चीनको ‘अन्न भण्डार’मा बाढीको वितण्डा, खाद्य सङ्कटको जोखिम झनै चुलियो
एजेन्सी । रुस–युक्रेन युद्ध र भारतको पछिल्लो कदमले विश्वभर खाद्य सङ्कटको जोखिम बढेको समयमा चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण ठुलो मात्रामा कृषिजन्य क्षति बेहोर्नु परेको हो ।
ग्लोबल टाइम्सका अनुसार चीनको अन्न भण्डार भनिने हेइलोङजियान प्रदेशमा आएको बाढीले जनजीवन प्रभावित पार्नुका साथै ठूलो मात्रामा कृषि उत्पादन क्षति पुर्याएको छ । यो प्रदेशका १२ वटा नदीले खतराको सूचक पार गरेका छन् । यी नदीलाई नियन्त्रण गर्न प्रदेशमा २६ जलाशय सञ्चालनमा रहे पनि नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।
उत्तरी क्षेत्रको सोङ्घुह्वा, वुच्हाङ्ग लगायतका नदीमा बाढी आउँदा धान उत्पादनमा प्रसिद्ध क्षेत्रमा ठुलो क्षति पुगेको हो । हेइलोङजियानमा चीनकै सबैभन्दा धेरै धान उत्पादन हुन्छ । सन् २०२२ मा यो प्रदेशमा मात्रै चीनमा उत्पादन हुने कूल धानको ११.३ प्रतिशत उत्पादन भएको सरकारी तथ्याङ्क छ । ‘बाढीबाट प्रभावित क्षेत्रमा कृषि उत्पादन समेत क्षति पुगेको छ,’ रुरल डेभलपमेन्ट इन्स्टिच्यूट अफ चाइनिज एकेडेमी अफ सोसियल साइन्सका अनुसन्धानकर्ता ली गुओजियाङले भने ।
तर, बाढीबाट पुगेको क्षतिको पूर्ण आँकलनपछि मात्रै धान उत्पादन पूर्णरुपमा प्रभावित बनेको वा न्यून क्षति भएको बारे जानकारी मिल्ने उनको भनाई छ । बाढीबाट क्षतिग्रस्त भए पनि धानमा पुगेको क्षति न्यून रहेमा उत्पादन हुन सक्ने आस चिनियाँ अधिकारीहरूमा देखिन्छ । चीनमा हेइलोजियानसहित उत्तरी क्षेत्रको जिलिन प्रदेशमा समेत बाढीले वितण्डा मच्चाएको छ । ग्लोबल टाइम्सका अनुसार यस क्षेत्रका कार्यकारी उप–मेयरसहित १४ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, उद्धारमा खटिएका ३ जनाले समेत आफ्नो ज्यान गुमाउनुपरेको छ ।
समाचार संस्था सीएनएनले हेइलोजियान प्रदेशको राजधानी हार्बिन लगायतका क्षेत्रमा ९० हजार हेक्टर क्षेत्रफलमा फैलिएको खेतीमा बाढी पसेको छ । चीनको पिपुल्स डेलीलाई हवाला दिँदै सीएनएनले शाङ्झी सहरमा समेत ४२ हजार हेक्टरभन्दा धेरै क्षेत्रफलमा फैलिएको क्षति पुगेको छ । चीनका सबैभन्दा धेरै धान उत्पादन हुने यी उत्तरी प्रदेशमा बाढीको वितण्डा मच्चिएपछि विश्वमा थप खाद्य सङ्कटको जोखिम आँकलन गर्न थालिएको छ ।
विश्वकै दोस्रो ठुलो अर्थतन्त्र चीनमा ठुलो खाद्य सङ्कटको जोखिम औँल्याइएको छ । हेइलोजियान, जिलिन र लियाओइगं प्रदेशमा आएको बाढीबाट भटमास, मकै र धान खेती प्रभावित बनेको छ । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले समेत पछिल्लो बाढीले ठूलो मात्रामा खाद्यान्न उत्पादनमा कम आउने अनुमान गरिसकेको छ । यसबाहेक हेनान प्रदेशमा आएको बाढीबाट गहुँको उत्पादन प्रभावित हुने आँकलन गरिएको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वर्ष ०.९ प्रतिशतले गहुँको उत्पादन घट्ने प्रक्षेपण गरिसकेको छ । गत साता मात्रै चीनले अस्ट्रेलियाबाट आउने जौमा ‘एन्टीडम्पिङ ल’ लगाएको थियो । यही समयमा रुसले ब्ल्याक सीबाट निर्यात हुने युक्रेनको खाद्यान्नमा प्रतिबन्ध लगाइसकेको छ । टर्कीको मध्यस्थतामा भएको सहमति नमान्ने घोषणा रुसले गरेपछि युक्रेनमा हुने उत्पादन विश्व बजारमा पुग्ने बाटो बन्द भएको छ । युक्रेनबाट मध्य एसिया, युरोप, पूर्वी तथा दक्षिण एसिया र अफ्रिकातर्फ खाद्यान्न निर्यात हुँदै आइरहेको थियो । जसबाट विश्वमा खाद्य सङ्कट आउने चेतावनी विश्व खाद्य संगठनले दिइसकेको छ ।
यसबाहेक, बढ्दो बजार मूल्यलाई नियन्त्रण गर्ने भन्दै भारतले आफ्नो देशबाट चामलको निर्यात पूर्णरुपमा प्रतिबन्ध लगाइसकेको छ । विश्वकै सबैभन्दा ठुलो निर्यातक मुलुक भारतले चामलमा प्रतिबन्ध लगाएपछि थप सङ्कट गहिरिने चिन्ता छ । यही समयमा विश्वकै ठुलो धान उत्पादक राष्ट्र चीनमा आएको बाढी कारण झनै समस्या थपिने अनुमान लगाउन थालिएको छ ।
एजेन्सीहरूको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका कमजोरी सच्याउँदै अघि बढ्ने दिशामा छु’
-
बक्सिङ डे टेस्टमा कोहली–कोन्सटस विवाद : कोहलीलाई दोषी ठहर गर्दै आईसीसीले जरिवाना तिरायो
-
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
-
युवा खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् स्मार्टफोन उपहार
-
चैत्र २९ मा राजेश र नीतिको ‘नरसिंहा : अवतार’ रिलिज हुने
-
अहिले पनि क्रान्ति मरेको छैन : ओम शर्मा