किन विदेशिन बाध्य छन् विद्यार्थी ?
‘देशका युवा विदेशिने क्रम बढ्दो छ ।’ सुन्दा सामान्य लाग्ने यो वाक्यमा दुःख, विछोड र वेदनापूर्ण छ । वैदेशिक यात्रामा दुःख मात्रै छ र ? भन्ने प्रश्न पनि उठ्ला तर धेरैको भागमा दुःख नै पर्छ । रोजगारका लागि वैदेशिक यात्रामा गएका अधिकांश नेपाली खाडी मुलुकमा नै छन् । जसले ४५ देखि ५० डिग्रीसम्म घामको रापमा काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
एक अध्ययन अनुसार ८० देखि ९० लाख नेपाली विदेशमा छन् । रोजगारीका लागि होस् या अध्ययनका लागि, तीन करोड जनसङ्ख्यामा करिब एक करोड नेपाली विदेशतिरै छन् । विदेशतिर भएको प्रायः सबै युवा जनशक्ति नै छन् । ती युवा भनेको देशको विकास र समृद्धिका संवाहक शक्ति हुन् । त्यो जनशक्ति विदेश पलायन हुनु भनेको सबैभन्दा दुःखदायी अवस्था हो । देश युवाविहीन अवस्थामा छ ।
रेमिटेन्स त आएको छ नि भनेर कसैले भन्न सक्ला तर रेमिटेन्सले मात्रै देश समृद्ध हुन सक्दैन । युवाहरू भनेका विकासका संवाहक भएकाले उनीहरूको परिश्रमले देशमा धेरै सकारात्मक परिवर्तन आउन सक्छ । युवा भएमा विचारको विकास हुन्छ, उद्योग धन्दाको विकास हुन्छ ।
विकासवादी कतिपय चिन्तकहरू विदेशिएका झन्डै एक करोड युवालाई स्वदेशमै विभिन्न क्रियाकलापमा संलग्न गराउनुपर्छ भन्छन् । तर सरकार त्यसप्रति उदासिन देखिएको छ । रोजगारी तथा अध्ययनको नाममा लाखौँ युवा घरपरिवारबाट टाढिन बाध्य छन् ।
अहिले माहोल नै विदेश जाने भन्ने छ । अधिकांश विद्यार्थीलाई भविष्यमा तिमी के गर्छौ भन्दा धेरैले काम गर्न विदेश जाने भन्छन् । दुखद कुरा के छ भने अधिकांश युवाहरू अस्ट्रेलिया, जापान, अमेरिका जान मरिमेटेर लागेका छन् ।
अध्ययनका लागि विदेशिने
हुनेखानेका अधिकांश छोराछोरी कक्षा १२ उत्तीर्ण गरेर अध्ययनका लागि विदेश गएका छन् । सन् २०२२ मा अध्ययनका लागि भनेर ९५,२६८ विद्यार्थी विदेश गएको तथ्याङ्कले देखाउँछ । अघिल्ला वर्षका तुलनामा यो सङ्ख्या दोब्बर हो । यसरी अध्ययनका लागि विदेश गएका विद्यार्थी एकदमै न्यून मात्रामा नेपाल फर्कन्छिन् । अध्ययन गर्न भनेर हिजोआज हजारौँ विद्यार्थी विमानस्थलमा लामबद्ध भेटिन्छन् । यसरी अध्ययन गर्न जानेहरू आफू मात्र होइन हरेक महिना अर्बौं रूपैयाँ विदेशिएको छ ।
यसरी विदेश पढ्न जानु नेपालको शिक्षा गुणस्तरीय नभएर पनि हो । नेपालको शिक्षामा आमूल परिवर्तन आवश्यक छ । नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अहिले लथालिङ्ग अवस्थामा छ । विश्वविद्यालयमा चरम राजनीति छ । एक वर्षमा हुनुपर्ने परीक्षा दुई वर्ष लाग्ने गरेको छ । गुणस्तरीय शिक्षा दिने खालका प्राध्यापकको सङ्ख्या पनि न्यून छ ।
अहिलेको प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय शिक्षाको अभावले पनि विद्यार्थी विदेशअध्ययन गर्न जान बाध्य छन् । नेपालमा पढ्दा तुलनात्मक रूपमा समय बढी लाग्ने गरेको छ । यो अवस्थामा धेरैवटा विश्वविद्यालय खोल्नुभन्दा भएको विश्वविद्यालयमा शैक्षिक सुधार आवश्यक छ । समयानुकूल पाठ्यक्रम र शैक्षिक विषयवस्तु परिवर्तन गर्न आवश्यक छ । विश्वविद्यालयमा राजनीतिक क्रियाकलाप बन्द गर्न जरुरी छ ।
त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक गतिविधि ठिक राख्नको लागि प्रधानमन्त्री कुलपति हुने व्यवस्था अन्त्य हुनु आवश्यक छ । उपकुलपति जस्तो सम्मानित पद धारण गरेको व्यक्ति विश्वविद्यालयको पद्धति र देशको उच्च शिक्षाको नीतिले गर्दा निरीह बन्नुपर्ने र चाकडी गर्नुपर्ने अवस्था छ । विश्वमा बदलिदो परिवेश अनुसार विश्वविद्यालयमा शिक्षा, प्रविधि र आर्थिक क्रियाकलापमा जोड दिनु आवश्यक छ । तर त्रिविका उपकुलपतिको भवन र प्रशासनिक भवनमा राजनीतिक भ्रातृ सङ्घ सङ्गठनहरूले ताल्चा लगाउँछन् । यसरी विश्वविद्यालयका विद्यार्थीलाई पार्टीको झोले बनाउन विभिन्न कार्यक्रम गर्छन् । उनीहरूको इच्छाअनुसार सञ्चालन नगरे विभिन्न दुर्यवहार गर्छन् । उच्च शिक्षा दिने ठाउँमा यस्ता क्रियाकलाप भएपछि कसरी विद्यार्थीले देशमै अध्ययन गर्छन् ? त्यसैले विद्यार्थी पलायन हुनबाट रोक्न सम्बन्धित दलहरूले राजनीतिक संस्कार बदल्न जरुरी छ । विभिन्न क्याम्पस तथा शैक्षिक स्थानमा राजनीतिक दलले आफ्नो क्याडर बनाउँदा र अवाञ्छित गतिविधि गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको देखिन्छ भनी शैक्षिक अगुवाहरूले भन्छन् ।
रोजगारी सिर्जना
नेपाल आर्थिक रूपले विश्वको तुलनामा धेरै नै पछाडि छ । यो सबैलाई थाहा भएको कुरा हो । यो सुन्दासुन्दै म जस्ता युवाहरूले २५, ३० वर्ष पार गरिसके । तर समृद्ध राष्ट्र झन समृद्ध बन्दै गए तर नेपाल गरिबको गरिब नै हुनुपर्ने अवस्था छ । मुख्यतः नेपालको राजनीतिक संस्कार, आर्थिक नीतिलगायतमा कहीँ न कहीँ त्रुटि छ ।
अहिले देशको शैक्षिक नीतिमा व्यापक सुधारको आवश्यकता देखिन्छ । सरकारले वैदेशिक रोजगारीको लागि निरुत्साहित गर्दै उनीहरूलाई सीप सिकेर मात्र विदेश जाने वातावरण तयार गर्नुपर्छ । त्यसरी विदेश जाँदा बढी आम्दानी हुने र देशको गरिमा बढ्छ । अहिले देशमा राजनीतिकर्मीहरूले व्यवसायी माथि विभिन्न प्रोप्रोगान्डा चलाउने गरेको पाइन्छ ।
नेपालमा कुनै पनि व्यवसाय सञ्चालन गर्न धेरै खालका कठिनाइ छन् । एउटै कामका लागि विभिन्न ठाउँमा जानुपर्ने बाध्यता छ । यस्तो झन्झट सहेर व्यवसायीहरू टिक्न मुस्किल छ । के यसरी देशमा बिल गेट्स, मुकेश अम्बानी, पराग अग्रवाल वा एलोन मस्क जन्माउन सकिन्छ ? व्यवसायीहरूलाई नियमन र सहयोग गर्ने हो, कस्ने होइन । अहिले नियामक निकाय तथा सरकारले समेत बहुमत जनमतको कुरा सुनेर आफ्ना नीतिहरू लागु गर्ने परम्परा बढ्दो छ । यसले देश र पद्धति कता जान्छ भन्ने प्रश्न खडा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल र तार हटाउँदै महानगर (तस्बिरहरू)
-
अघिल्लो पटक जितेको ८ सिट जोगाउन माओवादीलाई चुनौती, को–कोसँग गर्दैछ तालमेल ?
-
स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुल्यो
-
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
-
कनकाई–६ मा उपनिर्वाचनको सरगार्मी
-
तिलकको शानदार शतकमा भारतको रोमाञ्चक जित