सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘मधेसवादी दलहरुले मधेसलाई द्वन्द्वतर्फ लगिरहेका छन्’

राष्ट्रलाई कमजोर बनाएर मधेस बलियो हुन सक्दैन : योगेश भट्टराई
सोमबार, २२ साउन २०८०, ११ : ३८
सोमबार, २२ साउन २०८०

नेकपा एमालेका सचिव योगेश भट्टराई पछिल्लो समय कहिले मधेसको वीरगञ्जमा मट्का चिया खाइरहेका देखिन्छन् भने कहिले लहानमा कटियाको मासु खाइरहेका भेटिन्छन् । कहिले सर्लाहीको बाबातालमा रमाइरहेका देखिन्छन् भने कहिले मधेसका युवासँग मार्निङवाकमा देखिन्छन् । 

एमालेका चर्चित युवा नेता भट्टराईले पार्टीबाट एक वर्षका लागि मधेसको जिम्मवारी पाएका छन् । त्यही भएर अहिले उनलाई मधेसकै विभिन्न स्थानमा भेटिन्छ । मधेसमा एमालेप्रति राम्रो धारणा छैन । रघुवीर महासेठ मधेसको इन्चार्ज हुँदा पार्टीमा समस्यै समस्या थियो । एमाले न मधेस सरकारमा छ, न केन्द्र सरकारमा । यस अवस्थामा भट्टराईको काँधमा मधेसको जिम्मेवारी आइपुगेको छ ।

भट्टराईले मधेसलाई कसरी बुझिरहेका छन् ? मधेसमा उनी के गरिरहेका छन् ? मधेसलाई कसरी ‘कन्भिन्स’ गरिरहेका छन् ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीका लागि एसके यादवले एमाले सचिव योगेश भट्टराईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, योगेश भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईं पहिलादेखि नै मधेसको विषयमा बोल्नु हुन्थ्यो । अहिले पार्टीले जिम्मेवारी दिएरै मधेस प्रदेशमा पठाएको छ । मधेसको विभिन्न ठाउँ घुमघाम गर्नुभयो, मधेसलाई कस्तो पाउनु भएको छ ?

मधेस हाम्रो देशको विशिष्ट खालको प्रदेश हो । त्यसका अनेक विशेषता छन् । मधेस भूगोलामा सानो छ तर जनसंख्याको हिसाबले सात वटा प्रदेशमध्ये मधेस दोस्रो सबभन्दा ठूलो प्रदेश हो । मधेस प्रदेश ६१ लाखभन्दा बढी जनसंख्या भएको प्रदेश हो । सानो भूगोलमा ठूलो जनासंख्या, यसको मतलब अन्तभन्दा जनघनत्व बढी छ । मधेसमा बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय समुदायको बसोबास छ । हाम्रो देशको अवस्थाको आधारमा मधेसलाई हेर्ने हो भने त्यहाँ कृषि र औद्योगिक हिसाबले पर्याप्त उत्पादन दिने ठाउँ हो । मधेस एउटा यस्तो ठाउँ हो, जहाँको उत्पादनले पूरै देशलाई पाल्न पुग्छ । नेपालको सिङ्गै जनसंख्यालाई रोजगार दिनसक्ने हैसियत मधेससँग छ । त्यहाँ कृषि र उद्योगमा मज्जाले रोजगारी दिन सकिन्छ । मधेसका यी धेरै राम्रा पक्ष हुन् । 

त्यसका साथै मधेसमा केही चिन्ताजनक अवस्था पनि छ । अहिले पनि मधेसमा यदाकदा समान्तवादहरुको प्रभाव उत्पादन तथा संस्कृतिमा देखिन्छ । ज्यादा संस्कृतिको प्रभाव मधेसमै छ । सामाजिक ढाँचा तथा तहहरु अरु ठाउँभन्दा बढी मधेसमै छन् । विभिन्न जातीय तह छन् । मधेस हरेक हिसाबले नेपालको केन्द्र भागमा छ । नेपालमा पहिलो गाडी मधेसमै भित्रिएको हो, त्यसपछि मात्र काठमाडौँ आएको हो । २००७–०८ सालमा खोलिएका स्कुलहरु पनि मधेसमा छन् । वीरगञ्ज, जनकपुर, सिरहा, राजविराजजस्ता सहरमा असाध्यै पुराना कलेज छन् । त्यति हुँदा हुँदै पनि मधेसमा अहिले पनि शैक्षिक अवस्था निकै कमजोर छ र यो दुःखलाग्दो कुरा हो । त्यहाँको साक्षरता अवस्था हेर्ने हो भने नेपालको औसतभन्दा धेरै तल छ । नेपालमा साक्षरता कम भएका सात वटा जिल्लामध्ये चार वटा मधेसमै छन् । यो हाम्रो लागि चिन्ताजनक कुरा हो ।

नराम्रो पक्ष भनेको अहिले पनि मधेसमा सामाजिक अन्धविश्वास ज्यादा छन् । अरु प्रदेशमा लगभग हटेको छ । महिलाहरुको सशक्तिकरण जुन तहमा हुनुपर्ने हो, त्यो तहमा पुगेको छैन ।

जातीय तहका कारण उत्पन्न सामाजिक विभेद अन्यत्रभन्दा ज्यादा मधेसमा देखिन्छ । मधेसप्रति अहिले पनि मधेसमै कन्जर्भेटिभ धारणा छन् । दाइजोको नामले होस्, बोक्सीको नामबाट होस् अथवा विभिन्न कारणले त्यहाँ महिलामाथि घरेलुहिंसा व्याप्त छन् । मधेसको यो पनि चिन्ताजनक अवस्था हो तर समग्रमा नेपालको राष्ट्र निर्माणमा, नेपालको राष्ट्रिय एकतामा नेपालको देशभक्तिपूर्ण आन्दोलनमा मधेसी जनताको महत्त्वपूर्ण योगदान छ । नेपालको भाषा, संस्कृतिको विकासमा पनि मधेसको उल्लेखनीय भूमिका छ । मधेसका केही राम्रा पक्ष छन् भने केही नराम्रा पक्ष पनि छन् । 

yogesh bhattarai (4)

मधेसमा नराम्रा पक्ष के भेटाउनु भयो तपाईंले ?

नराम्रो पक्ष भनेको अहिले पनि मधेसमा सामाजिक अन्धविश्वास ज्यादा छन् । अरु प्रदेशमा लगभग हटेको छ । महिलाहरुको सशक्तिकरण जुन तहमा हुनुपर्ने हो, त्यो तहमा पुगेको छैन । अलिकति नराम्रो अवस्थामै छ । गरिबी, पछ्यौटेपन अन्यत्र भन्दा मधेसमा ज्यादा छ । यो नराम्रो कुरा हो । मानव सूचकाङ्कमा सात वटा प्रदेशमध्ये मधेस प्रदेश सबभन्दा तल छ । त्यो आफैँमा एउटा चिन्ताजनक कुरा हो । यस्ता कुराले राजनीतिक दल तथा राजनीति गर्ने नेताहरुलाई घचघच्याइरहेका हुन्छन् । राजनीतिक हिसाबले हेर्ने हो भने काठमाडौँमा जे अधिकार छ, त्यो मधेसमा पनि छ । काठमाडौँमा पनि चुनाव लड्न पाएको छ, मधेसमा पनि चुनाव लड्न पाएको छ । काठमाडौँमा समानुपातिक छ, त्यहाँ पनि समानुपातिक छ । काठमाडौँमा ३३ प्रतिशत महिला सहभागी हुनुपर्छ, मधेसमा पनि ३३ प्रतिशत महिला सहभागी हुनै पर्छ । तर यस परस्थितिमा पनि मधेसको सामाजिक र सांस्कृतिक अवस्थाको बारेमा हामी राजनीति गर्नेहरुका लािग एउटा चुनौती हो । 

२०६२/०६३ पछि मधेस अशान्त भयो र आम मधेसी समुदायमा हाम्रो दुश्मन त पहाडे भन्ने खालको फिलिङ उहाँहरुले दिनुभएको छ । त्यसले कतिपय पहाडेमुलका मानिस जिल्ला सदरमुकाम छोडेका छन् । त्यो गलत काम भएको हो ।

त्यो त सामाजिक, सांस्कृतिक पक्षको कुरा गर्नुभयो, तपाईंले मधेसलाई राजनीतिक रुपमा कसरी हेर्नुभएको छ ?

अन्य ठाउँभन्दा मधेसको राजनीतिक अवस्था अलि फरक छ । अन्य ठाउँमा कांग्रेस र कम्युनिस्टको प्रतिस्पर्धा छ भने मधेसमा अलि फरक छ । त्यहाँ अरु पनि पार्टी छन् । मधेसमा कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपा, जनमतलगायतका पार्टी छन् । यी पार्टीहरुको बीचमा प्रतिस्पर्धा देखिएका छन् । मधेसवादी दलहरुले मधेसका मुद्दाहरुलाई अलिकति साइकोलोजिकल कोणबाट उठाउन खोजेका छन् । भावना, मनोविज्ञानको कोणबाट उठाइएको छ । तर उहाँहरुले यसले मधेसलाई द्वन्द्वतर्फ लगेको ख्याल गर्नुभएन । जसपा, लोसपा, जनमत जस्ता पार्टीले मधेस पछाडि पर्नुको कारण पहाडीलाई देखाउँछन् । त्यो भाष्य नै गलत हो । तर त्यो भाष्यलाई उहाँहरुले एउटा मनोवैज्ञानिक रुप दिइरहनु भएको छ । 

२०६२/०६३ पछि मधेस अशान्त भयो र आम मधेसी समुदायमा हाम्रो दुश्मन त पहाडे भन्ने खालको फिलिङ उहाँहरुले दिनुभएको छ । त्यसले कतिपय पहाडेमुलका मानिस जिल्ला सदरमुकाम छोडेका छन् । त्यो गलत काम भएको हो । यसबाट मधेसी जनता सजग हुनुपर्छ जस्तो लाग्छ मलाई । 

हिजो कस्तो हुन्थ्यो भने कमजोर राष्ट्रभित्र बलियो मधेस खोजियो । त्यो गलत थियो ।

तपाईंको विचारमा मधेसमा मधेसी दलहरुले आफ्नो अधिकारका लागि कुरा उठाएका हुन् कि सम्प्रदायिक रुपमा अघि बढेका हुन् ? 

मधेसवादी दलहरुले काठमाडौँमा पटक पटक राजनीतिक एजेण्डा उठाउनु हुन्छ तर मधेसको ग्रासरुटमा जे समस्या छन्, त्यसलाई ढाकछोप गर्दै उहाँहरुले त्यसलाई राजनीतिक अवरण दिइरहनु भएको छ । त्यहाँको त्यो सामन्ती प्रथा, जातीय प्रथा, महिलामाथिको विभेदको प्रथामै मधेसी दलहरु आफ्नो भविष्य देखिरहेका छन् । मुखिया प्रवृत्ति, ठालु प्रवृत्तिमै रहेर ती दलहरु अगाडि आइरहेका छन् । मधेसीमाथि मधेसीहरुले नै विभेद गरिरहेका छन्, बोक्सीको नाममा, दहेजको नाममा, जातीय छुवाछुतको नाममा विभेद गरिरहेका छन् । र, ती समस्यालाई उनीहरुले समाधान गर्न चाहेका छैनन् बरु त्यसैको आवरणमा राजनीति गर्न चाहेका छन् । यो कुरा मधेसी जनताले पनि बुझ्न थालेका छन् । हामीले बलियो राष्ट्रभित्र बलियो मधेस खोजेका हौँ । त्यसले मात्र सबै समस्याको समाधान गर्न सक्छ । 

हिजो कस्तो हुन्थ्यो भने कमजोर राष्ट्रभित्र बलियो मधेस खोजियो । त्यो गलत थियो । राष्ट्रलाई कमजोर बनाएर मधेस बलियो हुन सक्दैन, राष्ट्र बलियो भयो भने मात्र मधेस बलियो हुन्छ । 

कम्युनिस्ट पार्टीबाट किसान विद्रोह लगायतका जति पनि विद्रोह भए, मधेसबाटै भयो । त्यो विद्रोहले जुन नेता जन्मायो, त्यसले काठमाडौँमा जुनखालको हस्तक्षेप गर्नुपर्थ्यो त्यो गर्न सकेनन् ।

तपाईंले अघि काठमाडौँ र मधेसबीच समानता देखाउनुभयो, तर मधेसले भन्छ काठमाडौँले हामीमाथि विभेद गर्‍यो, के यो गलत हो त ?

त्यहाँको मानिसहरुको त्यो धारणा छ । र, त्यसमा केही सत्यता पनि छ । नेपालका राजनीतिक दलहरुको ऐतिहासिक विकासक्रम हेर्ने हो भने चाहे त्यो पञ्चायत पक्षधर होस् या पञ्चायत विरोधी होस् । दुवै धारमा पहाडे समुदायको बाहुल्यता थियो । पार्टी कांग्रेस बन्दा पनि वा कम्युनिस्ट बन्दा पनि, दुवै पार्टी पहाडे बुद्धिजीवीको पहलकदमीमा बने । त्यसो हुँदा यी पार्टीहरुमा पहाडे समुदायको बहुल्यता हुँदै गयो । मधेसमा समाजिक र सांस्कृति संस्कार पछाडि परेका कारणले हिजोका पञ्चायतले मधेसलाई उपयोगमात्र गर्‍यो । त्यतिबेला काठमाडौँ आएका मधेसीहरुले पनि मधेसका लागि आफ्नो समुदायका लागि केही गरेनन् । बहुदल आएपछि स्वाभाविक रुपमा त्यसका केही परिवर्तन आयो । २०१५ सालमा कम्युनिस्ट पार्टीले चार वटा सीट जित्दा दुई वटा मधेसमै जितेको थियो । कम्युनिस्ट पार्टीबाट किसान विद्रोह लगायतका जति पनि विद्रोह भए, मधेसबाटै भयो । त्यो विद्रोहले जुन नेता जन्मायो, त्यसले काठमाडौँमा जुनखालको हस्तक्षेप गर्नुपर्थ्यो त्यो गर्न सकेनन् । अहिले ग्रासरुट र मध्यभागमा मधेसका प्रभावशाली नेताहरुको संख्या बढ्दै गइरहेको छ । विस्तारै, स्थायीय कमिटीमा, पदाधिकारीमा मधेसीहरुको संख्या बढ्दै गइरहेको छ । 

तपाईंले अघि मधेसमा अन्धविश्वास छ, चेतनाको कमी छ, अशिक्षित छन्, मधेसीमाथि मधेसीले नै विभेद गरेका छन् भन्नुभयो तर अहिले काठमाडौँले मधेसमाथि विभेद गरेको भन्नुभयो । अर्थात् मधेसमा जुनखालको अन्धविश्वास, चेतनाको कमी, अशिक्षा, बेरोजगारी छन्, त्यो काठमाडौँले गरेको विभेदका कारणले त होइन ?

केही हदसम्म हो । सामाजिक विकासक्रमलाई अध्ययन गर्ने हामीले के बुझ्छौँ भने शासकले सामन्ती राज्य व्यवस्थालाई कायम राखेरै सत्ता बलियो बनाउन खोज्छ । त्यो विभेद मधेसमा थियो, त्यो विभेद कर्णालीमा थियो, त्यो विभेद सुदूरपश्चिममा थियो, त्यो विभेद दलितहरुमाथि थियो । हिजोको सामन्ती व्यवस्थाले गर्ने नै यही हो । फलानो जातका व्यक्ति मन्त्री बन्न मिल्दैन, फलानो जातका मानिस माथिल्लो तहमा आउन मिल्दैन, सेनामा आउन मिल्दैन । यो धारणा सामन्ती व्यवस्थाको चरणमा बनाइयो । र, त्यो प्रभाव पछिसम्म रह्यो । पञ्चायतले पनि त्यसलाई आफ्नो आदर्श मानेर त्यही बाटोमा गयो । 

yogesh bhattarai (5)

बहुदल आइसकेपछि जुन ढङ्गले सामन्ती सोचमाथि हस्तक्षेप गर्नुपर्थ्यो, त्यो हस्तक्षेप त्यति प्रभावकारी भएन । आंशिक रुपमा त्यो अझै कायम छ । सुन्ने गरिन्छ नि– पञ्चायत जस्तै विभेद अझै भइरहेका छन् । कांग्रेस, एमाले, माओवादी पनि त्यस्तै रहेछ भन्ने गरिन्छ । यिनै कारणले त उपेन्द्र यादवले त्यो ग्राउण्डको उपयोग गर्दै मधेस आन्दोलन गर्नुभएको हो नि । अहिले सीके राउतले पनि त्यही ग्राउण्डलाई उपयोग गर्न खोज्नु भएको छ । यस्तो ग्राउण्डलाई उपयोग गरेर कुनै पार्टी बन्छ भने त्यो क्षणिक हो । 

अहिले आफैँ राज्यसत्ता हो भन्ने फिलिङ मधेसी जनतामा आउन थालेको छ । आफ्नै समुदायबाट मुख्यमन्त्री बनाउन थालेका छन् । आफ्नै समुदायबाट मन्त्री बनाउन थालेका छन् ।

पञ्चायतकाल वा त्योभन्दा अघिको जस्तो विभेद अहिले छ कि छैन ?

छ, अहिले पनि छ तर त्यो खालको छैन । केही वर्ष अघिसम्म कुनै महिलालाई मलमुत्र खुवाउँदा, त्यसमाथि विभेद गर्दा प्रहरीमा रिपोर्ट नै गर्न आउँदैनथे । आज कमसे कम रिपोर्ट गर्न त आउँछन् । हिजो त्यो विषय पुलिसले त्यतै दबाइदिन्थ्यो । तर आजको राज्यसंयन्त्रमा त्यसरी जान मिल्दैन । अर्थात् हिजोका तह जस्तो विभेद छैन आज । यसको मतलब पूर्णरुपमा विभेद अन्त्य भयो भन्ने होइन । विभेद केही कायम छ तर चेतनाको स्तर बढेको छ । 

अहिले आफैँ राज्यसत्ता हो भन्ने फिलिङ मधेसी जनतामा आउन थालेको छ । आफ्नै समुदायबाट मुख्यमन्त्री बनाउन थालेका छन् । आफ्नै समुदायबाट मन्त्री बनाउन थालेका छन् । अन्य निकायमा पनि मधेसीको संख्या बढ्दै गइरहेको छ । परिवर्तन त भएको छ नि ! तर म भन्छु, मधेसको नेता भएर मधेसलाई मात्र हेर्ने, मधेसको आँखाले मात्र हेर्ने काम भयो भने मधेसको समस्या समाधान हुँदैन । मधेसमा उभिएर राष्ट्रिय दृष्टिकोण बनायो भने मात्र समस्या समाधान हुन्छ । अधिकांश मधेसवादी दलका नेता मधेसमा उभिएर मधेसका कुरामात्र गरिरहेका छन् । त्यो साँघुरो दायरा हो । दायरा फराकिलो बनाउनुपर्छ, अनिमात्र मधेस बलियो हुन्छ । 

तपाईंले मधेसमा अझै केही मात्रामा विभेद कायम छ भन्नुभयो, त्यसो भए त्यो विभेदमा एमालेको कति प्रतिशत हिस्सा छ ?

होला, त्यसमा एमालेको पनि केही होला । म त्यसलाई अन्यथा मान्दिनँ । हाम्रो पार्टी पनि पहाडे समुदायको बाहुल्यता भएको पार्टी हो । हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो चालचलन आदि व्यवहारले मधेसी समुदायलाई जुन तहले समेट्न पर्थ्यो, त्यो तहले समेटेन होला हिजो । अथवा हाम्रा कतिपय अभिव्यक्तिले मधेसी समुदायलाई ठेस पुगेको होला । त्यो हामीले जानीजानी गरेका होइनौँ । हामी जुन संस्कृतिबाट आयौँ त्यो संस्कृतिको प्रभाव पनि परेको होला । म एउटा धर्मनिरपेक्ष मानिस हुँ । धर्म मान्छेको आस्था हो, राज्यको होइन । तर म हिन्दु संस्कृतिबाट आएको हुनाले जति नै निरपेक्षको कुरा गरे पनि हिन्दु धर्मको प्रभाव पर्छ नै । त्यसैले हिजोको प्रभावका कारण अहिले पनि कतै न कतै असर देखाएको होला तर आज एमालेमा त्यो अवस्था छैन । आज हामी बदलिएका छौँ । स्वयं हाम्रो पार्टी बदलिएको छ । हाम्रो पार्टीले मधेसलाई हेर्ने दृष्टिकोण बदलिएको छ । तर यसको मतलब मधेसलाई हामी कन्जर्भेटिभ धारणाबाट हेर्छौं भन्ने होइन, एउटा प्रगतिशील धारणाबाट हेर्छौं । मधेसको दुश्मन पहाडे र पहाडेको दुश्मन मधेसी हो भन्ने धारणाले हामीले हेर्दैनौं । मधेसको कोही दुश्मन छ भने मधेसभित्र छ । पहाडेको कोही दुश्मन छ भने पहाडभित्र छ । 

मधेसमाथि भइरहेको विभेदमा एमालेको केही हिस्सा होला भन्नुभयो, त्यसो भए के त्यसलाई करेक्सन गर्न मधेसबाट रघुवीर महासेठलाई हटाएर योगेश भट्टराईलाई पठाएको हो त ?

यो कार्यविभाजन लामो समयका निम्ति होइन । एक किसिमले भन्ने हो भने यो काज हो हाम्रो । यो कार्यविभाजन चैतसम्मका लागि गरिएको हो । एउटा प्रदेशको मान्छेलाई अर्को प्रदेशमा पठाइएको हो । कस्तो परिवर्तन आउँदो रहेछ, त्यो हेर्नका निम्ति यस्तो गरिएको हो । यसले नयाँ अनुभूति पनि हुन्छ । मैले अघि जनकपुर, वीरगञ्ज, सिरहा, राजविराजलाई जसरी बुझेको थिएँ, अब त्यसभन्दा फरक ढङ्गले बुझ्ने मौका प्राप्त भएको हो । रघुवीरजीले हिजो ताप्लेजुङ अथवा सोलुलाई जसरी बुझ्नु भएको थियो, आज ताप्लेजुङ र सोलु पुग्दाखेरी पक्कै पनि पहाडप्रति उहाँको धारणा फराकिलो भएर आउँछ । मेरो धारणा मधेसप्रति फराकिलो हुन्छ, उहाँको धारणा पहाडप्रति फराकिलो हुन्छ । यसले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाउँछ । 

०७४ को चुनावमा संघमा दुई सीटमात्र जितेका थियौँ मधेसबाट, अहिले नौ वटा सीट जितेका छौँ । रौतहटका स्वतन्त्र सांसद किरण साह सामेल भएपछि ११ सीट भएको छ । प्रदेश सभामा २४ सीटसहित पहिलो पार्टी बनेका छौँ ।

मधेसमा एमालेले जुन खालको संगठन बनाउन खोजेको थियो, जुन मनोविज्ञान तयार गर्न खोजेको थियो त्यसमा रघुवीर महासेठ सफल नभएपछि तपाईंलाई पठाएको हो भन्ने आम बुझाइ छ, यसमा कति सत्यता छ ?

मधेसमा पार्टी निर्माणमा धेरै नेताको योगदान छ । कुनै बेला तुलसीलाल अमात्य, विष्णु मानन्धरले मधेसमा कम्युनिस्ट पार्टी बनाउनु भयो । झापा विद्रोहपछि हाम्रो पार्टीका अधिकांश नेताले मधेसलाई बेस बनाएर पार्टी निर्माण गरेको हो । त्यस क्रममा माधवकुमार नेपाल, ईश्वर पोखरेल, झलनाथ खनालहरुले मधेसमै जीवन बिताउनुभयो । मधेसी समुदायको घरबस्तीमा बस्नुभयो उहाँहरु । केपी ओली जेलबाट छुटेर आएपछि मधेसमै गएर बस्नुभयो । पछिल्लो कालमा सीतानन्दन राय, महेन्द्र राय यादव, योगेन्द्र यादव, सलिम मियाँ अन्सारी, रामचन्द्र झा, जितेन्द्रनारायण देव, थोरै समयका लागि उपेन्द्र यादव पनि बस्नुभयो । यसरी धेरै नेताको योगदानबाट मधेसमा एमाले पार्टी बनेको हो । कालान्तरमा कतिपय नेताको अन्तरविरोधले कुनै नेता पार्टी छाड्ने, कुनै नेता के हुने जस्ता काम भयो । पछिल्लो कालमा रघुवीर महासेठ इन्चार्ज भएर काम गर्नुभयो । म उहाँलाई असफल भन्दिनँ, विगतको भन्दा मधेसमा राम्रो परिणाम आएको छ । हामीले परिणाममा हेर्ने हो । २०७४ को चुनावमा संघमा दुई सीटमात्र जितेका थियौँ मधेसबाट, अहिले नौ वटा सीट जितेका छौँ । रौतहटका स्वतन्त्र सांसद किरण साह सामेल भएपछि ११ सीट भएको छ । प्रदेश सभामा २४ सीटसहित पहिलो पार्टी बनेका छौँ । साढे तीन लाख मत समानुपातिकमा ल्याएका छौँ । यी सबै प्रगतिमा रघुवीरजीको भूमिका छ । त्यसैले उहाँलाई हामीले असफल भनेका छैनौँ । उहाँ मधेसमा सफल हुनुभएको हो । 

२०६४ देखि २०७४/७५ सम्म एमालेप्रति मधेसको सोचाई फरक थियो, एक समय एमाले मुक्त मधेसको नारा लागेको थियो, ओली निषेधित क्षेत्रको पनि ब्यानर देखिन्थ्यो । त्यतिबेला एमालेका नेताहरु मधेसमा प्रवेश गराउन डराउँथे, त्यो अवस्थामा अहिले परिवर्तन आएको छ कि छैन ?

धेरै हदसम्म परिवर्तन भइसकेको छ । नेपाललाई कमजोर राष्ट्र बनाउन चाहने, कतिपय देशभित्रका र कतिपय देश बाहिरका शक्ति एमालेलाई कमजोर गर्नतिर लागे । नियोजित रुपमा मधेसमा एमालेमाथि आक्रमण भयो । मधेसका आठ वटा जिल्लामा एमालेका कुनै यस्तो कार्यालय थिएन होला, त्यसमा आगलागी नभएको होस् । मधेसका धेरै हाम्रा नेताको घरमा आक्रमण भयो । मधेसका पहाडी नेता मात्र होइन, मधेसी नेताहरुलाई पनि मधेसमा घुमफिर गर्न गाह्रो भइरहेको थियो । नाकाबन्दीलगायतका विरुद्धमा उभिँदा एमालेमाथि अनेक आरोप लगाउँदै कमजोर बनाउने प्रयास भयो । त्यसमा कहीँ न कहीँ नेपाली कांग्रेसको पनि षड्यन्त्र थियो । कांग्रेसले मधेसलाई भोट बैंक ठान्थ्यो । कुनै बेला थियो पनि । जब हामीले उसको भोट बैंकमाथि हस्तक्षेप गर्‍यौँ, मधेसमा हामी कांग्रेसको समानान्तर शक्तिको रुपमा आयौं । कांग्रेसलाई चित्त बुझेन र कपितय मधेसवादीसँग मिलेर हामीमाथि सांघातिक आक्रमण गराउने षड्यन्त्र कांग्रेसको थियो । कतिपय तथ्य प्रमाण हामीसँग छन् । कुनै बेला हामी भनौँला । 

राजविराजको मलेठमा घटना हुँदा कांग्रेसका विमलेन्द्र निधि गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले हामीलाई सुरक्षा दिन सक्नु भएन । उहाँलाई हामीले जानकारी दिएर कार्यक्रम गरेका थियौं । त्यहाँ एमालेमाथि आक्रमण भयो । त्यो राष्ट्रिय पार्टी हो । त्यो कार्यक्रममा एक जना होइन, तीन तीन जना पूर्व प्रधानमन्त्री सामेल हुनुहुन्थ्यो । त्यो पार्टीलाई सुरक्षा दिनेक्रममा उहाँले जुनखालको धारणा बनाउनु भयो, त्यो शंकास्पद छ । के त्यसले उहाँलाई फाइदा भयो त ? उहाँलाई फाइदा भएको छैन । जुन राजनीतिक दलहरु एमालेमाथि आक्रमणमा उत्रिनुभयो, आज तिनै राजनीतिक दल र नेताहरु हामीले गलत गरेका थियौँ भनेर आत्मसमीक्षा गरिरहनु भएको छ । त्यो पार्टीबाट सयौँको संख्यामा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । त्यसरी एमालेलाई हेर्न मधेसमा दृष्टिकोण बदलिएको छ । मधेसलाई हेर्ने एमालेको दृष्टिकोण पनि फराकिलो भएको छ । 

yogesh bhattarai (3)

अहिले पनि अरु दलको तुलनामा एमालेप्रति मधेसको बुझाई फरक छ । एमालेप्रति अहिले पनि नकारात्मक टिप्पणी भइरहेको छ, नागरिकतालगायतको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुतला जलाउने काम भयो, विद्यादेवी भण्डारीको पुतला जलाइयो, अर्थात् अहिले पनि मधेसमा एमालेलाई हर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन नि ?

मधेसमा स्थापित कतिपय मिडियाले पनि एमाले विरुद्धमा समाचार सम्प्रेषण गर्ने कारखानाको रुपमा काम गरिरहेका छन् । जिल्लाबाट सञ्चालन हुने कतिपय रेडियो म पनि सुन्छु, मधेसमा कतिपय समाचार एमालेको विरुद्धमा जबर्जस्ती प्रसारण भइरहेका हुन्छन् । तर समाचार बजेको र बजाइएको त्यो समाचारको जस्तो अवस्था छैन । म रातोपाटीमार्फत के भन्न चाहन्छु भने मधेसमा राम्रा मत ल्याउनुछ भनेर एमाले नराम्रो एजेण्डामा जाँदैन । जे सही छ, त्यही अडानमा हामी हुन्छौँ । दल तथा नेताको विशेषता के हुनुपर्छ भने भिडको कुरा सुन्ने हो तर त्यो भिडलाई कन्भिन्स गर्नु सक्नुपर्छ । हामीले मधेसलाई कन्भिन्स गर्न खोजेका छौँ । मधेसका राम्रा कुरालाई हामी प्रोत्साहन गरिरहेका छौँ । त्यसलाई राष्ट्रिय बहसमा ल्याइरहेका छौँ । मधेसले यो राष्ट्रका लागि लडेको कुरालाई पनि एमालेले प्रशंसा गरिरहेको छ । नेपाल–भारतको बोर्डरमा जसरी मधेसीहरुले आफ्नो अधिकारका लागि लडिरहेका छन्, त्यसको पनि एमालेले प्रशंसा गरिरहेको छ । 

०६३ साल अगाडि जन्मसिद्धका आधारमा नागरिकता पाएकाहरुका हरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्छ । त्यसमा एमालेको विमति होइन, त्यसलाई कार्यान्वयन गर्न केपी ओलीले अध्यादेश ल्याउनु भएको हो । आज मधेसमा होइन, पहाडमा देखिएको नागरिकताको मुख्य समस्या पनि यही नै हो । यो कुरा हामीले बुझाएकै छौँ । यसमा मधेसमा कुनै कन्फ्युजन थिएन । जसरी वैवाहिक अंगीकृतलाई ह्वारह्वार्ती नागरिकता दिने कानुन ल्याइयो, त्यो गलत छ । आज पनि हामी त्यो भन्छौँ । वैवाहिक अंगीकृतलाई अरु देशमा जे प्रचलन छ, भारत, अमेरिका, बेलायतमा जे प्रचलन छ, त्यस्तै गर्दा पनि भइहाल्यो नि तर नेपालमा आजको आजै किन नागरिकता दिने त ? भोलि नेपालको सिङ्गो डेमोग्राफिक पोलिटिक्समा के असर गर्छ, मधेसको डमोग्राफिक पोलिटिक्समा के असर गर्छ ? भोलि नेपाली मधेसीहरु आफ्नै भूमिमा अल्पसंख्यक हुने खतरा हुन्छ कि हुँदैन ? यी प्रश्न हामीले उठाएका हौँ । हाम्रो विमतिको बीचमा पनि कानुन बनेको छ । त्यो कार्यान्वयन हुन्छ, होस् पनि । तर यसले भोलि ल्याउने दुष्परिणामको बारेमा आम मधेसीलाई बुझाउन चाहन्छौँ । हामीलाई विश्वास छ कि उहाँहरु बुझ्नुहुन्छ । 

राजा महेन्द्रले दिए पनि वैवाहिक अंगीकृतको नागरिकताको सम्बन्धमा धारणा गलत थियो । त्यसलाई सात वर्ष नभए पनि, पाँच वर्षको समय सीमा तोकिनु पर्थ्यो । त्यो पाँच वर्षको अवधिका लागि दैनिक जीवन चलाउन कुनै परिचयपत्र दिउँ भन्ने खालको कानुन बनाउन चाहेका थियौँ ।

त्यही विषयमा अध्यादेश ल्याउन तपाईंहरु तयार हुने, ल्याउनु पनि भयो पनि तर त्यही विषयमा फेरि कानुन आउन थालेपछि किन विरोध त ?

अध्यादेश र विधेयकको भिन्नताको बारेमा बुझ्नु आवश्यक छ । तत्काल हल गर्ने मुद्दाहरुलाई सम्बोधन गर्न अध्यादेश ल्याइन्छ, जतिबेला संसद बसिरहेको हुँदैन । वैवाहिक अंगीकृतले नागरिकता पाइरहेकै थिए । तर जन्मसिद्धका नागरिकलाई वंशजको आधारमा नागरिकता दिनुपर्छ भनेर बोलेको थिएन नि । कानुन नबनेपछि संसदमा हामीले त्यो कुरा लगेपछि २२–२३ महिना समितिमा अड्काइयो । तर पछि त्यसलाई हल गर्नका निम्ति केपी ओलीले अध्यादेश ल्याउनुभयो । त्यो क्रममा नागरिकता वितरण भयो र सात आठ हजार नागरिकले नागरिकता पनि लिए । विधेयक भनेको कानुनलाई स्थायी स्वरुप दिने हो । र, अध्यादेशबाट आएका कुरालाई पनि समेटेर लान्छ । संविधानका प्रावधानलाई समेटेर लैजान्छ । पुराना कानुनमा काम नलाग्ने कुरालाई संशोधन गरेर पनि लैजान्छ । 

त्यसैले हामी के भन्छौँ भने ०६३ को कानुनले दिए पनि, राजा महेन्द्रले दिए पनि वैवाहिक अंगीकृतको नागरिकताको सम्बन्धमा धारणा गलत थियो । त्यसलाई सात वर्ष नभए पनि, पाँच वर्षको समय सीमा तोकिनु पर्थ्यो । त्यो पाँच वर्षको अवधिका लागि दैनिक जीवन चलाउन कुनै परिचयपत्र दिउँ भन्ने खालको कानुन बनाउन चाहेका थियौँ । तर त्यसमा अनावश्यक विवाद ल्याइदियो । 

हामी फेरि अघिकै कुरामा जाउँ । मधेसमा एमालेको हालत यति खराब थियो कि अरुको काँधमा बसेर मधेसमा छिर्नु पर्‍यो, पछिल्लो चुनावमा पनि उपेन्द्र यादवको काँध थापेर मधेसमा छिर्नुभयो । त्यही भएर मधेसमा तपाईंहरुको यो अवस्था आएको भन्ने पनि छ, यसमा के भन्नुहुन्छ ?

२०७० को त्यो अवस्था होइन । २०७० मा मधेसमा एमालेको १६ वटा सीट थियो । २०७४ मा दुईमा झर्‍यो । २०७९ मा नौ वटा सीट आयो । २०७९ मा उपेन्द्र यादवसँग कहीँकहीँ तालमेल गर्‍यौँ । मैले तीनचार महिना मधेसको जिल्लामा घुम्दा र सबै रिपोर्ट लिँदा उपेन्द्र यादवसँगको तालमेलले हामीलाई खासै फाइदा भएन । उपेन्द्रजीसँग तालमेल नभएको भए र प्रभु साहजी पार्टीको निर्णयलाई मानेर बसिरहनु भएको भए १५ वटा भन्दा सीट जित्थ्यौँ । जहाँ एमाले बलियो थियो, त्यहीँ उपेन्द्रजीलाई हामीले दिएका थियौँ । त्यसले उपेन्द्रजीलाई फाइदा गर्‍यो तर हामीलाई निकै क्षति गर्‍यो । गठबन्धनले हामीलाई खासै फाइदा गरेन । उपेन्द्रजीले सहमति गर्नुभयो तर त्यसमा उभिनु भएन । चुनावलगत्तै उहाँ पुनः प्रचण्डजीको गठबन्धनमा जानुभयो । एमालेसँग गठबन्धन गरेको कारण एमालैसँग प्रतिपक्षमै बसेको भए हुन्थ्यो । त्यसले उहाँलाई नै फाइदा हुन्थ्यो । मधेसमा जनमत, जसपा र लोसपाबीच भिन्नता के ? प्रश्न उठेको छ । तल आफैँमा मारामार गरिरहेका छन्, तर प्रदेश र संघको सरकारमा मिलेका छन् । यो चरम सत्तास्वार्थ बाहेक अरु केही होइन नि ! त्यसबाट उपेन्द्रजी अलग हुनुपर्थ्यो । सीकेजीले जे मुद्दा उठाइरहनु भएको छ, त्यो मुद्दा उठाउने पार्टी प्रचण्डजीको सरकारमा कसरी बसेको होला ! हाम्रो अपेक्षा त सीके राउत र उपेन्द्रजी त प्रतिपक्षको बेञ्चमा हुनुपर्थ्यो । उहाँहरुले बाटो बिराउनु भएको छ । सीके राउतजी पनि हिजोका मधेस केन्द्रित दलजस्तै सत्ताको गोलचक्करमा फसिसक्नु भएको छ । 

yogesh bhattarai (1)

तपाईंले उपेन्द्रजीसँग तालमेल गर्दा हामीलाई कुनै फाइदा भएन भन्नुभयो, उपेन्द्रजीको पार्टीले पनि एमालेसँगको तालमेलले घाटा भयो भनिरहेको छ, कसको कुरा सही हो ?

यदि उपेन्द्रजीले पनि एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा भएन भन्नुहुन्छ भने त्यसमा मलाई खुसी नै लागेको छ । अब हामीले उहाँसँग गठबन्धन गर्नुहुँदैन । आगामी चुनावमा मधेसमा मात्र होइन, देशमै हामी एक्लै चुनाव लड्छौँ, कसैसँग कुनै गठबन्धन हुँदैन । हामीले कांग्रेसलाई पनि भन्छौँ कि हामी एक्लाएक्लै चुनाव लडौँ । जनतालाई च्वाइस गर्ने अवसर दिऔँ, अरु साना दलहरु मिल्छन् भने मिलुन् तर हामी एक्लाएक्लै चुनाव लडौँ । संगठनका जति पनि गतिविधि अगाडि बढाइरहेका छौँ, त्यसको तयारी नै त्यही हो । कांग्रेसभित्र पनि गठबन्धन गर्ने कि नगर्ने भनेर तीव्र मतभिन्नता छ । कांग्रेसले पनि गठबन्धन नगरोस् भन्ने हाम्रो चाहना हो, एमालेले त गर्दैन । 

त्यो विभेद हिजो थियो तर आजको दृष्टिकोण धेरै बदलिएको छ । अब काठमाडौँको त्यो तहको हस्तक्षेप सम्भव छैन । त्यो तहको हस्तक्षेप कर्णालीले मान्दैन र मधेसले पनि मान्दैन । 

म यो कुराकानी जहाँबाट सुरु गरेको थिएँ, फेरि त्यहीँ जान चाहन्छु । तपाईंले मधेसमा घुमाघाम गर्नुभयो र त्यही बीचमा कर्णाली पनि जानुभयो । कर्णाली र मधेसमा के फरक पाउनु भयो ?

भौगोलिक हिसाबले कर्णाली धेरै नै विकट छ । त्यस हिसाबले मधेस धेरै सुगम छ । सामाजिक, आर्थिक र चेतनाको हिसाबले भन्ने हो भने मधेस र कर्णालीमा धेरै समानता छ । सामन्ती उत्पादनको प्रभाव मधेसजस्तै कर्णालीमा पर्याप्त छ । लैङ्गिक विभेद दुवै ठाउँमा त्यस्तै छ । सामाजिक चेतनाको स्तर मधेसमा पनि कमजोर छ, कर्णालीमा पनि कमजोर छ । तर मधेस र कर्णाली दुवै अँध्यारोमै बसेका छन् । त्यहाँ उज्यालोको सम्भावना छैन भन्ने होइन । मधेसमा जस्तै कर्णालीमा पनि सकारात्मक कुरा धेरै छन् । निकै सम्भावनाका कुरा त्यहाँ छन् । ठिक ढङ्गले नेतृत्व गर्ने हो भने कर्णालीको समृद्धि त्यति टाढा छैन । त्यहाँ सानो जनसंख्या छ तर विशाल प्राकृतिक स्रोत छन् । यता मधेसमा ठूलो जनसंख्या छ, त्यतिकै अवसर पनि छन् । उता कम जनसंख्या भए पनि कर्णालीमा अवसरै अवसर छन् । यी दुई वटा प्रदेशलाई राष्ट्रिय दृष्टिकोणबाट बजेट बनाउँदा, नीति कार्यक्रम बनाउँदा राम्रोसँग विचार गर्ने हो भने सिङ्गो नेपाललाई पाल्न सकिन्छ । 

यी दुई वटै प्रदेशका जनताले काठमाडौँले हामीमाथि विभेद गर्‍यो भन्छन् नि, किन ?

त्यो विभेद हिजो थियो तर आजको दृष्टिकोण धेरै बदलिएको छ । अब काठमाडौँको त्यो तहको हस्तक्षेप सम्भव छैन । त्यो तहको हस्तक्षेप कर्णालीले मान्दैन र मधेसले पनि मान्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप