वि.सं. २०७२ सालमा भूकम्पको चपेटामा परेको नेपाली समाज ६ महिनासम्म चलेको भारतीय अघोषित नाकाबन्दीबाट ग्रस्त थियो । भारतबाट खाद्यान्नलगायत पेट्रोलियम पदार्थको आयात नहुँदा सिङ्गो अर्थतन्त्रसँगै सम्पूर्ण गतिविधि र यातायातको आप्रवाहसमेत प्रभावित बनेको थियो । त्यही समयमा नेपाली समाजमा ‘राइड सेयरिङ’ को कन्सेप्ट विकास भएको थियो र यही कन्सेप्टलाई शिक्षित भट्टले ‘टुटल’ स्थापना गरेर उद्यममा बदलेका थिए । उनै भट्टसँग टुटलको भविष्यको विषय र सरकारले बनाइरहेको ई–कमर्स ऐन र स्टार्टअप नीतिसँग सम्बन्धित रहेर गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय तपाईँ केमा व्यस्त हुनुहुन्छ ? टुटलमै आबद्ध हुनुहुन्छ वा अन्यत्रै ?
अहिले मैले टुटलबाट विश्राम लिएको छु । हामीले नेपालमै पहिलो पटक राइड सेयरिङको अवधारणलाई ‘इन्ट्रड्युस’ गर्यौं । त्यो समयमा हाम्रो मुख्य उद्देश्य काठमाडौँ र नेपालमै रहेको यातायात र रोजगारीको समस्या हल गर्नु थियो । आजको दिनसम्म आइपुग्दा त्यो समस्या एक हिसाबले हल पनि भइसकेको छ । हामीले बजारमा चिनाएको व्यवसायले यतिबेला धेरैले रोजगारी पाइरहेका छन् । यो योजनामा मेरो उद्देश्य पूर्ति भइसकेको छ । उद्देश्य पनि फाइनन्सिल्ली र इमोसनल्ली गरी दुई प्रकारका हुन्छन् ।
यी दुईमध्ये तपाईंको उद्देश्य चाहिँ कुनमा पूर्ति भयो ? फाइनान्सियल्ली वा इमोसनल्ली ?
आजको दिनमा मान्छेलाई एउटा कम्पनी र ब्रान्डभन्दा पनि आवागमनको सुविधा चाहिन्छ जुन काठमाडौँमा पर्याप्त छ । आजको दिनमा राइड सेयरिङ स्ट्याब्लिस बिजनेस भइसकेको छ । म प्रत्येक पटक नयाँ चिजको सुरुवात गर्न चाहने मान्छे हो ।
तपाईंले टुटलबाट विश्राम लिए भन्नुभयो । तपाईंले मात्रै लिनुभएको वा कम्पनीले नै विश्राम लिएको हो ?
अहिलेका लागि मैले र टुटलले पनि विश्राम लिएको हो । यसको अर्थ हामी दुवैले विश्राम लिइरहेका छौँ । विश्रामबाट फड्को मार्न ब्रान्ड वा ममध्ये एक जनालाई ताकत हुनु पर्छ । मेरोतर्फबाट चाहि आगामी वर्षका केही नयाँ गर्ने योजनासहित अध्ययनमा छु । सायद फर्केर टुटल गर्दिनँ जस्तो लागिरहेको छ ।
भविष्यमा हामीले टुटल फर्केर आएको देख्न पाइन्छ ? पाइन्छ भने कहिलेसम्म पाइन्छ ?
यसबारे मैले भन्न सक्ने अवस्था नै छैन किनकि संसारमा जेट एयरवेज पनि बन्द भएर पुनः सञ्चालन हुँदै छ । अहिलेको समयमा चाहिँ सबैभन्दा उत्तम उत्तर मलाई थाहा छैन ।
यसको अर्थ हामीले टुटल बन्द भएको भनेर बुझ्दा हुन्छ ?
यो विषय म अहिले भन्न सक्दिनँ ।
हिजोको दिनमा टुटल सुरु गर्दैगर्दा तपाईं सफलताको एउटा उचाइमा हुनुहुन्थ्यो । अहिले लाग्छ टुटलसँगै तपाईंको ओरालो यात्रा सुरु भइरहेको छ । म गलत छैन भने यसबिचको भिन्नता बताइदिनु न ?
एउटा नवउद्यमी मात्रै हैन विश्वमा धेरै इतिहास समान्तर चलेको छैन । मेरो विचारमा उदय बाहिरबाट देखिने हो । अन्यले बाहिरबाट देख्ने ओरालो यात्रा अरूले देख्ने । विगत एक वर्षयता म अध्ययनमा छु । नयाँ सोच विकास गर्ने व्रmममा छु । बाहिरबाट हेर्दा कसैले ‘राइज एन्ड फल’का रूपमा हेर्लान । तर म यतिबेला अध्ययनमा छु ।
शिक्षित भट्ट धेरै मञ्च सेयर गर्ने मान्छेका रूपमा चिनिनुहुन्छ । यही विषयलाई लिएर कतिले शिक्षित भट्ट मञ्च सेयर गरेर बस्नुको सट्टा कम्पनीलाई समय दिएको भए आज कम्पनी धेरै माथि हुन्थ्यो पनि भन्दा रहेछन् नि ?
यो एउटा हल्ला हुन सक्छ । तर एउटा कम्पनी सफल हुनलाई धेरै विषयको साथ चाहिन्छ र त्यसमा एउटा भाग्य पनि हो । त्यतिबेला मैले सुरु गरेको आइडियाको जित थियो । तर पछि जब प्रतिस्पर्धा आयो, त्यतिबेला धनको जित भयो । आजको दिनमा एउटा राम्रो आइडिया हुँदैमा मात्रै अघि बढ्न नसकिने रहेछ । एउटा कुनै कम्पनी सफल हुनमा एउटा मात्रै कारण हुँदैन ।
टुटल जतिबेला सफल बन्यो र म स्टार्टअपका रूपमा सिनमा आएको थियो । त्यो एउटा भाग्यको कुरा हो । मैले त्यतिबेला सुरु नगरेको भए अर्कैले गथ्र्यो ।
टुटल सुरु गरेपछि तपाईंले सिक्नुभएको त्यो ज्ञानका बारेमा बताइदिनुस् न । देशको उद्यम गर्ने वातावरण कस्तो पाइयो ?
नेपालमा कुनै नयाँ विषय सुरु गर्नुअघि हामी धेरै जना बहानाको खोजीमा हुन्छौँ । तर इमानदारिताका साथ केही गर्न चाहने हो भने सफल व्यवसायी कसरी बन्ने र पैसा कसरी कमाउने भन्ने विषयमा सोच्न थालिन्छ । किनकि सफल व्यवसायी बन्नलाई नीतिको खाँचो हुन्छ । तर उद्यमीका रूपमा सोच्ने हो भने नीतिले रोक्दैन । लक्ष्य धन कमाउने हुन्छ भने त्यो फरक भयो । अन्यथा समाजमा नयाँ परिचय बनाउने वा के गर्ने भन्ने छुट्याउन सकिन्छ ।
मैले टुटल सुरु गर्दा मुद्दामामिला पर्यो । पुलिस पछि लागेको थियो भने ट्याक्सी युनियनसँग द्वन्द्व भएको थियो भने हिरासतमा समेत पुगेको थिए । तर मेरो लक्ष्य यसबाट ठुलो व्यवसाय बनाएर करोडौँ रकम कमाउनेमा थिएन ।
यसको अर्थ टुटलले कानुनसँग लडेर नेपालमा राइड सेयरिङ चिनाउन मुख्य भूमिका खेल्यो । तर यसको फाइदा अन्य राइड सेयरिङ कम्पनीले लिए ?
मैले सुरु नगरेको भए पनि अन्य कसैले सुरु गर्थे । मैले स्थापना नगरेको भए पनि ढिलोचाँडो अरू कसैले राइड सेयरिङ कम्पनी खोल्थे होलान् ।
यदि नेपालको सरकार स्टार्टअप बुझ्ने हुन्थ्यो भने आजको दिनमा टुटल कुन स्थानमा हुन्थ्यो ?
विगतमा गएर हेर्दा हामी धेरै कुरा सरकारसँग लगेर जोड्छौँ । तर हामीलाई यसको उत्तर थाहा हुँदैन । सरकारले स्टार्टअप बुझ्थ्यो भने टुटल जस्ता कम्पनीलाई सहज हुन सक्थ्यो । तर यसको आफ्नै मजा पनि छ । किनभने कुनै कुरा परिवर्तन गर्न थोरै भए पनि गाह्रै हुन्छ ।
नयाँ स्टार्टअप सुरु गर्दा आउने चुनौती के हुँदारहेछन् ? टुटल सुरु गर्दा तपाईंले भोगेका समस्या बताइदिनुस् न ।
हामी तत्कालीन समयमा ‘वेल्ड म्यानेज’ र ‘वेल्ड अर्गनाइज्ड’ यातायात कम्पनी थियौँ । नेपालमा प्रत्येक व्यवसायमा सङ्घ हुन्छन् । अझै यातायातमा झनै हुने नै भयो । निजी मोटरसाइकलसँग हाम्रो सम्बन्ध थियो र तिनैलाई प्रयोग गर्ने सोचाइ बनाएका थियौँ । उक्त समयमा प्रचलित कानुनअनुसार त्यो थिएन । तर गैह्रकानुनी थिएन ।
अब अलिकति विषय मोडौँ । सरकारले यतिबेला ई–कमर्स विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । यस्तै स्टार्टअप नीतिसमेत बनाइरहेको छ । यसमा सरकारलाई सुझाव दिनुपर्दा कस्ता सुझाव दिनुहुन्छ ?
पुराना हवाईजहाजमा चढ्दा ‘नो स्मोकिङ’ लेखिएको हुन्छ । किनकि त्यतिबेला प्लेनमा स्मोकिङ अलाउड थियो र त्यसलाई रोक्न यस्तो लेखिएको हुन्थ्यो । अहिलेका जहाजमा ‘प्लिज डन्ट युज मोबाइल’ लेखिएको हुन्छ । यसका मतलब आजको समयमा धेरै व्यवसाय नै ई–कमर्सबाट हुने गर्छ । आजको दिनमा ई–कमर्स भनेको ‘नर्मल कमर्स’ नै हो । किनकि नर्मल कमर्समा मुभमेन्ट अफ इन्फरमेसन, फ्लो अफ मनी, फ्लो अफ प्रडक्ट र फ्लो अफ टाइटल हुन्छ । यी ४ मुख्य विषय नै नर्मल कमर्समा हुन्छ ।
अहिले सञ्चालन भइरहेका व्यवसायभन्दा ई–कमर्स फरक नै छैन । ई–कमर्सबाट ई–चामल किन्ने होइन । तर यसमा रिटेलर र होलसेलर भने हट्छन् । यसको उद्देश्य भनेको उत्पादकले आफ्नो मूल्य बढी पाउँछन् र उपभोक्ताले कम मूल्यमा किन्न पाउँछन् । त्यसले अहिलेको व्यापार र ई–कमर्समा केही फरक हुँदैन । सरकारले ई–कमर्सलाई अलि जटिल बनाएको देखिन्छ । ई–कमर्स कम्पनीले अनिवार्य रूपमा आफ्नो वेभसाइट बनाउनुपर्ने झन्झिटिलो बनाएको छ ।
कोभिडको लकडाउनलगत्तै उपत्यकाका ३० देखि ४० प्रतिशत सटर खालि भए भन्ने रिपोर्ट आएको थियो । यसको पछाडि ई–कमर्सको समेत प्रभाव छ भन्ने कत्तिको बुझेको होला ?
आजको दिनमा ई–कमर्सको सट्टा डी–कमर्स (डिस्ट्रब्युट कमर्स) गर्नु पर्छ । आजको दिनमा ई–कमर्समा रहेको धेरै समस्या छ । विद्युतीय व्यापार सफल हुनका लागि सूचना, पैसा, वस्तुलगायत आवश्यक पर्छ । आजको दिनमा हामीले अनलाइनबाट अर्डर गरे पनि पैसा क्यास नै दिन्छौँ । विदेशतिर अमेजनबाट सामान मगाउँदा एक दिनपछि घरमै सामान ल्याइदिन्छ । तर नेपालमा सहजै सामान डेलिभरी गर्न सकिँदैन । किनभने हामीसँग ‘डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’ नै छैन ।
–खास कस्तो हुनुपर्ने हो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर चाहिँ ?
हिजोको दिनमा सरकारले नियन्त्रण संस्थाले घरघरमा चिठ्ठी पुर्याउँथ्यो । हाम्रो पोस्टबक्समा घरमै चिठ्ठी पुग्थ्यो भने आज त्यही चिजलाई रिभाइस गर्ने हो भने ई–कमर्सलाई सहज हुन्छ । यसमा सरकारले पब्लिक इन्फ्रास्ट्रक्चर बनाउन सक्नु पर्छ । पेमेन्टको विषयमा यति धेरै कम्पनी छन् । यसलाई सहजीकरण गर्नुपर्ने हो ।
प्रतिक्रिया