अतिक्रमण र प्रदूषणको मारमा जनकपुरका तालतलैया
मिथिला संस्कृति र सभ्यताको केन्द्र जनकपुरधामको उपस्थिति वैदिक वाङ्मय, पुराण तथा धार्मिक साहित्यहरूले बताउँछन् । त्रेता युगमा उत्कर्षमा रहेको मिथिला द्वापर युगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा १६औँ शताब्दीपछि पुनः प्रकट भएको पाइन्छ ।
यस हिसाबमा मिथिला सभ्यतालाई ग्रिक सभ्यताभन्दा पुरानो मान्न सक्छौँ, तर सरकार र सहयोगी निकायका तर्फबाट मिथिलाको यस पुराताŒिवक विरासतको उचित सम्बोधन हुन नसकेकाले ‘जनकपुर कति पुरानो’ भनेर पुराताŒिवक निक्र्योल भने निकाल्न सकिएको छैन ।
आजको विश्व बनावटी पर्यटन बजारमा आश्रित भइरहँदा यस क्षेत्रले स्वनिर्मित सम्पदा र विविधतामार्फत आफ्नो अलगै पहिचान बनाउन सफल छ । सामाजिक र सांस्कृतिक विविधताले भरिपूर्ण मिथिला क्षेत्रको भाषा–संस्कृति, चाडपर्व, धार्मिक अनुष्ठान, रहनसहन र चित्रकला एक सपाट परिचय हो नै, साथसाथै जनकपुरको दोस्रो परिचय यहाँका तालतलैया हुन् । जनकपुर ‘पोखरी नै पोखरीको नगर’ हो ।
यहाँका पोखरीहरू आफैँमा विगतको वातावरण अथवा हावापानीलाई आफ्नो गर्भमा सुरक्षित राख्ने प्राकृतिक दस्तावेज हुन्, जसले यस क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । तालतलैयाकै कारण जनकपुर र माछा पर्यायवाची भएका हुन् ।
पोखरीलाई पोखरी वा ताल नभनेर ‘सागर’ भन्ने मिथिला संस्कारले वास्तवमै पोखरी र धार्मिक सद्भावलाई एकापस जोडिरहेको संस्कृतिविद् एवं पत्रकार प्रफुल्ल घिमिरे बताउँछन् । ‘पोखरीले अत्यधिक गर्मीको समयमा पनि सहरलाई हावा दिन्छ भने अत्यधिक जाडोको दिनमा तुलनात्मक तातो हावा दिन्छ,’ उनी भन्छन् । वातावरणीय सन्तुलनदेखि मानव स्वास्थ्यमा सोझो सकारात्मक सम्बन्ध राख्ने यस्ता सागर खन्ने काम सुरकिशोर दास आएसँगै सुरु भएको बताइन्छ ।
सन् १७२७ मा मकवानपुरका राजा मानिकसेनले रामदासलाई जानकी मन्दिरको महन्त घोषणा गरेको लिखतअनुसार रामदास आधुनिक जनकपुरका संस्थापक सुरकिशोर दासका चौथो पुस्ताका शिष्य थिए । रामदास जानकी मन्दिरका पहिलो महन्त हुन् र उनीभन्दा पहिलेका सुरकिशोरदास, प्रयागदास र जनकवैदेही दासलाई सन्त भनिएको छ, (रोशन जनकपुरीसँगको कुराकानी) ।
सौन्दर्यीकरण र सहरीकरणको मारमा सागर
राष्ट्रिय ताल संरक्षण विकास समितिका अनुसार, देशभर पाँच हजार तीन सय ५८ वटा र धनुषामा मात्रै दुई सय ३० वटा साना–ठूला तालतलैया रहेका छन् ।
जनकपुर टाउन प्रोफाइल २०४८ का अनुसार, जनकपुरधाममा ५८ वटा धार्मिक पोखरी र अन्य निजीलगायत जोडेर ८२ पोखरी थिए । यीमध्ये २४.१ प्रतिशत ठीक अवस्थामा, ४३.१ प्रतिशत नराम्रो अवस्थामा र ३२.८ प्रतिशतले आफ्नो अस्तित्व गुमाएको ‘बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुरधाम’ (२०७३÷७४) को प्रतिवेदन छ । पछिल्लो ६ वर्षको पछिल्लो तथ्यांक नआइसकेकाले अवस्था झनै खराब रहेको आशंका पनि गर्न सकिन्छ ।
जनकपुरधामका तालतलैया मिथिला महात्म्यले निर्देश गरेका धार्मिक विश्वाससँग गाँसिएका अति प्राचीनमध्ये एक प्राकृतिक सम्पदा हुन् । दलदले क्षेत्र देख्नेबित्तिकै जेसीबी लगाउने, पोखरी खन्ने अनि पोखरीमा डुङ्गा हालेर आम्दानी गर्ने कामले यहाँ पनि निरन्तरता पाएको देख्न सकिन्छ ।
अर्कोतर्फ, जनकपुरमा ‘पहाडी गाछी’को अस्तित्व समाप्त भइसकेको छ भने ‘तिरहुतिया गाछी, बारहबिघा, बाबनबिघा, रानीबजार, जानकी फूलबारी’जस्ता सम्पदा धराशयी हुने क्रममा छन् ।
तालतलैयाको संरक्षण हुन सकेमा यस्ता महत्त्वपूर्ण गाछीको पनि स्वतः जगेर्ना हुनेछ । पानी छ भने कुनै पनि भूमिले वनस्पति उमारिरहेको छ भन्ने पुष्टि हुन्छ । तालतलैया र पोखरीले यहाँको जमिन मलिलो र रसिलो बनाउन एवं वनस्पतिको मात्रा र उपयोग बढाई पर्यटकीय सम्भावनाको ढोका उघार्न महत्त्वपूर्ण भूमिका खेल्छ, तर महत्त्वपूर्ण गाछीहरू नष्ट हुँदै जानुले राम्रो संकेत गरेको छैन ।
सुन्दरता र पर्यावरणको आपसी महत्त्व नबुझी राजनीतिक स्वार्थबाट प्रेरित भई पोखरीमाथि अतिक्रमण बढ्नु आफैँमा दुःखद रहेको इतिहासकार एवं पत्रकार श्यामसुन्दर शशि बताउँछन् । ‘मैले यहाँको पोखरीको पानी हत्केलामा लिएर खाएको छु । यहाँका महिलालाई सोध्नुस्, खाना पकाउने पानी यिनै तालतलैयाकै हुन्, तर अहिले कुनै पनि पोखरीमा खुट्टा पखाल्न अप्ठेरो लाग्छ । पोखरी वरपर पुग्दा नाक समाउनुपर्छ,’ उनी भन्छन् ।
जनकपुरका तालतलैया नुहाउन लायक मात्रै बनाउन सकियो भने पर्यटनको एउटा आधार तय हुने एवं जनकपुर विश्वसम्पदा सूचीमा सूचीकृत हुने थप आधार तयार हुने शशिको मत छ । बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल प्लास्टिकजन्य फोहोरमैलाले भरिँदा पोखरीको जैविक विविधता मासिँदै गएकोप्रति उनी चिन्ता व्यक्त गर्छन् ।
सौन्दर्यीकरणका नामको व्यापारिक लाभबाट प्रेरित भई गरिएका भवन निर्माण, बाटोघाटो र बजार क्षेत्रको चहलपहलले जनकपुर क्षेत्रका सम्पूर्ण सागरको आयु घटिरहेको देख्छन्, मिथिला कला नाट्य परिषद्का अध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता परमेश्वर झा । ‘२०२६ पश्चात् अनधिकृत रूपमा बढेको सहरी संरचना, सरोकारवाला निकायको उदासीनता एवं बदमासी र नाफामुखी माछा व्यवसायले जनकपुरको जल पर्यटन र सांस्कृतिक विरासतलाई धराशयी बनायो,’ झा भन्छन्, ‘यी पोखरीमा नुहाउँदा शरीरबाट रोग भाग्ने होइन, रोग लाग्ने स्थिति छ । धर्म गर्न आएका भक्तजनमाथि हामीले यस प्रकार पाप गर्नुहुँदैन ।’
राजा जनकले हरेक दिन बिहान र साँझ स्नान गर्ने सागर, त्रेतायुगमा ऋषिमुनिले स्नान गर्ने पोखरीहरू, राजा दशरथ, भगवान् राम तथा गुरु विश्वामित्रले स्नान गरेको पोखरीका धार्मिक किंवदन्तीले यस क्षेत्रको प्रचारप्रसार गरिएको बताउँछन्, होटल व्यवसायी सङ्घ नेपालका मधेस प्रदेश प्रमुख एवं व्यवसायी विजय झुनझुनवाला । ‘भारतबाट मिथिला आइरहेका पर्यटक हाम्रो प्रचारप्रसारको बलमा धार्मिक किंवदन्तीको बलमा यहाँ आइपुगेका हुन्, उनीहरूलाई स्वच्छ पानी देखाउन सके मात्रै पुग्छ, अरू केही गर्नुपर्दैन । धार्मिक महत्त्व बोकेको पानी छुन पनि घिनाएर उनीहरू भागिरहेका छन्, यो दुःखद कुरा हो,’ उनले भने ।
उपमहानगरपालिकाको पर्यटन विभाग प्रमुख राजन कुमार सिंह पालिकाले समस्याको पहिचान गरिसकेको र समाधानका प्रयास थाल्ने क्रममै रहेको बताउँछन् । ‘हामी आएको एक वर्ष मात्रै भयो । अनधिकृत अतिक्रमण र बर्सेनि माटो थुप्रिँदै जानु नै पोखरी संरक्षणको प्रमुख चुनौती हो,’ उनी भन्छन् ।
पोखरीमा बगेर आउने भल पानी, पोखरी क्षेत्रमा पर्ने पानीको वार्षिक मात्रा र वाष्पीकरण भएर जाने पानीको वार्षिक मात्राको मूल्याङ्कनसहितको योजनाले पोखरी संरक्षण गर्न सकिने उनको भनाइ छ । ‘पोखरीको वरिपरिको क्षेत्र अतिक्रमण रोक्ने प्रयास एवं सरसफाइलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,’ उनले भने, ‘यसका लागि स्थानीयवासीबाट सहयोगको अपेक्षा गरिएको छ ।’
जैविक विविधता सङ्कटमा
पोखरीहरू भूमिगत जलभण्डारणको पुनर्भरण गर्ने प्राकृतिक माध्यम हुन् । पोखरी लगायत सिमसार क्षेत्र मासिनु भनेको जैविक विविधता मासिनु हो ।
कछुवा, बकुल्ला, पानीहाँस सबै सिमसारमा आश्रित छन् । सिमसार एवं तालतलैयामा आश्रित जीवहरूको सूची लामो छ । यी जीवले प्राकृतिक सन्तुलन र जैविक विविधता बढाएका छन्, पारिस्थितकीय प्रणाली जोगाउन भूमिका खेलेका छन् । वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसँग मात्र नभएर तालतलैया जैविक विविधतासँग पनि सम्बन्धित छ । तालतलैयाले कार्बन सञ्चित गरेर राख्छन् । यसले संसारमा उत्सर्जन हुने ३० प्रतिशत कार्बन सोस्ने गरेको अध्ययनले देखाएका छन् । प्रकृतिमा हुने खाद्य चक्रको सन्तुलनमा एवं प्रकोप न्यूनीकरणमा पनि यसले भूमिका खेलेको हुन्छ ।
अर्कोतर्फ प्रायः पोखरी हाम्रा परापूर्वकालदेखि चलिआएका चाडपर्व र संस्कृतिसँग जोडिएका छन् । यसले के देखाउँछ भने हाम्रा पितापुर्खाले पोखरीको महत्त्व राम्रोसँग बुझेका थिए र सोही अनुरूप पोखरीको दीर्घकालीन संरक्षण र संवद्र्धनको व्यवस्था पनि मिलाएका थिए । पुर्खाको विरासतलाई संरक्षण गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नु वर्तमान पुस्ताको सदैव दायित्व हुन आउँछ । यस कुरालाई मनन गरी स्थानीय सरकारको नेतृत्वमा प्रदेश र सङ्घीय सरकारले यहाँका पोखरीको जैविक विविधता जोगाउनतर्फ गम्भीर हुनुपर्छ ।
स्थानीय सरकारले आफ्नो क्षेत्रमा भएका पोखरीको अध्ययन गराई पोखरी उत्पत्ति हुनुको भौगर्भिक कारण, पोखरी र भूमिगत जलको सम्बन्ध, पोखरीमा आश्रित जलचर र थलचरको सूची, पोखरीले वातावरणलाई पु¥याएको लाभ, पोखरीसँग गाँसिएको स्थानीय संस्कृतिजस्ता महत्त्वपूर्ण सूचना तयार पारी पोखरीको छेउमा एउटा अध्ययन कक्ष बनाउनु राम्रो हुन्छ । पोखरी रहेको क्षेत्रका स्कुले विद्यार्थीलाई अनिवार्य रूपमा एकचोटि पोखरीको अध्ययन भ्रमण गराउने परिपाटी पनि बसाल्नुपर्छ ।
पोखरीको विनाशले भूमिगत जल भण्डारणमा सञ्चित हुन जाने जलको मात्रालाई सीमित बनाइदिन्छ र अन्ततोगत्वा भूमिगत जल नै समाप्त हुने स्थिति सिर्जना हुन सक्छ ।
कृत्रिम शृङ्गारले मिथिला सिँगारिने हो भने पर्यटकले यहाँ आउनुको कुनै तुक भेट्ने छैनन् । अतः प्राचीनतम, पौराणिक कथासँग जोडिएका प्राकृतिक तालतलैयाको संरक्षण, संवर्द्धन र प्रचारप्रसारले जनकपुरलाई आत्मनिर्भर बनाउनेछ ।
जनकपुरका महत्त्वपूर्ण तालतलैया
जनकपुरधाममा भएका केही महत्त्वपूर्ण कुण्ड रहेका छन् — बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अङ्गराज सर, सूर्य कुण्ड, गङ्गा सागर, धनुष सागर, दशरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिणी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत–पाप सर आदि ।
जनकपुरका पवित्र ताल, सरोवर र नदीको किनार छठ पर्वमा विशेष रौनकता साथ रंगिरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै
-
एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा
-
रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
‘टिकट काटेर हेर्न जाने’ पोखराको फोहोर प्रशोधन केन्द्र कहिले बन्छ ?
-
तनहुँको बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने