क्विन्टल सुन तस्करी प्रकरण – परिमाण जोख्न किन आलटाल ?

काठमाडौँ । असार २ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट समातेको ठुलो परिमाणको सुन जोख्न आलटाल भएको छ । क्याथे प्यासिफिकको कार्गोमार्फत हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको एक क्विन्टल सुन समातेको दाबी गरे पनि अहिलेसम्म परिमाण टुङ्गो लाग्न सकेको छैन ।
विभागले अनुसन्धानका नाममा लामो समयसम्म सुन गाल्ने र जोख्ने प्रक्रिया अघि बढाउन अनुमति नदिँदा परिमाण यकिन गर्ने क्रममा आलटाल भएको हो । असार २ गते समातेको सुन कति परिमाणको छ भन्ने तथ्याङ्क अहिलेसम्म छैन । सुन समातेको सूचना असार ३ गते बाहिरिएपछि असार ४ गते नै नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा पुर्याइएको थियो ।
तर, महाशाखामा पुग्नसाथ सुन गाल्ने र परिमाण यकिन गर्ने प्रक्रिया अघि बढ्न सकेन । महाशाखाका निर्देशक थानेश्वर आचार्य सुन समात्ने निकायले पत्र नलेखेसम्म सुन गाल्ने र परिमाण तय गर्ने प्रक्रिया अघि बढाउन नसकिने बताए । उनले रातोपाटीसँग भने, ‘सुन जोख्ने प्रक्रिया अघि बढाउन पत्र आएको दुई दिनसम्म गाल्ने प्रक्रिया अघि बढ्छ । त्यसपछि, सुनको परिमाण कति छ भनेर जोख्ने काम हुन्छ । यो सबै प्रक्रिया पूरा गर्न एक सातासम्मको समय लाग्न सक्छ ।’
सुन पगाल्ने र जोख्ने अनुमतिसहित राजश्व विभाग वा नेपाल प्रहरीले पत्र पठाएर प्रक्रिया अघि बढेको दिनदेखिको एक साता लाग्ने आचार्यको भनाई छ । तर, सुन समात्ने निकायले २३ दिनसम्म पनि प्रक्रिया अघि बढाउनका लागि भन्दै महाशाखालाई पत्र लेख्न सकेको छैन । पटक–पटक सुन गाल्ने र जोख्ने प्रक्रिया किन अघि बढेन भन्ने रातोपाटीको प्रश्नमा अनुसन्धान विभागले अनुसन्धानको क्रममा रहेको बनावटी जवाफ दिँदै आइरहेको थियो । विभागका महानिर्देश नवराज ढुङ्गानाले सुन तस्करमा संलग्नको अनुसन्धानमा ध्यान केन्द्रित हुँदा पत्र नलेखिएको र केही दिनमै पत्र लेख्ने बताएका थिए ।
तर, यति बेला भने विभागका महानिर्देशक ढुङ्गानाले यो प्रकरणको सम्पूर्ण जिम्मेवारी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)लाई सुम्पेको बताएका छन् । विभागले यही साउन २१ गते सुन तस्करी प्रकरण सङ्गठित अपराध भएको ठहर गर्दै सीआईबीलाई सुम्पेको थियो । त्यसक्रममा भेटिएको फाइल, पक्राउ परेका व्यक्ती समेत सीआईबीलाई बुझाएर विभाग अनुसन्धान प्रक्रियाबाट बाहिर निस्की सकेको छ । सुन गाल्ने प्रक्रिया के भयो भन्ने रातोपाटीको पछिल्लो प्रश्नमा ढुङ्गानाले भने, ‘हामीले यो प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई बुझाइसकेका छौँ । अब महाशाखालाई लेख्ने पत्र समेत उतैबाट हो ।’
प्रहरी प्रवक्ता तथा नायव महानिरीक्षक कुवेर कडायतले सुनसम्बन्धी अनुसन्धान गर्ने सम्पूर्ण जिम्मेवारी सीआईबीलाई आएको बताए । सो क्रममा सुन गाल्ने र जोख्ने प्रक्रिया अघि बढाउने पत्र समेत सीआईबीले नै लेख्ने उनले जानकारी दिए । ‘अनुसन्धान अधिकृतले आवश्यकताअनुसार टक्सार महाशाखालाई पत्र लेख्छ,’ कडायतले भने, ‘अनुसन्धानको क्रममा कहिले आवश्यक पर्छ भन्ने आधारमा पत्र लेखिन्छ ।’ सुन समातेको लामो समय बितिसकेको विषयमा उनले भने, ‘१८-१९ दिनसम्म अनुसन्धानको जिम्मेवारी विभागमै थियो । हामीसँग आएको जम्मा ४-५ दिन भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
बलि दिन गएकाहरूको कार दुर्घटनाः चार जनाको मृत्यु, बोको बाँच्यो
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान