नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा कहिले चल्छ सवारी ?
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको आपतकालीन उद्धार सुरुङको सोमबार ‘ब्रेक थ्रू’ भयो । मूल सुरुङ मार्ग सञ्चालनका लागि उद्धार सुरुङको ‘ब्रेक थ्रू’ जरुरी थियो ।
सवारी पूर्वाधारका लागि नेपालमा निर्माण भइरहेको यो पहिलो सुरुङ मार्ग हो । काठमाडौं छिर्न होस् वा बाहिरिन, नागढुंगादेखि झ्याप्ले खोलासम्मको जामले यात्रीहरु सधैँजसो मारमा पर्ने गरेका छन् । सवारी जामसँगै उकालोमा ख्यारख्यार गाडीको आवाजबाट स्थानीयले प्रदुषण खेप्दै आएका छन् । योसँगै लामो समय जाम र उकालो हुँदा सवारीले पेट्रोलियम पदार्थमा बढी खर्चिँदै आएका छन् । त्यसैले आम यातायात व्यवसायीसँगै सर्वसाधरणको पनि उत्तिकै चासो छ– सुरुङ मार्ग भएर गाडी कहिले गुड्छ ?
सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख नविनमान श्रेष्ठले २०८२ असोजसम्ममा उक्त सुरुङ मार्गमा सवारी गुड्ने बताए । जापान सरकारको सहयोगमा बनिरहेको उक्त सुरुङ मार्ग सन् २०१९, सेप्टेम्बर १९ बाट निर्माण सुरु भएको थियो । आयोजनाको मिति थपेर सन् २०२५ अप्रिलसम्म पुर्याइएको छ । यसको डीपीआर हुँदा जापानी दातृ निकाय ‘जाइका’ले १६ अर्ब जापानी ऐन र नेपाल सरकारले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्नेगरी लागत अनुमान गरिएको थियो ।
आयोजनाले भने यो लागत बढ्ने जनाएको छ । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको छ । आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘कामको प्रकृति अनुसार लागत अनुमान अझै बढ्ने देखिन्छ । बाहिरी पूर्वाधारमा धेरै खर्च लाग्ने छ ।’
मुख्य सुरुङ मार्गको लम्बाई २.६८८ किमि छ भने आपतकालीन सुरुङ मार्गको लम्बाई २.५५७ किमि छ । मुख्य सुरुङ मार्गको अझै ५ सय ६ मिटर छेड्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
सुरुङ मार्गभित्र कालोपत्रे, लाईटिङ, रोड मार्किङ, सीसीटीभी, इमर्जेन्सी अलार्म लगायतका सामाग्री जोडिने छन् । यसका लागि मुख्य सुरुङ मार्ग छेडिसकेको हुनुपर्छ । मुख्य सुरुङ मार्ग मंसिरभित्र छेडिसक्ने जानकारी आयोजना प्रमुख श्रेष्ठले दिए । उनले भने, ‘सम्भवतः मंसिरभित्रमा मुख्य सुरुङ मार्गको ब्रेक थ्रू हुनेछ । त्यसपछि भित्रको भौतिक पूर्वाधारको कामले गति लिनेछ ।’
अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । सुरुङ बनेपछि करिब साढे ७ किमि सडक छोटो हुने आयोजनाको भनाइ छ । आयोजनाका अनुसार सुरुङ भएर मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेटले भने आवतजावत गर्न पाउने छैनन् ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार बलम्बुमा फ्लाइओभर निर्माण गर्ने ठाउँमा १६ आना जग्गाको मुआब्जा विवाद टुङ्गिएको छैन । आयोजनाको पूर्वी क्षेत्रमा ९० वटा घर चर्किएको भन्दै स्थानीयले पटकपटक निर्माण अवरोध गरिरहेका छन् । यसलाई ध्यानमा राखेर भवन निर्माण विभागको प्रतिनिधिसहितको अन्वेषण टोली बनाएर खटाइएको श्रेष्ठले जानकारी दिए । त्यसो त आयोजनाकै कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । श्रेष्ठ भन्छन्, ‘अहिले ९० वटा घर चर्किएको निवेदन परेको छ, त्यसमा अन्वेषण भइरहेको छ । खानेपानीको सवालमा चन्द्रागिरि नगरपालिका–२ मा पानी ट्याङ्करबाटै ओसारेर पानीको व्यवस्थापन गरिरहेका छौँ । अहिले १ नम्बरले पनि पानी चाहियो भनेका छन् । हामीले बोरिङमार्फत पानी लैजाने योजना बनाएका छौँ ।’
टनेल भित्रको संरचना
मुख्य टनेल दुरी– २.६८८ किमि
निकासी टनेल दुरी– २.५७७ किमि
वर्किङ इभ्याकुएसन दुरी– १२६ मिटर
क्रस पास दुरी– १२८ मिटर
टनेल बाहिरको संरचना
अण्डरपास– ३
बक्स कल्भर्ट– ४
ओभरपास– १
पुल– ३
फ्लाईओभर पुल– १
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन