कोशी प्रदेश : प्राकृतिक प्रकोपबाट गत आर्थिक वर्ष साढे ६ अर्ब बढीको क्षति, ५७ को मृत्यु
विराटनगर । कोशी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै प्राकृतिक प्रकोप बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावरको आक्रमणबाट ५७ जना मानिसको मृत्यु भएको छ । त्यस्तै, ३ हजार ७११ घर परिवार प्रभावित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अनुमानित ६ अर्ब ६६ करोड ६० लाख ६१ हजार ४७४ रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा क्षति २ अर्ब ६२ करोड १८ लाख ६२ हजार २६६ रुपैयाँ बराबरको भएको अनुमान गरिएको थियो । सो वर्ष ३४ जना मानिसको मृत्यु भएको थियो भने ३४ हजार ४७२ घर परिवार प्रभावित बनेका थिए ।
तथ्याङ्क अनुसार बाढी र पहिरोको कारण सबैभन्दा धेरै ५ अर्ब ३४ करोड ७१ लाख २५ हजार ४ सय रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । बाढी पहिरोमा पनि गत आर्थिक वर्षमा २३ जना मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण ३ हजार ३८ घर परिवार प्रभावित भनेका छन् भने ३६० स्थानमा बाढी र पहिरो गएको छ ।
यस्तै, चट्याङका कारण ९ जना मानिसको ज्यान गएको छ । ७३ स्थानमा गएको चट्याङले१९ घर परिवार प्रभावित हुनुको साथै ९८ लाख ७४ हजार बराबरको सम्पत्ति क्षति गरेको अनुमान छ ।
यस्तै, आगलागीका कारण पनि कोशी प्रदेशमा १ अर्ब १३ करोड ८१ लाख ८८ हजार ७७४ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी एक वर्षमा १५ जना मानिसको मृत्यु भएको छ । सोही अवधिमा ५१६ घर परिवार प्रभावित भएका छन् भने १ हजार १५४ स्थानमा आगलागीका घटना भएका छन् ।
यस्तै जंगली जनावरको कारण पनि ९१ लाख ३ हजार ३ सय रुपैयाँ बराबरको क्षति हुँदा १० जना मानिसको मृत्यु भएको छ । यसरी मर्नेहरूमा धेरै हात्तीको आक्रमणमा परेका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार गत वर्ष हावाहुरीका कारण पनि अधिक क्षति भएको छ । हावाहुरीले १६ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरका धनमाल नष्ट गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
क्षति कम गर्न सचेतना आवश्यक
‘प्राकृतिक दुर्घटनाको जोखिमलाई रोक्न सक्दैनौँ यो दुर्घटना हो तर मानवीय क्षति भने कम गर्न सक्छौँ,’ मौसमविद् रामबाबु मिश्र भन्छन्, ‘कतिपय सार्न सक्ने भौतिक संरचनाको पनि सुरक्षा गर्न सक्छौँ । यसका लागि पनि पूर्व सूचना नै व्यवस्थित गर्नुपर्छ ।’
मिश्रको अनुभवमा पूर्वी नेपालमा भन्दा सूचना प्रणाली व्यवस्थित गर्ने कुरामा पश्चिमतिर अलि व्यवस्थित देखिएको छ । ‘पूर्वमा पनि स्थानीय स्तरसम्म मौसम पूर्वानुमान तथा सम्भावित विपद्को व्यवस्थापनको लागि टिम निर्माण गर्नुपर्छ । सूचना प्रणालीको विकास पनि गर्नुपर्छ,’ मिश्र भन्छन् ।
यस वर्ष सङ्खुवासभामा ठुलो बाढी आयो । त्यसमा एक दिन अगाडि बाढी शाखाले यी नदीहरूमा जलस्तर वृद्धि हुने भनेर विज्ञप्ति निकालेको थियो । तर, तत्काल सतर्कता नअपनाउँदा हाइड्रोहरूमा पनि क्षति पुग्यो ।
यस्तै, वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार प्राकृतिक विपत्तिमा नेपालमा बाढी र पहिरो नै मूल समस्या हो । त्यसको नियन्त्रणका लागि दिगो खालका विकास निर्माणका काम गर्नुपर्नेमा उनको जोड छ ।
‘पहाडमा डोजरले घर घर घुमाउँदै बाटो बनाउँदा पहिरो जाने र खोला थुनिँदा समस्या आएको छ । बाटो निर्माण गर्दा आवश्यक अध्ययन गरेर मात्रै गर्ने बरु सुरुङमार्फत सडक निर्माण गर्ने उपाय अवलम्बन गर्नुपर्छ,’ अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओपनर यशस्वीले अर्धशतक बनाए पनि अप्ठ्यारोमा भारत
-
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनबारे भट्टराई लेख्छन्– नेपालले एक असल मित्र गुमायो
-
कबाडमा पनि बिक्री हुन नसक्ने अवस्थामा पुगे बेवारिसे ट्रली बस
-
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
-
मनमोहन सिंहको निधनमा मोदीले शोक सन्देशमा के भने?
-
फिल्डिङ गरिरहेका खेलाडीको हृदयघातका कारण निधन