काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक ‘जनतासँग माओवादी विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गर्दै आइतबार सकिएको छ । प्रज्ञा भवन कमलादीमा ५ दिनसम्म बसेको बैठकमा यो पटक केन्द्रीय सदस्यहरूले नीति र नेतृत्वमाथि खुलेर आलोचनात्मक बहस गरे ।
भदौको दोस्रो साताबाट सुरु हुने पार्टी रूपान्तरणको तीन महिने अभियानले नयाँ समाजवादी पार्टी पुनर्गठन हुनेमा नेताहरू उत्साहित देखिएका छन् । प्रस्तुत छ, केन्द्रीय समितिको निर्णय, नेताहरूको जीवनशैली तथा माओवादी आन्दोलनको भविष्यबारे पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले रातोपाटीको टेलिभिजन बहस ‘वारपार’मा गरेको कुराकानीको सम्पादित अंश:
भर्खरै सकिएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले माओवादी फेरि जाग्ने कुरा गर्नुभयो । यसको अर्थ पार्टी सुतेको रहेको रहेछ, अब कहिले जाग्छ ?
शान्तिपूर्ण संसदीय राजनीतिमा प्रवेश गरेपछि माओवादीमा केही ‘जिकज्याक’ भयो । ‘जिकज्याक’ बढ्दै जाँदा विभिन्न कन्फ्युजन देखा परे । पार्टी विभाजन भयो, पार्टी कमजोर भयो । यी सबै विषयमा हामीले केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्यौँ ।
हिजो जनयुद्ध र जनयुद्धको राजनीतिक चेतनाले हामी यहाँसम्म आइपुग्यौँ । अब समाजवादी चेतना र समाजवादी पार्टी पुनर्गठन गर्ने र समाजवादको यात्रामा अगाडि बढ्ने भन्ने निष्कर्ष यो बैठकले निकाल्यो ।
बैठकको मुख्य निर्णय पार्टी जनतामा जाने जस्तो देखिन्छ । राजनीतिक दल त सधैँ जनताको बीचमा हुनुपर्ने होइन ?
संसदीय राजनीतिको मूल्य कस्तो हुन्छ भने चुनावको बेला जनतामा जाने र पाँच वर्ष सुतेर बस्ने हुन्छ । क्रान्तिकारी पार्टी २४ सै घण्टा जनतामा बस्नुपर्छ । जनयुद्धमा जनताको साथबाट नै हामीले यत्रो शक्ति आर्जन गरेको हो ।
तर, पछिल्लो समय हामीलाई पनि संसदीय हावा लाग्यो । चुनावको बेला जनतामा फर्किने, त्यसपछि सदरमुकाम र राजधानीमा सीमित भयौँ । सत्ता र शक्तिको घेरामा बस्दा माओवादी बिग्रियो । हामी बिग्रियौँ । जनता छोड्यौँ, त्यसको परिणाम २०६४ सालमा पहिलो शक्तिमा उदाएको माओवादी २०७९ सम्म आइपुग्दा तेस्रो सिटमा खुम्चियो ।
वर्तमान मौजुदा सत्ता र राज्यसत्तामा खेल्ने वा रम्ने हो भने अहिलेको कार्यशैली ठीक छ । हैन भने हाम्रो कार्यशैली र व्यवहार परिवर्तन हुन जरुर छ । हामी समाजवादमा जाने हो, हाम्रो लक्ष्य भनेको साम्यवाद हो । यो संसदीय व्यवस्था स्वीकारेर हामी आएका होइनौं ।
हामीले समाजवादउन्मुख संविधानबाट अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई लक्ष्यमा पुर्याउने कोसिस गरिरहेका छौं । यसका लागि हामी बिग्रियौँ, कमजोर भयौँ भनेर मात्र पुग्दैन । समाजवादमा जानका लागि शक्ति आर्जन गर्न पनि जनतामा जानुको विकल्प छैन ।
माओवादीले भेला, बैठक, सम्मेलन, महाधिवेशन जे जे भनेपनि जनतामा जाने निर्णय गर्छ । तर, व्यवहारमा कार्यान्वयन हुँदैन भन्ने आरोप छ नि ?
यो आरोप सत्य हो । आठौं महाधिवेशनको दस्ताबेज र अहिले प्रस्तुत भएको ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यभार’ भन्ने प्रतिवेदनमाथि समीक्षामा हामी किन कमजोर भयौँ भन्ने कोणबाट बहस र छलफल भयो । विभाजनले पार्टी कमजोर भयो । समस्या किन आयो भने माओवादी पहिचान, आदर्श गुमायौँ । पटक पटक विचार संश्लेषण नयाँ गर्ने, कार्यक्रम नयाँ ल्याउने तर कार्यान्वयन नहुने समस्या छ ।
अब यसलाई समाधान गर्न सबै माओवादी धारहरूलाई एकताबद्ध गर्ने, माओवादी पहिचान फिर्ता गर्ने, जनयुद्धबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई संरक्षण गरी अगाडि बढ्नु आवश्यक छ ।
तर, यतिले मात्र हामीलाई पुग्दैन । समाजवादी चेतना र विचार विकास गर्नुपर्छ । त्यही अनुसारको कार्यक्रम र पार्टी बनाउनुपर्छ । समाजवादी पार्टी जनतामा जरा गाडेको हुन्छ । जनतासँग प्रत्यक्ष जोडिएको हुनुपर्छ ।
माओकै भाषा प्रयोग गर्दा जनता भनेको पानी हो । पार्टी भनेको माछा हो । जनता भनेको माटो हो, कम्युनिस्ट भनेका बीउ हुन् । त्यसकारण हामी उम्रिन पनि माटोमै जानुपर्छ, बाँच्नका लागि पनि पानीमै जानुपर्छ भन्ने विषयलाई बैठकमा गम्भीर रूपले आत्मसाथ गर्यौँ ।
‘जनतासँग माओवादी विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेकै दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विवादित छविका व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनुभयो । यस्ता कार्यशैलीले नीति, विचार, कार्यक्रम जे जे भनेपनि पार्टी त असफल हुन्छ, हैन र ?
समग्रमा हाम्रो समस्या नै यही भयो । पार्टीले नयाँ निर्णय गर्ने, नयाँ कार्यक्रम ल्याउने भन्यौं तर व्यवहारमा लागु भएन । लुम्बिनी विकास कोषमा विवादित व्यक्ति जाँदैछ भन्ने बाहिरबाट सुनेका थियौं । हिजो सरकारले नियुक्त गरेको रहेछ । त्यसमा पार्टीभित्र समीक्षा आवश्यक छ ।
पाँच दिनसम्म चलेको बैठकमा नीति र नेतृत्वमाथि आक्रामक हुनुभयो, पक्ष/विपक्षमा बहस गर्नुभयो ।
कार्यशैली र जीवनशैली सुधार गर्ने निर्णय गर्नुभयो तर निर्णयको मसी सुक्न नपाउँदै विवादित व्यक्तिलाई नियुक्ति दिनुभयो । अब वर्तमान नेतृत्वबाट पार्टी रूपान्तरण भएर तपाईंले भनेजस्तै लक्ष्य प्राप्ति गर्न सक्छ त ?
केन्द्रीय समितिमा पनि हामीले निरन्तर यही विषयमा बहस गर्यौँ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । अध्यक्षले पनि रूपान्तरण अध्यक्षबाट हुनुपर्छ भनेर प्रतिबद्धता जाहेर गरेका छन् ।
रूपान्तरण लुम्बिनी विकास कोषबाट भयो भन्दै मानिसहरूले ब्यङ्ग्य गरेका छन् नि ?
यो कुरा हामीले पार्टीमा पनि समीक्षा गर्छौं । बाहिर पनि समीक्षा होला । यस्तो भएको रहेछ भने सच्याउनुपर्छ ।
भएको रहेछ होइन नियुक्ति भइसकेको छ ।
ती खराब मानिस हुन् भन्ने कुरा हामीले बाहिरबाट सामान्य सुनेका हौं । यदि त्यस्तो हो भने करेक्सन गर्नुपर्छ ।
तपाईंले सामान्य सुनेको भन्नुभयो । उहाँ विवादास्पद गतिविधिका कारण पटक पटक जेल गएका कुरा लुकेको छैन । तपाईंले यस्ता व्यक्ति नियुक्त गर्न हुन्न भन्ने हिम्मत गर्न सक्नु भएन ?
त्यस्ता मान्छेलाई नियुक्ति दिने कुरा सरकारले गरेको छ । त्यो करेक्सन हुनुपर्छ ।
तपाईंले सूचना थियो भन्नुभयो तर बैठकमा उठाउन सक्नु भएन ?
नीतिगत कुराहरूमाथि बहस र छलफल भए तर पात्रको विषयमा छलफल गर्ने कुरा भएन । बैठक चलेकै बेला ती विषय प्रवेश भएको भए छलफल हुन्थ्यो । तर पनि त्यस्ता विषयमा हामी आलोचना गर्छौं ।
बैठकमा नेतृत्वको कार्यशैलीप्रति पनि धेरै प्रश्न उठ्यो । आर्थिक अनियमितता, विभिन्न काण्ड, प्रकरणसँग जोडिएका विषय प्रशस्त उठे । तर, ल्यारक्यालको नियुक्ति हेर्दा मुद्रामोह त प्रचण्डमा गएको रहेनछ है ?
त्यो मुद्रामोह हो वा लुम्बिनीको धार्मिक मापदण्डअनुसार नियुक्त भएका हुन्, त्यसमा बेग्लै समीक्षा होला । यद्यपि हाम्रो समस्या भनेकै भन्ने एउटा, गर्ने अर्को रहेको छ । त्यही भएर अध्यक्ष आलोचनाको केन्द्र बन्नु भयो । र, प्रशंसाको केन्द्र पनि बन्नु भयो । पार्टी रूपान्तरणको कसम पनि खानु भयो ।
उहाँले जे जति कसम खाए पनि व्यवहारमा परिवर्तन देखिएन नि ?
उहाँबाट राम्रा कामका सुरुवात पनि भएका छन् । हामी माओवादीले चुनवाङदेखि संविधानसभा र गणतन्त्रसम्मको बाटो, त्यही बैठकले संश्लेषण गरेको हो । गणतन्त्र कस्तो हुन्छ भन्ने विषय शक्ति सन्तुलनमा भर पर्छ । हामी समाजवादी गणतन्त्रतर्फ लाने प्रयास गर्छौं । अर्को पक्षबाट निरंकुश पुँजीवादी गणतन्त्रतर्फ लाने प्रयत्न हुनेछ ।
अहिलेको संघर्ष जनवादी गणतन्त्रतर्फ लाने कि पछाडि फर्काउने भन्नेमा संघर्ष चलिरहेको छ । माओवादी जनयुद्धको कारणले नै यति धेरै राजनीतिक परिवर्तन भयो । तर, अहिले हामीलाई १७ हजारको हत्यारा भनेर प्राप्त उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेको छ । त्यसको प्रहारको केन्द्र हाम्रा अध्यक्ष बन्नु भएको छ ।
अहिले सरकारमा गइसकेपछि भुटानी शरणार्थी, ललिता निवास, सुनकाण्डलगायत कुरा आएको छ । त्यसको बमबारुद हेडक्वाटर नै हो । माओवादी नेतृत्वको पहिलो सरकारको पालामा शक्ति सन्तुलन र अनुभवहीनताका कारण काम गर्न सकेन । दोस्रोमा पनि प्रारम्भ भएको थियो, सकेनौं । तेस्रो पटक हामीले सरकारको नेतृत्व लिने अवसर पाएको छौं, यी चुनौती र अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ ।
यसमा हामीले तीन वटका विषय उठाएका छौं । पहिलो समाजवादको यात्रा तय गर्नका लागि माओले जस्तै क्रान्ति गर्नुपर्छ । भुटानी शरणार्थीको विषयमा माथिबाट नै प्रहार गर्नुपर्छ । ललिता निवास काण्डले जग्गा दलाल भूमाफियाको जालोलाई तोड्ने प्रयास गरिएको छ । सुन काण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जालोलाई तोड्ने प्रयास सरकारले गरेको छ । यी प्रयास भनेको समाजवादी यात्राको पहलकदमी हो ।
सुशासनको यात्रा प्रयत्न ल्यारक्याल प्रकरणले समाप्त बनायो नि ?
तपाईंले गम्भीर प्रश्न उठाउनु भएको छ । यसमा समीक्षा हुन्छ ।
सरकारले सुशासनको क्षेत्रमा सकारात्मक काम गर्दा प्रशंसा पाएको थियो, लामाको नियुक्तिले लुँडो खेलमा जस्तो ९९ बाट एकै पटक तल झरेजस्तो भएन र ?
माथि उठ्दै गएको सरकारको ‘हाइट’ यी यस्ता गतिविधिले समाप्त पार्छ । भुटानी शरणार्थी काण्डमा सरकारले गरेको कामले माओवादी नै ठीक रहेछ भन्नेको संख्या बढ्दै गयो । त्यसपछि रेशम चौधरी रिहाइ, नागरिकता प्रकरणले हामीलाई फेरि तल झार्ने काम भयो । अहिले फेरि उठ्दै गएको बेला ल्हारक्याल प्रकरणले समाप्त हुने स्थितिमा पुगेको छ । यस विषयमा पार्टीभित्र छलफल गर्छौं ।
उहाँको नियुक्ति बदर नगरी तपाईं कञ्चनपुर फर्किनुहुन्छ कि हुन्न ?
त्यो त अहिले म नभनौँ । तर, हामी त्यो प्रश्न उठाउँछौं ।
नेतृत्वमाथि तपाईंहरूले प्रशस्त प्रश्न उठाउनुभयो तर यस विषयमा ठोस निर्णय के भयो ?
बैठक सुरुवात गर्दा के हुन्छ ? कसो हुन्छ भन्ने उद्वेलित मन थियो । जब बैठक प्रारम्भ भयो, त्यहाँ आलोचना, आत्मआलोचना भयो । सिर्जनात्मक आलोचना, बहस र छलफलले हामी माझिने काम भएको छ । नयाँ गन्तव्यतिर जान पनि बैठकले नयाँ निर्णय गरेको छ ।
जनतासँग माओवादी विशेष अभियानको सुरुवात माथिबाट गर्ने, ०४६ देखि यताको सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने, आफ्नै पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्ने, सबै नेताहरू जनतामा फर्किने । त्यो जनतासँग साक्षत्कार हुने कुरा हो ।
अर्को मिटरब्याजलगायत सुशासनको क्षेत्रमा सरकारले कडाइका साथ अगाडि बढाउने । हाम्रा नेताहरूप्रति जुन किसिमको आरोप आएको छ, त्यसमा कडाइका साथ छानबिन गर्ने निर्णय भएको छ । यसले पार्टीभित्र पनि शुद्धीकरण बनाउने र राज्यलाई पनि रूपान्तरण बनाउन मद्दत गर्छ ।
तपाईंका नेताहरूको जीवनशैली, उठबस, विलासी हुँदै गएको छ । करोडौंका गाडी, अरबौंको महल छोड्छन् कि छोड्दैनन् ?
नेताहरूको वरपर दलाल, तस्करी, अभिजात वर्ग छन् । हामीले आधारभूत वर्ग छोड्यौं । मध्यम सहरिया वर्गलाई पनि विश्वासमा लिन सकेनौं । युवा र बुद्धिजीविलाई पनि साथमा लिन सकेनौं । किन सकेनौंंभन्दा जनताबाट टाढिएर राजकीय पुँजीवादी शैलीमा रूपान्तरण भयौं ।
हिजो जनयुद्धमा पनि नेतृत्व एक प्रकारले सुरक्षाको घेरामै थियो । शान्ति प्रक्रियामा आइसकेपछि पनि त्यो नेतृत्व सुरक्षा र सत्ताको घेरामा बस्यो । जनताबाट टाढिएपछि राजकीय पुँजीवादमा पतन भएर गयो । यसलाई सुधार्न एकमात्र विकल्प जनतामा जानु हो ।
अब जनतालाई मुखले होइन, जीवन व्यवहारबाट दिनुपर्छ । गाडीबाट ओर्लिएर हात हल्लाउने पार्टी बनेको थियो । अब त्यस्तो गर्ने होइन, उनीहरूसँग हातेमालो गर्ने हो ।
२०६४ देखिको चुनावी परिणाम हेर्ने हो भने माओवादी निरन्तर ओरालोमा छ । अब पार्टी पुननिर्माण सम्भव छ ?
पुननिर्माण हुनुको विकल्प छैन । कि त पतन हुनु पर्यो, कि सच्चिनु पर्यो । २०६४ को स्थितिमा माओवादी पुग्नैपर्छ, नत्र विलय हुनुपर्छ । या त हामी रूपान्तर हुनुपर्यो, या त हामी विघटन र विसर्जनमा जानुपर्यो । यो भन्दा हाम्रो अगाडिको बाटो नै छैन ।
सम्भावना सच्चिने छ कि सकिने छ ?
हैन, सच्चिने सम्भावना छ ।
प्रचण्डको विकल्पको बारेमा केही प्रश्न उठे पनि ठोस कुरा आएन नि ?
अहिले प्रचण्डको विकल्पको कुरा आएको छैन । उहाँको विकल्पै छैन ।
घाम जुन रहेसम्म भनेजस्तै प्रचण्ड रहेसम्म अध्यक्ष उहाँ नै हो ?
त्यस्तो त होइन । यसमा विचार, लाइन पात्र र उमेरले निर्धारण गर्दैन । विचार र सिर्जना भन्ने कुरा भइराख्छ । अर्को कुरा समस्याको समाधान व्यक्ति फेरिने कुरा होइन । नेतृत्व फेरेर हुँदैन, रूपान्तरण हुने हो । नेतृत्व यथास्थितिमा रहिरह्यो भने पार्टी ध्वस्त हुन्छ । त्यसकारण प्रचण्डमा रूपान्तरण हुने क्षमता अझै छ । रूपान्तरणको बाटोमा अगाडि बढी राख्दासम्म उहाँको विकल्प हुँदैन ।
बाबुराम र विप्लवसँग एकता गर्ने कुरा नजिक नजिक देखिन्थ्यो । यो बैठकमा खासै महत्व पाएन । विप्लबलाई बेवास्तै गरेको हो ?
हामीले बेवास्ता गरेका छैनौं । समाजवादी मोर्चामा सँगै छौं । समाजवादी मोर्चालाई अझ प्रभावकारी बनाउन प्रवक्ताबाट विदाइ गरेर महरालाई एकताका लागि विशेष जिम्मा दिएका छौं ।
विप्लवजी माओवादीमा आउनुहुन्छ ?
उहाँ आउनुको विकल्पै छैन । कि युद्धतिर जानुपर्यो, त्यो अहिले सम्भव नै छैन । अहिले माओवादीहरूले शक्ति सञ्चय गरी सत्ताको माथिबाट नै समाजलाई रूपान्तरण गर्नुपर्छ । सडक, सदन र सरकार तीनवटा मोर्चालाई हामीले प्रभावकारी बनाएर समाजवादी यात्रा तय गर्नुपर्छ । यस प्रक्रियामा पार्टीभित्रै रहेर बाबुराम र विप्वलजीको पनि साथ रहनेछ भन्ने मलाई विश्वास छ ।
विप्लवलाई महासचिव बनाउने विषयले एकता टाढिएको हो ?
त्यस्तो होइन । उहाँ माओवादीमा फर्किदा महत्त्वपूर्ण पद पाइहाल्नु हुन्छ । प्रचण्ड पछिको ‘डाइनामिक’ नेता विप्लव नै हुन् । कसको पद के हुन्छ भन्ने होइन, सिंगो आन्दोलन कता जान्छ भन्ने हो ।
हिजोसम्म माओवादीलाई सिध्याउन हिँडेका विप्लवलाई ल्याएर महासचिव बनाउलान् त प्रचण्डले ?
त्यस्तो होइन । विप्लव माओवादी सिध्याउन हिँडेका होइनन् । माओवादी विग्रियो, त्यसलाई सच्याउनु पर्छ भनेका हुन् । त्यतिबेला माओवादीमा तीनवटा धार थिए । बाबुरामको लाइन शान्ति र संविधान थियो । किरण वैद्यको लाइन विद्रोहको थियो । प्रचण्डको लाइन दुवैलाई मिलाएर लाने थियो ।
यसमा बाबुराम र बैद्य दुवै फेल हुनुभयो । संसदीय मोर्चा बलियो बनाउनुपर्छ भन्ने प्रचण्डको लाइन पनि कमजोर भयो । त्यसकारण हामी तीनवटै मोर्चामा असफल भयौं । अब तीनवटै मोर्चालाई समीक्षा गरी नयाँ बाटोबाट अघि बढ्नुपर्छ । यी तीनवटै शक्तिलाई एक ठाउँमा ल्याउने खोजीमा छौं ।
विशेष महाधिवेशन गर्ने भनिएको छ । हुने सम्भावना कति छ ?
त्यसका लागि पहिला विधान सम्मेलन गर्ने भनिएको छ, त्यसले कार्यदिशा तय गर्छ । त्यसपछि विशेष महाधिवेशनले नयाँ संल्लेषणसहित नयाँ समाजवादी पार्टी निर्माण गर्छ । अहिले नेतृत्व भन्दा पनि नयाँ विचारको संश्लेषण महत्त्वपूर्ण विषय हो ।
विचारभन्दा पनि विचार बोक्ने नेतृत्वको परिवर्तन गर्नु जरुरी होइन र । नेतृत्व यथावत् राखेर विचार परिवर्तन हुन्छ ?
अहिले समस्या भनेको नेतृत्वको भन्दा पनि विचारको हो । पार्टीको लाइन विद्रोह हो वा शान्तिपूर्ण हो भन्नेमा विवाद भएर पार्टी विभाजन भयो । त्यसकारण अब समाजवाद प्रतिस्पर्धात्मक ढंगले अगाडि बढ्छ ।
प्रतिस्पर्धात्मक भनेको सबै तहको कमिटी आन्तरिक निर्वाचनबाट छान्ने हो ?
नेतृत्व छान्ने दुई वटा विधि छन् । एक ‘सेलेक्टेड’ नेताहरूलाई छान्ने । तलका कार्यकर्ताले मन पराओस् वा नपराओस् नेता बनेर बस्ने । अर्को आन्तरिक प्रतिस्पर्धाबाट छानिने । आन्तरिक प्रतिस्पर्धाबाट तल्लो तहबाट नै आउनुपर्छ । समाजवाद भनेको जनतामा जाने विषय हो । जनता र कार्यकर्ताले मन पराएको नेता नै निर्वाचन प्रक्रियाबाट आउने हुँदा पार्टी मजबुत हुन्छ ।
बैठकपछि माओवादीमा तात्त्विक भिन्नता आउने देख्नु हुन्छ ?
धेरै देखेको छु । सत्ता र शक्तिबाट पार्टी कहिल्यै बाहिर गएको छैन । नेता र कार्यकर्ता निराश भएका छन् । सुखसुविधा लिने पनि सन्तुष्ट छैनन् । नेताहरूका गाडी र बंगला छन्, मेरो हो भन्न सकेका छैनन् । नपाउने त्यसै निराश छन्, पाउने पनि चरम निराशामा छन् । कार्यकर्ता र जनता जतिसुकै निराश भएपनि आशाको दीयो बाल्ने भनेको कम्युनिस्ट पार्टी नै हो । त्यो माओवादीले पुरा गर्छ भन्नेमा मलाई विश्वास छ ।
प्रतिक्रिया