आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
यात्रा संस्मरण

ट्रान्जिटका गफ

मङ्गलबार, २३ साउन २०८०, १४ : ३१
मङ्गलबार, २३ साउन २०८०

बहिनी मुस्लिम भएको हो ? छेउमा बसेकी ती महिलालाई लक्षित गर्दै चितवन घर बताउने दाइले प्रश्न सोधे । 

सारझा अन्तर्राष्ट्रिय एअरपोर्ट टर्मिनलमा आआफ्नो जहाजको उडान समय कुरिरहेका यात्रुका जमातमा म पनि मिसिएको थिएँ । आउने र जाने मानिसको हिँडडुलले ठाउँ खचाखच भरिएको थियो भने विमान तालिकालगायतको सूचना घरी घरी माइकिङ भइरहेको थियो । म बसेअघि रहेको टिभी स्क्रिनमा पनि आगमन भइरहेका र गन्तव्यका लागि छुटिरहेका विमानका विवरण प्रसारित भइरहेका थिए । खाडीको विमानस्थल भएकाले माइकिङ र स्क्रिन दुवैतिर अरबी र अङ्ग्रेजी भाषामा पालैपालो सन्देश प्रवाह हुँदै थियो । सिसाको झ्यालछेउमा उभिएर केही मानिस फोटो अनि भिडियो खिच्नमा मस्त देखिन्थे । केही भिडियो कल गरेर आफन्तजनलाई त्यहाँको प्रत्यक्ष प्रसारण गरिरहेका देखिन्थे ।

छेउमा रहेका अर्का एक जना दाइलाई अङ्ग्रेजी र अरबी दुवै भाषा नआउने रहेछ । मलाई उहाँले आफ्नो विमानको छुट्ने ढोका (बोर्डिङ गेट) र समय हेरिदिन भन्नुभयो । मैले उहाँको बोर्डिङ पास र टिकट लिएर स्क्रिनमा हेरेर प्रवेश ढोका देखाइदिएँ अनि समय पनि भनिदिएँ । भाषा जान्दा कति सजिलो है, आफू त कालो अक्षर भैँसी बराबर परियो भन्दै सबै दाँत देखाएर हाँसे । मैले टाउको हल्लाएर मौन सहमति जनाए । 

वास्तवमा भाषाले धेरै सहज बनाउँछ । भाषा जान्नेले कसैलाई सोध्नु परेन । आफ्नो उडान छुट्ला कि भन्ने चिन्तै लिन परेन । समय बचेको छ भने कतै डुल्दा पनि भयो । ढोका रुँगेर बस्नु पर्दैन ।

आजकल पहिले जस्तो गाह्रो छैन, अझ खाडी मुलुकका विमानस्थलहरूमा । नेपाली अनि हिन्दी बोल्ने कर्मचारी मनग्ये भेटिन्छन् । धेरै समय विदेशको विमानस्थलमा छु भन्ने भान पनि हुँदैन । ती कर्मचारीहरूबाट सहजै सहयोग लिन सकिन्छ । कति ठाउँमा त नेपाली र हिन्दी भाषामै छुट्न लागेको विमानका यात्रु खोज्दै विमानस्थलका कर्मचारी आइपुग्छन् । उनीहरूसँगै जान पनि सकियो वा जानु पर्ने ठाउँ सोध्न पाइयो ।

विदेश यात्रा गर्दा पढाइलेखाइमा भाषाको ज्ञान नहुँदा नेपालकै विमानस्थलबाट दुःख सुरु हुन्छ । पहिले पहिले अध्यागमन कक्षमा जानुअघि एउटा बहिर्गमन फारम भर्नुपथ्र्यो । त्यो फारममा भएको विवरण पढ्न र भर्नसम्म जान्न नहुने असङ्ख्य नेपालीहरू पनि वैदेशिक रोजगारीका लागि जाँदै गरेको भेटिन्थ्यो । आफैँ पढ्न लेख्न नसकेर अरूबाट सहयोग माग्दै गरेको धेरै भेटिन्थ्यो । मैले स्वयं अनेक पटक धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूको बहिर्गमन फारम भरिदिएको छु ।

विमानस्थलमा छुट्नुअघि सेक्युरिटीका कर्मचारीले सोध्छन्, “विदेशी मुद्रा छ ? डलर छ ?” कसैको त बोली कति छुद्र हुन्छ भने तिनीहरूलाई म पनि भन्दिन्छु, “विदेश जानेसँग विदेशी मुद्रा नभएर के हुन्छ त ।” मेरो अनुहार हेर्छन् र पाखा लाग्छन् । श्रम स्वीकृति र केही किलो झोलाका लागि हुने मोलमोलाइको कुरा गरिरहनु परेन ।

नेपालीले नेपालमा त यस्तो समस्या भोग्नु हुँदैछ । भोलि विदेशमा साँच्चै दुःख भोग्न पर्यो भने कसलाई कसरी गुहार माग्नुहुन्छ । सबै ठाउँमा हरबखत नेपाली नभेटिएलान् । सबै सहयोगी नहोलान् । कस्तो गाह्रो हुँदो हो । विदेश र सहर रहर होस्, बाध्यता नहोस् । विदेश रहर नभएर बाध्यता भएपछि जस्तै चुनौतीको सामना गर्नै पर्याे । कम्तीमा भाषा र कुनै सीपसम्मको आधारभूत तालिम मात्र भए पनि लिनदिन सके वैदेशिक जीवन धेरै सहज हुने थियो । हाललाई कल्पना गर्न सकिन्छ । सपना देख्न सकिन्छ । सपनाहरू नै त हुन् नि पूरा हुने ।

भाषा नजान्दा साउदीका जेलमा केही महिना कष्टकर जेल जीवन बिताएर स्वदेश फर्कंदै गरेका एक जना भाइको याद आयो । उनले मलाई आफ्नो दुखेसो यसरी सुनाएका थिए, “दाजु ! स्कुलमा पढ्दा पढ्दै घरपरिवारको कमजोर आर्थिक अवस्थाले गर्दा बालकैमा जन्मदर्ता, नागरिकता र राहदानी उमेर बढाएर बनाइयो र विदेश आइयो । एक दिन म बिरामी परेँ । भाषा नआउने, खबरै नगरी कोठामै सुतेर बसेँ । पर्सिपल्ट कम्पनीबाट एउटा सुडानी मान्छे मलाई खोज्दै कोठामै आइपुग्यो । काममा किन नआएको भनेर हप्कायो र इसाराले नै काममा हिँड् भन्यो । मैले बिरामी छु भनेको मानेन । मलाई तानेर गाडीमा हालेर काममा लग्यो । बिरामी भएकाले काम गर्न सकिनँ र भुइँमा बसेँ । काम गर्न नचाहेको भनेर प्रहरीमा भनेर पोल लगाइदिएछ प्रहरीले चार महिना लगेर थुन्यो । त्यहाँ झन् सिकिस्त भएँ तर उपचार पाइनँ । बिस्तारै निको हुँदै गएँ । कम्पनी र दूतावासबाट कोही सहयोग गर्न आएनन् । मैले पनि कसैलाई खबर गर्न पाइनँ– फ्याउरोले कुखुरो भेटे जस्तै समातेर कर्याककुरुक पारेर लगिहाल्यो । त्यतिबेला भाषाको पनि समस्या भयो । केही महिनापछि एक्कासि जेलबाट निकालेर विमानस्थल पुर्याए । भिसा रद्द गरेर नेपाल फर्कन भने । पाउनु पर्ने तलब सुविधा पाइनँ । रित्तो हात फकिएँ । के के सोचेको थिएँ, सबै सपना सकिए ।” 
चितवन घर भएका दाइले उत्तर पाएकै थिएनन् । ती नजिकै माथिबाट मुनिसम्मै कालो लुगा ‘इबाया’ मा लुकेकी मेलम्ची घर बताउने ती महिलाका आँखा कपडाका आँखीघरबाट बेलाबेला देखिइरहेका थिए । केहीबेरमा अलि कता हाँसेर तीनले भनिन् ‘हो’ । 

चितवन घर हुने दाइले मेरो कानमा साउती गरे, “धेरै नेपाली चेलीबेटी साउदी गएपछि यसै गर्छन् । घरको काम गर्दा त्यहाँका महिला जस्तो गरेन भने टिकी खानै गाह्रो छ । साउदी रहुन्जेल उनको जस्तै गर्याे, घर गएपछि आफ्नो पारा त छँदै छ नि । उनको कुरा सकिएको रहेनछ, अझै थपे, “मलाई पनि मेरो मालिकले भन्दै थियो, तँ पनि मुस्लिम बन्नुपर्छ । मैले त भनिदिएँ, म मुस्लिम बनेँ भने यहाँ त ठिकै छ, घर गएपछि गाउँघरकाले अनि साथीभाइले के भन्छन् ? म त त्यहाँ बस्न सक्दिनँ । त्यसैले तैँले यहीँ मेरो अर्काे घरजम गरिदिने हो भने, एउटा फ्ल्याट अनि स्थायी जागिरको जोहो गरिदिने भने तेरो सर्त मलाई मञ्जुर छ । मालिकले मानेन, मैले पनि मानिनँ ।” ती दाइ मजाले हाँसे, निकै पछि केही सम्झी सम्झी हाँसे जस्तो । 

अलिबेरमा मैला लुगा लगाएका केही मानिस हामीछेउ आएर बसे । हामीले नेपाली बोलेको सुनेका रहेछन् । उनीहरूले भने तपाईंहरू पनि नेपाली हुनुहुँदो रहेछ है । तीमध्ये सबभन्दा मैलो लुगा लगाएका अलि पाका देखिने एक जना दाइले आफ्नो बिलौना पोखे, “हेर्नुस् न, एजेन्टले काम पाइहालिन्छ भनेर टुरिस्ट भिसामा बोलायो । मलाई यहाँ छाडेर मेरो राहदानीमा टुरिस्ट भिसाबाट वर्क भिसा लाएर ल्याउँछु भन्थ्यो, आज एक महिना भयो । अत्तोपत्तो छैन । यहाँबाट नेपाल जान सकिन्न्नँ । किनभने राहदानी, भिसा र टिकट केही पनि छैन । विमानस्थलबाट बाहिर गयो भने गैरकानुनी रूपमा बसेको भनेर स्थानीय प्रहरीले समतेर जेलमा कोचिहाल्छ । हुन त यहाँ पनि जेल जस्तै छ, तर एसीवाला । ती दाइ निन्याउरो मुख पार्दै हाँसे । दुःखमा पनि हाँस्न बिर्सेका रहेनछन् । यहाँ त नेपालको राजदूतावास छ सम्पर्क गर्न भएन ? मैले सोधेँ । छन त छ नि भाइ । आफू ठूलो मान्छे परिएन, सानालाई किन हेर्थेू उनले भने । आशावादी थिए दाइ, भन्दै थिए, “केही साथीलाई भनेर एजेन्टलाई खोज्न लगाएको छु । केही दिनमा भेटिएला । मर्न त नेपाल नै जाने हो ।” त्यसैबेला एक जना प्रहरीका जस्ता पोसाक लगाएका अफ्रिकी वर्णका मानिस नजिकैबाट कटे । ती दाइ शिर निहुर्याएर केही बेर छेलिएर बसे । हामी नेपालीको नियति । अहिले यस्तो छ– सधैँ त होइन होला । 

नजिकै अफ्रिकाको सुडान जाने विमानमा बोर्डिङको समय भएछ । यात्रु लाइन लागे । सँगै सो विमान कम्पनीका केही कर्मचारी हातेतराजु लिएर यात्रुका हातेझोला जोख्न र टिकटमा भनिएको भन्दा ज्यादा तौल भए जरिमाना तिराउन थाले । टिकट किन्दै पर्याप्त तौल लिइएको छैन भने त जरिमाना प्रतिकिलोको

कैयौँ अमेरिकी डलर हुने रहेछ । अझ यात्रु अनुसार देश हेरेर असमान व्यवहार गर्छन् । हाम्रा जस्ता अर्धविकसित मुलुक पर्दा त तल्लो स्थरकै व्यवहार गर्न नि पछि पर्दैनन् । अन्त त परै जाओस् । आजकल अफ्रिकी केही मुलुकहरूमा त हरियो राहदानी देख्ने बित्तिकै आतङ्ककारी आए जस्तो गर्छन् । राहदानी पर हुर्याउँदै । अरूका लागि दुई विश्वयुद्ध भए होलान्, गरिब मुलुकलाई हरेक दिन के कम छ र ?

केही पर मानिसहरू भुइँमै लडिरहेका थिए । केही भने चार्जिङ स्टेसनमा मोबाइल चार्जका लागि पालो कुरिरहेका थिए ।

ती दाइले केही खानेकुरा मागे । मसँग भएको एउटा चिप्स र भुजियाको प्याकेट दिएँ । अरूले पनि केही खाने कुरा दिए । भोकाएका ती दाइले पोको खोलेर खानथाले । नेपालीलाई नेपाली भन्दा बढी अरू कसैले बुझ्दैन भन्दै आफूले यसरी एक महिना कटाएको बताए । 

छेउमा बसेका स्याङ्जा घर बताउने अर्का दाइ  नयाँ पाइन्ट, सर्ट, लेदरको ज्याकेट, लेदरकै जुत्ता टलक्क टल्काएर लगाएका थिए । हातमा आइफोन बोकेका दाइले सोधे, “भाइ कता हो, नयाँ हो कि फिनिसमा घर हिड्दै ? कम्पनी कुन हो ? तलब कति हुन्छ ? बस्न खान कसको हो ? टिकट कसको हो ?” सबै प्रश्न याद गर्न सकिनँ र उत्तर पनि सबै दिइनँ । उनी आफू बसेको ठाउँमा आनन्द छ भन्दै थिए । एक महिनासम्म कोहीसँग भेट पनि नहुने बताउने उनी घाँस रोप्ने, पानी हाल्ने, काट्छु, सुकाउने काम गर्दा रहेछन् । घाँस तयार हुन्छ, मान्छे आएर लैजाँदो रहेछ । महिना महिनामा चाहिने घरायसी सामान नजिकैको बकाल (पसल) बाट किनेर ल्याउँदा रहेछन् । महिना मरेसी मालिकले तलब नि दिने कुरा उनले सुनाए । छेउका अर्का दाइ उनलाई गिज्याउँदै थिए, “एक महिनासम्म मान्छे नदेखे, ऊँट त देख्छौ होला नि बुढा ?” 
ती इबायामा लुकेकी दिदी नि भन्दै थिइन्, “यी दाइ त एक्लो बस्छन रे, घाँस काट्दै ।” दुवैले यी कुरामा कुनै खुसीको जन्तर भेटेका थिए क्यार, जोडजोडले हाँसे । हाम्रो भाषा नबुझे पनि हाँसो बुझेर केही अरू देशका मानिस पनि हाम्रो भीडतिर हेर्दै तीनछक्क परे । मलाई नि कसले सही र कसले गलत भन्दै छन्, सुनाउँदै छन्, कहाँ छिनो फानो गर्न थियो र, म सुन्दै थिएँ, सुनिरहेको थिएँ ।


बिर्तामोड, झापा 
हाल : जोर्डन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीएन शारदा
जीएन शारदा
लेखकबाट थप