‘तिम्री स्वास्नी र म’ का कथाकारलाई सम्झँदा...
नेपाली साहित्य क्षेत्रका चर्चित व्यक्तित्व हुन् मनु ब्राजाकी । ‘तिम्री स्वास्नी र म’ ब्राजाकीको चर्चित कथा हो । यो कथालाई शीर्षक बनाएर उनले कथासङ्ग्रह नै प्रकाशित गरे । त्यो सङ्ग्रहले २०४६ सालको साझा पुरस्करबाट समेत सम्मानित हुने अवसर पायो । ब्राजाकीको जन्म सन्दर्भ पारेर ब्राजाकीको स्वभाव र उनका कृति र कीर्तिका बारेमा केही चर्चा गरिएको छ ।
१९९९ साउन १९ गते सोमबारका दिन महोत्तरी जिल्लाको औरही–२ को नैनीगौरी गाउँमा ब्राजाकीको जन्म भएको थियो । लिप्तमानसिंह भण्डारी र शान्तीदेवीका ज्येष्ठ सुपुत्र ब्राजाकीको न्वारानको नाम भने चेतमानसिंह भण्डारी हो । साहित्यका क्षेत्रमा उनी मनु ब्राजाकीबाट प्रसिद्ध भए । यस नामको पनि विशिष्ट अर्थ छ । संस्कृतमा मनुको अर्थ मनुष्य र ब्रजको अर्थ संसार त्याग्ने भन्ने हुन्छ । साहित्यमा कीर्ति कायम गर्दै २०७४ माघ १९ गते उनले यो संसारबाट बिदा लिए ।
चर्चित कथाकार
ब्राजाकीको लेखनको खास विधा भनेको कथा नै हो । कथा सिर्जनाबाटै उनी नेपाली साहित्य जगत्मा प्रसिद्ध भएका हुन् । २०१६ सालमा पोखराको मल्टिपर्पस नेसनल हाइस्कुलमा म्याट्रिक पढ्दादेखि उनको कथा लेखनको सुरुवात भएको देखिन्छ । तर प्रकाशनका दृष्टिले भने जनकपुरबाट निस्किने ‘अञ्चल सन्देश’ पत्रिकामा भ¥याङ (२०१९) कथा प्रकाशित भएपछि सार्वजनिक लेखन यात्रा प्रारम्भ भएको देखिन्छ । यस कथामा जनकपुरकै एक निम्नवर्गीय कर्मचारीलाई पात्र बनाएर त्यसको उत्थान र पतनलाई प्रतीकात्मक रूपमा देखाएका छन् ।
त्यसपछि उनले निरन्तर लेखिरहे, प्रकाशित गरिरहे । त्यसक्रमा उनका अवमूल्यन, आकाशको फल, तिम्री स्वास्नी र म, भविष्य यात्रा, पारदर्शी मान्छे, अन्नपूर्णाको भोज, मनु ब्राजाकीका कथालगायत कथासङ्ग्रह प्रकाशित छन् ।
प्रवृत्तिगत दृष्टिले ब्राजाकी प्रकृतिवादी कथाकार हुन् । ‘मान्छेसँग एउटा सभ्यता, संस्कार छ, मान्छेले बनाएको सभ्यतामा यो गर्न हुन्छ, यो हुँदैन भन्ने हुन्छ । अर्को चाहिँ मान्छेको उत्पत्तिदेखि आएका खराबीहरू पनि सँगसँगै हुन्छन्, मान्छेको उत्पत्तिकालदेखि नै आएको गुण हुन्छन्, त्यो पक्षको बढ्ता उजागर गर्ने साहित्य प्रकृतिवादी हो,’ प्रा.डा. कृष्णहरि बराल भन्छन्, ‘त्यस्ता खालका कथा, यथार्थवादी कथा लेखन ब्राजाकीको विशेषता हो ।’
त्रिभुवन विश्वविद्यालयमा भुन्टीको भविष्य र एकान्त कथा स्नातकोत्तर तहमा पढाइ हुन्थ्यो । ती कथा प्रा.डा. बरालले पढाउँथे । उनका अनुसार परम्परित ढङ्गका साथै प्रयोगधर्मी कथा पनि ब्राजाकीले लेखे तर ‘कन्टेन्टवाइज’ चाहिँ प्रकृतिवादी कथा र यथार्थवादी कथा धेरै लेखेका छन् ।
गजलमा प्रेरणा र प्रसिद्धि
२०३८ साल मध्यतिर ज्ञानुवाकर पौडेलसँग मनु ब्राजाकीको भेट भएको थियो । त्यतिबेला ज्ञानुवाकरले गजल क्षेत्रमा प्रसिद्ध कमाइसकेका थिए । उनको त्यो प्रसिद्धबाट ब्राजाकी प्रभावित भएका थिए ।
मैले पनि गजल लेख्या छु, तर छापिएका छैनन्, सम्पादकसम्म मेरो आउने–जाने छैन भनेर ब्राजाकीले पौडेललाई सुनाए । त्यतिबेला ब्राजाकीलाई आफ्ना गजललाई गजलको मान्यता नै नदेलान् कि भन्ने चिन्ता थियो । ज्ञानुवाकरले आफ्ना सिर्जनालाई प्रचार प्रसारमा ल्याउन हौसला दिएपछि दुई चारवटा गजल नै दिए । ती रचनाहरू मिर्मिरे, मधुपर्क, अभिव्यक्ति लगायतका साहित्यिक पत्रिकामा दिएपछि सबै छापिए । त्यसपछि ब्राजाकी गजलकारका रूपमा चिनिए । सम्पादकहरूले पनि उनीसँग गजल माग्न थाले । अनि उनी कथाकार तथा गजलकारका रूपमा प्रसिद्ध भएका थिए ।
ब्राजाकीको पहिलो गजल २०४२ मा ‘उतैतिर भाग्दो रहेछु’ शीर्षकमा रचना पत्रिकामा प्रकाशित भएको थियो । त्यसपछि उनले निरन्तर गजल लेखि नै रहे । त्यसक्रममा उनले गजल गङ्गा, काँडाका फूलहरू, आगोले पोल्छ पानीले झन् पोल्छ, मनु ब्राजाकीका रोज्जा गजलहरू गजलसङ्ग्रह प्रकाशित गरे । चारवटा गजल सङ्ग्रह प्रकाशित भए पनि उनले गायनमा भने चासो राखेनन् ।
विषयवस्तुलाई विवेकपूर्ण ढङ्गले, भिन्नतापूर्ण ढङ्गले प्रस्तुत गर्ने, सामाजिक विकृतिमाथि प्रहार गर्ने गजलकार हुन् उनी । सुरु सुरुका चरणमा उनले गजलका समालोचना लेखेका छन् ।
ब्राजाकीले प्रेमसम्बन्धी गजल पनि लेखेका छन् । अधिकांशतः अक्षरिक लयमा गजल लेख्ने गजलकार हुन् भन्छन् प्रा.डा. बराल । ‘चारैवटा गजल सङ्ग्रहमा चारैवटा फम्र्याटमा गजल लेखेका छन्,’ बराल भन्छन्, ‘विषयवस्तु चाहिँ धेरै प्रस्तुत गर्ने, ठाउँ ठाउँमा व्यङ्ग्य गर्ने प्रवृत्ति उनका गजलमा भेटिन्छ ।’
कथा गजलका अतिरिक्त उनले निबन्धहरू पनि प्रशस्तै लेखेका छन् । उनका के हाम्रो संस्कृति चोखो छ ?, कुमुद देवकोटा एक सम्झना, नोबेल पुरस्कार र जोसेफ ब्रोड्रस्की, जनता साझा स्वास्नी, फोहोरमैलाको कन्टेनरमा के छ ? नेपालको समर्थन भारतको विरोध होइन जस्ता निबन्धसङ्ग्रहहरू समेत प्रकाशित छन् । यो सङ्ख्याका कृति प्रकाशन तथा प्रसिद्धिले उनको साहित्यिक उचाइलाई सहजै देखाउन सक्छ ।
स्वाभिमानी साहित्यकार
उनको यो साहित्यिक क्षमता र गहनतालाई हेरेर बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले मनु नेवारीको मनुजस्तै मात्र हुँदा हुन् त एकजना चेतमान मात्र हुन्थे भनेका छन् । ब्राजाकीका भतिजा सम्बन्धित मन्त्रालयको पटक पटक मन्त्री भए तर मनु एकपटक पनि जागिरे प्राज्ञ भएनन् । ‘यो उनको अक्षरको स्वाभिमानलाई बिर्सन मिल्छ र ?’ रोदन भन्छन्, ‘मनुका भन्दा कमजोर अक्षर भएकाहरू पुरस्कारका भारीले थिचिएका छन् तर मनुले कहिले मेरो मूल्याङ्कन भएको छैन भनेर आर्तनाद गरेका छैनन् । यो मनु हुनुको महानता होइन ?’ उनीसँग श्रद्धाले नझुक्ने नेपाली साहित्यमा कमै होलान्, तर उनले कसैलाई झुकाउन खोजेको देखिँदैन । उनी धेरै नै अग्ला कथाका हुन् तर उनले कसैलाई होचा देखेका छैनन्, बुझ्ने यसरी हो मनुलाई भन्छन् रोदन ।
कृष्णहरि बरालले ‘गीतसिद्धान्त र इतिहास’मा ब्राजाकीका गजलको समीक्षा गरेका छन् । उनका गजलमा सुरासुन्दरीको वर्णनका साथै धार्मिक अन्धविश्वास तथा राजनीतिक, आर्थिक तथा सामाजिक विकृतिप्रति व्यङ्ग्य रहेको र १२, १४ तथा १६ अक्षरमा आधारित लयमा धेरै गजल लेखेको बरालले चर्चा गरेका छन् । त्यस्तै गरी प्रा.डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ ले अनुराग पत्रिकामा नेपाली गजल लेखनको प्रादुर्भावमा विशेष योगदानहरूको लामो सूची प्रस्तुत गर्दै मनु ब्राजाकी पुनर्जागरण कालका सशक्त गजलकारहरूमध्ये एक हुन् भनेका छन् ।
सम्मान तथा पुरस्कार
जीवनमा लेखन पेसा मात्र अपनाएर बाँचेका साहित्यकार हुन् ब्राजाकी । जीवन निर्वाहका लागि उनले अन्य कुनै पेसा अपनाएनन् । लेखेरै जीवन विताए, धेरै कृति प्रकाशित गरे । साहित्य क्षेत्रमा पुर्याएको योगदानलाई धेरैले कदर पनि गरे । त्यसक्रममा उनले ‘मैनाली कथा पुरस्कार’, ‘साझा पुरस्कार’, ‘गङ्गालक्ष्मी पुरस्कार’, ‘सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार’, ‘महाकवि देवकोटा पुरस्कार’, ‘पद्मश्री पुरस्कार’, ‘गोपालप्रसाद रिमाल सम्मान’, ‘शङ्कर कोइराला स्मृति सम्मान’ लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट विभूषित भए ।
मदिरा पिउँथे
धेरै साहित्यकारहरू ब्राजाकी मदिरा पाउँथे भन्छन् तर उनले पिएर कोही कसैलाई हेलाहोचो गरेनन् । पत्रकार सुनील पुरीसँग उनको निकै गहिरो दोस्ती थियो भन्छन् सुविद गुरागाईं । मदिराका पिउँदा ‘दाजु तपाईं किन यति पिउनुहुन्छ ?’ भनेर पुरीले सोध्दा कथाकार भएले नयाँ नयाँ कथाका कथानक खोज्न मदिरा पसलहरू जाने गरेको उनी बताउँथे । मदिरा पसलमा विविध किसिमका पृष्ठभूमि र स्वभावका मान्छेहरू आउँछन्, कथा सामग्री र पात्रहरू बनाउन पाइने हुनाले यहाँ आउँछु र पात्रहरूसितै घुलमिल भएर कथा बुन्छु भन्थे उनी । पात्रहरू उनका मस्तिष्कमा आएर छर्लङ्ग भएपछि मात्रै कथा लेख्छु भन्थे । ‘उहाँले मसँग मात्र होइन, धेरै जनासँग भन्नुभएको छ,’ पुरीले लेखेका छन्, ‘पिएका बेलामा म लेख्न सक्दिनँ, नशाले छोडेपछि मात्र लेख्छु । तर गजल चाहिँ जुनसुकै बखत पनि लेख्न सक्छु ।’
व्यक्तिगत स्वभाव
सुविद गुरागाईंका अनुसार ब्राजाकीमा अरू साहित्यकारहरूको भन्दा छुट्टै स्वभाव थियो । आफ्ना रचना कसैलाई पनि सित्तैँमा छाप्न नदिने स्वभाव उनको थियो । ‘पहिला पैसा ल्याऊ अनि रचना दिन्छु भन्ने स्वभाव उनको थियो,’ गुरागार्इं भन्छन्, ‘कसैले मागेनन् भने पनि पत्रिका कार्यालयमा जाने, आफ्नो रचना दिने अनि पैसा मागिहाल्ने गर्नुहुन्थ्यो ।’ त्यसपछि उसले छापोस् कि राखोस् कि वास्तै नगर्ने, उसले आफ्नै नाममा छाप्यो भने पनि उनले केही आपत्ति गर्दैन थिए । कसैलाई पनि आफ्ना सिर्जना त्यसै नदिने, दिँदा पहिले नै भुक्तानी माग्ने स्वाभाव उनको थियो ।
नजिकका साथीभाइले आफ्ना पत्रिकामा सिर्जना माग्दा पनि पहिले पैसा माग्थे, एक सय, दुई सय, तीन सय जति सक्छन् माग्थे । पैसा नदिए दिँदैन थिए । उनका सिर्जना कतै न कतै बिकिहाल्थे । जे लेखे पनि बिक्थ्यो भन्छन् गुरागाईं ।
ब्राजाकीका साथीहरू आफूभन्दा जुनियर भाइहरू नै हुन्थे । खासगरी उनको बारेमा चासो राख्ने, उनका सिर्जना अध्ययन र प्रतिक्रिया दिनेहरूसँग उनको सङ्गत हुन्थ्यो । उनका निकटवर्ती साथीहरूमा किशोर नेपाल, सन्तोष भट्टराई, कुमुध देवकोटा, ज्ञानुवाकर पौडेल, सुविद गुरागाईं लगायत थिए ।
ब्राजाकी साहित्यिक कार्यक्रमहरूमा प्रायः जाँदैनथे । कसैले निकटवर्ती साथीहरूले कर गरेर लगे भने पनि कार्यक्रममा धेरै बस्दैन थिए । ‘उहाँ आफ्ना रचना आफैँ वाचन गर्नुहुँदैन थियो,’ गुरागाईं भन्छन्, ‘जबर्जस्ती कर गर्यो भने एक लाइन पढे जस्तो गरिदिनुहुन्थ्यो, कहिले आफैँ पढिदिनुस् भन्नुहुन्थ्यो ।’
ब्राजाकीमा अध्ययनको विशालता थियो, जुनसुकै विषयमा जिज्ञासा राखे पनि उनले सन्तुष्ट हुनेगरी जवाफ दिन्थे । ‘अध्यात्मको बारेमा कुरा गर्दा, विज्ञानको कुरा गर्दा, औषधी विज्ञानकै कुरा गर्दा, कथा, समाज आदिका बारेमा कुरा गर्दा पनि चित्तबुझ्दो जवाफ दिनुहुन्थ्यो,’ गुरागाईं सुनाउँछन् ।
पत्रमित्रताबाट ब्राजाकीसँग गुरागाईंको दोस्ती भएको थियो । जोसुकैले पनि ब्राजाकीलाई पत्र पठायो भने त्यसको जवाफ दिन्थे भन्छन् उनी । पत्र पाएपछि बेवास्ता गर्दैन थिए । हरेक व्यक्तिलाई सम्मन गर्ने स्वाभाव थियो उनको । गाली नै गरे पनि सम्मानित ढङ्गले प्रस्तुत हुन्थे भन्छन् गुरागाईं ।
घरपरिवार
महोत्तरीको औरही भन्ने ठाउँका एक सम्पन्न परिवारका सदस्य थिए ब्राजाकी । एक समयका जमिनदार नै हुन् उनी । सुरुमा उनी धोवीघाटमा डेरा लिएर बसेका थिए ब्राजाकी । सुविद पनि काठमाडौँ आएपछि केही समय पेइङ गेस्टका रूपमा ब्राजाकी बसेकै फ्ल्याटको एउटा कोठामा बसेका थिए । त्यतिबेला ब्राजाकीकी श्रीमती एक बालविद्यालयमा काम गर्थिन् ।
काठमाडौँ भैँसेपाटीमा छोरीले घर बनाएपछि उनी त्यहीँ बस्थे । काठमाडौँमै उनको आफ्नै नयाँ घर बन्दै थियो तर गृह प्रवेश हुन पाएन भन्छन् गुरागाईं । ‘ब्राजाकीका दुई छोरा एक छोरी हुन् । दुवै छोरा बिते,’ गुरागाईं भन्छन्, ‘एक छोरा कानुन व्यवसायी थिए, अर्का व्यापारी थिए ।’