जनकपुरमा करोडौँको लगानीको ट्राफिक लाइट ‘सो पिस’ मात्रै !

जनकपुरधाम । गत साउन ७ मा जनकपुरधामको रेल्वे स्टेशनमा एकजना महिलाको पैसा दिनदहाडै लुटियो । धनुषाको जनकनन्दनी गाउँपालिका–३ की सुनिता कुमारी यादव एनआईसी एसिया बैंकबाट पैसा झिकेर घर फर्किदै गर्दा बेलुका करिब साढे ४ बजेतिर उनको पैसा लुटिएको थियो । लुटेरा अझै पक्राउ पर्न सकेको छैनन् ।
धनुषा प्रहरीस्रोत भन्छ, रेल्वे स्टेशनमा सिसिटिभी क्यामरा नहुँदा लुटेरा पहिचान गरी पक्राउ गर्न नसकिएको हो । यो हालसालै घटेको एउटा प्रतिनिधि घटना मात्रै हो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा यस्ता घटना दैनिक घट्नु सामान्य भईसकेको छ । तर, सम्बन्धित निकाय भने मौन छ ।
मधेस प्रदेशलाई केन्द्र बनाई पत्रकारिता गरिरहेका पत्रकार सुरेश यादव केही दिन अगाडी छोरा विभाषसँग मर्निङ वाकमा निस्किएका थिए । विभाषले किताबमा मात्रै देखेको ट्राफिक लाईट देख्दा दंग परे । कक्षा एकमा पढ्ने उनी बुवालाई सोध्छन्, ‘अनि चोकमा जेब्रा क्रसिङ खै त ?’
असारे बजेटमा मधेस प्रदेशको राजधानीस्थित मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गरिएको छ । तर, सवारीको चापको आधारमा स्थान चयन नगरी, बाटो काट्ने ठाउँ नै नभएको स्थानमा ट्राफिक लाइट जडान गरिएको छ ।
प्रदेश सरकारले प्रहरीलाई चोरी, लुटपाटलगायतका घटनामा आवश्यक पर्ने सिसिटिभी क्यामराको सट्टा ट्राफिक लाइट जडान गर्न बजेट उपलब्ध गराएपछि जडित लाइट ‘सो पिस’ मात्रै बनेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० मा विनियोजन गरेको बजेटबाट मधेस प्रदेश प्रहरी कार्यालयले उक्त लाइट जडान गरेको हो । लाइट जनकपुरधामस्थित मुरली चोक, भैरव चोक, जनक चोक, शिव चोक, भानु चोक र रेल्वे स्टेशनमा जडान गरिएको छ ।
भैरव चौकमा बाटो काट्ने चौक नभएपनि त्यहाँ ट्राफिक लाइट जडान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ को वडा कार्यालय तथा पत्रकार महासंघको भवन भएको यी २ ठाउँमा पनि बिना प्रयोजन ट्राफिक लाइट जडान गरिएको छ ।
प्रदेश सरकारले ट्राफिक लाइट जडानमा ९८ लाख रुपैँया खर्च गरेको छ । धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक शेखर साहले अहिले उक्त लाइट प्रयोगमा नआए पनि विस्तारै प्रयोगमा आउने बताए । उनका अनुसार बजार क्षेत्रमा रहेको सिसिटिभी क्यामरा ट्राफिकबाटै ह्याण्डल हुने गरी म्यानपावरको पनि व्यवस्थापन भइरहेको छ ।
त्यस्तै, बजार क्षेत्रमा आवश्यक पर्ने ठाउँहरुमा सिसिटीभी जडान गर्ने विषयमा पनि प्रदेश सरकारसँग छलफल भईरहेको उनले बताए । उनले भने– उपलब्ध भएसम्म जडान भएकै छ ।
उनले जेब्रा क्रसिङ बनाउनका लागि समन्वय भईरहेकोले उक्त कार्य सम्पन्न भएलगत्तै लाइट प्रयोगमा आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य