शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

वर्षाले महोत्तरीमा राहत

सोमबार, २२ साउन २०८०, १६ : २७
सोमबार, २२ साउन २०८०

महोत्तरी । लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् ।

वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेँलिँदै गएका धानको रोपो, फलफूलका बोटबिरुवा, तरकारी, उखु, मकै, कोदोलगायत अन्नबालीलाई राहत मिलेको किसान बताउँछन् ।

“गएरातिको वर्षाले इनार, चापाकल र बोरिङसहितका पानीका मुहान अब रसाउने आश जागेको छ” भङ्गाहाका किसान दीपबहादुर फुँयालले भने, “अब खानेपानीको सङ्कट नबढ्ला ।” आइतबार लामो समयसम्म पानी परेकाले माटोको भित्री सतहसम्म चिस्यान पुगेको उनले बताए । जिल्लाको सुदूरउत्तरवर्ती चुरे र यसका शृङ्खलाबाट निस्कने नदी, खोल्साखोल्सी र झोराहरुमा अब पानी रसाउने सम्भावना बढेको उनको भनाइ थियो ।

“बर्दिबासका १० र गौशालाका १० भन्दा बढी बस्तीमा जडित खानेपानीका मुहान यिनै नदी, खोल्साखोल्सी र झोरा हुन्”, फुँयालले भने, “लामो खडेरीले पानीका मुहान सुक्दैजाँदा खानेपानीको हाहाकार बढ्दै गएको थियो ।”

साउन तेस्रो सातामा परेको पानीले मुहानमा राम्ररी फुट्ने र भण्डारण ट्याङ्कीमा पानीको अभाव नहुने विश्वास बढेको बर्दिबासको साना, सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव उदयबहादुर भण्डारीले बताए । “पानी नपरेपछि करिब तीन महिना पानीको समस्या भयो । भण्डारण ट्याङ्की रित्तिने अवस्थामा पुगेको थियो”, उनले भने, “वर्षा भएसँगै नदी, खोल्साखोल्सी र झोरामा पानी राम्ररी फुट्ने (रसाउने, बढ्ने) विश्वास बढेको छ ।” 

यस वर्ष जिल्लाका सुदूरउत्तरवर्ती र मध्यउत्तरवर्ती भेगमा मात्र नभइ मध्य र दक्षिणवर्ती भेगमा पनि खानेपानीको समस्या भएको जलेश्वर–२ का वडाअध्यक्ष वरुण दाहालले बताए । जलेश्वरमा केही दिन चापाकल सुक्दा ट्याङ्करबाट घरघरै खानेपानी वितरण गरिएको उनले बताए ।

धानको ब्याड राख्ने समयदेखि नै यहाँका किसानले पानीको अभाव झेल्दै आएका छन् । जिल्लामा करिब ९० प्रतिशत खेतीयोग्य जग्गामा आकासे पानीको भरमा खेती गर्नुपर्ने भन्दै हालसम्म २५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले जानकारी दिए । उनका अनुसार जिल्लामा कूल ७१ हजार हेक्टर कृषियोग्य जमिन रहेकामा ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । 

“अहिले परेको पानीले खेत चिस्यान भए पनि बीउको अभावले धान रोपाइँ खासै बढ्न सक्ने सम्भावना छैन”, प्रमुख डा यादवले भने, “पहिला लगाएको बीउ ब्याडमै सुकिसकेको छ । अब बीउ राखेर रोप्ने समय छैन । यसअघि रोपिएका रोपो गाँजिएपछि स्थानीय जातको धानलाई खरुअन (रोपो गाँजिएपछि उखेलेर रोपिने धान, धानको कलम) गरेर १५ भदौसम्म रोप्न सकिन्छ ।”

धान रोपेपछि सिँचाइ अभावका कारण धान गाँजिन नसकेपछि खरुअन रोप बढ्ने सम्भावना कम रहेको कृषि विज्ञ बताउँछन् । किसानले हिउँदे बाली, तरकारी र फलफूल लगाउनुपर्ने विज्ञहरुको सुझाव छ ।  

“अब धान रोप्ने सम्भावना कम छ । बाँझो खेत खनजोत गरेर अन्य बाली लगाउने तयारी गर्नुपर्छ”, बर्दिबासका किसान धनसिंह क्याप्छाकीले भने, “हिउँदे कोदो, मकै, नया फलफुलका बिरुवा लगाउन तथा उखु गोड्न पर्याप्त चिस्यान भएको छ ।” वर्षाले वातावरण पनि चिसो भएर गर्मी घटेको महसुस भएको उनको भनाइ थियो । चिस्यानले नदी किनारका चउरमा घाँस पलाउने भन्दै गाईवस्तुको चरनका लागि सहज हुने क्याप्छाकीले बताए ।

वर्षाको पानीले आँप, लिचीलगायत फलका नयाँ बिरुवा बढ्न सघाउने किसान बताउँछन् । भदौरे तरकारीका बेला (लहरा) पनि लहलहाउने र बतिया (चिचिला) हलक्क बढ्ने भङ्गाहाका तरकारी किसान चन्देश्वर राय दनुवारले बताए । “अहिले परेको पानी उखु, लहरे र बोट, तरकारी तथा फलफूलका नयाँ बिरुवा बढ्न मद्दत हुन्छ”, उनले भने, “सुकिसकेका पुराना रुखबिरुवा पनि पलाउँछन् ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप