शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुन प्रकरणबारे वर्षमान– ‘दोषी प्रमाणित भए कानुनी कठघरमा उभिन तयार छु’

शनिबार, २० साउन २०८०, १५ : २३
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । शनिबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै छानबिन प्रक्रिया अगाडी बढाउन आग्रह गरेका हुन् । 

करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए । त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका थिए ।

‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ’, पुनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि  तयार हुनुपर्छ ।’

 उनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि  खिचेको सामूहिक तस्बिरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो । गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बिरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए ।

बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रूपमा सदुपयोग गर्नुपर्ने बताए । भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो ।

पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने, ‘ उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ ।’ पुनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको चर्चा गरे । पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने विचार पुनले व्यक्त गरे । पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे । पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए । यस्तो अवस्थामा सरकार प्रमुख मोर्चा भएको निष्कर्ष उनको थियो । पुनले डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखे ।

फरक प्रसङ्गमा उनले आफू लामो समय स्वास्थ्य उपचारमा संलग्न हुनुपरेका कारण पार्टी नेता कार्यकर्ताका बीचमा उपस्थित हुन नसकेको स्मरण गरे । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा चीनमा उपचार गराएर फर्किएको र पूर्ण स्वस्थ भएको जानकारी केन्द्रीय समितिलाई गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप