मदन भण्डारी राजमार्गमा सधैँ किन कचकच ?
सुर्खेत । गुटु अर्थात् हाट बजार । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको केन्द्र गुटु ५० को दशकमा हाट बजारले परिचित थियो, जतिबेला कर्णाली राजमार्ग बनेको थिएन । दैलेखसहित माथिल्लो कर्णालीका जिल्ला, अछामको पूर्व क्षेत्रका नागरिक गुटु हुँदै कट्टाँसे चिसापानीसम्म पुग्थे । गुटु हाट बजार हुनुभन्दा पहिला पहाडका मान्छेहरु कट्टाँसेसँग निर्भर थिए ।
०४८ सालमा पहिलो पटक गुटुमा डोजर पुग्यो । कच्ची सडक पुगेपछि गुटु व्यापारिक केन्द्र बन्यो । पहाडका जिल्लाबाट नुनदेखि खाद्य सामग्रीका लागि मानिस गुटुमा निर्भर हुन थाले । खाद्य सामग्री ल्याउनका साथै पहाडबाट गाडी हेर्न पनि मानिस गुटु पुग्ने गरेका कथन अझै सुनिन्छन् । यद्यपि गुटु अर्थात् पश्चिम क्षेत्र अझै पनि गाडी चढ्नका लागि संघर्ष गरिरहेको छ । कर्णाली राजमार्ग बनेपछि हाट बजार विस्थापित हुँदै गयो, मान्छेको आवतजावत कर्णाली राजमार्गमा हुन थाल्यो । गुटु बिस्तारै कमजोर बन्दै गयो ।
वीरेन्द्रनगर विकासको अग्रपथमा लम्किँदा पश्चिम गुटु भने अझै उजाड छ । गुटुसहित लगाम, बेतान, बिजौरा, घाटगाउँ मिलेर चौकुने गाउँपालिका बनेको छ भने गुटु पालिकाको केन्द्र हो । यद्यपि यो क्षेत्र अझै पनि दुर्गम नै छ । यहाँका कतिपय गाउँमा अझै संघीयता पुगेको छैन । चौकुनेबासीले अझै वीरेन्द्रनगरसँग सहज दूरी बनाउन सकेका छैनन् । त्यसैले होला, सुर्खेत जिल्लाभित्रकै भए पनि यहाँका नागरिक वीरेन्द्रनगरलाई नै सुर्खेत भन्छन् । ५० को दशकमै गाडी देखेका यहाँका नागरिक यतिबेला भने यातायातको सुविधाबाट वञ्चित हुनु परेको छ । यातायात व्यवसायीको सिण्डिकेटका कारण विगत एक महिनादेखि गाडी चढ्न पाएका छैनन् चौकुनेवासीले ।
वीरेन्द्रनगरदेखि गुटुसम्म करिब ६० र लगामसम्म ९० किलोमिटरको दूरी छ । यातायात व्यवसायीले पञ्चपुरी नगरपालिका–९ को विद्यापुरभन्दा अगाडि गाडी लैजाने गरेका छैनन् । ‘विगत ३५ दिनदेखि यहाँ गाडी आउँदैनन्, सडक राम्रै छ तै पनि खै ! किन आउँदैनन् ?’ बुधबार गुटुमा भेट्टिएका थिरराज अधिकारीले भने, ‘बिरामी हुँदा उपचार गर्न जान गाह्रो हुन्छ । ५०० रुपैयाँले सुर्खेत (वीरेन्द्रनगर) पुग्न सकिने भए पनि आपत–विपतमा १० हजार खर्च गर्नुपर्ने बाध्यता छ ।’
०४८ सालमै गुटुमा डोजर पुग्दा खुसी लागेको बताउने उनी अहिलेसम्म पनि यातायातको सहज सुविधा नहुँदा दुःखी छन् । राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपनले कहिले सडकका कारण सास्ती त कहिले यातायात व्यवसायीका कारण पश्चिमका जनताले दुःख, पीडा भोगिरहेको गुनासो उनले गरे । ‘सबैको स्वार्थका कारण हामीलाई दुःख भएको छ,’ उनले भने ।
लगाम गुटुबाट पनि ३३ किलोमिटर पश्चिममा पर्छ । लगामकी टीका सापकोटा मंगलबार बिहान ४ बजे नै पैदल यात्रा गरेर विद्यापुर पुगिन् । पत्थरीको बिरामी उनलाई डाक्टरले मंगलबार नै फलोअपका लागि बोलाएका रहेछन् । यद्यपि उनी विद्यापुर पुग्दासम्म सबै गाडी छुटिसकेका थिए । बुधबारमात्रै उनले बस पाइन् ।
‘पहिला मान्छेले नै डोकोमा मान्छे बोक्थे, हामीले पनि त्यसै गर्नुपर्ने भयो, गाउँमा सडक पुगे पनि हामी पहिलाकोजस्तै अवस्थामा फर्कनुप¥यो,’ निराश हुँदै उनले भनिन् ।
लगामसम्म गाडीका लागि बाटो सहज भए पनि गाडी नजाने गरेको उनले बताइन् । उनीमात्र होइन, २७ हजारभन्दा बढी जनसंख्या रहेको चौकुनेका हरेक नागरिक यतिबेला यातायात व्यवसायीको मारमा छन् । चौकुनेका ९० प्रतिशत नागरिक पूर्ण रुपमा वीरेन्द्रनगरसँग आश्रित छन् । आधारभूत स्वास्थ्य बाहेक अन्य सुविधाका लागि वीरेन्द्रनगर आउनुपर्छ ।
पश्चिम क्षेत्रका बराहताल, पञ्चपुरी र चौकुनेका लागि वीरेन्द्रनगरबाट विभिन्न समयमा ११ वटा सानाठुला गाडी छुट्छन् । सडकलाई कारण बनाई गाडी नचलाएर स्वार्थको राजनीति गर्न खोजिएको कतिपयको आशंका छ । पछिल्लो समय यातायात क्षेत्रमा राजनीति हावी रहेको त्यहाँका नागरिक अगुवाहरु बताउँछन् । ‘यदि राजनीति नभए सहज रुपमा गाडी गुढ्न सक्ने चौकुने क्षेत्रमा गाडी चल्न किन रोकियो ?’ बुधबार गाडी नआएको भन्दै गुटुमा भेला भएका धेरैजसोले यही प्रश्न उठाए ।
गाडी नचल्दा नागरिक ट्याक्टर, टिपरमा कठिन यात्रा गर्छन् भने त्यही पनि नपाउँदा पैदल दुई दिनको यात्रा गरी विद्यापुर आउन बाध्य छन् । सामुदायिक स्वास्थ्य केन्द्र चौकुने–३ सोभानचौरमा कार्यरत गंगा सलामी गुटु नजिकै ढालामा पालको छत हालेको टिपरमा बस्दै थिइन् । टिपर चालकले छिटोछिटो पछाडिबाट ढोका लगाए । भित्र मान्छे बस्ने ठाउँ थिएन । छेवैमा बसेकी गंगाले भनिन्, ‘स्वास्थ्य सामग्री लिन गुटु आएकी हुँ, चार घण्टा पैदल हिँड्नुपर्छ । पैदल हिँड्न पनि गाह्रो भएपछि कहिले ट्याक्टर कहिले टिपरमा झुण्डिएर यात्रा गर्नु बाहेक विकल्प छैन ।’
बाटो राम्रो हुँदा पनि गाडी नचल्दा हरेक नागरिकले सास्ती भोग्नुपरेको उनले बताइन् ।
‘पालिकाको टिपरमा यात्रु बोक्नु नपरोस्’
बड्डीचौर–बेनीघाट (९४ किमि) जोड्ने मदन भण्डारी राजमार्ग अन्तर्गत बराहतालको बीउरेनी खोलामा पुल नबन्दा समस्या छ । तर, बाबियाचौरदेखि गुटु लगामसम्मको सडकमा गाडी चल्नै नसक्ने अवस्था भने छैन । तर पनि यातायात व्यवसायीले विद्यापुरभन्दा अगाडि गाडी लैजाँदैनन् ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विक (विवश) यातायात व्यवसायीको दादागिरी र अत्याचारले नागरिकहरु पीडामा रहेको बताउँछन् । ‘२ सय भाडा लाग्ने ठाउँमा १२ सय भाडा तिनुपर्ने बाध्यतामा छौँ,’ उनले भने, ‘हाम्रो गाउँको गरिबी, पीडा र बेरोजगारी त छँदैछ, भएको बाख्रा, कुखुरा बेचेर यात्रा गर्नुपर्ने, बिरामीले समयमा उपचार नपाउने, कयौँ सुत्केरी आमाहरु बाटोमै सुत्केरी हुनुपर्ने, ट्याक्टरमा यात्रा गर्नुपर्ने दर्दनाक पीडा छ ।’
बाटो बिग्रीएको भन्ने भनाइलाई उनी सिधै नर्काछन् । उनका अनुसार ४ दिन अघि २ वटा बस गुटु पुगे । तर, संयुक्त यातायात प्रालिका मान्छेले रातारात गाडी विद्यापुर फिर्ता बोलाए । चौकुनेबाट यात्रु बोकेमा गाडी नै ‘सिज’ गरिदिने धम्की यातायात प्रालिका पदाधिकारीले दिने गरेको उनी बताउँछन् ।
यातायात व्यवसायीले आफ्ना जनतालाई हदैसम्मको यातना दिएको भन्दै अध्यक्ष विक आक्रोशित छन् । ‘मेरा जनताको मानव अधिकार हनन् भएको छ,’ उनी भन्छन्, ‘व्यवसायीहरुले पैसा कमाउन गाडी किन्नुभएको हो, सेवाको भाव देखिएन । बर्खा त पहिला पनि आउँथ्यो, पहिला स्याउला हाल्दै गाडी चलाउनुहुन्थ्यो । गन्तव्यमा पुग्ने केही निजी गाडी छन्, जसले ३ सय लाग्ने ठाउँमा ६ सय लिन्छन् । मैले सीडीओदेखि प्रहरीसमक्ष गुहार माग्दा पनि गाडी आउन सकेन ।’
चौकुनेवासीको समस्या हल नगरे पालिकामा भएका टिपरमा निःशुल्क यात्रु बोकेर सुर्खेत पुर्याउन बाध्य हुने उनी बताउँछन् । उनी भन्छन्, ‘प्रहरी र सीडीओ समक्ष यही भनेको छु, कहीँ ट्राफिक अवरोध नहोस् भनेर ।’
संयुक्त यातायात व्यवसायी पश्चिम रुटका इञ्चार्ज गणेश गुरुङले बाटो बिग्रेको भन्ने सूचनाका आधारमा विद्यापुरभन्दा अगाडि गाडी नलैजाने निर्णय भएको बताए ।
मदन भण्डारी राजमार्गमा सधैँ कचकच
यो राजमार्गमा कहिले ठेकेदार, कहिले नेता त कहिले व्यवसायीका कारण पटक–पटक विवाद हुने गरेको छ, जसको प्रत्यक्ष मारमा जनता पर्छन् । अहिले यातायात व्यवसायी र चौकुने गाउँपालिकाबीच विवाद भनेको विद्यापुर–बल्दे खण्ड हो । २२ किलोमिटर उक्त खण्डको जिम्मा मोतीदान कन्सट्रक्सनले लिएको छ । १ अर्ब २७ करोड लागत रहेको उक्त खण्डमा लक्ष्य अनुसार नै काम भइरहेको देखिन्छ ।
कम्पनीका प्रतिनिधि अभिनय अधिकारीले अहिलेसम्म १६ किलोमिटर साइट क्लियर भइसकेको बताए । त्यस बाहेक खोलाहरुमा ह्युम पाइप हाल्नेदेखि ग्राबेल हाल्ने काम भइरहेको उनले बताए । ०७९ चैतमा काम सुरु गरेको उक्त कम्पनीले ३ वर्षभित्र काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । ‘यो सडकमा अहिले गाडी नचल्ने भन्ने कुनै ठाउँ छैन,’ उनले भने, ‘थोरै समस्या भएको ठाउँमा गाब्रेल हाल्ने काम भइरहेको हुन्छ ।’
२४ असार ०८१ मा कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सडक कालोपत्रेका लागि ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट छ । तीन खण्डमध्ये अहिले काम भइरहेको दुवै खण्डमा रुख कटानको अनुमति नपाउँदा पनि काममा बाधा भइरहेको ठेकेदार कम्पनीको गुनासो छ ।
उनले ०८१ असारसम्म ग्राबेल बिच्छ्याइसक्ने बताए । यस खण्ड अन्तर्गत गुटु खोलामा पनि पुल निर्माणको काममा ढिलाइ भएको छ । उक्त पुलको जिम्मा प्रदेज निर्माण सेवाले लिएको छ ।
सुरुको बड्डीचौर–खब्बागाडेसम्म १३ किलोमिटर कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले १४ असार ०७९ मै जिम्मा लिएको हो । उक्त कम्पनी प्रतिनिधिसभा सदस्य दिक्पाल कुमार शाहीको हो । यस अन्तर्गत बीउरेनी खोला लगायतका विभिन्न ठाउँमा निकै समस्या छ । अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम भएको छैन । जसका कारण काममा बाधा भइरहेको छ ।
२४ असार ०८१ मा कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सडक कालोपत्रेका लागि ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट छ । तीन खण्डमध्ये अहिले काम भइरहेको दुवै खण्डमा रुख कटानको अनुमति नपाउँदा पनि काममा बाधा भइरहेको ठेकेदार कम्पनीको गुनासो छ ।
पश्चिम क्षेत्रका नेताहरुले हरेक चुनावमा यही सडकलाई देखाएर राजनीति गर्छन् । तर, ट्रयाक खोलिएको ३० वर्षभन्दा बढी हुँदा पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
-
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)