मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, २१ साउन २०८०, २० : ५३
आइतबार, २१ साउन २०८०

आज २०८० साउन २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा तीन महिने अभियान घोषणा गर्दै सकियो माओवादी केन्द्रीय समिति बैठक, झण्डै सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा अब केन्द्रीय अनुसन्धान ब्यूरोलाई, पार्टीको राष्ट्रिय महाधिवेशनमा ध्यान दिन नेता–कार्यकर्तालाई माधवकुमार नेपालको निर्देशन, राप्रपामा ‘डिग्री’ पासको चर्चा, मन्त्रालय थपेर बागमतीका बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी, संसदीय समितिका सभापति चयनमा ढिलाइ, कामु प्रधानन्यायाधीशका रुपमा श्रेष्ठले सम्हाले न्यायालयको नेतृत्व लगायत छन् ।

१. तीन महिने अभियान घोषणा गर्दै सकियो माओवादी केन्द्रीय समिति बैठक
तीन महिने अभियान घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । गत बुधबार सुरु भएको बैठक पाँच दिनसम्म चलेर आइतबार सम्पन्न भएको हो । बैठकले विभिन्न निर्णय गरेको छ ।

२. झण्डै सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा अब केन्द्रीय अनुसन्धान ब्यूरोलाई
राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानको जिम्मेवारी प्रहरीलाई हस्तान्तरण गरेको छ । आइतबार विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा अहिलेसम्म भेटिएका तथ्य र हालसम्म बरामद प्रमाणसहित प्रहरीलाई जिम्मा लगाउने निर्णय भएको जानकारी दिएका छन् ।

३. पार्टीको राष्ट्रिय महाधिवेशनमा ध्यान दिन नेता–कार्यकर्तालाई माधवकुमार नेपालको निर्देशन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको अबको मुख्य कार्यभार राष्ट्रिय महाधिवेशन रहेको बताएका छन् । पाटी स्थायी कमिटीको बैठक समापन गर्दै अध्यक्ष नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनमा ध्यान दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

४. राप्रपामा ‘डिग्री’ पासको चर्चा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभागीय पदाधिकारी र सदस्यका लागि तोकेको शैक्षिक योग्यताबारे चर्चा भइरहेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीका केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको थियो ।

५. मन्त्रालय थपेर बागमतीका बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी
बागमती प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाउने र नयाँ मन्त्रालयमा मन्त्री चित्रकारलाई जिम्मेवारी दिने गरी सत्तारुढ गठबन्धनबीच आइतबार सहमति भएको हो । यसरी नयाँ मन्त्रालयका रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो । यद्यपि औपचारिक रुपमा जिम्मेवारी सुम्पिन भने बाँकी छ ।  

६. संसदीय समितिका सभापति चयनमा ढिलाइ
संसदीय निर्वाचनबाट प्रतिनिधिसभा गठनभएको ५ महिनापछि गत वैशाख १५ गते प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समिति गठन भएको थियो । तर अहिलेसम्म संसदीय समितिमा सभापति चयन हुन नसकेका कारण समितिहरुको भूमिका प्रभावकारी हुन सकेको छैन ।

७. कामु प्रधानन्यायाधीशका रुपमा श्रेष्ठले सम्हाले न्यायालयको नेतृत्व
न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् ।   प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले आइतबारबाट नेतृत्व सम्हालेका हुन् ।

८. ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान हुने
सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो ।

९. काठमाडौँमा गुण्डागर्दीका घटना बढ्दै
काठमाडौँमा गुण्डागर्दीका घटना बिस्तारै बढ्न थालेको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरू बताउँछन् । क्लबहरूमा धम्क्याउने र हप्ता असुलीका घटना बिस्तारै बढ्न थालेका छन् । पुराना नाम चलेका गुण्डाहरू ठेक्कापट्टा र राजनीतिमा लागेपछि नयाँ गुण्डाहरूले बिस्तारै काठमाडौँमा साम्राज्य बनाउन खोज्दैछन् ।

१०. आइतबार ३८ अंकले घट्यो नेप्से
साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप