दमाई महात्मा, गुरु वैरोचन र प्रकाश सपुतको दमाई महाराज
प्रसंग सुरु गरौँ, ७०–८० वर्षअघिका एक ‘दमाई महात्मा’को चर्चाबाट ।
२००० सालतिर, काठमाडौं ओमबहालमा बस्ने प्रेमराज शर्मा काम विशेषले आफ्ना छिमेकी (परशुराम माथेमा)को घरमा जाँदा आँगनमा एकजना दमैले लुगा सिउन लागेको देखे । त्यसै घरको मुख्य कारिन्दासँग ती दमैको बारेमा उनले भने, ‘यहाँ तपाईंहरूको काम सिद्धिएपछि अनुकूल मिल्छ भने यो दमैलाई मेरो घरमा पठाइदिनुस् है । यो मानिसलाई ज्याला कति दिनुपर्छ नि ?’
जवाफ आयो, ‘ज्याला जति दिए पनि हुन्छ । यति चाहिन्छ भनेर यो मानिस भन्दैन ।’
शर्माले सोधे, ‘किन हँ ?’
ती कारिन्दाले आफ्नो कञ्चटमाथिको टाउकोमा चोर औँलाले अलिकति छोएर तथा त्यो औँलालाई केही बटारेर बिस्तारै भने — यो अलि ठीक छैन ।
‘दिएको काम ता बिगार्दैन नि ?’
‘अहं बिगार्दैन । ज्यालाभन्दा पनि यसलाई एक छाक पेटभरि खान दिनु वेश हो ।’
यति कुरा भएपछि शर्मा घरको चौथो तलाबाट ओर्लेर आँगनमा आउँछन् । ती दमैले उनलाई ‘जदौ’ टक्र्याउँछन् र भन्छन्, ‘एकचोटि हजुरकहाँ आउन मन लागेको छ ।’
‘मैले अचम्म मानेर सोध्नैप¥यो – किन हँ ? यस प्रश्नको उत्तरमा त्यो दमैले अघि ४ तलामाथि बस्ने कारिन्दाले जस्तो आफ्नो चोर औँला कञ्चटमाथि बटारेर यो अलि ठीक छैन भन्यो,’ शर्माले लेखेका छन्, ‘मेरो पेसा औषधि गर्ने पनि हो भन्ने कुरो यसलाई थाहा रहेछ क्यार भन्ने सुरमा मैले भनेँ — म बिहान सात–आठ बजेतिर औषधि दिन्छु, आऊ न । भोलिपल्ट मगज बिग्रेको दमै आउला भन्ने विचारमा थिएँ, तर आएन । धेरै दिन बित्यो दमै आएन ।’
एक दिन शर्माका परिवारको कसैले ती दमैलाई कहीँ भेटेर घरमा लगे, लुगा सिलाउने काम लगाउन । परिवारमा जुन व्यक्तिको तकिया, डसना, सिरकको खोललाई ती दमैले छुन्थे, ती व्यक्तिको स्वभाव र विगतका बारेमा मार्मिक कुरा भनिदिन्थे । त्यसपछि ती दमाई शर्माको घरमा सिलाउन गइरहे ।
‘उनको तीव्र हेराई, भित्तो लागेको गम्भीर र ज्यादै छोटकरी जवाफले मेरो मन पनि तानियो । मैले विचार गरेँ यो एउटा गहिरो मानिस हो । यस पागलको मनोभाव र यो किन पागल भयो भन्ने कुराको जरैसम्म अध्ययन गर्न मलाई धेरै दिन लाग्छ,’ शर्माले लेखेका छन्, ‘बातचितबाट दार्शनिक विचारमा मभन्दा धेरै माथि पुगेको बुझेँ ।’
त्यसपछिका दिनमा भेट हुनासाथ दमाईले जदौ भन्नुअघि नै शर्माले नमस्कार गर्न थाले । पहिले पहिलेको भेटमा ‘तिमी’ भनी सम्बोधन गरेकामा उनलाई लाज लाग्थ्यो । ‘अब त मैले वहाँलाई महात्मा भनेर सम्बोधन गर्न लागेँ । वहाँको बोलाइ, हेराइ, खवाइ इत्यादि सबै कुरामा वहाँको तीव्र वैराग्य झल्कन्थ्यो । मैले राम्ररी बुझ्न नसकेको हिन्दू धर्मानुसार महात्माजीको संगत नहुन्जेल म अनेक रूपका देवी–देवताको अनेक भावनाले उपासना गर्दथेँ । एक दिन वहाँसँग प्रश्न राख्दा वहाँले भन्नुभयो — मनलाई धेरैतिर छर्नुभन्दा एउटै लक्ष्यमा लय गर्ने चेष्टा गर्नु वेश हो ।’
यो प्रसंग प्रेमराज शर्माको पुस्तक ‘तपस्वीको अनुभव’बाट लिइएको हो । यस पुस्तकको पहिलो संस्करण (१९९४ साल) मा शर्माले केही महात्माहरूको चर्चा गरेका छन् । यो पुस्तक निस्केको लगभग ५–६ वर्षपछि उनको भेट ‘दमाई महात्मा’सँग भएको थियो । जसको चर्चा उनले मधुपर्कको पहिलो अंक (२०२५ साल) मा गरेका छन् । ‘तपस्वीको अनुभव’ पुस्तकको दोस्रो संस्करण शर्माकी बुहारी उर्मिला पौडेलले २०५४ जेठ २२ मा निकालिन्, जसमा मधुपर्कमा छापिएको लेख पनि समावेश छ ।
यतिबेला कलाकार प्रकाश सपुतले आफ्नो लेखन र संगीतमा गायिका शान्तिश्री परियारसँग गाएको ‘दमाई महाराज’ बोलको गीतको भिडियो सामग्री चर्चामा छ । यस गीतको विषयवस्तु र दृश्यविधानलाई लिएर विभिन्न प्रतिक्रिया व्यक्त भइरहेका छन् । यस गीतिकथा शैलीको भिडियो सामग्रीमा कलाकार सपुतले ‘दमाई महाराज’को भूमिका समेत निभाएका छन् र मनकै चर्चा गरेका छन् ।
मलाई अनौठो लाग्यो — ती दमाई महात्माले भनेको ज्ञानको सार आज सपुतको भिडियो सामग्रीमा आएको छ ।
शर्माको उपर्युक्त पुस्तक मैले भर्खरै पढेको हुँ, मलाई कसैले दमाई महात्माको चर्चा यस पुस्तकमा छ भनेपछि । अझ अनौठो मलाई मेरो ‘गुरु’ कथा सम्झन पुगेर लाग्यो । गुरु कथा नागरिक दैनिकमा ६ भागमा प्रकाशित छ ।
२०७८ फागुन २१ मा छापिएको पाँचौँ भागमा कथाका पात्र गुरु वैरोचनले शिष्या उन्मनालाई भन्छन्, ‘उन्मना ! यो मन भन्नु तिम्री सानी छोरी पिंगलाजस्तै हो । जसरी साना बालबालिका भोक, प्यास र सानातिना इच्छाले रुन्छन्, अनि भोजन, जल र स–साना प्राप्तिले तृप्त हुन्छन्, त्यसरी नै मनलाई पनि औधि भोक–प्यास लाग्छ र यसले शरीरलाई स–साना इच्छाको दास बनाउन खोज्छ । भाग्न र भड्कन खोज्ने मनलाई बच्चालाई जस्तै थुमथुमाएर सुताउन सकिन्छ, वशमा राख्न सकिन्छ, जाऊ कोसिस गर ।’
कलाकार सपुत भिडियो सामग्रीमा भन्छन्, ‘मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल, मनलाई फकाउनुपर्छ बालक फकाएझैँ, नत्र गर्छ सलबल ।’
मैले आफ्नो अध्ययन, चिन्तन, मननको निष्कर्षको रूपमा गुरु कथा वा उपर्युक्त वाक्यहरू लेखेको हुँ । जेहोस्, मनको चर्चा गर्नेमा ती दमाई महात्मा, म र प्रकाश सपुत छौँ । मेरो मनमा प्रश्न उब्जिएको छ, ‘समाजमा उत्पीडितहरू मनको विज्ञानको चर्चा किन गर्छन् ?’
सपुतको भिडियो सामग्री दोहोराइ–तेहेराई हेरेँ र लाग्यो, उनी कता–कता गुरु वैरोचनबाट प्रभावित त छैनन् ! यो मलाई लागेको मात्रै हुन सक्छ, उनले मेरो कथा हेर्दै नहेरेका हुन सक्छन् । यद्यपि यसअघि (सन् २०२०) पनि उनी एउटा भिडियो सामग्रीमा मबाट प्रभावित भएझैँ मलाई लागेको थियो ।
उनले सन् २०१८ को अक्टोबरमा मेरो कथा जालिनीमा आधारित दयाहाङ राई निर्देशित नाटक हेरेका थिए । सूत्रधारले राजकुमारी जालिनीको कथा भन्दै नाटक सुरु हुन्छ । उनले आफ्नो शब्द र संगीत रहेको ‘फुटेका चुरा’ बोलको गीतमा एउटी रानीको कथा सूत्रधारबाट भनाएर भिडियो सामग्रीलाई अगाडि बढाएका छन् ।
शर्माले उपरोक्त पुस्तकमा दमाई महात्मासँग सोधेका रहेछन्, ‘नेपालमा दमै जातलाई अछुती जातमा किन गनेको ?’ ‘उहाँले भन्नुभएको थियो — यो पुरानो जमानाको सामाजिक दण्ड र जेल हो,’ शर्मा लेख्छन्, ‘यस्तो अछुती जीवनमा तपाईंलाई कस्तो लाग्दछ ? भनी मैले सोद्धा वहाँले पातन्जल योग सूत्रको एउटा टुक्रो भन्नुभएको थियो परैः असंसर्गः । फेरि उहाँले भन्नुभयो — मलाई त यो स्थिति वेश लाग्दछ ।’
यस लेखमा शर्माले जात व्यवस्था वा विभेद ठीकै हो भन्ने कुरा ‘दमाई महात्मा’कै मुखबाट भनाएका छन्, शर्माको लेखको प्रयोजन वा हेतु पनि यही देखिन्छ । जातीय विभेद तथा छुवाछुत अन्याय हो र दण्डनीय अपराध हो भनी उनले तर्क गरेका छैनन् ।
सपुतको दमाई महाराज
सपुतको भिडियो सामग्रीको शीर्षक ‘दमाई महाराज’ले के अर्थ दिन्छ भन्ने केलाऔँ । दमाई शब्दको सामान्य तर मूलभूत अर्थ हो, दमाहा बजाउने व्यक्तिलाई हिन्दु वर्ण–व्यवस्था अन्तर्गत दिइएको एउटा ‘जात’को नाम । यहाँनेर प्रश्न छँदै छ, दमाहा बन्नु, बनाउनु र बजाउनुअघि आज दमाई कहलिएका व्यक्ति के थिए ?
प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहत शब्दकोशमा ‘महाराजा’ शब्दको अर्थ दिइएको छ, ‘ससाना सामन्त र रजौटाहरूमाथिका शासन गर्ने महान् राजा, सम्राट्, श्रेष्ठ राजा । साधुसन्न्यासी वा राजाहरूलाई आदरपूर्वक सम्मान गर्ने शब्द ।’
वसन्तकुमार शम्र्मा ‘नेपाल’ र विनयकुमार शर्मा नेपालले सम्पादन गरेको ‘शब्दार्थ नेपाली शब्दसागर’मा महाराजको अर्थ ‘योगी–तपस्वी–संन्यासी आदिको सम्मानबोधक शब्द’ पनि उल्लेख छ ।
हिन्दु समाज र संस्कृतिको जगमा चार वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र) र चार आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास) छन् ।
चार आश्रममा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास पर्छन् । यसले जीवनलाई चार भाग लगाउँछ । यसको सामान्य अर्थ हो — व्यक्ति (पुरुष) जन्मेपछि जवान हुँदासम्म गुरुको आश्रममा रही शिक्षादीक्षा ग्रहण गर्ने । यस्तो बेला स्त्रीसमागम वर्जित छ । यसपछि गृहस्थ (घरबार) जीवन सुरु गर्ने । वृद्ध हुन थालेपछि वनमा आश्रम बनाएर बस्ने अर्थात् वानप्रस्थ हुने । चार आश्रमको अन्तिममा आउँछ संन्यास । यसले सम्पूर्ण त्याग, परिपूर्ण समर्पण भन्ने बुझाउँछ ।
कसैले यो जात व्यवस्था जीवित छ, मैले मान्छु भन्छ भने ऊ उही जात व्यवस्थाका नियमहरूतिर फर्कनैपर्छ । त्यसैले आज हामी सामाजिक न्यायतिर फर्कन जात व्यवस्थाको मृत्यु वा खारेजीलाई मान्नैपर्छ ।
यी चार आश्रम के हुन्, यो कस्तो नियममा गर्ने र यसको अधिकार कुन वर्णलाई हुने भन्ने विधिविधान मनुस्मृति लगायत स्मृतिमा तोकिएका छन् । यी चार आश्रमको अधिकार द्विज वा ब्राह्मणलाई नै रहेको मनुस्मृतिमा उल्लेख छ । द्विजको अर्थ हुन्छ, यज्ञोपवीत संस्कार (व्रतबन्ध) गर्ने अधिकार भएको जात वा वर्ण ।
मनुस्मृतिको छैटौँ अध्यायको ९७औँ श्लोक भन्छ, ‘यो चार किसिमको ब्राह्मणको आश्रमधर्म तपाईंहरूसँग बताइयो, यसले पवित्र र परलोकमा अक्षय रहने फल दिन्छ ।’ अर्थात्, चार आश्रमको अधिकार ब्राह्मणलाई छ ।
यहाँनेर चार वर्णको चर्चा नगरी सपुतको कमजोरी बुझिँदैन । सामान्य भाषामा भन्दा, हिन्दु अर्थात् आर्यहरूले धर्म र सत्ता चलाउन चार वर्ण बनाएका थिए । ब्राह्मणको आरक्षणमा धर्म र क्षत्रीको आरक्षणमा सत्ता (शासन) तोकिएको थियो । आर्यबाहेकको समुदायका लागि वैश्य र शूद्र वर्ण नाम दिइयो । खासगरी खेतीपाती तथा पशुपालन गर्दै आएकाहरू वैश्य भए । राज्य–राज्यबीच युद्ध हुँदा पराजितहरू दास, दस्यु हुुँदै शूद्र हुन पुगे ।
सुरुमा वर्णहरू तोकियो, तर यस व्यवस्थालाई सधैँ कायम राख्न कडा नियमहरू बनाउन थालियो । ती नियममा मूलभूत थिए — भोजन, विवाह र पेसा । यी चार वर्णमध्ये कुन वर्णले के खाने वा के नखाने, कुन कुन वर्णबीच विवाह हुँदा कस्तो वर्णसङ्कर जात बन्ने, कुन वर्ण वा वर्णसङ्करले कुन पेसा अपनाउने भन्ने स्पष्ट रूपमा तोकिएको थियो, मनुस्मृति लगायत धर्मशास्त्रमा ।
यसरी अनेक वर्णसङ्कर अर्थात् जातहरू जन्मे । नियमहरू नमान्दा, वा शासकको सनकको भरमा पनि कति व्यक्तिहरू कथित तल्लो वर्णमा खसे । यही क्रममा दमाहा बजाउनेहरू दमाही वा दमाईमा परे ।
हाम्रो समाजमा आज पनि फरक जातका बाबुआमाबाट जन्मेको सन्तान फरक थरको हुन्छ । जस्तै ः हमाल । प्रज्ञाको शब्दकोश हमालको अर्थ भन्छ, ‘राजपूत र जैसी ब्राह्मण जातका आमाबाबुबाट पैदा भएको सन्तान ।’ यस्तै खत्रीको अर्थ भन्छ, ‘पुरानो चलनअनुसार बाहुनको आफूभन्दा तल्लो जातकी केटीसँग वा छेत्रीको पानी चल्ने आफ्नोभन्दा भिन्न जातकी केटीसँगको दाम्पत्य जीवनबाट पैदा भएका सन्तान र तिनीहरूको वर्ग । वर्णसङ्कर ।’
आज जातका मूलभूत नियमहरू (भोजन, विवाह र पेसा) लागु छैनन् । यी तीन नियम लागू हुने हो भने आज हिन्दू समाजका प्रायः सदस्य कुनै न कुनै वर्णसङ्करमा बदलिनु वा खस्नुपर्छ । यसर्थ हिन्दु समाजमा जात वा वर्णको मृत्यु भइसकेको छ, जसरी नयाँ कानुन लागू हुँदा पुरानो कानुन आफैँ निष्क्रिय हुन्छ वा मर्छ । हिजो धार्मिक नियम वा कानुन बनाएर अस्तित्वमा ल्याइएको जात व्यवस्थालाई आज नयाँ कानुन बनाएर पुराना अधिकांश मान्यता र विभेदलाई दण्डनीय बनाएको छ । कसैले यो जात व्यवस्था जीवित छ, मैले मान्छु भन्छ भने ऊ उही जात व्यवस्थाका नियमहरूतिर फर्कनैपर्छ । त्यसैले आज हामी सामाजिक न्यायतिर फर्कन जात व्यवस्थाको मृत्यु वा खारेजीलाई मान्नैपर्छ । यसो गर्दैमा मानिसको धर्म र संस्कृति मासिने होइन, आ–आफ्नो धर्म–संस्कृति मान्न मानिसहरू स्वतन्त्र छन्, तर विभेद मान्न होइन ।
प्रकाश सपुत उक्त भिडियो सामग्रीको प्रवचनमा भन्छन्, ‘कुनै पनि जातले घरभित्र र मन्दिरभित्र पस्दैमा भगवान बिटुलो हुँदैन । ...मेरो नाम दश हजार महात्मा ईश्वर महाराज मतलब दमाई महाराज । हो, म दमाई महाराज हुँ ।’
उनले जात व्यवस्थालाई मानेका छन् । अर्कोतिर, जोगी भएर हिँडेको वा सर्वस्व त्यागेर हिँडेको व्यक्तिको जात हुँदैन वा नसोध्नु भन्ने पुरानो मान्यतामा पनि उनी छैनन् । कलाकार सपुतको सिर्जना जात व्यवस्थालाई खारेजी गर्ने तहमा जान सक्नुपथ्र्यो ।
२०७३ सालको असारमा तत्कालीन एमाले नेता घनश्याम भुसालले चितवनमा आयोजना गरेको ‘समय चेत’ शीर्षकको गोष्ठीमा देशका अधिकांश लेखक पत्रकार सहभागी थिए । त्यस गोष्ठीमा लेखक तथा पत्रकार चन्द्रकिशोरले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘दलितलाई पनि बाहुन बनाउनुपर्छ ।’
अन्तक्र्रियाका क्रममा मैले यसको प्रतिवाद गरेँ, ‘दलितलाई मान्छेको दर्जा दिने हो, कुनै बाहुन बनाउनुपरेको छैन । कस्तो बाहुन बनाउने, विभेदकारी ?’ मेरो प्रतिवादपछि चन्द्रकिशोरले आफ्ना शब्द फिर्ता लिए ।
प्रकाश सपुतले एउटा उत्पीडनमा परेको पात्रलाई महात्मा, महाराज र ईश्वर बनाएका छन्, कुनै जात वा उपाधिको दर्जा दिनतिरै लागेका छन्, केवल मान्छेको दर्जा दिन सकेका छैनन् । उल्टै उसलाई मरिसकेको जातमै जबर्जस्त फर्काएका छन् ।
हिन्दु समाजमा थरको उत्पत्ति स्थल अर्थात् पुरानो थातथलो, सरकारी पद, धार्मिक कर्म गरेबापत वा वैदिक शास्त्रहरूको अध्ययन गरेबापत पाउने उपाधिबाट भएको थियो । जुन अझै पनि जातसँग जोडिएर रहिरहेको छ । यसै गरी दलितका पनि आफ्ना थर छन्, जुन कतिपय गैरदलितका थरसँग मिल्न जान्छन् । त्यसैले विभेद गर्न सहज होस भनेर शासकहरू दलितहरूको थर होइन, जात लेख्न उद्यत् रहँदै आए ।
अचेल जात मुखले भनिन्छ, कागजातमा परिचयका लागि थर लेखिन्छ । अचेल नागरिकता लगायत सरकारी कागजातमा जात भेटिन्न, तर थर भेटिन्छ । जात यसरी पनि मर्दै छ । भविष्यमा भन्न सकिँदैन, कति मानिस जाततिरै फर्कने हुन् अर्थात् कागजातमा जातै लेख्नेछन् ।
खैर, अचेल विश्वभरिका रियालिटी सोहरूमा आफ्नो कुनै प्रतिभा देखाएर केही गरिबहरू उदाएको वा चर्चामा आएको देखिन्छ । पुँजीवादीहरूले उनीहरूको पछाडिको गरिबी वा दुःखको कथाको सानो अंशसहित उनीहरूलाई प्रस्तुत गर्छन् । यस्तो लाग्छ, गरिबहरूले अवसर पाउन कुनै न कुनै प्रतिभा हुनैपर्छ । कलाकार सपुतमा पनि यस्तै पुँजीवादी र कताकता जातवादी चिन्तन देखिन्छ । उनी कुनै दलितलाई उठाएर उही ‘महाराज’ बनाउन चाहन्छन्, तर कस्तो ? आज धर्मगुरु वा स्वामी महाराजको खोल ओढ्नेहरुको कर्तूतहरु पनि सार्वजनिक भइरहेकै छन् ।
सबै दलितलाई जातीय विभेदबाट कसरी मुक्ति दिन सकिन्छ भन्नेतर्फ सपुतको चिन्तन पुग्दैन । यस्ता विषयमा हात हाल्न सपुतले छिपछिपे भए पनि धर्मशास्त्रहरुको अध्ययन गर्नुपर्छ । शूद्र भनिएका रामायणका पात्र शम्बूक योगी वा साधक बन्न लाग्दा के नियति भयो, उनले बुझ्न सक्नुपर्छ ।
रामायणकै पात्र जाबालि ऋषि, जो दासी पुत्र थिए, उनलाई पनि हारिद्रुमत (गौतम गोत्री)को गुरुकुलमा पढ्न ‘गोत्र’ आवश्यक परेको थियो । आफू कस्तो जातको पछि किन लाग्दैछु भन्ने सपुतले मनन गर्न सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो