लिखित प्रतिवेदनविनै सकिँदै माओवादी बैठक
काठमाडौँ । बुधबारदेखि राजधानीको प्रज्ञा भवन, कमलादीमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज समापन हुँदै छ । शनिबार अबेसम्म बसेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम लगभग सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको महासचिव देव गुरुङले जानकारी दिए ।
‘अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक र सङ्गठनात्मक प्रतिवेदनमाथि शनिबारसम्म केन्द्रीय सदस्यहरू आ–आफ्ना विचार राख्ने क्रम सकिएको । आज बैठकमा उठेका प्रश्नहरूको जवाफ अध्यक्षज्यूले दिएपछि प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ’, गुरुङले भने ।
शनिबार पदाधिकारीसहित ७४ जनाले प्रतिवेदनमाथि छलफलमा भाग लिएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । चार दिन अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २१५ जना सदस्यहरूले आफ्नो धारणा राखेको उपाध्यायले जानकारी दिए ।
लिखित प्रतिवेदनबिनै सम्पन्न हुँदै माओवादी बैठक
यो पटक माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भिन्न देखिएको छ । यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले आफै प्रतिवेदन तयार गर्थ्यो । उद्घाटन सत्रको दिन प्रतिवेदका विषय संक्षिप्त जानकारी गराएपछि लिखित प्रतिवेदन प्रत्येक सदस्यको हात हातमा दिइन्थ्यो । सदस्यहरूले प्रतिवेदनमा भएका विषय अध्ययन गरेर आलोचनात्मक विरोध वा समर्थन गर्थ्ये तर यस पटक प्रचण्डले बैठकमा राजनीतिक र संगठानिक प्रतिवेदन मौखिक रूपमा बैठकमा जानकारी दिए । लिखित प्रतिवेदन बाँडेनन् ।
पटक पटक बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरी अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाइएको थियो । यो पटक प्रतिवेदन उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले तयार गरेर प्रचण्डलाई बुझाएका थिए ।
सुरुको बैठकमा प्राविधिक समस्याका कारण प्रतिवेदन तयार हुन ढिलाइ भएको बैठकलाई जानकारी गराइयो । दोस्रो दिनको बैठकमा पनि प्रतिवेदन नपाएपछि सदस्यहरूले गुनासो गरे । दिउँसोसम्ममा प्रतिवेदन आउने महासचिव गुरुङले जानकारी गराए, तर आएन । बैठकको तेस्रो दिनसम्म आइपुग्दा सदस्यहरूले नेतृत्वको कार्यशैली, जीवनशैलीलाई लिएर चर्को आलोचना भएपछि प्रतिवेदन परिमार्जन गरेर मात्र दिने जानकारी गरियो ।
अध्यक्षज्यूले प्रतिवेदनमा भएका विषयवस्तु सारसंक्षेपमा राख्नुभएको छ । त्यसकै आधारमा सदस्यहरूले विचार र बहस गर्नुभयो’, कार्यालय सचिव उपाध्यायले भने, ‘लिखित प्रतिवेदन पेस गरे पनि परिमार्जन गर्नु परिहाल्छ । अब सदस्यहरूले उठाएका विषय समेटेर परिमार्जित प्रतिवेदन दिनेछौँ ।’
नेताहरू भन्छन् नयाँ ‘एक्सपेरिमेन्ट’
लिखित प्रतिवेदनबिना नै केन्द्रीय समिति बैठक समापन हुन लागेपछि सचिव गणेश साहले यो पटक नयाँ ‘एक्सपेरिमेन्ट’ भएको बताए । उनले कम्युनिस्ट पार्टीमा नयाँ नयाँ प्रयोग हुने भन्दै बिना प्रतिवेदनको बहस र छलफल पनि अर्को नयाँ प्रयोग भएको व्यङ्ग्य गरे ।
‘यसअघि कम्युनिस्ट पार्टीमा अध्यक्षले राजनीति प्रतिवेदन र महासचिवले सङ्गठनात्मक प्रतिवेदन तयार गरी बैठकमा पेस गरिन्थ्यो । तर, यो पटको बैठकमा नयाँ ‘एक्सपेरिमेन्ट’ भयो’, व्यङ्ग्यात्मक रूपमा उनले भने ।
यसैगरी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डको लिखित प्रतिवेदन नआउनुमा बढी विवादित बन्न सक्ने डर रहेको हुनसक्ने अनुमान गरे ।
‘लिखित प्रतिवेदन प्रस्तुत गर्दा चर्को आलोचना खेप्नुपर्ने डर अध्यक्षमा रहेको देखिन्छ । त्यसले बाहिर नराम्रो सन्देश जाने भय मनोविज्ञानले उहाँमा काम गरेको हुनसक्छ’, न्यौपानेले भने ।
मङ्सिरमा विधान सम्मेलन हुनेमा आशङ्का
चार दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले नीति र नेतृत्वको खुलेर आलोचना गरे । अधिकांश सदस्यहरूले पदाधिकारीदेखि वडा तहसम्म निर्वाचन प्रणालीबाट कार्यसमिति चयन गर्न प्रस्ताव गरे । विधान सम्मेलन नगरी विशेष महाधिवेशन गर्न सुझाव दिए । नेतृत्वको रूपान्तरणसहित पार्टी रूपान्तरणमा जोड दिए । तर, उनीहरूले आफूले दिएको सुझाव कार्यान्वयन हुनेमा आशङ्का गरेका छन् ।
हिमाल शर्मा, लेखनाथ न्यौपाने, लेखनाथ दाहाल, रामप्रसाद सापकोटा, सरल सहयात्री पौडेल, माधव सापकोटा लगायत धेरै युवा नेताहरूले केन्द्रीय समितिको निर्णय लागु हुनेमा आशङ्का गरेका हुन् ।
‘विगतमा भएका निर्णय पनि नेतृत्वले कार्यान्वयन गर्छौँ भनेर पटक पटक प्रतिबद्धता जनाएका थिए तर ती निर्णय अहिलेसम्म व्यवहारमा लागु भएको छैन । हेटौँडा महाधिवेशनले उत्पादनलाई जोड दिएको थियो’, शर्माले भने, ‘नेतृत्वले कार्यशैली र जीवनशैली सच्याउने भनेका थिए । डेढ वर्षअघि प्रज्ञा भवनमै भएको आठौँ महाधिवेशनमा उत्पादनलाई जोड दिएर कार्यक्रम ल्याउने भनिएको थियो अहिलेसम्म केही पनि आएको छैन । यो पटक पनि लागु हुनेमा आशङ्का छ ।’
अब पनि नेतृत्वको चेत नखुले माओवादी आन्दोलन समाप्त हुने र त्यसको फाइदा प्रतिगामी तथा प्रतिक्रान्तिकारीले उठाउने सदस्यहरूले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन