कुवेतका लागि अनुमोदित राजदूत लम्सालले भने : मेरो फोन जुनसुकै बेला उठ्नेछ
काठमाडौँ । कुवेतका लागि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदित भएका राजदूत घनश्याम लम्सालले आफूले जुनसुकै बेला फोन उठाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै लम्सालले कुवेतमा रहेका दूतावासको फोन उठ्ने र आफ्नो मोबाइल पनि उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफू भुईमान्छेको सेवा गर्न रुचाउने व्यक्ति रहेको भन्दै समस्यामा परेका नेपालीसँग मजदुरसँग प्रत्यक्ष भेटेर पनि कुराकानी गर्ने बताए ।
कुवेतसँग श्रम सम्झौतामा केही समस्या रहेकोले आफ्नो कार्यकालमा त्यसलाई पूरा गर्ने अपेक्षा लिएको बताए । उनले कुवेतमा अप्ठ्यारोमा परेकाहरुलाई उद्धारका लागि उद्धार टोली बनाएको र दूतावासलाई जानकारी हुने बित्तिकै उद्धार गरिने बताए ।
राजदूत लम्सालले कुवेतमा नेपालको व्यापार र पर्यटन विस्तारका लागि आफू सेल्सम्यानका रूपमा काम गर्ने बताए । उनले दूतावासले गरेका कामहरूको मासिक विवरण पठाउने, नेपाल र कुवेतबीचको व्यापारका क्षेत्र पहिचान गर्ने, नेपालमा पर्यटन प्रवर्द्धनका लागि अरबी भाषामा सूचनामूलक सामग्रीहरू निर्माण गर्ने प्रतिबद्धता जनाए ।
सुनुवाइका क्रममा प्रश्न गर्दै सांसद जनार्दन शर्माले कुवेतमा घरेलु महिला कामदारको ठूलो समस्या रहेको बताउँदै हजारौँको संख्यामा महिलाहरूले दुर्व्यवहार खेपिरहेको बताए । उनले भने–‘कुवेतमा घरेलु कामदारका रुपमा पुगेका धेरै नेपाली महिलाका धेरै दर्दनाक कथाहरू छन् । ठूलो समस्यामा परेका उनीहरूको उद्धारका लागि तपाईँले भूमिका खेल्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’
सांसद डोलप्रसाद अर्यालले कुवेतमा कति नेपाली जेल परेका छन्, उनीहरूको अवस्था के छ डाटा खोज्नुभएको छ कि छैन भन्दै प्रश्न गरे । उनले भने–‘कुवेतमा नेपाली श्रमिकहरू यति धेरै पीडित छन्, दूतावासमा उनीहरूलाई पर्खेर बस्ने ठाउँ पनि नभएको भन्ने कुरा छ, दूतावास पुग्नेवितिक्कै काम नगर्ने र हप्तौंसम्म पर्खाउने गरेको अवस्था छ । त्यसमा ध्यान दिन आवश्यक छ ।’ उनले श्रमिकहरूले कस्तो समस्या भोगेका छन् भन्ने विषयमा श्रमिकहरुका बीचमा सार्वजनिक सुनुवाइको काम गर्नुपर्ने बताए ।
यस्तै अर्का सांसद प्रकाश अधिकारीले नेपाल र कुवेतकाबीच व्यापारका क्षेत्रहरू के–के हुन्छन् पहिचान गर्नका लागि आग्रह गरे ।
सांसद देवेन्द्र दाहालले श्रमिकको मृत्यु भएपछि उनीहरूको शव ल्याउन र क्षतिपूर्तिका लागि समस्या पर्ने गरेको बताए । उनले नेपालबाट कुवेत निर्यात प्रवर्द्धनका लागि के योजना छन् भन्दै प्रश्न गरे ।
सांसद ईश्वरी घर्तीले कुवेतमा घरेलु श्रमिक महिलाको ठूलो समस्या रहेको, बन्धक जसरी राख्ने गरिएको, फोन चलाउन नदिने, परिवारका सदस्यसँग कुरा गर्न नदिने अवस्था रहेको बताउँदै उनीहरूलाई अवैध रुपमा भारतको बाटो हुँदै कुवेत पुर्याउने गरिएको तर्फ ध्यानाकर्षण गराइन् ।
उनले अलपत्र परेका नेपालीले दूतावासबाट भूमिका नखेलेको, मृत्यु भएकाहरूको शव नेपाल पठाउन दूतावासले भूमिका नखेलेको बताउँदै घरेलु श्रमिकको रूपमा कुवेत पुगेका महिलाको पक्षमा कसरी काम गर्नुहुन्छ भन्दै प्रश्न गरिन् ।
सांसद लिलानाथ श्रेष्ठले कुवेतसँग धेरै पहिले दुई देशको बीचमा कूटनीतिक सम्बन्ध भएपनि श्रम सम्झौताका लागि कस्तो भूमिका निर्वाह गर्नुहुन्छ भन्दै प्रश्न गरे । नेपाल र कुवेतबिच व्यापार बिस्तार गर्न, नेपालमा उत्पादित बस्तु कुवेत निर्यातका लागि कस्तो पहल गर्नुहुन्छ भन्दै प्रश्न गरे ।
सांसद ईश्वरी न्यौपानेले कुवेतबाट पर्यटन प्रवर्द्धन गर्न आग्रह गरिन । अति संवेदनशील क्षेत्रमा जाँदै गरेकोले महिला तथा पुरुष कामदारका समस्या समाधानका लागि ध्यान दिन आग्रह गरिन् । उनले कुनैपनि नेपाली बाकसमा आउनुपर्ने अवस्था नहोस् भन्ने कामना गरिन् ।
समितिका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले झन्डै ८१ हजार नेपाली श्रमिक कुवेतमा रहेको बताउँदै उनीहरूको हितमा काम गर्न आग्रह गरे । नेपाली दूतावासलाई उनीहरूको घरको रूपमा विकास गर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हिरासत फिर्ता
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?