अलैँची निर्यातमा नेपालको फट्को
काठमाडौँ । अलैँचीको उत्पादन र निर्यातमा नेपालले गत आर्थिक वर्ष २०७९/८० मा उल्लेखनीय फड्को मारेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट ८ अर्ब २७ करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात भएको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
गत वर्ष नेपालबाट ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात भएको छ । यो करिब १० हजार मेट्रिक टन हो । यससँगै, गत आर्थिक वर्षमा मूल्य र परिमाणका आधारमा अहिलेसम्मकै सबैभन्दा धेरै अलैँची निर्यात भएको नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताए ।
अघिल्लो आर्थिक वर्ष नेपालबाट जम्मा ४ अर्ब ८१ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । जुन, आर्थिक वर्ष २०७७/७८ को तुलनामा मूल्य र परिमाणका आधारमा समेत न्यून हो ।
आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ७ अर्ब १० करोड रुपैयाँ बराबरको ८८ लाख ४२ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । तर, आर्थिक वर्ष २०७८/७९ मा एकाएक बजार मूल्य घट्दा अलैँची निर्यात ३ अर्ब रुपैयाँभन्दा धेरैले घटेको थियो । मूल्य घटेका कारण उक्त आर्थिक वर्षको करिब ४० प्रतिशत अलैँची किसानले भण्डारण गरेर राखेका थिए ।
संघका अध्यक्ष भट्टराईले स्टकमा रहेको अघिल्लो वर्षको अलैँची समेत गत वर्ष बिक्री हुँदा मूल्य र परिमाणमै अहिलेसम्मको सबैभन्दा धेरै निर्यात भएको बताए । गत वर्षको सुरुवातमा समेत अलैँचीले मूल्य पाएको थिएन । आर्थिक वर्षको सुरु–सुरुमा प्रति मन (४० किलोग्राम)को मूल्य २५ हजार रुपैयाँ थियो ।
तर, आर्थिक वर्षको मध्यतर्फ बिस्तारै बजार मूल्य बढेर ६५ हजार प्रति मनसम्म पुग्यो । फलस्वरुप अलैँची बेचेर नेपालले एकै वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै रकम आर्जन गरेको हो । नेपालबाट निर्यात भएको सम्पूर्ण अलैँची भारततर्फ नै जान्छ । केही अंश भने युरोप र पाकिस्तानसम्म पनि पुग्ने गरेको छ ।
गत आर्थिक वर्षमा नेपालबाट पाकिस्तानतर्फ १ करोड ९० लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । यस्तै, इटालीमा १० लाख रुपैयाँको र जर्मनीमा ६ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । यसबाहेक, निर्यात भएको सम्पूर्ण अलैँची सबै भारत गएको तथ्याङ्कले देखाउँछ ।
नेपालमा अलैँची उत्पादनको वार्षिक क्षमता ५ हजार मेट्रिक टनदेखि १० हजार मेट्रिक टनसम्म उत्पादन हुन्छ । हाल नेपालभर अलैँची खेती विस्तार भए पनि सबैभन्दा धेरै कोसी प्रदेशमा उत्पादन हुन्छ । नेपालमा उत्पादन हुने कूल अलैँचीको ८० प्रतिशत कोसी प्रदेशमा उत्पादन हुने र ताप्लेजुङ र सङ्खुवासभामा प्रदेशको ४० प्रतिशत अलैँची उत्पादन हुने गरेको छ ।
संघका उपाध्यक्ष सुवास भट्टराईले अलैँची खेतीमा देशभर करिब १ लाख परिवार आबद्ध रहेको बताउँछन् । यसबाहेक आंशिक रूपमा खेतीमा आबद्धहरूको सङ्ख्या समेत जोड्दा धेरै किसानको आबद्धता रहने उनको भनाई छ । बजार विस्तार गर्न नसक्दा र विदेशी मुलुकमा आफ्नो प्रभाव पार्न नसक्दा सबै उत्पादन भारततर्फ नै जाने गरेको उपाध्यक्ष भट्टराईको भनाई छ ।
सबैभन्दा ठुलो उत्पादक नेपाल, आयातकर्ता भारत
नेपालमा उत्पादित ९९ प्रतिशत अलैँची भारततर्फ निर्यात हुन्छ । यसबाहेक, भुटानमा उत्पादित अलैँचीको समेत भारत नै ठुलो बजार हो । यस आधारमा विश्वकै सबैभन्दा ठुलो आयातकर्ता भारत हो । यसबाहेक, नेपाल विश्वकै सबैभन्दा ठुलो अलैँची उत्पादक भएको समेत संघ बताउँछ । तर, दुई प्रकारको अलैँची उत्पादन हुने हुँदो अर्को थरी अलैँचीको उत्पादनमा चीन अघि छ ।
नेपालसँगै श्रीलङ्का, लाओस, ग्वाटेमाला, इन्डोनेसिया, लगायतका देशमा समेत अलैँचीको उत्पादन अत्यधिक मात्रामा हुन्छ । र, यसको ठुलो आयातकर्ता भारत हो भने सबैभन्दा ठुलो खपतकर्ता भने मुस्लिम देश हुन् । अलैँचीलाई मसलाका रुपमा प्रयोग गरिने हुँदा भारतका कम्पनीहरूले नेपाल र भुटान लगायतका देशबाट किन्छन् र मसला उत्पादन गर्छन् । र, उक्त मसला भारतसहित मुस्लिम र अन्य युरोप तथा अमेरिकी देशमा निर्यात गर्छन् ।
संघका अध्यक्ष भट्टराईले नेपालबाट अन्य मुलुकमा अलैँची निर्यात गर्न ४५ दिनसम्मको समय लाग्ने बताए । तर, भारतबाट भने १५ दिनमै ती देशमा अलैँची पुर्याउन सकिन्छ । यसबाहेक, ठुलो मात्रामा अलैँची आयातकर्ता कम्पनीलाई सोअनुसारको सामान दिन नेपाली उत्पादकले सक्दैनन् । जसकारण, भारतीय कम्पनीको हातमा सस्तो मूल्यमै अलैँची पुग्छ र प्रशोधन गरेर बजारसम्म पुर्याउँछन् ।
‘भारतले सबै मुस्लिम देशमा आफ्ना प्रतिनिधि राखेका छन् । सोहीकारण, उत्पादित मसला उता बेच्छन्,’ उपाध्यक्ष भट्टराईले भने, ‘तर, नेपालले त्यसो गर्न सक्दैन । यही कारण, भारतलाई नै बेच्नुको विकल्प छैन ।’
तीन आर्थिक वर्षमा अलैँची निर्यात
स्रोत – भन्सार विभाग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’