नायिकाको शवमा २८ वर्ष अनुसन्धान : रेडिएसनले मृत्यु हुने पहिलो मानिस हुन् मिदोरी
दोस्रो विश्वयुद्धका बेला अमेरिकाले जापानका दुई सहरमा परमाणु बममार्फत हमला गर्यो । सन् १९४६ को अगस्ट ६ मा सुरुमा हिरोसिमा र त्यसपछि ९ अगस्टमा नागासाकीमा एटम बम खसालियो । यो हमलाले पूरा विश्व प्रभावित भयो । केही सेकेन्डभित्रै हिरोसिमा र नागासाकी सहर शवको थुप्रोमा परिणत भयो ,
हिरोसिमामा हमला हुँदा जापानी अभिनेत्री मिदोरी नाका आफ्नो छुट्टी मनाउन त्यही सहरमा थिइन् । परमाणु हमलाकी प्रत्यक्षदर्शी बाँच्न सफल भइन् तर १८ दिनपछि उनको पनि मृत्यु भयो ।
विस्फोटमा बाँच्न सफल भएपछि मिदोरीको शरीरमा केही यस्तो प्रतिक्रिया आए जुन देखेर डाक्टर र अनुसन्धाता पनि चकित परे । मिदोरीको मृत्युपछि अमेरिकाले उनको शवको अवशेष जापानबाट जफत गर्यो र २८ वर्षपछि मात्रै फर्काइदियो ।
आज जापानी नायिका मिदोरी नाकाको सङ्घर्ष र दर्दनाक अन्त्यको कहानीबारे जानकारी लिऔँ ।
अभिनय, सफलता र दोस्रो विश्वयुद्ध
मिदोरी नाकाको जन्म १९ जून १९०९ मा टोकियो, जापानमा भएको थियो । बुवा सैनिक थिए र चार दिदी बहिनीमध्ये उनी तेस्रो थिइन् । ओसाका जोआक्विन कलेजबाट पढाई पूरा गरेपछि १९ वर्षको उमेरमा मिदोरीको झुकाव गाउँमा आउने ड्रामा कम्पनीतर्फ हुन लाग्यो । उनले अकसुमा समुराई ड्रामा ग्रुपमा हुने नाटकमा भाग दिन सुरु गरिन् । सन् १९३१ मा उनले नयाँ–नयाँ सुरु भएको सुकिजी कोकेकिजोमा मुख्य अभिनेत्रीको रूपमा नाटक गर्न सुरु गरिन् ।
३० को दशकमा मिदोरी यति सफल भइन् कि उनले आफ्नो बहिनीका लागि टोकियोको असकुसा सहरमा एउटा सानो क्याफे खोलिदिइन् । मिदोरी आफ्नो अभिनयले टोकियो भरी चर्चित भइन् ।
दोस्रो विश्वयुद्धमा हवाई हमलाका कारण बन्द भयो थिएटर कम्पनी
मिदोरी सफलताको शिखर चढिरहेकी थिइन् तर सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो । मिदोरी जुन थिएटर ग्रुपमा काम गर्थिन्, त्यसलाई प्रहरीले बन्द गरायो । यस्तोमा सन् १९४२ मा मिदोरी वोकुराकू–जा (पीडा र प्लेजर) नामको थिएटर कम्पनीको हिस्सा बनिन् । युद्धले सहरको अवस्था बिग्रिँदै थियो । अमेरिकी सैनिक बिस्तारै जापानमा हाबी हुन थाल्यो र हवाई हमला बढ्दै गयो । मारिने डरले धेरैजसो मानिस घरमा नै लुकेर बस्थे ।
हवाई हमलामा मानिस मारिन थालेपछि सन् १९४५ मा यो थिएटर कम्पनी पनि बन्द गरियो । सबै कलाकार आ–आफ्ना सहरमा फर्किए । जब सन् १९४५ मा जापानका चर्चित अभिनेता सादाओ मारुयामाले नयाँ थिएटर ग्रुप सकुरा–ताईको सुरुवात गरे तब उनले मिदोरीलाई आफू सँगै राखे । मिदोरी पुनः एकपटक मुख्य अभिनेत्री बनेर चर्चित भइन् ।
टोकियाबाट छुट्टी मनाउन पुगेकी थिइन् हिरोसिमा
जापानका अधिकांश मानिस मौसमको आनन्द लिन हिरोसिमा जाने गर्थे । त्यसै गरी, साकुरा–ताई समूह पनि एक सिजनका लागि ७ जुन सन् १९४५ मा हिरोसिमामा बस्न गयो । जम्मा ९ जना सदस्य थिए । सबैले बस्नको लागि एउटै घर लिए । हिरोसिमामा उनको समूहको भेट द संगाजा थिएटर ग्रुपका ६ जनासँग भयो । उनीहरू पनि त्यहाँ भाडाको घरमा बस्थे । खर्च जोगाउनका लागि दुवै समूहले एकै ठाउँमा बस्ने निर्णय गरे । सबैले सँगै समय बिताउँथे, खाना बनाउँथे र समय मिल्दा घुम्न निस्कन्थे ।
६ अगस्ट सन् १९४५, हिरोसिमामा बिहान करिब ८ बजेर १५ मिनेट
मिदोेरीको निद्रा त्यस दिन अलि छिट्टै खुल्यो । अरू साथी निदाइरहेका थिए र त्यस दिन नास्ता बनाउने पालो मिदोरीकै थियो । सबै जना उठ्नु अघि नै नास्ता बनाउँछु भनेर उनले सोचिन् तर न नास्ता बन्यो, न कोही बाँचे ।
आँखाको अगाडि अचानक प्रकाश आयो
मिदोरीले रातो रङको हाउसकोट लगाएकी थिइन् र सेतो–रातो रङको एउटा स्कार्फ टाउकोमा बेह्रेकी थिइन् । मिदोरी भान्सामा खाना बनाइरहेकी थिइन्, अचानक उनको अगाडि सेतो प्रकाश आयो । त्यसले कोठा भरियो, जोडदार झट्का लाग्यो र तेज आवाज सुनियो । मिदोरीलाई अण्डा उमाल्ने भाँडो विस्फोट भयो कि भन्ने लाग्यो । यही सोचिरहेका बेला उनको आँखाको अगाडि अँध्यारो छायो ।
होस खुल्दा भत्किएको घरको बेसमेन्टमा थिइन्
मिदोरी अत्यधिक पीडामा थिइन् । उनले बिस्तारै आँखा खोलिन् । त्यति बेला धेरै घण्टा बितिसकेको थियो । उनलाई विश्वास लागिरहेको थिएन कि एउटा ठुलो दुर्घटना भएको छ । नजर डुलाउँदा थाहा पाइन् – घर त भत्किसकेको रहेछ । शरीरलाई हातले छामिन् । अनि थाहा पाइन् भित्री वस्त्र बाहेक सबै कपडा जलिसकेका रहेछन् । अनुहार र शरीर घाउले भरिएका थिए ।
चारैतिर आगो लागिरहेको थियो । भग्नावशेष पनि भास्सिँदै थिए । मिदोरीका लागि सबै कुरा एक भयानक सपना जस्तै थियो । तर त्यो सपना नभई वास्तविक घटना थियो ।
आगोको लप्काबाट बच्दै नदीमा हाम फालिन्, सेनाले जोगाए ज्यान
ज्यान जोगाउनका लागि मिदोरीले कपडा बिना नै दौडन सुरु गरिन् । चारैतिर आगोको लप्का थियो, यसबाट बच्दै मिदोरी सिधै नदीमा हाम फालिन् । आगोको गर्मी यति तेज थियो कि मिदोरी पानी मुनी गइरहिन् । शरीर पोलिरहेको थियो र गहिराइमा मिदोरीले सास फेर्न पनि सकिरहेकी थिइनन् । उनको हौसला टुट्नै लागेको थियो तर अचानक केही जापानी सेनाले उनलाई पानीबाट बाहिर ताने र उनको ज्यान बच्यो ।
उद्धार, उपचार र त्यो १८ दिन
१७ मध्ये १४ जनाको मृत्यु
साधारण घाउबाहेक मिदोरी पूर्ण रूपमा स्वस्थ थिइन् । बाँचिसकेपछि उनी आफ्ना अन्य साथीलाई भेट्न घर जाँदा उनीहरू कङ्काल बनिसकेका थिए । उक्त दुर्घटनामा उनीहरूको समूहका तीनजना मात्रै बाँचेका थिए । मिदोरीबाहेक समूहका प्रमुख सदाओ मारुयामा र अर्का किको सिनोई । जबकी १४ जनाको मृत्यु भइसकेको थियो । त्यो विस्फोट मिदोरीले भाडामा लिएको घरभन्दा ६५० मिटरको दुरीमा भएको थियो । मिदोरी होस आउने बित्तिकै त्यहाँबाट निस्किन सफल भएका थिए र अन्य दुई जनाले पनि ज्यान बचाएर कोबे पुगे ।
चर्चित अभिनेत्री भएकोले रेलमा पाइन् मद्दत
मिदोरी हिरोसिमा सहरको क्याम्पमा बाँच्न सफल भएका मानिसहरूसँगै बसिन् । केही घण्टापछि खबर आयो – एउटा रेल हिरोसिमाको राजधानी टोकियोतर्फ जाँदै छ । सबै जना त्यो खण्डहर भइसकेको सहरबाट टाढा जान चाहन्थे । रेलमा बस्न घम्साघम्सी सुरु भयो । भाग्यवश धक्का मुक्काबीच सहरकी चर्चित अभिनेत्री मिदोरीलाई रेलमा चढाइयो ।
टोकियो पुग्ने बित्तिकै १६ अगस्टमा मिदोरीको अवस्था बिग्रन थाल्यो । यस्तोमा उनले विश्वविद्यालयको अस्पतालमा ठाउँ पाइन् । रेडिएसन विशेषज्ञले उनको उपचार सुरु गरे । रेडिएसनले बिरामी भएपछि मिदोरीमाथि पूरा जापानले चिन्ता र चासो व्यक्त गरिरहेको थियो । उनलाई जिउँदो राख्नका लागि डाक्टरको एउटा समूहले २४ सै घण्टा उनलाई निगरानी गर्थे । स्थिति नाजुक भएका कारण उनलाई बारम्बार औषधी दिनुपर्दथ्यो ।
आगोजस्तै तातिरहेको थियो शरीर, १२–१३ धब्बा निस्किन थाले
मिदोरीलाई अस्पताल भर्ना गर्दा उनको शरीरको तापक्रम ३८ डिग्री सेल्सियस थियो र उनको पल्स रेट ८० बीपीएम थियो । त्यसको केही घण्टापछि उनको टाउकोको सबै कपाल झर्न थाले । ह्वाइट ब्लड सेल्स ८ हजारबाट घटेर सिधै ३०० पुग्यो । डाक्टर उनको शरीरमा भइरहेको यो ठुलो परिवर्तन देखेर चकित परे । उनीहरूसँग यसका लागि कुनै उपचार थिएन । यसअघि उनीहरुले यस्तो केही केस देखेका थिएनन् ।
२१ अगस्ट सन् १९४५ सम्म मिदोरीको शरीरको तापक्रम ३८ डिग्री सेल्सियसबाट बढेर सिधै ४१ गिग्री सेल्सियस पुग्यो र रक्तचाप ८० बाट १५८ ।
दुई दिन बित्यो र २३ अगस्टमा डाक्टरले जे देखे, त्यो अचम्मित पार्ने खालको थियो । मिदोरीको शरीरमा गहिरो बैजनी रङका १२–१३ वटा धब्बा आएका थिए । शरीरमा यति ठुलो परिवर्तन हुँदा पनि मिदोरीले डाक्टरलाई आफूले सामान्य महसुस गरिरहेको बताउँथिन् । तर भोलिपल्ट २४ अगस्ट सन् १९४५ मा उनले आँखा बन्द गरेपछि भने कहिल्यै खोलिनन् । मिदोरी नाका परमाणु विस्फोटकी पहिलो प्रत्यक्षदर्शी थिइन् ।
२८ वर्षको प्रतीक्षा र अनुसन्धान
मिदोरी नाका एटोमिक बम डिजिज र रेडिएसनले मर्ने पहिलो व्यक्ति हुन् । मिदोरीको रेडिएसनको खबर सार्वजनिक नभएसम्म मानिसहरूले अचानक मृत्यु हुनुमा कुनै नयाँ रोग हो कि भनेर शङ्का गरेका थिए । मिदोरीको मृत्यु पछि मानिसलाई रेडिएसनबाट हुने शारीरिक परिवर्तनबारे बताइयो, कुनै समस्या देखिए उपचार गराउन ढिलो नगर्न सुझाइयो । मिदोरी जापानकी चर्चित अभिनेत्री थिइन् त्यसैले उनीमाथि भएको अनुसन्धान विश्व भरी चर्चित भयो ।
रेडिएसनले मृत्यु हुनेहरूको जापानको क्योटो युनिभर्सिटीले अनुसन्धान सुरु गर्यो । मिदोरी नाकाको अवशेषबाहेक करिब ३६ जनाको पोस्टमार्टम गरियो । परमाणु विस्फोटको ६ दिनपछि नै जापान सरकारले अमेरिकी सरकारको अगाडि घुँडा टेक्यो र २ सेप्टेम्बर १९४५ मा जापानले आत्मसमर्पण गरेको आधिकारिक दस्ताबेजमा हस्ताक्षर गर्यो ।
२८ वर्षपछि अमेरिकी अनुसन्धाताले फर्कायो अवशेष
अमेरिकी सरकारले जापानमाथि कब्जा जमायो र ती ३७ जनाको पोस्टमार्टम रिपोर्टमा पनि जफत गर्यो । अमेरिकी अनुसन्धान टोलीले २८ वर्षसम्म मिदोरी नाका र अन्य मानिसको अवशेषमा अनुसन्धान गर्यो । २८ वर्षपछि ती अवशेषलाई काँचको जारमा राखेर सन् १९७२ मा जापानलाई फिर्ता गर्यो । त्यो अवशेषलाई अहिले पनि मिदोरीको अवशेषलाई हिरोसिमा पिस मेमोरियलमा राखिएको छ ।
वर्षौँपछि सन् १९८८ मा मिदोरी नाका, उनीहरूका साथी र उनको थिएटर कम्पनी साकुरा–ताईमा एक डकुमेन्ट्री बनाइयो । फिल्मको नाम साकुरा–ताई चिरु हो । यसलाई निर्देशक कानेटो शिन्दोले निर्देशित गरे । फिल्ममा जापानकी चर्चित अभिनेत्री यासुको यागामीले मिदोरीको भूमिका निर्वाह गरेकी थिइन् ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान