रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

रामेछाप । कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन् । सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएका कारण कोचाकोच भएको हो । एक सय ५० देखि बढीमा दुई सयसम्म मात्र कैदीबन्दी अटाउने यस कारागारमा तीन सय ३५ कैदीबन्दी राखिएका छन् ।
“कैदीबन्दी राख्न साह्रै गाह्रो छ”, कारागार प्रमुख रुपलाल तामाङले भने, “लाइन लगाएर सुताउनुपरेको छ । ठाउँ नपुगेर खाटमुनिसमेत कैदीबन्दीले ओछ्यान लगाउने गरेका छन् ।”
कारागारलाई सरकारले सुधारगृहको नामकरण गरेर पर्याप्त सुविधा दिने नीति लिएको भए पनि यहाँको कारागार भने सास्तीगृहका रूपमा परिणत भएको छ । जिल्लामा सुविधासम्पन्न कारागार भवन नहुँदा यस्तो समस्या आएको हो ।
यहाँको पुरानो कारागारको भवन २०७२ सालको भूकम्पले भत्किएपछि केही भागमा मात्र पुनःनिर्माण गरिएको छ । केही संरचना पुरानै छन् । पुराना संरचना ज्यादै जीर्ण रहेकाले थप चुनौती कारागार प्रशासनलाई छ । कारागारमा रहेका ती कैदीबन्दीमध्ये १७ महिला छन् ।
महिलाको लागि बेग्लै कोठा भए पनि उनीहरूको बसाइ अझ कष्टकर छ । एउटै कोठामा १५ जना अटाएका छन् । भान्सालाई बारेर (पार्टेशन गरेर) थप दुई जना राखिएको छ ।
प्रमुख तामाङका अनुसार तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कारागार पुनःनिर्माणको कार्यक्रम राखेको थियो । त्यसबेला कारागार भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन सकेन ।
“मैले प्रमुख जिल्ला अधिकारीलाई समेत जग्गा व्यवस्थापनका विषयमा भनेको छु”, उनले भने, “खाद्य संस्थानको जग्गा लिन सकेमा तत्कालका लागि कैदीबन्दी अन्यत्र स्थानान्तरण नगरी भवन निर्माण गर्न सकिने अवस्था छ ।” खाद्य संस्थानले जिल्लाबाट कार्यालय हटाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना