माओवादी केन्द्रीय सदस्यहरूलाई किन वितरण गरिएन लिखित प्रतिवेदन ?
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन परिमार्जन गरेर मात्र केन्द्रीय सदस्यहरूलाई वितरण गर्ने भएका छन् ।
बुधबारदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा दोस्रो दिनपनि अध्यक्षको प्रतिवेदन अध्ययन गर्न नपाएको भन्दै केन्द्रीय सदस्यहरूले गुनासो गरेका थिए ।
बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीति एवं संगठनात्मक प्रतिवेदन मौखिक रूपमा प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्ताव गरेको प्रतिवेदनमाथि अहिलेसम्म ७४ जनाले आ–आफ्ना धारणा राखेका छन् । लिखित दस्ताबेज केन्द्रीय सदस्यहरूलाई वितरण नगरेको विषयमा केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले परिमार्जन गरेरमात्र वितरण गर्ने जानकारी दिए ।
‘अध्यक्षज्यूले संक्षिप्तमा राजनीति र संगठनात्मक प्रतिवेदन पेस गरिसक्नुभयो । त्यसकै आधारमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहनुभएको छ । सबैले बोलिसकेपछि परिमार्जनसहित प्रतिवेदन वितरण हुन्छ’, उनले भने ।
यसअघि अध्यक्षको प्रतिवेदन पहिलो दिनमै वितरण हुने गरेपनि योपटक दुई दिन बितिसक्दासमेत हातमा नआएको सदस्यहरूले गुनासो गरेका छन् । पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले अध्यक्षले प्रस्ताव गरेको मौखिक प्रतिवेदनको आधारमा सदस्यहरूले बहस र छलफल गरेको जानकारी दिए ।
‘हामीले अहिलेसम्म प्रतिवेदन पाएका छैनौँ । केन्द्रीय समितिको बैठक सकिएपछि आइपुग्छ कि ?’, उनले भने ।
यसैगरी अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले पनि लिखित प्रतिवेदन प्राप्त नहुँदा बहस र छलफल गर्न अप्ठारो भएको बताइन् ।
‘प्रतिवेदन माग्दा प्राविधिक कारणले रोकिएको हो आउँछ भन्ने जानकारी आएको छ’, उनले भनिन्, ‘तर अहिलेसम्म प्राप्त भएको छैन । प्रतिवेदन प्राप्त भए अध्ययन गरेर शुक्रबार आफ्नो धारणा राख्छु ।’
पाँच दिनसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सबै सदस्यहरूले बहस र छलफल गरेपछि अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि मात्र केन्द्रीय सदस्यहरूले प्रतिवेदन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी