बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादी बैठकमा सुनकाण्डको चर्चा : नेताहरूको अपराधको बोझ पार्टीले बोक्दैन !

सरकारले ‘फायर’ खोलिसकेपछि पछि हट्न नहुने तर्क
शनिबार, २० साउन २०८०, १८ : ४८
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को राजधानीमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूको आचरण, जीवनशैली र क्रियाकलामाथि केन्द्रीय सदस्यहरूले गम्भीर प्रश्न उठाएका छन् । उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुन लगायत नेताहरूले अनुसन्धान प्रक्रियामा सघाउन उनीहरूले सुझाव दिएका हुन् । 

शुक्रबार बैठकमा बोल्दै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफू संलग्न रहेको छैन भनी विज्ञप्ति जारी गरेर नहुने जिकिर गर्दै केन्द्रीय अनुसन्धान विभाग(सीआईबी) निवेदन दिनुपर्ने बताएका थिए । 

‘सुनकाण्डमा महरा लगायतका नेताहरूको नाम जोडिएका छन् । उहाँहरूले अब म निर्दोष छु भनेर पन्छिन पाउनुहुन्न । कम्तीमा उहाँले मलाई अनुसन्धानको घेरामा तानियो र ममाथि छानबिन होस् भनेर निवेदन दिनुपर्छ । उहाँहरूले म निर्दोष छु भनेर हुँदैन, निर्दोष हो वा होइन अनुसन्धान गर्ने निकायले भन्दिनु पर्छ । निर्दोष भए सफाइ पाउनुपर्छ, नभए दण्डित हुनुपर्छ । यो बोझ पार्टीले बोक्न सक्दैन,’ दाहाले केन्द्रीय समिति बैठकमा भने । 

पार्टीले नेताहरूलाई माफिया, तस्करीसँग सम्बन्धन राख्न नभई जनताको राम्रो काम गर्न पठाएको उनको भनाइ थियो । 

यसै गरी केन्द्रीय हिमाल शर्मा, माधव सापकोटा, सरल सहयात्री पौडेल लगायत केन्द्रीय सदस्यहरूले नेताहरूको आचरण ठिक नहुँदा पार्टी निरन्तर बदनाम र कमजोर हुँदै गएको आरोप लगाए  । शनिबार बैठकमा बोल्दै पौडेलले विचारलाई केन्द्रीकरण गर्ने र विधिलाई  व्यवस्थित नगरेसम्म पार्टी रूपान्तरण नहुने जिकिर गरे ।  पार्टी रूपान्तरणका लागि पहिला नेतृत्व रूपान्तरण हुन जरुरी रहेको धारणा राखे ।  

‘नेताहरूले विधि र प्रक्रिया मात्र भनेर हुँदैन, त्यसअनुसार व्यवहारमा लागु हुनुपर्छ । नेतृत्व रूपान्तरण ठिक नभएसम्म पार्टी रूपान्तरण हुन सक्दैन । मङ्सिरमा विधान सम्मेलन गरी यी सबै विषयको हल खोजिनुपर्छ’, उनले भने । 

केन्द्रीय सदस्य सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताए । नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठेको उनको भनाइ छ । अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी  अहिलेसम्म कुनै उजुरी नआएको उनले बताए । यद्यपि सो प्रकरणमा संलग्न भएको प्रमाणित भएमा जोसुकै भए पनि कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिएको उनको भनाइ छ । 

अहिलेसम्म हाम्रा कुनै नेताविरूद्ध पक्राउ पुर्जी जारी भएको छैन । मिडियाले समाचार बनाएको भरमा पक्राउ गर्ने कुरा भएन । प्रधानमन्त्रीज्यूले यो प्रकरणमा संलग्न रहेका प्रमाणित भए जोसुकै भए पनि छोड्दिन भनिसक्नुभएको छ । क्विन्टल सुन प्रकरणमा छानबिनको लागि सरकारलाई  सबैले सहयोग गर्नुपर्छ । 

अर्का केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बाहिर चर्चामा आएजस्तै माओवादी नेताहरू संलग्न भएको पुष्टि भए कसैलाई नछाड्ने भनाइ राखे । 

‘सुन प्रकरणमा ज–जसको नाम बाहिर आएको छ, उनीहरूमाथि छानबिन होस् । सत्य तथ्य सरकारले बाहिर ल्याउनुपर्छ’, उनले भने, ‘हाम्रै पार्टीका नेता नेता तथा कार्यकर्ता भए पनि छाड्नुहुन्न । अपराध कर्म गर्नेलाई सजाय हुनुपर्छ । नेता बचाउने कि पार्टी बचाउने भन्ने कुरा अहम् सवाल बनेको छ ।’

यसै गरी केन्द्रीय सदस्य नारायणी शर्माले सरकारले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छे परे पनि छोड्नु नहुने बताए । उनले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गरे । सबुत, प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनको भनाइ छ । 

‘भ्रष्टाचारलाई खतम गरी सुशासनको स्थापना गर्नको निम्ति यदि पार्टीभित्र पनि कोही मान्छे, कुनै नेता वा जो कोही भए पनि छोड्नु हुँदैन । यसमा सरकार निर्मम ढङ्गले लाग्नुपर्छ’, उनले भने । 

रामकुमार शर्माले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न ‘फायर’ खोलिसकेपछि पछि हट्न नहुने बताए । सरकारले थालेको अनुसन्धान प्रक्रियामा पार्टी भित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने माग केन्द्रीय समितिमा उठेको जानकारी दिए । 

‘वर्षमान पुनले म लगायत कुनै पनि व्यक्तिमाथि यदि प्रश्न उठ्छ र शङ्का सरकारलाई लाग्छ भने छानबिन गरोस् । दोषी ठहरियो भने हामी कारबाही भोग्न तयार छौँ भनिसक्नुभयो ।  केन्द्रीय सदस्यहरूले पनि सरकारको तर्फबाट फायर खोलिसकेपछि हाम्रो पार्टीको होस् वा बाहिरको  भए पनि जो–जो दोषी छ, उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर बोलेका छन्’, उनले भने । 

त्यस्तै अर्का केन्द्रीय सदस्य मुक्ति प्रधानले माओवादीको शीर्ष नेताहरू नै सुन प्रकरणमा जोडिए कारबाही हुने धारण राखे । राष्ट्रघाती काम गर्नेविरूद्ध सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने भनाइ राखे । 

‘सुशासनलाई ठोस र मूर्तरूप दिन सरकारले राम्रो कामको सुरुवात गरेको छ । यो प्रकरणमा हाम्रा पार्टीका शीर्ष नेताहरू संलग्न भएको प्रमाणित भए उनीहरूलाई छाडिन्न । यसमा ढुक्क भए हुन्छ । प्रमाणसहित आउनुपर्छ । कसैलाई छोड्ने छुट छैन । यो राष्ट्रघाती काम हो । नेपाली जनतालाई सुशासन, समृद्धि, सामाजिक न्यायको प्रत्याभूति दिनका लागि पार्टी र सरकार निर्मम हुन जरुरी छ’, प्रधानले भने । 

केन्द्रीय सदस्य रामनारायण बिडारीले नेताहरू पार्टी हितभन्दा पनि व्यक्तिगत धन दौलत जोड्नतिर ध्यान गएकाले माओवादी आन्दोलन बदनाम र कमजोर भएको तर्क गरे । 

‘नेताहरूको ध्यान देश, जनता, पार्टीप्रति कम र माफिया, तस्कर, धनाढ्यतर्फ बढी गएको देखिन्छ’, बिडारीले भने, ‘यस्ता कार्यले पार्टी दुब्लाउँदै गएको छ । नेता मोटाउँदै गए । अन्ततः पार्टी बदनाम हुने र जनताबीच नाङ्गिने अवस्थामा आयो । यदि दोषी देखिए सरकारले कारबाही गरी पार्टीलाई बचाउनुपर्छ ।’

नेताहरूले आचरण सुधारका लागि अहिलेसम्म आयआर्जन भएका धन सम्पत्तिको स्वघोषणा गर्नुपर्ने उनको भनाइ छ । 

महरा र वर्षमानको प्रष्टिकरण ः दोषी देखिए कानुनी कठघरामा उभिन तयार छु

सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि  खिचेको सामूहिक तस्बिरलाई लिएर आफूबारे प्रश्न उठेको भन्दै  उपमहासचिव वर्षमान पुनले छानबिन गर्न माग गरेका छन् । 

‘सरकारले भ्रष्टाचार, सुन प्रकरण लगायत विषयमा थालेको अनुसन्धान  कार्यलाई सहयोग गर्न म तयार छु । हामी सबै तयार हुनुपर्छ । तर ममाथि जुन किसिमको गम्भीर आरोप लागेको छ । छानबिन होस्, दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन म तयार छु’, बैठकमा उनले प्रस्टीकरण दिए ।   

शनिबार केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको स्पष्टीकरण दिँदै छानबिनबाट दोषी ठहरिए कारबाही भोग्न तयार भएको बताए । गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बिरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए ।

यसअघि उपाध्यक्ष महराले विज्ञप्ति जारी गर्दै सुन प्रकरणमा आफू संलग्न नरहेको प्रस्टीकरण  दिँदै छानबिन गर्न सरकारसँग आग्रह गरेका थिए । दोषी प्रमाणित भएमा आफू कानुनी कारबाही भोग्न तयार रहेको उनले उल्लेख गरेका थिए । सुन तस्करहरूसँग महराको बाबु–छोरा, पुनको श्रीमान्–श्रीमती संलग्न रहेको सीआइबीको अनुसन्धान फाइलले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप