शनिबार, १७ कात्तिक २०८१
ताजा लोकप्रिय
रैथाने उत्पादनको प्रवर्धन

राजधानीमा साप्ताहिक हाटबजारको अभ्यास : जहाँ लगेर किसानले बेच्छन् रैथाने उत्पादन

शनिबार, २० साउन २०८०, १९ : ०३
शनिबार, २० साउन २०८०

काठमाडौँ । देशका विभिन्न जिल्लामा अझै पनि हाटबजारको लाग्ने चलन कायम छ । स्थानीयस्तरमा उत्पादित सामग्रीहरू त्यहाँ लगेर बेच्ने र आफूलाई आवश्यक पर्ने सामाग्रीहरू पनि खरिद गर्ने हाटबजारको मौलिक विशेषता हो ।  

वास्तवमा हाटबजारलाई ग्रामीण क्षेत्रको एक प्रभावकारी र परम्परागत बजारको रूपमा लिइन्छ । पछिल्लो समय रैथाने उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्ने उद्देश्यका साथ राजधानीमा पनि साप्ताहिक हाटबजारको अभ्यास थालिएको छ । जहाँ किसानले आफूले उत्पादन गरेका कृषि उपज ल्याएर सिधै बिक्री वितरण गर्न सक्ने व्यवस्था गरिएको छ । 

‘गाउँको उत्पादन सहरमा, रैथाने खाना घरघरमा’भन्ने नाराका साथ राजधानीको दरबारमार्गमा साप्ताहिकरुपमा ‘रैथाने कृषि हाटबजार’ लाग्न थालेको हो । 

कतिपय अवस्थामा बिचौलिया हाबी हुँदा कृषकले आफ्नो उत्पादनको उचित बजार पाउन नसकेको गुनासो सुनिन्छ । त्यसमाथि अझ रैथाने उत्पादनको त राम्ररी प्रवर्धन समेत हुन नसकेको तितो यथार्थ छ । यस्तो पृष्ठभूमिमा राजधानीमै हाटबजार सञ्चालनमा आउँदा किसानले आफ्नो उत्पादनको प्रचारप्रसारका साथै बिचौलियाबिनै थोरै भए पनि सिधै आम्दानी गर्न सफल भएका छन् । 

नुवाकोटको बानियाँटारका मोहनबहादुर घलेलाई शनिवार बिहान दरबारमार्गस्थित ओरियन्ट क्याफे परिसरमा सञ्चालित हाटबजारमा ताइचिन चामल बेच्न भ्याइनभ्याइ थियो । गाउँमा आफ्नै खेतमा फलेको धानको उक्त चामल राम्रो मूल्यका साथ बेच्न पाउँदा उनी खुसी देखिन्थे । ‘म काठमाडौँमै बस्छु, घरबाट यहीँ बेच्न भनेर बाबुआमाले पठाइदिएको चामल बेचिरहेको छु’, उनले भने, ‘अर्ग्यानिक चामलको राम्रो व्यापार भइरहेको छ । यहाँ ल्याएर सिधै ग्राहकलाई बेच्न पाउँदा खुसी लागेको छ ।’ बिचौलिया बिनै यसरी आफ्नो उत्पादन बेच्दा आम्दानी राम्रो हुने र उपभोक्तालाई पनि सस्तो पर्ने उनको अनुभव छ । 

hatbazzar durbarmarg (21)

आफूले प्रतिमाना ६० रुपैयाँका दरले ताइचिन चामल बेच्ने गरेको उनले बताए । ग्राहकले आवश्यकताअनुसार अर्डर पनि गर्ने र सोहीअनुसार डेलिभरीको व्यवस्था गरिएको उनको भनाइ छ।  आफ्नो उत्पादनलाई ग्राहकसम्म पुर्‍याउने माध्यम हाटबजार बन्न पुगेकामा उनले खुसी व्यक्त गरे । किसानहरूले हाटबजारमा ल्याएर आफ्नो उत्पादन बेच्ने र अर्डर लिएर पनि डेलिभरी गर्नेसम्मका सुविधा दिँदै आएका छन् । 

हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्ग्यानिक फलफूल तथा तरकारी, हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउ बिजन, बिरुवा, फूल र प्राङ्गारिक मल उपलब्ध हुने गरेको छ । 

यस्तै नेपाली मौलिक परिकार, दूग्धजन्य उत्पादन, मासुजन्य उत्पादन, रैथाने कृषि उपजमा आधारित बेकरी, कफी, चिया, अन्य घरायसी सामग्रीलगायतका वस्तु तथा सेवा उपलब्ध रहेका छन् । 

प्रत्येक शनिवार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म लाग्ने हाटबजारमा आफ्नो उत्पादन राख्न चाहने किसानलाई स्टलको व्यवस्था गरिँदै आएको छ । 

hatbazzar durbarmarg (22)

काठमाडौँसहित, नुवाकोट, ललितपुर, रामेछाप, रसुवालगायतका केही किसानले आफ्नो उत्पादन ल्याएर बेच्ने केन्द्रको रूपमा हाटबजारलाई प्रयोग गरिरहेका छन् । कतिपय साना उद्यमीले आफूले स्थानीयस्तरबाट सङ्कलन गरेका रैथाने उत्पादनलाई त्यहाँ ल्याएर प्रचारप्रसार र विक्रीसमेत गर्ने गरेका छन् । 

रामेछापका महिला कृषकहरूले उत्पादन गरेको चारघरे राजमा साप्ताहिक हाटबजारमा राखिएको छ । उक्त उत्पादनको बिक्री प्रतिनिधि रोशनी कपालीले यस्ता हाटबजार आफूहरूको उत्पादन प्रवर्धन गर्न राम्रो प्लेटफम भएको प्रतिक्रिया दिइन् । यस्तै हाटबजारसहित विभिन्न प्रदर्शनीहरूमा उत्पादनको प्रचार प्रसार गरेर राम्रो बिक्री गर्न सकेको बताइन् ।

hatbazzar durbarmarg (23)

 यस्तै नुवाकोटको पञ्चकन्या एग्रो टुरिजमले पनि ड्रागन फ्रुट्सलगातका आफ्ना उत्पादन ल्याएर हाटबजारमा बेच्ने गरेको छ । यसैगरी नुवाकोटकै घ्याङ्फेदीको अर्ग्यानिक आलु पनि हाटबजारमै पाइन्छ । 

ओखलढुङ्गा स्थायी घर भई हाल ललितपुरमा पिठो तथा सातुको उद्यम गरिरहेकी सुमित्रा भट्टराईले हाटबजारमा आउने ग्राहकले दिने गरेको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् । 

उनका अनुसार ओखलढुंगाको रुम्जाटारलगायतका स्थानमा यस्तै हाटबजारहरु बारअनुसार लाग्ने गर्छन् । ती हाटबजारमा स्थानीयले आफ्ना उत्पादन गरेर बेच्ने र आवश्यकताअनुसार खरिद पनि गर्ने गरेको बताउँदै उनले दरबारमार्गको हाटबजारले पनि उपभोक्तामा नयाँपन र कृषक तथा उद्यमीलाई उत्साह पैदा गराएको बताइन् । 

चामल, मकै, जौ, गहुँ, चना, केराउलगायतको सातु बेच्दै आएकी उनले यसबाट राम्रो आम्दानी गर्न सकेको बताइन् । 

रैथाने एग्री प्रडक्ट्स नेपालको आयोजनामा हालैमात्रै साप्ताहिक हाटबजारको थालनी गरिएको हो । हाटबजार सुरु गरिएको चार सातामै ग्राहकको राम्रो प्रतिक्रिया पाइसकेको प्रडक्ट्सका अध्यक्ष तिलक ढकालले जानकारी दिए । 

hatbazzar durbarmarg (14)

किसानले कसरी पाउँछन् स्टल ?

ढकालका अनुसार कृषकले आफ्नो उत्पादन हाटबजारमा राख्नका लागि कुनै शुल्क तिर्नुपर्दैन । तर त्यसका लागि केही सर्तहरू भने राखिएको छ । 

 ‘नेपालबाट रैथाने बालीहरू लोप हुन लागे, रैथाने डोका, डाला, नाम्ला, दाम्ला बनाउने सीपहरू पनि लोप हुन लाग्यो, हाम्रो रैथाने प्रविधिहरू जस्तै जाँतो, हँसियालगायत पनि लोप हुन लागे । यी चिजको संरक्षण र बजारीकरणका लागि हामीले हाटबजारको माध्यममार्फत अघि बढाउन लागेका हौँ’, ढकालले भने । जसका माध्यमबाट आयआर्जनका साथै देशमै स्वरोजगारको पनि वातावरण सिर्जना हुने उनको भनाइ छ । ‘हाम्रो उद्देश्य व्यावसायिक त हो नै तर यसलाई अभियानकै रूपमा लैजान सकियो भने बहुफाइदा पनि छ’, उनको भनाइ छ । 

364438676_834475734786937_5965833578773919514_n

‘रैथाने बालीमा शुद्धता र पौष्टिकता छ, त्यसलाई जोगाउन सकियो भने मानव स्वास्थ्यलाई पनि राम्रो हुन्छ’, उनले थपे, ‘रैथाने बालीले धेरै विकासे मल खोज्दैन । विषादी पनि खोज्दैन । धेरै किरा र फट्याङ्ग्राले पनि आक्रमण गर्दैन । कम पानी भए हुने बालीहरू पनि छन् । ती समग्र चिजहरूलाई समेट्न सकेको खण्डमा देशमै केही गर्न सकिन्छ । साथसाथै स्वदेशी उत्पादनलाई पनि प्रवर्धन गर्न सहयोग हुन्छ।’ 

उनले रैथाने एग्रीले करिब ५० जिल्लाका १० हजारभन्दा बढी किसानहरूसँग मिलेर काम गरिरहेको बताए । जसमा ७२ वटा सहकारीहरू पनि आबद्ध रहेको भन्दै उनले आफूहरूको उद्देश्य नै स्थानीय उत्पादनको बजारीकरण भएको बताए । 

रैथाने एग्री एउटा कम्पनी भए पनि यसबाट मात्रै बिक्री नगरेर किसानलाई नै सिधै आफ्नो उत्पादन ग्राहकलाई बेच्ने वातावरण तयार गर्न हाटबजारको अवधारणा ल्याएको उनको भनाइ छ।  छोटो समयमै दरबारमार्गको हाटबजारमा उपभोक्ताको आकर्षण बढेको र छिट्टै बूढानीलकण्ठ र कालीमाटी  क्षेत्रमा पनि विस्तार गर्न लागिएको ढकालले बताए । 

hatbazzar durbarmarg (15)

साथै यसलाई उपभोक्ताले साथ दिए देशव्यापी बनाउने बताउँदै उनले राजधानीमा पनि आवश्यकताअनुसार थप ठाउँमा विस्तार गर्दै जाने योजना रहेको सुनाए ।

किसानका उत्पादनहरू शुद्ध, रैथाने, विषादीरहित र स्वदेशी भएको खण्डमा जोकोहीले हाटबजारमार्फत बेच्न पाउने उनको भनाइ छ । 

‘पहिलो पटक हामीले यसरी काठमाडौँमा हाटबजार चलाएका हौँ । सिक्दै सिकाउँदै अघि बढिरहेका छौँ’, उनले भने, ‘यो त हरेक वडा वडामा विस्तार गरिनुपर्छ । रैथाने उत्पादनलाई प्रमोट गरिनुपर्छ ।’

उनका अनुसार स्टल राख्न चाहने किसानले रैथाने एग्रीलाई सम्पर्क गर्नुपर्ने छ । त्यसका लागि एग्रीले सात सदस्यीय बजार व्यवस्थापन तथा अनुगमन समिति बनाएको छ । किसानले सिधै सोही समितिलाई फोन गरेर स्टल लिन सक्ने उनको भनाइ छ । यसरी स्टल लिँदा कुनै शुल्क लिनु नपर्ने उनको भनाइ छ । 

hatbazzar durbarmarg (18)

स्टल राख्न उत्पादन रैथाने, विषादीरहित तथा स्वदेशी हुनुपर्ने सर्त भने  रहेको ढकालले दोहोर्‍याए । यो क्राइटेरियामा पूरा भएको खण्डमा आफ्नो उत्पादन हाटबजारमा निर्बाध रूपमा सकिने उनको भनाइ छ । यसरी हाटबजारमा सामान बेच्दा उपभोक्तालाई सस्तो र किसानलाई पनि भाउ आउने उनको भनाइ छ । यसबारे बुझ्न तथा सहजीकरणका लागि किसानले फोन नम्बर ०१–४०१५६६२ वा मोबाइल नम्बर ९८५१०८९९९४ मा सम्पर्क गर्न सक्ने ढकालले बताए । 

अहिले दरबारमार्गमा मात्रै सीमित भए पनि आवश्यकताअनुसार विस्तार गरिँदै जाने भएकाले किसानलाई स्टलको अभाव नहुने ढकालको भनाइ छ । 

हाटबजार सञ्चालनका लागि दरबारमार्गमै ओरियन्ट क्याफे सञ्चालन गर्दै आएका उद्धव ढकालले रैथाने एग्रीलाई निःशुल्करुपमा आवश्यक सहयोग गर्दै आएका छन् । दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकसँगैको उनकै क्याफे परिसरको खुला ठाउँमा रैथाने हाटबजार सञ्चालन हुँदै आएको हो । 

व्यवसायसँगै समाजसेवा पनि होस् भनेर आफूले ठाउँ उपलब्ध गराएको ढकालको भनाइ छ । महानगरपालिकाले अहिले फुटपाथमा व्यापार गर्न रोक लगाएको अवस्था र उपभोक्तालाई पनि सहज हुने बुझेर हाटबजार सञ्चलनमा सहजीकरण गरेको ढकालको भनाइ छ । 

364430566_596505425990486_5827671041251973182_n

‘किसान र उपभोक्ता सिधै जोडिन पाउँदा दुवै पक्षलाई फाइदा भएको प्रतिक्रिया हाटबजारबाट पाएको छु’, उनले भने । 

सिधै किसानले ल्याएको हरियो तरकारीदेखि विभिन्न स्थानीय उत्पादन खरिद गर्न पाउँदा खुसी लागेको शनिवार हाटबजारमा भेटिएका समाजसेवी राजु गुरुङले बताए । यो राम्रो अभ्यास भएकाले यसलाई सबै मिलेर प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । 

हुन पनि किसानले हाटबजारमा आफ्नो सामान ल्याएर थोरै भए पनि आम्दानी गर्न सफल भएका छन् । गोदावरीको पात्लेछापबाट काँक्रो बेच्न पुगेका मुक्तिनाथ महर्जनले आफूले शनिवार शनिवार आएर औसत ३ हजारको हाराहारीमा काँक्रोबाट आम्दानी गर्न सफल भएको बताए । त्यसमाथि स्टल राखेको पैसा पनि तिर्नु नपर्ने भएकाले राम्रो अवसर भएको उनको भनाइ छ । 

हाटबजारमा गाइको घिउ, स्थानीय आलु, पिठो, तेलसहित विभिन्न जिल्लामा उत्पादित गेडागुडी र स्थानीय फलफूल र तरकारीमात्रै होइन पानी घट्ट, ढिकी, जाँतो, हलोलगायतका गाउँले परिवेशका आकर्षक हस्तकलाको समेत प्रदर्शन र बिक्री गर्ने गरिएको छ । जुन हस्तकला सजावटका लागि आकर्षक बन्न सक्छ ।

hatbazzar durbarmarg (2)

हाटबजार सञ्चालनको चौथो सातासम्म आइपुग्दा उपभोक्ताको सकारात्मक प्रतिक्रिया त आएको छ  नै अझ आफूसँग भएका उत्पादन ल्याएर बेच्न पाउँदा बिचौलियाबाट आक्रान्त बनेका किसानलाई थोरै भए पनि राहत मिलेको छ ।  

हाटबजारका थप तस्बिरहरु । तस्बिरहरु : सुवास श्रेष्ठ

hatbazzar durbarmarg (19)hatbazzar durbarmarg (20)hatbazzar durbarmarg (24)

hatbazzar durbarmarg (16)hatbazzar durbarmarg (17)

hatbazzar durbarmarg (7)hatbazzar durbarmarg (8)hatbazzar durbarmarg (9)hatbazzar durbarmarg (10)hatbazzar durbarmarg (11)hatbazzar durbarmarg (12)

hatbazzar durbarmarg (1)hatbazzar durbarmarg (3)hatbazzar durbarmarg (4)hatbazzar durbarmarg (5)hatbazzar durbarmarg (6)

364427420_608537871390403_6969637800282158454_n364529270_961467064939505_2226988196773701205_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप