विदेशिनेको सङ्ख्या बढेको बढ्यै : किन बढ्दैन सोही गतिमा रेमिट्यान्स आप्रवाह ?
काठमाडौं । २०७९ वैशाखमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । उक्त तथ्याङ्क केन्द्रीय बैंकले जारी गरेको ९ महिनामा आधारित थियो ।
सोही अवधिको एक वर्ष अघि सम्मको अवधिमा १६ प्रतिशतले रेमिट्यान्स बढेको थियो । जुन, कोभिड–१९ महामारीका कारण प्रभावित बन्दा रेमिट्यान्स आप्रवाह निरन्तर ओरालो गतिमा थियो ।
२०७९ वैशाखमा रेमिट्यान्स घटे पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या ह्वात्तै बढेको थियो । उक्त अवधिमा श्रम स्वीकृतिमा जाने ७४ प्रतिशत र पुनः श्रम स्वीकृतिमा लिनेहरूको सङ्ख्या १९९ प्रतिशतले बढेको थियो ।
यस्तै, गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ४६ प्रतिशतले बढेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ०.५ प्रतिशतले बढेको छ । नयाँ र पुनः गरी कुल ७ लाख हाराहारी वैदेशिक रोजगारीमा पुगेका छन् ।
तर, उक्त अवधिमा रेमिट्यान्स आप्रवाह भने सोही गतिमा बढ्न सकेको छैन । केन्द्रीय बैंकको ११ महिनाको तथ्याङ्कअनुसार २२.७ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ ।
श्रम स्वीकृति लिनेको सङ्ख्या ४६ प्रतिशतले बढ्दा रेमिट्यान्स आप्रवाह भने २२ प्रतिशत हाराहारीले मात्रै उकालो लागेको हो । यस अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
वैदेशिक रोजगारीका लागि बाहिरिनेहरुको तुलनामा रेमिट्यान्स आप्रवाह नभएको अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी बताउँछन् ।
‘रेमिट्यान्स आप्रवाह चुहावट हुन दुई/तीन वटा विषय हुन्छन्,’ अधिकारीले रातोपाटीसँग भने, ‘पहिलो विषय रेमिट्यान्स पठाउने श्रमिक सुरुमै हुन्डी कारोबारीसँग ठोकिन्छ ।’
खासमा हुन्डी कारोबारीहरू सम्बन्धित देशमै आफ्नो अड्डा जमाएर बस्छन् । र, उनीहरूले बजारमा प्रचलित सटहीदरभन्दा बढी मूल्य दिएर श्रमिकसँग सम्बन्धित देशकै मुद्रा लिन्छन् । र, नेपालमा रहेका एजेन्टले श्रमिकको घरसम्मै रकम पुर्याउने व्यवस्थासमेत मिलाउँछन् ।
यसबाहेक, वैदेशिक रोजगारीमा गएकाहरूले नेपाल फर्कँदा राज्यले दिएको सुविधा अनुसारको वस्तु लिएर समेत आउँछन् । जसले गर्दा रेमिट्यान्स आप्रवाहसमेत प्रभावित बन्छ ।
उदाहरणका लागि राज्यले वैदेशिक रोजगारीबाट पुरुष आउँदा २५ ग्रामसम्म सुन ल्याउन मिल्ने र महिला आउँदा ५० ग्रामसम्म ल्याउन मिल्ने व्यवस्था गरेको छ ।
यस्तै, २०० ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ । सोही कारण, नेपाल फर्कँदा साथमा सुन ल्याउने बाटो खुला रहन्छ । यसबाहेक, मोबाइल, टेलिभिजन, लत्ताकपडा लगायतका वस्तुसमेत साथमा ल्याउँछन् ।
नेपालको तुलनामा विदेशी बजारमा सस्तो मूल्यमा पाइने भएकाले घरमा चाहिने घरायसी सामग्रीसमेत ल्याउँछन् । जसले ठुलो मात्रामा रेमिट्यान्स प्रभावित बन्छ ।
खास गरी, नेपालका व्यापारीले ठुलो नाफा खाने र विदेशमा सस्तो मूल्यमै सामान पाउने भएपछि प्राथमिकतामा विदेशकै किनमेल पर्छ । यी बाहेक अन्य विविध विषयले समेत रेमिट्यान्स प्रभावित पार्न सक्ने अधिकारीको भनाई छ ।
नेपाल रेमिट्यान्स एसोसिएसनका निवर्तमान अध्यक्ष सुमन पोखरेल वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्नसाथ रेमिट्यान्स आप्रवाह नबढ्ने बताउँछन् ।
नेपालबाट रोजगारीका लागि सम्बन्धित देश पुगेको ३/४ महिनापछि मात्रै रेमिट्यान्स आउन सुरु हुन्छ । श्रमिकले आफ्नो कोठाभाडा, खाना र आवश्यक लत्ताकपडा लगायतका सामान जोडजाममा लाग्दा यो अवधिसम्म रेमिट्यान्स नआउने गरेको पाइएको पोखरेलको भनाई छ ।
यसमाथि सम्बन्धित देश पुगेको पहिलो दिनदेखि रोजगारी सुरु गरे पनि तलब आउन एक महिना लाग्छ । श्रमिकले पहिलो महिनाको तलब नै रेमिट्यान्सका रूपमा पठाउन सम्भव नहुने देखिन्छ ।
आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल अघिल्ला वर्षहरूको तुलनामा रेमिट्यान्सको आप्रवाह बढेको बताउँछन् । यसको अर्थ हुन्डी कारोबारीको प्रभाव न्यून भएको समेत हुन सक्ने उनको भनाई छ ।
यस्तै, रोजगारीमा पुगेको ३ महिना पछिबाट मात्रै देशमा पैसा पठाउन थाल्ने भएकाले वैदेशिक रोजगारीमा जान साथ तत्कालै रेमिट्यान्स नबढ्ने उनको भनाई छ ।
‘गत वर्ष विदेश जानेको सङ्ख्या बढेको छ,’ उनले रातोपाटीसँग भने, ‘तर, लगत्तै रेमिट्यान्स आउन सुरु गर्दैन । केही समय लाग्छ ।’
रेमिट्यान्स कम्पनी व्यवसायीहरूका अनुसार धेरै कमाई हुने देशहरू हुन्डी कारोबारीको निशानामा छन् ।
राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेल विदेशिने श्रमिकको तुलनामा रेमिट्यान्स नबढ्नुमा हुन्डी कारोबारको आशङ्का गर्न सकिने बताउँछन् ।
पोखरेलका अनुसार राजश्व अनुसन्धान विभागले समातेको ठुलो परिमाणको सुनसमेत हुन्डीकै प्रभाव हुन सक्ने बताउँदै उनले भने, ‘हुन्डी हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर, कसले र कति परिमाणमा गर्छ भन्ने थाहा छैन ।’
यस्तै, श्रमिकले आफ्नो कमाई जम्मा गरेर राख्दासमेत विदेशिनेको सङ्ख्याको तुलनामा रेमिट्यान्स नआउने गरेको उनको भनाई छ । डलरको मूल्य बढ्ने आसमा कसैले जम्मा गरेर राख्छन् भने कहिलेकाहीँ डलरको थपघटले रेमिट्यान्सको आकारमा प्रभाव पार्ने गरेको पोखरेलको भनाई छ ।
नेपालबाट पढ्ने लक्ष्यसहित ठुलो रकम खर्च गरेर अस्ट्रेलिया पुग्नेको सङ्ख्या धेरै छ । तर, अस्ट्रेलियाबाट न्यून रेमिट्यान्स आउँछ ।
यस्तै, मोटो रकम कमाई हुने देश कोरियाबाट समेत तुलनात्मक रूपमा न्यून रेमिट्यान्स आप्रवाह हुन्छ । अहिलेको स्थितिमा नेपाल भित्रिने कूल रेमिट्यान्सको ६० प्रतिशत खाडी मुलुकबाटै आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प
-
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
-
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
-
कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
-
जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते