माओवादीमा बहस : कसरी बन्छ पार्टी ?
काठमाडौँ । डेढ वर्षपछि बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको चौथो बैठक राजधानीको कमलादीमा जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आशावादी र निराशावादी दुई कोणबाट विचार व्यक्त गरे ।
केन्द्रीय सदस्यहरूले जुनसुकै कोणबाट आफ्ना अभिव्यक्ति दिए पनि सबैको निष्कर्ष नेतृत्वको रूपान्तरणसहित पार्टी पुनर्निर्माण गर्नुपर्ने नै देखिन्छ । अधिकांश सदस्यले माओवादी शान्ति प्रक्रियामा आएपछि नेताहरूमा जर्नेल प्रवृत्ति हाबी भएको, पार्टीको नीति, सिद्धान्त, कार्यक्रमभन्दा बढी आफू र आफन्तको चौघेरामा सीमित रहेको, सुविधाभोगी तथा सहरमुखी भएकाले पार्टी बदनाम भएको टिप्पणी गरेका छन् । उनीहरूले पार्टी पुनर्निर्माणका लागि नीतिगत, संगठनात्मक र जीवनशैलीमा ध्यान केन्द्रित हुनुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।
२०६४ सालमा आफ्नै खुट्टामा उभिएर सबैभन्दा ठूलो दल भएको माओवादी केन्द्र २०७९ मा आइपुग्दा कसरी ३२ सिटमा खुम्चियो भन्ने प्रश्न सदस्यहरूले नेतृत्वमाथि उठाएका छन् । केहीले १० वर्ष लामो जनयुद्धयबाट खारिएर स्पात बनेको पार्टी शान्ति प्रक्रियामा आएको १८ वर्षमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । केहीले पार्टी निर्माणमा नेतृत्वलाई मात्र दोष दिएर उम्किन नमिल्ने तर्क गरे । इतिहासको कठिन अवस्थामासमेत पार्टीलाई प्रचण्डले बचाएकाले अहिले पनि उनकै नेतृत्व आवश्यक रहेको उनीहरुको तर्क छ ।
साउन १७ गते अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै पार्टी ‘पार्टी जस्तो नभएको’ भन्दै आक्रोस पोखेका थिए । पार्टी निर्माणमा आफूमात्र खट्नु परेको तर जिम्मेवारीमा बसेका नेताहरूले पार्टीहित अनुरूप काम नगरेकामा चित्त दुःखाएका थिए ।
कसरी बन्छ माओवादी पार्टी ?
चार दिनसम्म बसेको बैठकमा केन्द्रीय सदस्यहरूले नीति र नेतृत्वमाथि बढी प्रहार गरेका छन् । त्यसको साथसाथै पार्टी पुनर्निर्माणका विषयमा सदस्यहरूले नेतृत्वलाई आलोचनात्मक सुझाव दिएका छन् । पार्टीलाई चुस्त र दुरूस्त बनाउन दुई अंकको केन्द्रीय समिति र आन्तरिक निर्वाचन सर्तको रूपमा उनीहरुले अघि सारेका छन् ।
बैठकको सुरूकै दिन ओम शर्मा, हिमाल शर्मा, लक्ष्मण पन्त लगायत केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आलोचनात्मक टिप्पणी गर्दै उनीहरूले पार्टी पुनर्निमाणका लागि पदाधिकारीदेखि वडा कमिटीको छनोटसमेत निर्वाचन प्रणालीबाट हुनुपर्ने विचार व्यक्त गरे ।
‘पार्टी बिग्रिनु र कमजोर हुनुमा नेतृत्व दोषी छ । पार्टी रूपान्तरणको मात्र कुरा गरेर हुँदैन । पार्टी पुनर्निर्माण गर्ने भए पहिला नेतृत्व रूपान्तरण हुनुपर्छ’, हिमालले भने, ‘टीके प्रथाबाट नेताहरू मनोनित गरेर अब माओवादी आन्दोलन अघि बढ्न सक्दैन । पार्टी बनाउनका लागि पदाधिकारीदेखि तल्लो कमिटीसम्म निर्वाचित भएर आउनुपर्छ ।’
अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवाद र संसदीय प्रणाली सँगसँगै हिँडेको अभ्यास संसारमा कतै नभएको दृष्टान्त दिँदै संसदलाई उपयोगमात्र गर्नुपर्ने नीति लिनुपर्ने धारणा राखे ।
‘माओवाद र संसदीय प्रणाली सँगसँगै हिँडेको इतिहास संसारमा कैत छैन । विगतमा वीरतापूर्ण क्रान्ति गरेर आएको पार्टी संसदीय भासमा फस्न हुँदैन । यही प्रणालीमा हिँड्ने हो भने माओवादी विघटन हुन्छ । अहिलेको अवस्थामा संसदलाई उपयोगमात्र गरेर क्रान्तिको बाँकी कार्यभार पूरा गर्नतिर लाग्नुपर्छ । त्यसले मात्र माओवादी गतिशील हुन्छ’, उनले भने ।
केन्द्रीय सदस्यत्रय लेखनाथ दाहाल, माधव सापकोटा, सरल सहयात्री पौडेलले रूपान्तरणसहितको बलियो पार्टी बनाउन आन्तरिक निर्वाचन आवश्यक भएको तर्क गरे । मनोनितबाट नेता बन्ने परिपाटीले माओवादी आन्दोलन गतिशील पनि नहुने र पार्टी पनि नबन्ने उनीहरुको जिकिर थियो । मंसिरमा हुने विधान सम्मेलनबाट यी सबै विषयका हल खोज्नुपर्नेमा उनीहरूले जोड दिए ।
अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले स्थायी कमिटीलाई भूमिकाबिहीन बनाएकोमा असन्तुष्टि पोखे । शनिबार बैठकमा बोल्दै उनले सबै समस्याको हल गर्ने तागत स्थायी कमिटीलाई भए पनि भूमिकाविहीन बनाएको, केन्द्रीय सदस्यहरू नाममात्रको भएकाले पार्टी कमजोर भएको बताए । नेतृत्व रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण नहुने उनको भनाइ छ ।
‘कम्युनिस्ट पार्टीमा स्थायी कमिटी शक्तिशाली हुन्छ । यसमा सबै किसिमको हल खोज्न सक्ने तागत छ । तर भूमिकाविहीन बनाइएको छ । केन्द्रीय विभागहरू निष्क्रिय छन् । केन्द्रीय सदस्यहरू भूमिकाविहीन छन्’, उनले भने, ‘यी सबै नेतृत्वको कमजोरीका कारण भएको हो । नेतृत्व रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण सम्भव छैन । पार्टी बनाउनका लागि नेतृत्वदेखि तल्लो तहका नेताहरूको सम्म जिम्मेवारी तोन्नुपर्छ ।’
नेताहरूको जीवनशैली र व्यवहारमा ध्यान
पार्टी कमजोर हुुनुमा विधि, प्रक्रियाको साथसाथै नेतृत्वको जीवन शैली, व्यवहार पनि प्रमुख कारण रहेको भन्दै केन्द्रीय सदस्यहरूले टिप्पणी गरेका छन् ।
शान्ति प्रक्रियामा आएपछि नेताहरू पार्टी, कार्यकर्ता, देश र जनताप्रति भन्दा पनि आफू र आफ्ना नातागोतालाई स्थापित गर्न केन्द्रित हुँदा पार्टी फुच्चे भएको केन्द्रीय सदस्यहरुको आरोप छ ।
नेताहरूले विभिन्न तस्करसँग साँगगाँठ गरेको, नव सामन्तवाद हाबी भएको, आचरण तथा व्यवहार कम्युनिस्ट पार्टी अनुरूप नभएको, सम्पत्ति आर्जन अपारदर्शी रहेकाले पार्टी बद्नाम भएको उनीहरूको भनाइ छ ।
नेताहरूको कार्यविभाजन
महाधिवेशन भएको डेढ वर्ष भइसक्दासमेत नेताहरूले जिम्मेवारी बमोजिम काम नपाएकोमा अधिकांश सदस्यहरूले आक्रोश पोखेका छन् । माओवादीमा अहिले ३२ विभाग र १९ जनवर्गीय संगठन छन् । विभागले काम नै गर्न सकेको छैन । भ्रातृ संगठन गुटबन्दीको कोपभाजनमा परेको छ । ४०७ जना सम्मिलित जम्बो केन्द्रीय कमिटी रहेकामा अध्यक्ष प्रचण्डलाई भ्याइनभ्याइ छ । अन्यले काम नै पाएका छैनन् ।
‘नेताहरू आदेशकर्ता भए । ३२ वटा विभाग निष्क्रिय छन् । जनवर्गीय संगठन आन्तरिक विवादमा फसेको छ’, केन्द्रीय सदस्य रामनारायण बिडारीले भने, ‘नेताहरूको ध्यान तस्कर, व्यापारी, आइएनजीओ र शक्तिकेन्द्रतर्फ केन्द्रित छ, अनि कसरी पार्टी बन्छ ? पार्टी बनाउनका लागि सबै नेताले अपारदर्शी तरिकाले जम्मा गरेका धनसम्पत्ति स्वघोषणा गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई