म किन बिग्रिइनँ ?

उस बेला
कुनै कालखण्डमा
त्यति धेरै बिग्रने
अवसरहरू हुँदा हुँदै पनि
म किन बिग्रिइनँ ?
मलाई पछुतो छ
म किन अनुशासन
र, इमानदारिताको घेरा भन्दा
बाहिर उछिट्टिइनँ ?
उनै साथीहरूको लहलहैमा लागेर
गलत बाटो किन रोजिनँ ?
पढाइ नै सबथोक हो भन्दै
मैले किताबको रटान मात्र लगाइरहेँ
किन कहिले आफू हिँड्ने बाटो भुलिनँ ?
अवसर त मलाई थुप्रो नआएका होइनन्
हरेक पाइला, हरेक दिन अनि हरेक साल
अवसर नै अवसरहरूले घेरिएकै त थिएँ
जहिलेदेखि आफूले आफैलाई
बालिग कहलाउन थालेँ
तहिलेदेखि नै मैले
सही र गलत छुट्ट्याउन जानेकै त थिएँ
र, पनि म किन बिग्रिइनँ ?
गलत बाटो हिँडाउन खोज्ने सङ्गतियाहरु
नभेटिएका पनि त होइनन्
स्कूलदेखि कलेज
कलेजदेखि विश्वविद्यालयसम्म आइपुग्दा
हरेक चरणमा भेटिएकै त थिए
तैपनि म किन बिग्रिइनँ ?
आखिर, सम्पन्नता र भोगविलासलाई नै
प्रगति मान्ने हो भने
त्यसरी नै बिग्रिएका मेरा सहपाठीहरू
वर्षौदेखि
कोही सम्पन्न त कोहीले विलासी
जीवन बिताइरहेकै छन्
कतिपयले झन्
आफूलाई आमूल परिवर्तन गर्दै
राजनैतिक प्रभुत्व
र, हैकम जमाएर बसिरहेकै त छन्
ल, त्यो पनि होइन रे
यदि सन्तुष्टि र सुखमय अवस्थालाई
जीवनको प्राप्ति मान्ने हो भने
त्यो पनि त मसँग छैन
मलाई अहिले पछुतो लाग्छ
वर्षौसम्मको अध्ययन, लगन, परिश्रम
र, धैर्यताको बाबजुद
आखिर, के छ त मसँग ?
छ त केवल
उही असम्पन्नता, असन्तुष्टि, दरिद्रता
र, त्यही पढाइको प्रमाणपत्र
जस्ताको तस्तै त छु म
अन्ततः जहाँको तहीँ त छु म
किताबका पानाहरु पल्टाउँदा पल्टाउँदै
शिक्षा दीक्षाको अपेक्षित परिणाम कुर्दा कुर्दै
जिन्दगीको आधाउधी कालखण्ड त गुज्री नै सक्यो
अझ पढिरहेकै त छु म
अफसोच,
अझै पढिरहेकै छु ।
मुसिकोट–१, रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि