शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

समालोचना : साथ रहोस् नरहोस्

आइतबार, २१ साउन २०८०, ११ : ४६
आइतबार, २१ साउन २०८०

ज्ञेयात्मक गद्य कविता सङ्ग्रहको नाम हो–साथ रहोस् नरहोस् । यसलाई वैशाखतिर नै पाएको हुँ मैले तर पढ्ने साइत भने जु¥यो भरखरै । सुरूमा पढियो महासमालोक प्रा.डा. वासुदेव त्रिपाठीको भूमिका, जसले कृति पूरै नपढी सुखै दिएन । प्रा.डा. त्रिपाठीको भूमिका लामो त हुन्छ तर रौँचिरा विश्लेषण पनि भएका हुन्छन् त्यहाँ, जसले कृतिभित्र नछिरी धरै दिँदैन पाठकलाई । यस्तै भयो यसलाई पनि ।    

कवयित्री सुनीता कार्कीद्वारा लिखित २१६ पृष्ठको यस कविता कृतिमा ३३ वटा शीर्षकका ज्ञेयात्मक गद्य कविता रहेका छन् लामा छोटा गरी । प्रा.डा. त्रिपाठीको ५६ पेजको भूमिकाले सिँगारेको छ कृतिलाई । अन्त्यमा दिइएको स्रष्टाका आफ्नै कलाकृति कृति थप गहना हुन् कविता कृतिका । २०७० सालमा जानी नजानी कविता सङ्ग्रह लिएर नेपाली साहित्यको फाँटमा देखापरेकी सुनिताको दोस्रो काव्य कृति हो यो, जसको प्रकाशक नइ प्रकाशन रहेको छ ।   

यसको अर्थ उनी त्यति बेलादेखि मात्र लागेकी हुन् भन्ने होइन यस क्षेत्रमा । तीसको दशकदेखि नै कविता लेख्न थालेकी सुनिताको करिब ४० वर्ष बितेको छ कविता लेखन क्षेत्रमा ।  यस बाहेक कलाकृतिको क्षेत्रमा पनि उत्तिकै दखल छ उनको । यसो त कविता नै पनि चित्रात्मक जस्तै हुन्छन् उनका । मात्र फरक कलाकृतिमा कुचीसँग खेल्छिन् भने कविता कृतिमा अक्षरको पूजा गर्छिन् उनी ।

प्रस्तुत कविता सङ्ग्रहमा कवयित्री कतै प्रकृतिसँग आत्मसात गरिरहेकी देखिन्छन् भने कतै सामाजिक विकृतिको उछित्तो काढ्न व्यस्त हुन्छिन् । कतै राजनीतिक विसङ्गति र तत्जन्य समस्याप्रतिको गुनासो पोख्न पुग्छिन् भने कतै सामाजिक बेमेल, विसङ्गति र बेथिति उजागर गर्न पुगेकी देखिन्छिन् । त्यस्तै कतै जीवन, जगत्, अध्यात्म र दर्शनको धरातलमा उभिन पुगेकी देखा पर्छिन् । यसरी कविता सङ्ग्रहमार्फत कवयित्रीले देशभक्तिलाई शिरमा राखी ईश्वभक्तिको सरोवरमा सरोबर भइरहेकी देखिन्छिन् । 

देश र जनता को पहिले भन्नेमा मतभेद हुन सक्छ । कतिलाई जनता भएपछि नै देश हुन्छ जस्तो लाग्न पनि सक्छ कतिलाई देश भएपछि नै जनताले स्थान पाउने हुन् जस्तो लाग्न पनि सक्छ । तथापि यथार्थ के हो भने देश भएपछि नै मानिसको मूल्य, मान्यता र पहिचान हुने हो । यस अर्थमा पहिले देश हुनुपर्छ । देश भएपछि जनता हुन्छन् । त्यसपछि मात्र   राजनीतिक दलहरूको कुरा आउँछ । जहाँ प्रकृतिको यस लयात्मक गति सुचारु भएको हुन्छ त्यही समाज नै स्वच्छ र शिष्ट हुन्छ ।

तर, जहाँ यी सबै पक्षलाई पछि पार्दै राजनीति र तत्जन्य क्रियाकलाप अगाडी आउँछ वा अगाडि ल्याइन्छ त्यहाँ हुने भनेको भाँडभैलो नै हो । यस्तो प्रवृत्तिबाट विभिन्न काण्ड, काण्डै काण्ड केके हो केके, यहाँसम्म कि देशवासीलाई नै नक्कली नागरिक करार गर्नसम्म पछि नपर्ने काण्ड सिर्जना हुन पुग्छ, जसले देशलाई पनि उठाउँदैन र विदेशमा पनि चिनाउँदैन  । अपितु गनाउँछ, गनाउन सघाउँछ । कवयित्री कार्कीको कविताका गर्भमा यस्तै यस्तै भाव र अनुभूति प्रत्यक्ष, अप्रत्यक्ष, मूर्त, अमूर्तहरूमा सलबलाएको प्रस्टै अनुभूत हुन्छ । 

यसको अर्थ उनको कविताले निराशामात्र पोख्छ भन्ने होइन । सकारात्मक ऊर्जा बर्साउन पनि उत्तिकै सक्षम छन् उनका कविता कृति । निराशाको धरातल देखाएर सकारात्मक हुन उत्प्रेरित गर्ने कविता कृतिको विशेषता हो उनको । मूलतः उनी आध्यात्मिक कवि हुन्, आध्यात्मिक धरातल फराकिलो छ । अनि जसको आध्यात्मिक धरातल फराकिलो छ त्यस्ता सर्जक नैराश्यको पुजारी हुनै सक्दैन । थाहा छैन उनको पारिवारिक पृष्ठभूमि कस्तो छ । भौतिकरूपमा चिनजान नभएकाले यसबारेमा यसै भन्न सक्ने अवस्थामा छैन पङ्तिकार । तथापि उनका कवितामा अनुभूत हुने भाव बिम्बले देखाउने सत्य भने यही हो । 

कविताहरू सबै राम्रा छन् । सबैले केही न केही सन्देश दिन खोजेको छ । त्यसमा पनि केही निकै स्तरीय  छन् । हेरौँ केही उदाहरण–

तिमी मेधावी मानव 

विकास त गर्‍यौ खुबै 

तर उपद्रो पनि हदै 

कति सहुँ उपद्रो तिम्रा 

सहीरहूँ कति ओर्‍याइँ तिम्रा

मेरो यो बेहालको तिमी कारण 

यी सबै पर्यावरण उथलपुथलको

तिमी मुख्य कारण । 

प्रकृतिको अस्तित्वको सन्देश शीर्षकको कवितांश हो यो । प्रकृतिको तर्फबाट विकासको नाममा निम्तिएको विध्वंसप्रतिको आक्रोश राम्रैसँग प्रस्टिएको देखिन्छ यसमा । 

त्यस्तै आफूले गरेको राम्रो नराम्रो कामको फल आफैँले भोग्नुपर्ने भएकाले अलस चरित्र र असल व्यवहार अपेक्षित भाव पाइन्छ उनको गाई जात्रा शीर्षकको कवितामा ।  हेरौँ कविताको एउटा अंश– 

स्वर्ग कहाँ छ ? 

नर्क कहाँ छ ? 

जे जस्तो भोग्नु छ 

यस धर्तीमै छ । 

त्यस्तै कालो दाग शीर्षकको कवितामा फोहोरी राजनीतिले निम्त्याएको विकृत सामाजिक स्वरूपलाई यसरी देखाएकी छिन् कवयित्रीले–

कान्लाकान्ला गरागरा 

पोषक तत्व पैदा गर्न झकझकाइरहेछन् 

स्वार्थको धरातलमा भास्सिनेहरू

कालस्वरूप विष उत्पादन गर्न सलबलाइरहेछन् । 

त्यसैगरी उम्लिएर बगोस् शीर्षकको कवितामा कवयित्रीले देशभक्तिको भावलाई यसरी पोखेकी छिन्–

अस्ताउनु लागेको भानु पनि 

नभलाई रक्तिम तुल्याउँदै

आफ्नो आक्रोश व्यक्त गरिरहेछ

एक देशभक्त नवीन युग पुरुषलाई पुकारिरहेछ 

जसले 

नेपाल आमाको अस्तित्व जोगाउनेछ ।

त्यस्तै समय शीर्षको कवितामा कवयित्रीले जीवन र जगतप्रतिको दार्शनिक चेतलाई यसरी दिग्दर्शन गरेकी छिन्–

सुखमा जगतैलाई आफन्त बनाउने

दुःखमा आफन्तैलाई पनि पराई गराउने

कहिले पिरोल्ने 

कहिले समाधि कस्ने

स्वर्ग नर्कको आभास

यसै पृथ्वीमा दिलाउने

कटु सत्यलाई इतिहास बनाउने ।

        ................... 

प्रतीक्षाको क्षण पनि द्रुत नहुने

विलम्बको क्षण पनि क्षीण नहुने

जेजति छ यही जिन्दगीमा छ 

जिउन सके, चिन्न सके परमात्मा यहीँ छ 

खेलबाडमै बिताए जीवन अन्धकारमै जुनी व्यतीत हुनेछ ।

त्यसैगरी सगरमाथा परेली नभिजाऊ शीर्षकको कवितामा व्यर्थै उम्लेको वर्तमानप्रति उनको आक्रोश यस्तो छ–

पवर्त नजर नझुकाऊ 

यहाँ सत्ता बलात्कृत हुँदै छ 

पशुपति तिमी बचाऊ 

यहाँ तिम्रै महिमाको मोलतोल हुँदै छ ।

त्यसैगरी वेदना एक मानव भ्रूणको शीर्षकको कवितामा मानवीय स्वार्थप्रतिको वेदना यसरी व्यक्त गरिएको छ–

रिट निवेदन हाल्ने क्षमता छैन

अपिल गर्न पूर्ण छैन 

निस्साका लागि पुकार पुग्दैन

तसर्थ 

यही अँध्यारो ओडारबाटै

रिट याचिका हाल्छु 

अपिल गर्छु 

निस्सा माग्छु 

बन्न देऊ मलाई पूर्ण स्वस्थ, सुरक्षित

अनि 

जन्मन देऊ 

सग्लो, क्षमतावान् नबनाई अपाङ्गकृत

नमार रहन देऊ मलाई जीवित

अनि हुनेछ सत्यमा

स्वर्णिम नेपालको भविष्यको वास्तविक जित ।

त्यस्तै अङ्गुष्ठाभ्याम शीर्षको कवितामा कवयित्रीको आध्यात्मिक चेत राम्रै स्फूरण भएको पाइन्छ । हेरौँ एउटा प्रसङ्ग–

अजर अविनाशी

न त मार्छु

न त मर्छु

केवल जीवनरूपी 

देह फेर्छु । 

त्यसैगरी वर्तमान राजनीतिले रोपेको सामाजिक विद्वेषप्रति खबरदारी गर्दै उनको सुषुप्त महत्त्वाकाङ्क्षा शीर्षकको कविता यसरी बोलेको छ–

किन भाइभाइ फुटिरहेछन्

जातिजाति टुटिरहेछन्

हरजात बन्नुअघि

नेपाली बन्न सके

हाम्रा स्वायत्तता अनि मौलिकता

शान, मान सार्वभौमिकता

जिउँदो रहनेछन् । 

साँच्चै के राष्ट्र बनाउँछौ 

प्रश्न छ तिमीलाई

थाहा छ आफू अवश्य बन्ने छौ 

आफूलाई हर सङ्घर्षबाट जोगाई

याद गर 

तर दिवङ्गत भएपछि के 

उत्तर दिनेछौ अनागत उसलाई ?

सबै शीर्षकका कवितामा यस्तै यस्तै भाव विन्यास भएका छन् । स्थानभावले सबै उद्धृत गर्न सम्भव छैन । त्यसैले कृति आफैमा उत्कृष्ट छ । 

त्यति हुँदाहुँदै पनि भन्न मन लागेको के हो भने प्रत्येक कविताको अन्त्यमा आफ्नो आशयबारे कवयित्री आफैँ नबोलेकी भए हुन्थ्यो भन्ने लाग्छ । किनभने सिर्जनाका भाव जति विराट हुन्छन् पाठकीय बुझाइ पनि उत्तिकै विराट हुन्छन् । सर्जकले नै परिवेश र उद्देश्य प्रष्ट पारिसकेपछि पाठकको बुझाइ त्यतिमै सीमित हुुने सम्भावना बढी हुन्छ । कामना गरौँ त्यस्तो नहोस् । अहिलेलाई यति भन्न चाहेँ कवितामा जुन भावगाम्भीर्य भेटिन्छ तिनले निरन्तरता पाउन् । अस्तु   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप