बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय प्रतियोगितामा आफन्तलाई पठाएपछि खेल मैदानमा राष्ट्रको बेइज्जत !

सोमबार, २२ साउन २०८०, ११ : १८
सोमबार, २२ साउन २०८०

काठमाडौँ । विश्व एथलेटिक्समा अफ्रिकी राष्ट्र सोमालियाको थुप्रै धावकले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सोमालियन धावकले विश्व एथलेटिक्सका थुप्रै कीर्तिमान पनि बनाएका छन् । तर, त्यही सोमालियाले हालै सम्पन्न एक अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स ट्र्याकमै ठूलो बेइज्जतीको सामना गर्नु परेको छ ।

त्यो पनि आफ्नै खेलाडी र खेल पदाधिकारीको हर्कतका कारण । चीनमा आयोजित ‘वर्ल्ड युनिभर्सिटी गेम्स’ मा एक सय मिटर दौडको महिला स्पर्धामा प्रतिस्पर्धा गर्न सोमालियाले आफ्नो खेलाडी पठाएको थियो । कुनै पनि देशले छनोट प्रतियोगिता आयोजना गरेर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएको हुन्छ । 

तर, सोमालियन महिला धावकले ‘वर्ल्ड युनिभर्सिटी गेम्स’ मा एक सय मिटर दौड पूरा गर्न यति धेरै समय लगाइन् कि त्यहाँ उपस्थित दर्शकसमेत आश्चर्यमा परे । नसरा अबु बकर अली नामकी सोमालियन धावकका प्रतिद्वन्द्वीले दौड पूरा गरेर केही समय आराम गरिसक्दा पनि उनी भने ट्र्याकमा दौडिइरहेकी थिइन् । 

उनले एक सय मिटर दौड पूरा गर्न २१.८१ सेकेन्ड समय लगाएकी थिइन् । एक सय मिटर दौडमा स्वर्ण पदक जित्ने खेलाडीभन्दा सोमालियन धावकले दौड समाप्त गर्न दोब्बर समय लगाएकी थिइन् । त्यसपछि यो विषयले अन्तर्राष्ट्रिय जगतमै निकै ठूलो चर्चा पाएको थियो । 

अन्तर्राष्ट्रिय खेल जगतमा देशको प्रतिष्ठा धुमिल भएपछि सोमालियाको सरकारले छानबिन समिति गठन गरेको थियो । अन्ततः छानबिन समितिले केही दिनको अनुशन्धानपछि जे तथ्य सार्वजनिक गर्‍यो, त्यसले सारा विश्वलाई झनै ठूलो आश्चर्यमा पार्‍यो । 

सोमालियाले ‘वर्ल्ड युनिभर्सिटी गेम्स’ को महिला एक सय मिटर दौडमा सहभागी गराएकी २० वर्षीया नसरा अबु बकर अली खासमा धावक नै थिइनन् । धावक मात्र होइन, उनी कुनै पनि खेलको खेलाडी थिइनन् । उनलाई माथिल्लो खेल अधिकारीहरुको दबाबका कारण प्रतियोगितामा सहभागी गराइएको थियो । 

नसरा अबु बकर अली सोमालियाको उच्च खेल अधिकारीको आफन्त थिइन् । त्यसपछि अहिले सोमालियाको युवा तथा खेलकुद मन्त्रालयले सोमालियन एथलेटिक्स महासंघको अध्यक्षलाई आफ्नो अधिकारको चरम दूरुपयोग गरेको आरोपमा पदबाट निलम्बन गरेको छ । महासंघका अध्यक्ष खदिजो अदन दाहिरमाथि अधिकारको दूरुपयोग गरेर अन्तर्राष्ट्रिय जगतमा देशको बेइज्जती गरेको आरोप लगाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप