मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

बुधबार, २४ साउन २०८०, २१ : २१
बुधबार, २४ साउन २०८०

आज २०८० साउन २४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

संसद् अवरोधप्रति अन्य विपक्षी दलको असन्तुष्टि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमाले सांसद सुर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए ।

संखुवासभा कारागारमा झडप

संखुवासभा कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुईजनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे छन् । बिहान ५ बजेतिर बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । 

२० उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेको छ । सरुवा सूची अनुसार झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ । 

विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिम

जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिम ( र्‍याट) ले मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापन गर्न कुनै सहयोग नगरेको बताएको छ । रास्वपाले नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम खटाएको दाबी गरेपनि प्रशासनले बुधवार एक विज्ञप्ति जारी गर्दै यसबारे ध्यानाकर्षण भएको जनाएको छ । 

एकद्वार संकट व्यवस्थापन केन्द्रहरूलाई सकस

पुनःस्थापना केन्द्र नहुँदा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट दिइने सेवामा सकस भएको छ । हाल नेपालका ७७ जिल्लाका विभिन्न ९४ वटा अस्पतालमा ओसीएमसी सेवा उपलब्ध भए पनि आफ्नै पुनःस्थापना केन्द्र नहुँदा समस्या खेप्नु परेको अस्पतालहरूको भनाइ छ ।

मनी लाउन्ड्रिङको चौतर्फी घेरामा सहकारी

 मनी लाउन्ड्रिङ अर्थात् सम्पत्ति शुद्धीकरणको विषयले चौतर्फी घेराबन्दीमा यतिखेर नेपाल छ । तत्कालका लागि सम्भावित क्षेत्रहरू क्यासिनो, सहकारीलगायत दर्जन बढी क्षेत्रका विषयमा कानुन संशोधन गर्ने शर्तमा नेपाल मनी लाउन्ड्रिङको ग्रे–लिस्टमा पर्नबाट जोगिए पनि जोखिम अझै टरिसकेको छैन । 

उपेन्द्र यादवलाई कारबाही ?

तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र माओवादी केन्द्रका कार्यकर्ताबीच १७ वर्षअघि भएको गौर घटनाको फाइल फेरि खुल्ने भएको छ । तत्कालीन फोरम र माओवादी केन्द्रका कार्यकर्ताबीच २०६३ चैत ७ गते भएको झडपमा २७ जनाको ज्यान गएको थियो ।

‘विद्युतीय हाजिरी’ कसले बोकेर हिँड्यो ?

२०७९ को भदौमा त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीका लागि विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको थियो । त्रिवि कार्यकारी परिषद्को २०७९ भदौ ७ गते बसेको बैठकको निर्णय नम्बर १५६२ मा डिजिटल हाजिरीसम्बन्धी व्यवस्था गर्ने निर्णय गरिएको थियो । 

जनतासँग माओवादीको विशेष अभियान

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले ‘जनतासँग माओवादी विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफल बनाउन नेताहरू गृहकार्यमा जुटेका छन् । राजधानीको प्रज्ञा भवन कमलादीमा साउन १७ गतेदेखि २१ सम्म बसेको बैठकले पार्टी रूपान्तरणका लागि तीन महिने विशेष अभियान घोषणा गरेको थियो ।

संसदीय समितिको नेतृत्व

संसदीय समिति सभापतिका लागि सांसदहरुले पार्टी नेतृत्व समक्ष लबिङ थालेका छन् । सोमबार सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच संघीय संसदको संयुक्त र विषयगत समितिको नेतृत्वमा भागबण्डा मिलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप