प्रस्तावित राजदूत क्षेत्रीलाई सांसदको प्रश्न : तपाईँले कार्यालयमा महिलालाई दुर्व्यवहार गर्नुहुन्छ रे, हो ?
काठमाडौँ । संयुक्त अरब इमिरेट्स युएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीमाथि संसदीय सुनुवाइका क्रममा कार्यालयमा महिलामाथि दुर्व्यवहार गरेको हो भन्दै एमाले सांसद ईश्वरी घर्तीले प्रश्न गरेकी छिन ।
बिहीबार सिंहदरबारमा भएको संसदीय सुनुवाइका क्रममा क्षेत्रीमाथि परराष्ट्र मन्त्रालयका कर्मचारीको तर्फबाट ५ वटा गम्भीर प्रकृतिको उजुरी आएको भन्दै सो प्रश्न गरेको बताइन्।
सांसद घर्तीले भनिन्, 'अंग्रेजीमा कमजोर हुनुहुन्छ, एउटा प्याराग्राफ लेख्न सक्नुहुन्न, महिलालाई कार्यालयमा पटक–पटक दुर्व्यवहार गरेर उजुरी परेको छ । मन्त्रालयमा ईस्ट्राईकर उपनामले भनेर बोलाउने गरेको भनेको मन्त्रालयका सबै कर्मचारीको तर्फबाट भनेर उजुरी आएको छ । भोलि युएईको दूतावासमा पनि महिला होलान्, त्यहाँपनि दुर्व्यवहार नहोला भनेर कसरी भन्न सकिन्छ ?'
प्रस्तावित राजदूत क्षेत्रीले २६ वर्षको सरकारी सेवाको क्रममा आफूमाथि दुर्व्यवहार गरेको भनेर एक जनाको पनि उजुरी नपरेको, आफूलाई बेइज्जत गर्ने उद्देश्यले उजुरी गरेको गलत आरोप रहेको बताए ।
उनले भने,'मैले २६ वर्षको आफ्नो करिअरमा कसैमाथि दुर्व्यवहार गरेको छैन । मलाई ड्यामेज गर्ने उद्देश्यले, बेइज्जत गर्ने उद्देश्यले गलत उजुरी गरिएको रहेछ । आफ्नै मन्त्रालयका व्यक्तिले मलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने उद्देश्यले गलत आरोप लगाएका हुन् । म सबै महिलालाई सम्मान गर्छु । मैले महिलालाई देवी मान्ने गरेको छु।'
उनले २०५३ सालमै अंग्रेजीमा बिए, बिएड गरेको बताउँदै बेलायत लगायतका देशमा बसेर काम गरेकोले अंग्रेजी नजान्ने भन्ने प्रश्नै नहुने बताए । राहदानी विभागमा एमआरपी पासपोर्ट बनाउने क्रममा ६ महिनाको काम गरेपछि सरुवा हुन पाइने भएपनि २ वर्ष दिनरात नभनी काम गरेको उल्लेख गरे ।
सांसद डोलप्रसाद अर्यालले युएईमा नेपालीले नेपालीलाई नै ठगी गर्ने अपराध रहेको बताउँदै त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्दै प्रश्न गरे । सो देशमा श्रमिकहरूको ठूलो समस्या रहेको, युएईमा रहेका नेपाली श्रमिकलाई कसरी सामाजिक सुरक्षा कोषमा सामेल गर्नुहुन्छ भन्ने उनले प्रश्न गरे ।
सांसद प्रकाश अधिकारीले युएईबाट लगानीका धेरै सम्भावना रहेको बताउँदै बिप्पा सम्झौतालाई कार्यान्वयन गराउन पनि आग्रह गरे ।
सांसद रमेशजंग रायमाझीले समितिमा प्रस्तुत गरेको कार्ययोजनाको ५० प्रतिशत मात्र कार्यान्वयन भएपनि धेरै राम्रो हुने बताए । उनले युएईमा नेपालको झन्डै डेढ प्रतिशत नेपाली रहेको बताउँदै उनीहरूको शव छिटो नेपाल पठाउन दूतावासले सहजीकरण नगरेको भन्ने गुनासो आइरहेको बताए ।
उनले परराष्ट्र सेवामा १७ सहसचिव रहेकोमा ५० प्रतिशत विदेशमा राजदूतका लागि जाँदा सहसचिव पदपनि लिएर जाने गरेको र यता खाली ठाउँमा दरबन्दी पनि राख्न नपाइने समस्या रहेको सुनाए ।
सांसद ईश्वरी न्यौपानेले युएईमा महिला कामदारहरूको अवस्था कमजोर रहेको तर्फ ध्यानाकर्षण गराइन् ।