रातोपाटी ब्रिफिङ : चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी, प्रहरीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान सुरु
आज २०८० साउन २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी, संसदीय समितिको नेतृत्वमा यसरी मिलाइयो भागबण्डा, संसदको गतिरोध हटाउनेबारे जुटेन सहमति, सुन तस्करी प्रकरणमा एसपी थापाको कमाण्डमा अनुसन्धान सुरु, नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेल ‘ब्रेक थ्रू’, सिठ्ठी फुकेर निर्माण व्यवसायीले गरे विरोध प्रदर्शन, ल्हारक्याल लामा यसरी भए सबैजसो दलको प्यारा लगायत छन् ।
१. ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
२. संसदीय समितिको नेतृत्वमा यसरी मिलाइयो भागबण्डा
संघीय संसदका संयुक्त र विषयगत समितिका नेतृत्वमा दलहरुबीच भागबण्डा मिलाइएको छ । जसअनुसार नेपाली कांग्रेसलाई ४, नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीलाई एक–एक समितिका सभापति दिइएको छ ।
३. संसदको गतिरोध हटाउनेबारे जुटेन सहमति
संसदको गतिरोध हटाउन भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक ठोस निष्कर्षमा पुग्न सकेन । मंगलबार फेरि छलफल हुने जनाइएको छ ।
४. सुन तस्करी प्रकरणमा एसपी थापाको कमाण्डमा अनुसन्धान सुरु
झण्डै एक क्वीन्टल सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । एसपी सञ्जयसिंह थापाको कमाण्डमा टोली गठन गरेर सीआईबीले अनुसन्धान थालेको हो ।
५. नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेल ‘ब्रेक थ्रू’
नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेल सोमबार ‘ब्रेक थ्रू’ गरिएको छ । निर्माण सुरु भएको झण्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को ‘ब्रेक थ्रू’ गरिएको हो ।
६. सिठ्ठी फुकेर निर्माण व्यवसायीले गरे विरोध प्रदर्शन
काठमाडौंमा सोमबार निर्माण व्यवसायीले सिठ्ठी फुकेर विरोध प्रदर्शन गरेका छन् । सरकारले रकम भुक्तान नगरेको भन्दै उनीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।
७. ल्हारक्याल लामा यसरी भए सबैजसो दलको प्यारा
सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेका ल्हारक्याल लामा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन अघि नेपाली कांग्रेस र नेकपा एमालेमा पनि उत्तिकै प्यारो बनेका थिए । विवादास्पद छविका उनलाई कोषको जिम्मेवारी दिइएकोमा सरकारको आलोचना भइरहेको छ । यद्यपि, उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई पालैपालो रिझाएर यसअघि फाइदा लिइसकेका थिए ।
८. विकास बैंकहरुको नाफा खुम्चियो
आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरुको नाफामा गिरावट आएको छ । १७ वटा विकास बैंकमध्ये ८ वटा बैंकले गत आर्थिक वर्ष जम्मा ५ अर्ब ८१ करोड ९२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएका हुन् । जबकि अघिल्लो आर्थिक वर्ष बैंकहरुले ६ अर्ब ३१ करोड ३३ लाख ३८ हजार नाफा कमाएका थिए ।
९. एएफसी कप छनोटमा मच्छिन्द्र र पारोमध्ये कसले मार्ला बाजी ?
एएफसी कप छनोट प्रतियोगिताको प्रारम्भिक चरणको खेल अन्तर्गत मंगलबार नेपालको मच्छिन्द्र क्लबले भुटानको पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टिमले प्रतिस्पर्धाका लागि आवश्यक तयारी भइसकेको जनाएका छन् ।
१०. बारामा १५७ किलो गाँजासहित ७ जना पक्राउ
बारा प्रहरीले १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं २२ स्थित अमलेखगञ्जको जंगलबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई