शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

चालु आर्थिक वर्षमा काठमाडौँ महानगरका १० वटा गौरव योजना कार्यान्वयनमा आउने

मङ्गलबार, २३ साउन २०८०, १३ : ५४
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने काठमाडौँ महानगरपालिकाका गौरव योजना सञ्चालन तथा सहजीकरणका लागि ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार भएको छ । 
गत असार २१ गतेको प्रमुख प्रशासकीय अधिकृतस्तरको निर्णयअनुसार योजना, अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुखको संयोजकत्वमा कार्यविधि तयार पार्न कार्यदल गठन भएको थियो । कार्यदलका संयोजक एवम एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यसहित सदस्यहरुको टोलीले आज प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यविधिको मस्यौदा बुझाएको हो । 

मस्यौदा ग्रहण गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गौरवका योजना र स्वर्णिम योजनासँग महानगरको प्रतिष्ठा जोडिएको बताए । 
‘सहरी विकास र व्यवस्थापनका वहुपक्षीय आयामसँग जोडिएको छ । यी योजना कार्यान्वयन गर्न क्षेगत कार्यविधि तयार पार्नु पर्नेछ । आज एउटा कार्यविधि तयार भएको छ । अन्य कार्यविधि निर्माण गर्न जिम्मेवारी दिइएको छ । सबै प्राप्त भएपछि यसलाई निर्णय प्रक्रियामा लैजान्छौँ,’ उनले भने ।

एकाईका प्रमुख बज्राचार्यले, महानगरपालिकाकोे समग्र विकास तथा सुधार गर्न, रणनीतिक र रूपान्तरणकारी योजना कार्यान्वयनमा कार्यविधिले सहजीकरण गर्ने धारणा राखे । 
इकाईका उपनिर्देशक प्रहलाद घिमिरेका अनुसार स्वर्णिम र गौरवका योजना कार्यान्वयनको समग्र पक्षलाई सहजीकरण गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले यो कार्यविधि तर्जुमा गरिएको हो । कार्यविधिमा ७ वटा परिच्छेद र ३ वटा अनुसूची राखिएका छन् ।

निर्देशक समिति, कार्यसमिति, यी समितिका काम, कर्तव्य र अधिकार, शहरी योजना आयोग, विभाग, एकाई र सम्पर्क व्यक्तिको काम कर्तव्य र अधिकार, बजेट, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदनको व्यवस्था कार्यविधिमा मुख्य विशेषता भएको उपनिर्देशक घिमिरेले जानकारी दिए । 

चालु आर्थिक वर्षमा काठमाडौँ महानगरका १० वटा गौरव योजना कार्यान्वयनमा आउने बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप