जब भाइ चौकीदारलाई सरुवाको लागि कारागार बाहिर निकालियो...
विराटनगर । झापाको चन्द्रगढी कारागार शुक्रबार दिनभर तनावग्रस्त बन्यो । जसको कारण थियो भाइ चौकीदार मनोज लावतीको सरुवा । उनलाई कारागार प्रशासन विभागले शान्ति सुरक्षाको अवस्था बिग्रन सक्ने भन्दै सुनसरीको झुम्का कारागार पठाउन लागेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्न उनलाई जब कारागार बाहिर निकालियो, भित्र कैदीबन्दीले आन्दोलन चर्काए । कैदीबन्दीले मुढा बुन्न ल्याएका टायर बालेर प्रदर्शन चर्काए । कतिपय कैदीबन्दीहरु पर्खाल नाघेर हाम फाल्न खोजे ।
त्यसलाई रोक्न प्रहरीले हवाई फायर गर्नु परेको थियो । टायरको आगो निभाउन दमकलको सहारा लिनु पर्यो । त्यतिमात्रै होइन, स्थितिलाई सामान्य बनाउनसरुवा गर्न बाहिर निकालिसकेका मनोज लावतीलाई प्रशासन पुनः भित्र पठाउन बाध्य भयो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार मनोज लावतीको बारेमा कारागार विभागमा कम्प्लेन गएको थियो ।
उनलाई बाहिर निकाल्ने वित्तिकै रियक्सन देखिएको र उनैलाई सम्झाइ बुझाइ गर्न भित्र पठाएपछि स्थिति साम्य भएको पोखरेलले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका मनोज ७ वर्षभन्दा बढी कैद सजाय कटाइसकेका छन् । उनी कारागारमा सहायक नाइके थिए । विभिन्न अवसरमा कैद सजाय छुट हुँदा अब उनले सजाय भुक्तान गर्न ३ वर्ष बाँकी रहेको चन्द्रगढी कारागार प्रशासनका प्रमुख मोहनलाल पनेरुले बताए ।
झापा झिल्झिलेका लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्न खोजिएको थियो । त्यही निर्णय विरुद्ध आन्दोलन भएको पनेरुले बताए । ‘उनलाई बाहिर निकाल्न खोज्दा अर्को ठूलो अशान्ति भयो । अवस्था सामान्य बनाउन विभागमा समन्वय गरेर तत्कालका लागि सरुवा थाती राखिएको छ,’ पनेरुले भने ।
कारागारभित्र कैदीहरुले आगजनी गरेपछि भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल पुगेर आगजनी नियन्त्रण गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । कारागारभित्र अवस्था तनावग्रस्त भएपछि कारागार परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित गरिएको थियो ।
कैदीहरुले बाहिर सुरक्षाकर्मीहरु रहेको ठाउँमा समेत ढुंगा प्रहार गरेका थिए । कारागारमा महिला र पुरुष गरेर १५ सयभन्दा बढी कैदीबन्दी रहेका छन् । साँझदेखि कारागारको अवस्था सामान्य बनेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो