जलविद्युतमा नेपाल : कुन नदीमा कति बिजुली उत्पादन क्षमता ?
काठमाडौं । नेपालमा जलविद्युत उत्पादनको सम्भाव्यता उच्च रहेको प्रतिवेदनहरु यत्रतत्र छन् । विभिन्न समयमा गरिएका अध्ययनबाट पनि ८४ हजार मेगावाट विजुली उत्पादनको सम्भावना नेपालमा रहेको देखिएको थियो । तर, पछिल्ला तथ्याङ्कहरुले भने योभन्दा पनि ठूलो क्षमतामा बिजुली उत्पादनको सम्भावना देखाएको छ ।
सरकारले नदी प्रवाहमा आधारित आयोजना (आरओआर) मा आधारित आयोजनाको डिजाइन (क्यू) घटाएमा उत्पादन सम्भावना बढ्ने देखिएको हो ।
सरकारले जलविद्युतमा ‘क्यू २५’ गरेमा बिजुलीको उत्पादन ८० प्रतिशतसम्मले बढ्ने निजी क्षेत्रको भनाइ छ । हाल नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको डिजाइन ‘क्यू ४०’मा गर्नुपर्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा आबद्ध विभिन्न व्यवसायी नेपालमा डेढ लाख मेगावाट बिजुली उत्पादनको सम्भावना रहेको बताउँछन् ।
तथ्याङ्कअनुसार आजको मितिसम्म निजी क्षेत्रबाट १६ सय ५५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै, विद्युत प्राधिकरणको लगानीका आयोजनाबाट ६६१ मेगावाट र प्राधिकरणकै सहायक कम्पनीहरुबाट ४७८ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
यस्तै, भारत र बंगलादेशले समेत नेपाल बिजुली उत्पादनमा दक्षिण एसियाको ‘पावर बैंक’का रुपमा रहेको निष्कर्ष निकालेका छन् ।
बिजुली उत्पादनमा ठूलो सम्भावना रहे पनि नेपालले हालसम्म न्यूनमात्रै प्रगति गरेको छ । लाखौँ मेगावाट बिजुली उत्पादनको सम्भावना रहँदासमेत ११० वर्षभन्दा लामो इतिहासमा जम्मा २७ सय ९४ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
तथ्याङ्कअनुसार आजको मितिसम्म निजी क्षेत्रबाट १६ सय ५५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै, विद्युत प्राधिकरणको लगानीका आयोजनाबाट ६६१ मेगावाट र प्राधिकरणकै सहायक कम्पनीहरुबाट ४७८ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
तर, यो नेपालको बिजुली उत्पादनमा रहेको सम्भावनाको एक प्रतिशत पनि नरहेको व्यवसायीहरु बताउँछन् । इप्पानका उपमहासचिव प्रकाश दुलाल क्यू–४० मा आयोजना डिजाइन गर्दा नै ७२ हजारभन्दा धेरै मेगावाट बिजुली नदी प्रवाहमा आधारित आयोजनाबाट उत्पादन गर्न सकिने बताउँछन् ।
क्यू–२५ गरेमा यो क्षमता बढेर १ लाख १२ हजार पुग्ने र जलाशय र अर्ध जलाशययुक्त आयोजनाको ४८ हजार मेगावाट उत्पादन क्षमता हुन्छ । यस्तै, सोलारबाट ३० हजार मेगावाट बिजुली उत्पादनको सम्भावना नेपालमा छ ।
कुन प्रदेशमा कति छ उत्पादन क्षमता ?
इप्पानले तयार पारेको तथ्याङ्कअनुसार सात प्रदेशमध्ये कोशी प्रदेशबाट सबैभन्दा धेरै बिजुली उत्पादन गर्न सकिन्छ । कोशी प्रदेशमा आरओआर आयोजनाबाट मात्रै साढे २२ हजार मेगावाट बिजुली उत्पादन क्षमता देखिएको इप्पानको तथ्याङ्कले देखाउँछ ।
यसपछि गण्डकी प्रदेशका आरओआर आयोजनाबाट १५ हजार मेगावाट आसपास बिजुली उत्पादन सम्भावना छ ।
यस्तै कर्णाली प्रदेशका आरओआर आयोजनाबाट साढे १३ हजार मेगावाट बिजुली उत्पादन क्षमता रहँदा बागमती प्रदेशका आरओआर आयोजनाबाट साढे १० हजार मेगावाट बिजुली उत्पादनको सम्भावना छ । यस्तै, सुदुरपश्चिम प्रदेशमा साढे ७ हजार मेगावाट, लुम्बिनीमा साढे २ हजार मेगावाट र मधेस प्रदेशमा २७५ मेगावाट बिजुली उत्पादनको सम्भावना छ ।
यसअनुसार नेपालभरका आरओआर आयोजनाबाट क्यू–४० मा डिजाइन गर्दा समेत ७२ हजार ५०० मेगावाट क्षमतामा बिजुली निकाल्न सकिन्छ ।
नेपालमा रहेका नदीमध्ये कोशी बेसिनमा २७ हजार ८०० मेगावाटभन्दा धेरै क्षमतामा बिजुली उत्पादनको सम्भावना छ । यस्तै, कर्णाली नदीको बेसिनमा २० हजार, गण्डकी नदी बेसिनमा १९ हजार ८०० र महाकाली नदीको बेसिनमा २ हजार १२० क्षमतामा आरओआर आयोजनाबाट बिजुली उत्पादनको सम्भावना छ ।
यसबाहेक, राप्तीबाट ७४५ मेगावाट, बागमतीबाट ४३७ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्न सकिन्छ । कन्काई नदीबाट ३९४ मेगावाट, बबईबाट २६४ मेगावाट, कमला नदीबाट २६१ मेगावाट, तिनाउबाट १८४ मेगावाट बिजुली उत्पादनको सम्भावना छ ।
यस्तै, बकैया नदीबाट ८४ मेगावाट र मेची नदीको बेसिनबाट ६२ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । यी सबै आरओआर आयोजनाबाट हुन सक्ने उत्पादनको तथ्याङ्क हो ।
यस्तो छ जलाशययुक्त आयोजनाको सम्भावना
नेपालमा नदी प्रवाह, अर्ध जलाशययुक्त र जलाशययुक्त गरी तीन प्रकारका आयोजना विकासको सम्भावना छ । यसमध्ये नदी प्रवाहमा आधारित आयोजनाबाट ७२ हजार मेगावाट उत्पादनको क्षमता हुँदा जलाशय र अर्ध जलाशयबाट ४८ हजार मेगावाट आसपास क्षमतामा बिजुली उत्पादनको सम्भावना छ ।
कोशी बेसिनमा आधारित जलाशययुक्त आयोजनाबाट १४ हजार ७८० मेगावाट क्षमतामा बिजुली उत्पादन गर्न सकिन्छ । कोशी बेसिनमा रहेका नदीमध्ये सप्तकोसी नदीबाट ८ हजार १८१ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ ।
यस्तै, सुनकोसी–१ बाट ३ हजार मेगावाट, तमोरबाट १७ सय मेगावाट बिजुली उत्पादन हुन सक्छ । यस्तै, सुनकोसी–२ बाट १४४ मेगावाट, अरुण–५ बाट ७३७ मेगावाट, अरुण–४ बाट १७३ मेगावाट, अरुण–१ बाट १३४ र अरुण–२ बाट १९७ मेगावाट क्षमतामा जलाशययुक्त आयोजनाबाट बिजुली उत्पादनको सम्भावना छ ।
यता गण्डकी बेसिनबाट १५ हजार ९११ मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्ने क्षमता छ । यो बेसिनमा रहेको नारायणी नदीबाट ४ हजार ८५१ मेगावाट विद्युत उत्पादनको सम्भावना छ ।
यसबाहेक, कालीगण्डकी नदीबाट ३ हजार ८८९ मेगावाट, कालीगण्डकी–२ बाट २५ सय २५ मेगावाट, कालीगण्डकी–३ बाट १६ सय ५५ मेगावाट छ भने त्रिशुली नदीबाट १ हजार ४९४ मेगावाट उत्पादन क्षमता छ ।
यस्तै, मर्स्याङ्दीबाट ९६० मेगावाट र बुढीगण्डकी नदीबाटसमेत पर्याप्त मात्रामा बिजुली उत्पादनको क्षमता छ । कर्णाली नदीको बेसिनबाट सबैभन्दा धेरै १७ हजार मेगावाट बिजुली उत्पादनको क्षमता रहेको इप्पानले तयार पारेको तथ्याङ्कले देखाउँछ ।
के हो क्यू ?
आरओआर आयोजनामा प्रयोग हुने ‘क्यू’ शब्दले डिजाइनलाई बुझाउँछ । यसले आयोजना बन्ने नदीमा उपलब्ध हुने पानीको परिमाणलाई बुझाउँछ । अर्थात् नदीमा प्रतिसेकेन्ड बग्ने (प्रवाह हुने) पानीलाई नै ‘क्यू’ भनिन्छ । उदाहरणका लागि कुनै एउटा नदीमा १०० मिटर क्यू पानी प्रवाह हुन्छ र वर्षभरि यही परिमाणको पानी बग्छ भने यो ‘क्यू १००’ भयो । ६ महिनामा मात्रै पूर्ण गतिमा पानी उपलब्ध हुन्छ भने यो ‘क्यू ५०’ हुन्छ । र, यो नदीमा बन्ने आयोजना क्यू ५० मा गरियो भने पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ ।
यसअघि, नेपालमा क्यू ६० मा आयोजनाको डिजाइन हुन्थ्यो । अहिले क्यू ४० मा हुँदै आइरहेको छ भने अब क्यू २५ मा डिजाइन गर्नुपर्ने बहस छेडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन