शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

विश्वभरि तहल्का मच्चाइरहेको यो औषधीले साँच्चै मानिसलाई दुब्लो बनाउला ?

आइतबार, २१ साउन २०८०, १३ : १०
आइतबार, २१ साउन २०८०

जून २०२३ मा बेलायतका प्रधानमन्त्रीले देशमा मोटोपनाको समस्या सुल्झाउनका लागि एक सुरुवाती योजना पाइलट प्रोजेक्टको घोषणा गरे । यो योजनामा ४ करोड पाउन्ड खर्च हुनेछ ।

उनले देशका जनतामा ओबेसिटी अर्थात् मोटोपना घटाउनका लागि नवीनतम औषधीको प्रयोगमा ठुलो सफलता हात लाग्न सक्ने बताएका छन् ।

यीमध्ये एउटा औषधीले त अन्तर्राष्ट्रिय बजारमा अहिलेदेखि नै आकाश छोइरहेको छ । 

हलिउडका कुन सेलिब्रिटीले यो औषधीको प्रयोगले आफ्नो मोटोपना घटाइरहेका छन् भनेर सोसल मिडियामा चर्चा नै हुने गरेको छ । तर यो सबैका लागि होइन ।

यहाँ हामी यो बुझ्ने कोसिस गर्नेछौँ कि औषधीको प्रयोगले मोटोपनाको समस्या हल हुन सक्छ ?

मोटोपना एक विश्वव्यापी समस्या

डा. दिशा नारंग अमेरिकाको इलिनोय राज्यको नर्थ वेस्टर्न वेकफरेस्ट अस्पतालका ओबेसिटी मेडिसिन विभागकी निर्देशक हुन् । 

उनका अनुसार आजकाल तौल घटाउनका लागि ओजेन्पिक नामको औषधीको प्रयोगमा व्यापक वृद्धि भइरहेको छ । 

उनका अनुसार यो औषधी मुख्य रूपमा मधुमेहको उपचारका लागि बनाइएको थियो । यो जिएलपी१ एगनिस्टको श्रेणीमा पर्छ ।

जिएलपी१ हाम्रो शरीर भित्र पाइने एक हर्मोन हो । यो औषधीको प्रयोगले उक्त हर्मोनले राम्रोसँग काम गर्छ ।

यो उपचारले शरीरमा ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ । तर यसले अन्य काम पनि गर्छ ।

डा. नारंग भन्छिन्, ‘ओजेन्पिक पछिल्लो एक दुई वर्षमा निकै लोकप्रिय भएको छ किनभने यसले तौल घटाउन मद्दत गरिरहेको छ । यसले टाइप टु मधुमेहलाई नियन्त्रित गर्छ र यसले त्यो हर्मोनलाई पनि नियन्त्रित गर्छ जसका कारण हामीलाई धेरै भोक लाग्छ । यसको प्रयोगले बिरामीको सुगरको स्तर त घट्छ नै बारम्बार केही खाने इच्छा पनि कम हुन्छ ।’

बेलायतमा मोटोपना घटाउनका लागि जुन पाइलट स्किमको घोषणा गरिएको छ त्यसमा भिगोभी र ओजेन्पिकको प्रयोग गरिनेछ ।

डा. दिशा नारंगका अनुसार यी दुवै औषधी सेमाग्लुटाइड नै हो जसको प्रयोग टाइट टु मधुमेहको उपचारका लागि हुने गर्छ । यी दुवै औषधीले एकै प्रकारले काम गर्छ । सेमाग्लुटाइडको उपचारपछि पुनः तौल बढ्न पनि रोक्न सकिनेछ ।

obesity1अमेरिकाले दियो यो औषधीलाई मन्जुरी

यद्यपि, उनले चेतावनी दिँदै भन्छिन्, ‘तर यो एकैचोटी तौल चार वा पाँच किलो घट्ने उपचार भने होइन । धेरै मानिसहरू लामो सङ्घर्ष पश्चात् पनि आफ्नो तौल घटाउन सकिरहेका हुँदैनन् । कहिलेकाहीँ तौल घटिहाले पनि केही समय पछि फेरि बढिहाल्छ ।’

अमेरिकामा औषधी तथा खाद्यान्नको नियन्त्रण सम्बन्धी संस्था युएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले जून २०२१ मा भिगोभीलाई मोटोपनाको उपचारका लागि मन्जुरी दिएको थियो । 

डा. नारंग भन्छिन्, ‘मोटोपनाको समस्या विश्वव्यापी छ । सन् २०३० सम्म अमेरिकामा लगभग १३ करोड मानिस ‘ओबिस’ श्रेणीमा आउँछन् । यो फिट देखिने चाहना मात्रै होइन, यो एक न्युरो–हर्मोनल रोग पनि हो ।’

कुनै अन्य रोगलाई झैँ यसको उपचारका लागि पनि लामो समयसम्म औषधी खानुपर्छ । अमेरिकामा यो औषधी पाउनका लागि केही मापदण्ड निर्धारित गरिएको छ । 

यो औषधी ती व्यक्तिलाई दिइन्छ जसको बढी मास इन्डेक्स (बिएमआई) कम्तीमा २७ छ र मोटोपनाका कारण हुने कुनै रोग छ ।

उदाहरणको रूपमा उनीहरूलाई मधुमेह, मुटु रोग वा उच्च रक्तचापको रोग छ वा व्यक्तिलाई कुनै रोग नलागेको भएपछि बिएमआई इन्डेक्स ३० भन्दा बढी छ भने यो औषधी प्रयोग गर्न अनुमति दिइन्छ । 

तर अनुमति मात्रै पनि पर्याप्त छैन । धेरैले यो औषधी किन्न नै सक्दैनन् किनभने यो असाध्यै महँगो छ ।

औषधीको मूल्य र डोज

बिरामीले यो औषधीको इन्जेक्सन हरेक हप्ता लिनुपर्छ । 

डा. दिशा नारंग भन्छिन्, ‘थुप्रै बीमा कम्पनीले आफ्नो योजनामा यसलाई राख्दैनन् । एक महिनाको उपचार अर्थात् यो औषधीको ४ वटा इन्जेक्सनको मूल्य १३०० डलर हो अर्थात् १ लाख ७० हजारभन्दा बढी रुपैयाँ । दोस्रो समस्या भनेको यो सहजै उपलब्ध छैन ।’

डा. दिशा नारंगका अनुसार पछिल्ला दुई वर्षमा यो औषधीको माग व्यापक छ र यसको एउटा कारण सोसल मिडियामा यसबारे चर्चा पनि हो । माग बढी छ र आपूर्ति निकै कम ।

को सेलिब्रिटीले यो औषधी प्रयोग गरेर आफ्नो कायापलट गरेका होलान् भनेर सोसल मिडियामा धेरैले चर्चा गरिरहेका छन् । 

टिकटकमा ह्यासट्याग ओजेन्पिकको एक अर्बभन्दा बढी भ्यु पाएको छ जबकि ह्यासट्याग भिगोभीलाई ५० करोडभन्दा बढी पटक हेरिएको छ ।

डा. दिशा नारंगका अनुसार औषधीको हाहाकारले मधुमेह र मोटोपनासँग जुधिरहेका बिरामीले समयमै औषधी पाइरहेका छैनन् ।

कसरी हुन्छ औषधीको हाहाकार ?

युरोपको औषधी उत्पादक कम्पनीको एसोसिएसन मेडिसिन फर युरोपका महानिर्देशक एड्रियन भेन होवेनका अनुसार औषधी कम्पनीले मागको आधारमा उत्पादनको मात्रा निश्चित गर्छ । कति पटक यो अनुमान गलत हुन्छ र औषधीको हाहाकार हुन्छ ।

होवेनका अनुसार धेरैजसो औषधीको निर्माणमा कुनै कम्पनीले एक नयाँ रासायनिक वा जैविक तत्त्व बनाउँछन् र परीक्षणमा पठाउँछन् र कुनै रोगको रोकथाममा प्रभावकारी छन् कि छैनन् भनेर हेर्छन् ।

त्यो तत्त्व प्रभावकारी छ भने त्यो प्रयोग गरेर औषधी बनाइन्छ र त्यसको परीक्षण गरिन्छ । त्यसपछि प्रयोगको मन्जुरीका लागि उक्त औषधीलाई अमेरिकी औषधी एजेन्सी युएस–एफडीए र युरोपियन्स मेडिसिन एजेन्सीलाई पठाइन्छ ।

उनी भन्छन्, ‘स्वीकृति पाएपछि उक्त औषधीको पेटेन्टमा कम्पनीले लगभग २० वर्षका लागि निर्माणको एकाधिकार पाउँछ । साथै, यी औषधीलाई तुलनात्मक रूपमा उच्च मूल्यमा बेच्न सकिन्छ ताकि कम्पनीले लगानीमा पर्याप्त कमाउन सकोस् ।’

लगभग २० वर्षपछि त्यो औषधीजस्तै जेनेरिक औषधी बनाइन्छ । यसलाई अन्य कम्पनीले पनि बनाउन सक्छन् ।

होवेनका अनुसार कति पटक अन्य कम्पनीले बढ्दो माग अनुसार उत्पादन बढाउन सक्दैनन् । तर अभाव पैदा हुनुको अर्को एउटा कारण पनि छ ।

उनी भन्छन्, ‘केही औषधीलाई एक विशेष रोगको उपचारका लागि मान्यता दिइन्छ । उदाहरणका लागि मधुमेहको उपचारको औषधी । तर पछि डाक्टरलाई उक्त औषधी अन्य रोगमा पनि उपचार गर्न सकिन्छ कि भन्ने लाग्छ । त्यसैले त्यसलाई अन्य रोगको उपचारका लागि पनि प्रेस्क्राइब गर्छन् । त्यसैले पनि उक्त औषधीको मागमा भारी वृद्धि हुन्छ ।’

यी औषधीको उत्पादनका लागि विशेष प्रशिक्षण प्राप्त कर्मचारीको आवश्यकता पर्छ जसलाई लामो समयसम्म प्रशिक्षण दिइन्छ । यस्ता कर्मचारीको सङ्ख्या अचानक बढ्न मुस्किल हुन्छ । 

कम्पनीका लागि अर्को समस्या भनेको हरेक औषधीको एक्सपायरी डेट हो । निश्चित समयपछि औषधी प्रयोग गर्न सकिँदैन ।

त्यसैले सबै औषधीलाई पहिल्यै बनाएर स्टोर गर्न पनि सकिँदैन । उदाहरणका लागि चक्की र क्याप्सुललाई लामो समयसम्म स्टोर गर्न सकिन्छ तर इन्जेक्सको एक्सपायरी अवधि छोटो हुन्छ ।

obesity2जीवनभरिको औषधी

मोटोपना कम गर्नका लागि औषधीको प्रयोग कुनै नौलो कुरा होइन । यसको सुरुवातबारे जान्नका लागि बीबीसीले डा. जेना ट्रोनियेरीसँग कुरा गरेको छ । डा. जेना पेन्सिलभेनिया युनिभर्सिटीकी पेरेलम्यान मेडिसिन कलेजमा क्लिनिकल सर्भिसेजकी निर्देशक हुन् ।

उनका अनुसार तौल घटाउने सबैभन्दा पुरानो औषधी हो फेन्ट्रामिन जसलाई अमेरिकामा सन् १९५९ मा स्वीकृति दिएको थियो र आज पनि तौल घटाउनका लागि यसको प्रयोग अन्य औषधीसँग मिसाएर गरिन्छ । 

यसले भोक कम गर्न मद्दत मिल्छ र यसको प्रयोग थोरै समयका लागि गर्ने गरिन्छ । 

जेना ट्रोनियेरीले भनिन्, ‘अर्को एउटा औषधी छ ओर्लिस्टेट, जसको सानो डोज, केही स्थानमा प्रेस्क्रिप्सन बिना नै उपलब्ध छ । यसले शरीरमा बोसो पग्लन वा जम्मा हुनबाट रोक्छ र यसले खानाको माध्यमबाट शरीरमा पुग्ने क्यालोरीको मात्रा कम गर्छ। जबकि अन्य औषधिहरूले शरीरमा भोक लाग्ने हर्मोनलाई नियन्त्रण गरेर तौल घटाउने काम गर्छ ।’

जेनाका अनुसार उनको अस्पतालमा मोटोपना कम गर्नका लागि औषधीका साथै जीवनशैलीमा परिवर्तनका साथै खानपिनको तरिकामा सुधार गर्न पनि सुझाइन्छ ।

उनले भनिन्, ‘हामीले हाम्रो मेडिकल सेन्टरमा व्यायाम, जीवनशैली र खानपानमा परिवर्तन गरेर मात्र बिरामीले ५ देखि १० केजी तौल घटाउने गरेको पाएका छौँ । जबकि अन्य औषधिको प्रयोगले उनीहरूको तौल २० किलो वा सोभन्दा बढी घटाउँछ ।’

धेरै पटक सामाजिक सञ्जालमा यस्तो देख्न र सुन्न सकिन्छ कि यी औषधिहरूले छोटो समयमा तौल घटाउँछन्, जुन गलत जानकारी हो । सत्य यो हो कि यी औषधिहरू लामो समयसम्म खानुपर्छ ।

जेना ट्रोनियेरी भन्छिन्, ‘सामान्यतया यो देख्न सकिन्छ कि बिरामीहरूले यो औषधि लिन छोडेपछि पुनः तौल बढ्न थाल्छ । यो रक्तचापको उपचार गर्न प्रयोग गरिने औषधि जस्तै हो । रक्तचाप नियन्त्रण हुने बित्तिकै तपाईंले त्यो औषधि सेवन गर्न छोड्नुहुन्छ भन्ने होइन । यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ ।’

जेन्ना ट्रोनियेरीले यसका साइड इफेक्टबारे पनि जानकारी दिएकी छिन् । यसको प्रयोगले पेटमा ग्यास वा वाकवाकीको समस्या पैदा हुनसक्छ र यो समस्याको उत्तम समाधान त होइन । 

सेमाग्लुटाइडले किन बढायो आशा ?

जोस जोर्डी स्विट्जरल्याण्डको बायोटेक्नोलोजी कम्पनी ‘इराकल थेराप्युटिक्स’ का सिइओ हुन् । मोटोपनको समाधान खोज्न अहिलेसम्म खासै सफलता नपाएको उनी बताउँछन् । तर सेमाग्लुटाइडले केहि आशा भने जगाएको छ ।

उनी भन्छन्, ‘यद्यपि यो मोटोपनाको समस्याको समाधान होइन । हामीले यसका साथै अन्य उपाय पनि खोज्नुपर्छ ।’

‘विज्ञान कतै रोकिँदैन, न यसको कुनै अन्तिम गन्तव्य छ । प्रगति गर्नु मानवीय स्वभाव हो ।’

जोर्डीका अनुसार हाल यो औषधि इन्जेक्सनको रूपमा लिइन्छ । हरेक हप्ता इन्जेक्सन लगाउनु सबै बिरामीका लागि सुविधाजनक हुँदैन । यो औषधिलाई ट्याब्लेट वा क्याप्सुलको रूपमा ल्याउन आवश्यक छ ।

तर यसले त्यसको रासायनिक संरचना परिवर्तन हुनेछ । यसको हल निकाल्नका लागि थप अनुसन्धानको आवश्यकता छ । 

जोस जोर्डीले अन्य धेरै दीर्घकालीन रोगहरूको औषधि ट्याब्लेटको रूपमा उपलब्ध रहेको बताउँदै मोटोपना घटाउने औषधिहरू ट्याब्लेट वा क्याप्सुलको रूपमा पनि उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।

तर कुनै पनि नयाँ औषधि बनाउने प्रक्रिया झन्झटिलो र महँगो हुने भएकाले यो कति समय लाग्ने हो भन्ने स्पष्ट छैन । यसमा सात–आठ वर्ष लाग्छ र परीक्षण पछि पनि सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप