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप