रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार
आज मिति २०८० साल साउन महिनाको १९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।
माओवादी बैठक
नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी निरन्तर ओरालो लागेकोप्रति चिन्ता प्रकट गरेका छन् । उनीहरुले पार्टी विग्रनुमा नेतृत्वदेखि कार्यकर्तासम्म जिम्मेवार रहेको भन्दै रूपान्तरणका लागि सबैले आआफ्नो जिम्मेवारीअनुसार भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
शुक्रवारको बैठकमा पार्टीप्रति यस्तो धारणा राख्ने कतिपय नेताहरूले सरकारका काम कारवाहीको भने खुलेरै प्रशंसा गरेका छन् ।
नेकपा माओवादी केन्द्रले २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
कांग्रेसमा अन्तरघातीमाथि होला कारबाही ?
नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो ।
कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा दुई हजार एक सय उजुरी परेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाको संयोजनमा पार्टी कार्यालयका कर्मचारीहरूले उजुरी सर्टिङ गरिरहेका छन् ।
ईजीपीबारे
परराष्ट्र विज्ञ एवं ईपीजी टोलीका सदस्य सूर्यनाथ उपाध्यायले भारतसँग विभिन्न सम्झौता भएको तर कार्यान्वयनको अवस्था कमजोर रहेको अभिव्यक्ति दिएका छन् । उनले भने, ‘हामीप्रति भारतको मनोवृत्ति त्यति राम्रो देखिँदैन ।’
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन, पूर्व परराष्ट्र मन्त्री र इपीजी सदस्यहरुसित संवाद विषयक’ कार्यक्रममा उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
भारतले नेपालको बारेमा के सोचेको छ, त्यो कुरा भर्खर प्रधानमन्त्री प्रचण्डले गरेको भ्रमणले स्पष्ट गरेको उनको टिप्पणी थियो ।
ललिता निवास प्रकरण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ललिता निवास प्रकरणमा जोडिएका दुई पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धानका लागि किन पक्राउ नगरिएको भन्दै प्रश्न उठाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ललिता निवास प्रकरणमा पूर्वसचिव शारदाप्रसाद त्रिताल आयोगले सो प्रकरणमा राजनीति र प्रशासनमा रहेका धेरै जना जोडिएको प्रस्ट देखाएको बताए ।
दुर्गममा जान आनाकानी
कर्मचारी सरुवामा ‘कसैलाई काखा र कसैलाई पाखा’ गरेको व्यापक जनगुनासो आएपछि सरकारले कर्मचारीलाई नै भौगोलिक क्षेत्र छानेर निवेदन दिन आग्रह गर्यो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत साउन ११ मा सूचना जारी गर्दै नौ दिनको म्याद दिएर भौगोलिक क्षेत्र रोज्न कर्मचारीलाई आग्रह गरेको थियो । तर दुर्गममा जान कसैले पनि इच्छा देखाएका छैनन् ।
सुन प्रकरण्को अनुसन्धान सीआईबीलाई ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो ।
साताको सेयर
सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ । अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो ।
यो पनि छुट्यो कि ?
भारतको उत्तराखण्ड प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् । पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ ।
जनमत पार्टीले स्थानीय तहका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिइरहेको छ । सो पार्टीले काठमाडौँमा विभिन्न पालिका तथा वडामा जितेका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको हो । जनमत पार्टीले यसअघि वडा, जिल्ला, प्रदेश, राष्ट्रिय परिषद्, केन्द्रीय समिति र सांसदहरुलाई प्रशिक्षण दिइसकेको छ ।
प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन् । उक्त मस्यौदामा निजी विद्यालयहरूप्रति आक्रामक बनेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।
काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई