मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

प्रकाश सपुतको ‘दमाई महाराज’ : सर्वस्वीकार्य ईश्वर पनि छैनन्

आइतबार, २१ साउन २०८०, १२ : ४९
आइतबार, २१ साउन २०८०

प्रकाश सपुतले गाएका हरेक गीतमा विवाद आउँछ । गीतसँगै विवाद प्रकाशको नियति हो भन्ने कुरा उनका तीन चर्चित गीतहरूले पुष्टि गरिसकेका छन् । ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ ‘सकम्बरी’ र ‘दमाई महाराज’ यी तीन गीतहरूले प्रकाशलाई चर्चा र विवाद दुवै दिलाए । हाम्रो समाज अर्काको टिप्पणी गर्न खुब सिपालु छ । आफू कुनै किसिमको सिर्जना नगर्ने र सिर्जनात्मक क्षमतामा फुटेको कौडी सिप नहुनेहरू पनि सर्जकलाई गाली गर्न पाउँदा र उपदेश दिन पाउँदा मखलेल बन्छन् ।

कुनै पनि सर्जकको सिर्जना आफैँमा कहिल्यै पूर्ण र पर्याप्त हुन्न । आठ अर्ब टाउकाभित्र अनेक किसिमका सोच र प्रवृत्ति छन् । तसर्थ एउटा र केही टाउकाको सिर्जनामा खोट अवश्य देखिन्छ र हुन्छ । खोटरहित कुनै वस्तु र प्राणी संसारमा छैनन् । सर्वस्वीकार्य भनिएको भगवानमा समेत आस्तिकले नै खोट निकाल्छन् भने । नास्तिकहरू भगवानको अस्तित्वमाथि नै प्रश्न गर्छन् । भगवान नभएको तर्क गर्छन् र भगवानलाई केवल इलुजनको रूपमा मान्छन् । भ्रम त्यागेर बाँच्नु नै सर्वथा श्रेष्ठ जिन्दगी हो भन्ने तर्क दिन्छन् । 

यसर्थ एउटा व्यक्तिको सिर्जनामा प्रशस्तै कमीकमजोरी पाउन सकिन्छ । चर्चा हुनेको विवाद निस्कन्छ । चर्चा नहुने र कम चर्चामा आउनेको विवाद प्रायः सुनिन्न । यहाँ फलेको वृक्षमै ढुङ्गा, झट्टी बर्सन्छ भन्ने उक्ति चरितार्थ भएको पाइन्छ । प्रकाश सपुत राम्रो र प्रतिभाशाली कलाकार हुन् भन्ने कुरा उनको गीतसङ्गीतप्रतिको लगाव, साधना र सिर्जनाले पुष्टि गरिसकेको छ । उनका गीत सङ्गीत विशुद्ध कला हो । कलामा व्यक्तिको आस्था, विश्वास र सिद्धान्त झल्केको हुन्छ तर पर्याप्त मात्रामा आएको हुन्न । 

मेरो ख्यालमा प्रकाशले कुनै पनि सिर्जना सैद्धान्तिक फ्रेममा ढालेर सिर्जना गरेका छैनन् । कुनै वाद सिद्धान्त र मान्यतामा राखेर उनको सिर्जना आएको होइन । सिद्धान्तको व्याख्या, विश्लेषण, मूल्याङ्कन र कुनै सामयिक चेतको अवधारणा अन्तर्गत विश्वविद्यालयको शोधको मापदण्डभित्रको प्राज्ञिक निष्कर्ष पनि होइन, प्राज्ञिक खोज अनुसन्धान र विज्ञ समीक्षित निष्कर्षमा पनि आलोचना गर्ने थुप्रै ठाउँ र लुपहोल्सहरू हुन्छन् । प्रकाशको गीत सङ्गीत व्यक्तिको आफ्नो विवेक र क्षमताको सिर्जना हो । बौद्धिक र प्राज्ञिक दलित चेतनासम्बद्ध निष्कर्ष पनि होइन । त्यसैले प्रकाश आलोचना मुक्त छैनन् । उनका थुप्रै कमजोरी छन् । कलामा खट्केका कुरा हुन्छन् । कतिपय कुरा सोझै भन्न नसकिरहेको स्थिति पनि हुन्छ । हामी ग्राउन्डबाहिर बसेर मेस्सी र रोनाल्डोको खेलमा पनि जज गरिरहेका हुन्छौँ । विराट कोली, सचिन, तेन्दुलकर, सोमपाल कामी र शक्ति गौचनलाई पनि कोच गरिरहेका हुन्छाँै । प्रकाश सपुतको कमजोरीमा आलोचकलाई माहरथ प्राप्त किन नहोस् ? 

दलित चेतनाकै आलोकमा हेर्ने हो भने पनि उनले कुन चेतनालाई अवलम्बन गर्ने ? मार्क्सवादी दलित चेतना कि पुँजीवादी दलित चेतना ? सामन्तवादी दलित चेतना कि साम्यवादी ? आहुतिले व्याख्या गरेको दलित चेतनालाई अवधाराणात्मक आधार बनाएर गीतसङ्गीतको सिर्जना गर्ने कि डाक्टर मित्र परियारको दलित आत्मरक्षाको दार्शनिकीलाई आत्मसात गरेर गीत लेख्ने ? यतातिर पनि अन्योल छ । डाक्टर अम्बेडकरवादी दलित अभियन्ता बन्ने कि हिन्दु धर्मको सापेक्षित सुधारसहितको दलित अभियानकर्मी ? समस्या विकराल छ । मार्ग प्रस्ट छैन । यस्तो बेला सर्जकले आफूलाई लागेको आफ्नो ब्रह्मले देखेको कुरा लेख्छ बोल्छ । 

लोकप्रिय र सार्वजनिक व्यक्ति हुनुको अर्थमा उनको तर्फबाट अपेक्षा राख्ने मान्छे हुन्छन् । यस्तो किसिमको गीतसङ्गीत आइदिए हुन्थ्यो, प्रकाशले यस्तो बोलिदिए हुन्थ्यो, जसले गर्दा हाम्रो समुदायको हित हुन्थ्यो भन्ने मान्छे हुनु स्वाभाविकै हो । अर्काेतर्फ उनको चुलिँदो ख्याति र चर्चाको ईष्र्या गर्ने मान्छे पनि छन्, जसले उनको त्रुटि खोजी रहन्छन् र उनको खुट्टा तान्न प्रयास गरिरहन्छन् । एकथरी हुन्छन् उनले जे बोलेका छन् उनको सामथ्र्यले जति सक्दो राम्रो होस् भन्ने चाहेका छन् । उनको नियत खराब होइन उनको प्रस्तुति सर्वस्वीकार्य हुन नसकेको हो । उनले कुनै एउटा मान्यता, सिद्धान्त र वादमा आधारित गीत बनाएको भए पनि अरू वाद र सिद्धान्तका लागि स्वीकार्य हुन्नथ्यो । विवाद आउँथ्यो नै । संसारको सबैभन्दा ठुलो वाद भनेको मानवतावाद हो प्रकाशले मानवतावादको वकालत गरेका छन् । 

सर्वस्वीकार्य त के नै छ र ? जुनको शीतलता र रविको तापमा पनि मान्छेको अवस्था र वातावरण अनुसार प्रश्न र असहमति छन् । प्रकृति प्रदत्त दिन र रातप्रति पनि मान्छेहरूको अनुकूलता र प्रतिकूलताअनुसार धारणा बन्छ । बादल र वर्षा पनि अपरिहार्य र निषेध दुवै अवस्थामा हुन्छन् । त्यसमा पनि एउटा मान्छेको बारेमा टिप्पणी हुने नै भयो । त्यो माथि पनि भुइँ तहबाट सङ्घर्ष गर्दै उठेको एउटा दलित समुदायको व्यक्तिको प्रगति चर्चा र नाम धेरैका लागि आँखी हुने नै भयो । जो सर्वसाधारण छन्, जसलाई गीतसङ्गीत मन पर्छ, तिनका लागि प्रकाश एउटा गायकका रूपमा सम्मानित छन् । उनका गीत र गीति अभिनयमार्फत व्यक्त सन्देश आफ्नो क्षमताअनुसार ग्रहण गर्छन् र आनन्दित हुन्छन् । 

गीत सङ्गीत मूलतः मनोरञ्जनको साधन हो, मन बहलाउने मध्यम हो । दुःखसुख, पीडा, वेदना पोख्ने, माया प्रीति अभिव्यक्त गर्ने गतिलो माध्यम पनि हो । त्यति मात्र होइन गीत सङ्गीतले सर्जकका सिर्जनाले विश्वमा इतिहास परिवर्तन गर्ने कालजयी युगजनीन सिर्जना पस्केर नयाँ इतिहास निर्माण गर्न पनि महान् योगदान दिएका छन् । मुक्तिको गीतले पीडकलाई दुत्कार्दै पीडितलाई मलहम लगाइदिने काम पनि गरेका छन् । गीतसङ्गीतमा आम जनसमुदायलाई रुवाउनेदेखि आत्महत्या गर्न बाध्य पार्नेसम्मको शक्ति रहेको हुन्छ । 

युद्धको मोर्चामा पनि जीवन बलिदान गर्ने सङ्गीत बजाइन्छ र मर्न, मार्न उत्प्रेरित गरिन्छ । क्रान्तिकारी चेत भएका गीतहरूले क्रान्ति योद्धाहरूलाई क्रान्तिमा अविचल रहन सशक्त भूमिका खेल्छ । भारतीय स्वतन्त्रता सङ्ग्राममा चर्चित ‘वन्दे मातरम’ (१८८२) कविता भारतीय स्वतन्त्रता सङ्ग्रामको एन्थम नै बन्यो । बब मार्लीको ‘स्ट्यान्ड अप योर राइट’ (१९७३) अमेरिका, युके, युरोपलगायत उत्पीडनमा परेकाहरूको सङ्घर्षको बुलन्द आवाज बन्यो । श्याम तमोटद्वारा लिखित  र रामेश रायनद्वारा पञ्चायत विरोधी सङ्घर्षमा गाइएको गीत नेपालमा ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ जागरणको नायक गीत बनेर जतासुकै र जहिल्यै गुन्जन्छ । 

जेबी टुहुरेको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ जस्ता गीत गाएर नै दुनियाँ जगाए । यसरी एकातिर गीत सङ्गीतमार्फत् देश र दुनियाँ जगाउने मुक्तिको गीत गाउने कर्मले ख्याति पाएको छ भने अर्कातिर गीतसङ्गीतको कारण डिप्रेसनमा गएर आत्महत्या गर्नेहरू पनि छन् । जस्तो : हङ्गेरियन गायक रेजो सेरेसको ‘ग्लुमी सन्डे’ (१९३३) सुनेर १०० जना मान्छेहरूले आत्महत्या गरे भनेर भनिन्छ । यो गीत हङ्गेरी र इङ्ल्यान्डमा लामो व्यान्ड गरिएको थियो । नेपालमा पनि सत्यराज आचार्य र अञ्जु पन्तका गीत सुनेर आत्महत्या गर्ने मान्छे पनि थिए भन्ने सुन्नमा आएको छ । यसर्थ गीत सङ्गीतको तागत एकदम सामथ्र्यवान हुन्छ, शक्तिशाली मुटु हल्लाई दिने ल्याकत राख्छ भने पाषण हृदयलाई पनि पगाल्ने बुता देखाउँछ । गीत सङ्गीतको समयको आवाज बोल्छ । युग बोल्ने गीतहरू अजर र अमर हुने गर्छन् । 

सपुताका चर्चित गीतहरू ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, जसमा चोरीको बात लाग्यो । कपी राइटको कुरा उठाएर शम्भु राई अदालत नै गए । आखिरमा युट्युबमा शम्भु राईको नाम उल्लेख गर्ने सर्तमा मिलापत्र गरियो । ‘सकम्बरी’ मा नारीलाई वस्तु बनाएर नारीको स्वतन्त्रता, इमानदारिता, क्षमता र योग्यतामा प्रश्न उठाई नारी अस्मिताको धज्जी उडाएको आरोप लगाइएको छ । थुप्रै नारीवादीहरूले यो गीतको विरोध मात्र गरेनन् प्रतिबन्धको माग नै गरे । स्मरणीय यहाँ आलोचकले पुरुषबिना नारी एक्लै र आफैँ चरित्रहीन र उपभोग्य वस्तु बन्छिन् भन्ने कुरा बिर्सेर नारीमाथिको उत्पीडन अन्याय भनेर नारीलाई होच्याएको भनिन्छ । पुरुष चरित्र वेश्यागमन गर्दैन भने नारी कसरी वेश्यावृत्ति गर्न सक्छे ? यहाँ पुरुषको मुखुण्डो उतारिएको बिर्सेर सकम्बरीको भूमिकालाई मात्र न्याय गर्न भनिएको छ । यो सरासर गलत छ नारी एक्लै पुरुषबिना अर्काे पाटनरबिना वेश्यावृत्ति गर्न सक्दिन । तसर्थ पुरुष पात्र आलोच्य छ, जसले उस्तै कसुर गरेबापत नारीलाई चरित्रहीन भन्छ र पुरुषलाई सफाइ दिन्छ । यहाँ पनि नारीको अपमान भनेर पुरुषको बचाउ गर्न खोजिएको छ । 

सत्यको बहुल रूपलाई ध्यान नदिएर नारीलाई नङ्ग्याएको प्रसङ्ग मात्र उप्काएको पाइन्छ । सकम्बरीलाई एकपाखे भएर हेर्न मिल्दैन । नारीमार्फत पुरुषको चरित्र उधिनिएको छ । यहाँ कलाकारको कर्म र ध्येय केवल नारीलाई वस्त्रविहीन बनाउनु होइन । समाजको वास्तविक अनुहार देखाउनु देखिन्छ । तर आलोचकहरू आफ्नो दृष्टिकोण सही भनेर जिकिर गरिरहेका छन् । आलोचक समालोचकको जस्तो विषयलाई हेर्ने सैद्धन्तिक ज्ञान प्रकाशमा नहोला उनी कला चेतअनुसार गीतसङ्गीत गर्छन्, जसले समाज बोल्ने र देखाउने गरेको छ ।

समाजको वास्तविक अनुहार मान्छेहरूलाई मन पर्दैन किनकि त्यहाँ प्रत्येक आलोचकले आफ्नो प्रतिविम्ब देखिरहेको हुन्छ । ‘दमाई महाराज’ मा कमजोरी नभएका होइन, छन् । त्यहाँ एउटा सन्देश पनि प्रवाहित छ । त्यो सन्देशमा ध्यान दिन छोडेर मान्छेलाई आफ्नो विश्वास सिद्धान्त र मान्यताअनुसारको गीत सङ्गीत चाहिएको छ । आफ्नो वाद देखिने भाका चाहिएको छ । कलाकार राष्ट्रका लागि हुन्छ । कलाकार खण्डित भएर बाँच्न चाहन्न । कलाकारलाई सिङ्गो मान्छे भएर सिर्जना गर्न मार्ग प्रशस्त गरौँ । 

कसैलाई त्यो गीतमा मार्क्सले कल्पना गरेको समाज चाहिएको छ । कसैले पुँजीवादी दर्शनले देखाएको दलित चेतनाको गीत चाहिएको छ । कसैलाई सामन्तवादी चेतको गीत चाहिएको छ । के प्रकाशलाई तपाईंले चाहेको जस्तो गीत दिएर गाउन र अभिनय गर्न लगाउनु सक्नु हुन्छ ? यस्तो चाहियो भन्नेले आफैँ त्यस्तो गीत बनाएर दिन सक्नु हुन्छ ? सर्वस्वीकार्य गीतसङ्गीत दिन सक्नु हुन्छ । हामीलाई प्रकाश सपुत हामी जस्तो चाहिएको छ । 

पशुपति शर्माको लुट्न सके लुट जनताले अत्यधिक रुचाएको गीत थियो तर तत्कालीन नेकपाले यो गीतलाई करिब करिब निषेध नै गर्न चाह्यो के त्यो सामाजिक वास्तविकताले आफूलाई दुख्यो भनेर रोक्न छेक्न पाइन्छ ? रोक्न छेक्न कतिन्जेल सकिन्छ ? सिर्जना सर्जकको हो । सर्जकलाई निर्वाध सिर्जना गर्न दिऔँ । सिर्जनाको सकारात्मकता ग्रहण गरौँ नकारात्मकता त्यसको एउटा पक्ष भनेर स्वीकार गरौ ।

 भिटेनका गीतको स्वाद मन पराउनेहरू पनि छन् । त्यसको निन्दा गर्ने पनि छन् । कुमार बस्नेतका गीत २०५१ सालमा नै रेडियो नेपालमा प्रतिबन्ध लाग्यो । तर उनको गीत मन पराएर नाच्नेको जमात सानो छैन । जीवन शर्माका गीतमा नाच्नेहरू सही र अन्यका गीतमा नाच्ने खराब होइन । गीतसङ्गीत पनि मान्छेको भावाव्यक्ति हो । त्यसमा मान्छेमा हुने कमजोरी रहन्छन् ।

गीतसङ्गीतमा समाज बोल्छ । समाजको लुकेको पाटो पनि बोल्छ । समाजले पाप भनको पनि बोल्छ धर्म भनेको कुराको पनि पाप खोल्छ । सर्जकलाई म हुन हामी हुन, हाम्रो वाद र सिद्धान्त हुन होइन आफैँ भएर बाँच्न र सिर्जना गर्न वातावरण निर्माण गरौँ । मेरो दृष्टिमा ‘दमाई महाराजामा प्रकाश गीतमा फितलो र नाटकीय अभिनयमा प्रखर लागे । यो मेरो आफ्नो दृष्टिबोध मात्रै हो । म उनलाई यसो गर उसो गर भन्न सक्दिनँ, मैले मेरो चेत बोल्ने र लेख्ने हो । 

प्रकाशको ‘दमाई महाराजमा’ बाहुनवादको घीनलाग्दो हर्कत भन्ने पनि छन् । दमाई किन महाराज र कामी किन महाराज भएन स्वयं प्रकाशले आफ्नै थरबाट कामी महाराज किन राखेनन् भन्ने दलित समुदायका अभियन्ताहरूको तर्क पनि छ । प्रकाशले भने नेपाली शब्दकोशको अर्थ होइन आफ्नो अर्थ प्रदान गरेका छन् । उनले ‘द’को  दस हजार, ‘म’ को महात्मा तथा ‘ई’ को ईश्वर भन्ने अर्थ लगाएर दस हजार महात्मा तथा ईश्वरको विशेषता बोकेको अर्थमा यसलाई प्रस्तुत गरेको छ भनी हिरा विश्वकर्माले आफ्नो लेख ‘जातीय छुवाछूतविरुद्ध दमाई महाराज’ (सेतोपाटी साउन, ८) मा लेखेका छन् । सुदूरपश्चिममा दमाईहरूको सभ्यता, संस्कृति तथा लिपिसमेत पाइएको र ११ औँ शताब्दीसम्म उनीहरूको ससाना राज्यहरू थिए भन्ने कुरा लेखक डीबी नेपाली ‘दमु’ले ‘रैथाने दमाई जातिको लोक जीवन’ भन्ने किताबमा सविस्तार उल्लेख गरेको ऐतिहासिक प्रमाण कारण पनि दमाई महाराजप्रति आपत्ति जनाउनु पर्ने देखिन्न । 

प्रकाशको साङ्गीतिक र नाटकीय प्रस्तुतिमा बाहुनवादलाई पनि समाज सुधारमा प्रयोग गर्न सकिन्छ भन्ने चेतलाई कलामार्फत अभिव्यञ्जन गरिएको छ । जातीय विभेद र छुवाछूतको विरोधमा प्रकाश सपुतले कलाको संयोजन गरेको देखिन्छ । भलै मेरो ज्ञान र चेतना यो विषयको पारख गर्न कमी होला त्यो स्वीकार गर्छु । तर सर्जकप्रति मेरो एउटा मात्र आग्रह छ गीतसङ्गीतले निराशा हैन ऊर्जा जागृत गर्नुपर्छ । निराशाको बेलुन फुटाएर आशाको उज्यालो छर्नु पर्छ । कर्म गर्ने मान्छेका नाममा विवाद आउँछन्, जान्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप